भर्खरै :

मुस्कानपछि पवित्रा

            मुस्कान खातुनको घाउमा खाता नबस्दै बिहीबार पवित्रा कार्कीमाथि भएको एसिड आक्रमणले नेपाली समाजलाई फेरि आहत र लज्जित बनाएको छ । बिहीबार साँझ डल्लु बस्ने २२ वर्षकी पवित्रा कार्कीको अनुहारमा मोहम्मद आलम र मुन्ना मोहम्मदले गरेको एसिड आक्रमणले नेपाली समाजको सामाजिक र सांस्कृतिक प्रगतिका सबै दाबीलाई फितलो बनाएको छ । यस्ता घटना नेपाली समाजको पछौटेपनाको मानक बनेका छन् । एसिड हमलाको पुनरावृत्तिले यस्ता घटनाको जरासम्म नेपाली समाज अझै पुग्न नसकेको प्रस्ट छ । अझ कति छोरीहरूले बिनाकारण एसिड आक्रमणको शिकार बन्नुपर्ने हो ?
            एसिड आक्रमणका दोषीमाथि कानुनी कारबाही गरेरमात्र यस्ता जघन्य अपराधमा कमी आउनेछैन । आफ्नो कुरा नमानेको कारण महिलामाथि हुने यस्ता हमला विकृत मनोविज्ञानको परिणाम हो । महिलालाई उसको अनुहारको सौन्दर्यको आधारमा मूल्याङ्कन गर्ने र कमजोर ठान्ने बुझाइ नै यस्ता घटनाका मूल जड हुन् । यस्ता खराब सोचाइ समूल नष्ट नगर्दासम्म समाजमा एसिड आक्रमणलगायत महिलामाथि हुने हिंसा कदापि रोकिनेछैन ।
            महिलालाई कमजोर देख्ने दृष्टिकोणको निर्माण परिवार र समाजबाट नै हुने गर्छ । महिलामाथि विभेदकारी सामाजिक व्यवहारले नै पुरुषमा महिलाभन्दा आफू बलियो भएको र महिला आफूमा निर्भर रहनुपर्ने विचारको जग बसाल्छ । त्यस्ता विचार नै समयान्तरमा महिलामाथिको विभेद, हेयभावना र हिंसामा रूपान्तरण हुने गर्छ । तसर्थ, महिलालाई कमजोर र आश्रित ठान्ने विचारमा परिवर्तन नै यस्ता अपराधको जरा उखेल्ने प्राथमिक कार्य हो । महिलालाई शिक्षा र व्यक्तित्व विकासमा समान अवसर, प्रतिरक्षात्मक खेलकुद प्रशिक्षण, समान सामाजिक व्यवहार, अन्धविश्वासको अन्त्यजस्ता कामले महिलालाई आजको अवस्थाबाट माथि उकास्न मद्दत गर्नेछ ।
            समाजमा यस्ता परिवर्तनको सुरुवात भने विद्यालय तहबाट नै हुनुपर्छ । विद्यालयका पाठ्यक्रम र पठन पद्धतिबाट नै महिला र पुरुषबीच समान व्यवहारको संस्कृतिको सुरुवात आवश्यक छ ।
            सामाजिक सञ्जाल आपराधिक गतिविधिका केन्द्र बनेका छन् । विशेषतः किशोरकिशोरीमा सामाजिक सञ्जालको लतले यस्ता अपराधका कारण बनेका छन् । नयाँ पुस्तालाई सामाजिक सञ्जालको प्रयोगबारे परामर्श नदिंदा नयाँ नयाँ खालका अपराधको सङ्ख्या बढ्दै जानेछ । सामाजिक सञ्जालमा आउने अनेकन गलत र विकृतिपूर्ण सामग्रीले पनि युवाहरूलाई विकृति र अपराधको मुखमा पुर्‍याएको छ । समाजको भित्र नसासम्म पसेका यस्ता समस्यालाई उधिन्न राज्यले सक्रियता र पहलकदमी लिन आवश्यक छ । तर, राज्यले मात्र सबै यस्ता समस्याको तयारी समाधान दिनसक्दैन । समाज र नागरिक स्वयम् सचेत र सजग बनेर समाजको रोगका रूपमा रहेका यस्ता समस्या समाधानको निम्ति अग्रसर बन्नुपर्छ ।
            पवित्रामाथिको एसिड आक्रमण पहिलो घटना होइन । यसअघि पनि धेरै पटक यस्ता अपराध भइसकेका छन् । तर, अझै पनि एसिड बजारमा सजिलै पाउने अवस्था भने विडम्बनापूर्ण छ । एसिड खरिद बिक्रीमा राज्यले कडाइ गर्न नसक्दा यस्ता अपराधका घटना भविष्यमा दोहोरिने सम्भावना रहिरहनेछ । एसिड हमलाका दोषी पक्राउ गर्न प्रहरीको तदारुकता प्रशंसनीय छ । तर, मूल प्रश्न भविष्यमा यस्ता अमानवीय घटना हुन नदिने कसरी भन्ने हो । यसको निम्ति सरकारका विभिन्न मन्त्रालय र निकायबीच समन्वयात्मक भूमिका अपरिहार्य छ । कोही पनि छोरीको क्षणभरमै आफ्ना सारा सपना सिसाजस्तै फुट्ने अवस्था कहिल्यै नबनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *