भर्खरै :

त्रिभुवन विश्वविद्यालय वैकल्पिक विधि रोज्न किन चाहँदैन ?

विगत ८ महिना यता कोभिड–१९ ले संसार थला परिरहेको छ । विगत ५ महिना यता नेपाल पनि कोभिड–१९ को चपेटामा परेको छ । कोरोना सङ्क्रमण रोक्न २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) गरेको थियो भने २०७७ साउन ७ गतेबाट लकडाउन अन्त्य गरेको छ । तर, लामो दुरीका यातायात भने भदौ १ गतेदेखि मात्रै सञ्चालन गर्ने भनेको छ ।
लकडाउनसँगै सम्पूर्ण शैक्षिक संस्था बन्द भएका थिए भने एसईई, कक्षा ११, १२ र विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित भए । लामो समयसम्म लकडाउन हुनसक्ने र परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएकोले नेपाल सरकारले यसपालि एसईई परीक्षा नलिने निर्णय ग¥यो । कक्षा ११ को परीक्षा सम्बन्धित स्कूलले नै लिने व्यवस्था गरियो भने वातावरण सहज भएपछि कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने भनिएको छ ।
नेपालमा ११ वटा विश्वविद्यालय छन् । विश्वविद्यालय स्वायत्त संस्था हुन् । स्वायत्त संस्था भएकाले विश्वविद्यालयहरूले आफ्नो अनुकूल निर्णय लिन पाउँछन् । विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयले आफूलाई अनुकूल हुने तरिकाले परीक्षा गराउन पाउने भन्दै परीक्षा निर्देशिका २०७७ पनि जारी गरिसकेको छ । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा जेठो र ठुलो विश्वविद्यालय हो । लकडाउनका कारण रोकिएका परीक्षाबारे त्रिविले ४ महिनासम्म ठोस निर्णय लिन नसक्नु लाजमर्दो विषय हो । स्नातक र स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा पढ्ने विद्यार्थीको एउटा सेमेस्टर नै खेर गएको छ । काठमाडौँ विश्वविद्यालयले रोकिएका परीक्षाको काम आन्तरिक मूल्याङ्कनबाट सकाएर अर्को सेमेस्टरको पठनपाठन सकाउन थालिसक्दा पनि त्रिविका उच्च पदमा बस्ने पदाधिकारीको घैंटोमा घाम लागेको छैन ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत केही विभागका विद्यार्थीले कोभिड–१९ कहिलेसम्म जान्छ निश्चित नभएकोले तत्काललाई अर्को सेमेस्टरको पठनपाठन सुरु गर्न सम्बन्धित विभागमा प्रस्ताव राखेका थिए । विभागीय प्रमुखले उक्त प्रस्तावलाई डिनसम्म पु¥याए । त्रिविले अनुमति नदिएकोले भन्दै तेस्रो सेमेस्टरको पठनपाठन तत्काल सञ्चालन नहुने भनियो ।
असारसम्म आइपुग्दा पनि त्रिविले रोकिएका परीक्षाबारे कुनै निर्णय लिन नसक्दा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत दोस्रो सेमेस्टरका विद्यार्थीले आन्तरिक मूल्याङ्कन गर्न माग राखे । परीक्षा नै गराउने भए परीक्षाको सम्पूर्ण जिम्मा सम्बन्धित क्याम्पसलाई दिई तेस्रो सेमेस्टरको तत्काल अनलाइनको माध्यमबाट पठनपाठन गराउन माग गर्दै उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र डिनसमक्ष ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि पनि पटक–पटक त्रिवि पदाधिकारी (उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र डिन) सँग छलफल गर्न खोज्दा विद्यार्थीका मागप्रति त्रिविका पदाधिकारीहरू छलफलमा बस्न नचाहने र विद्यार्थीका जायज मागप्रति त्रिविका पदाधिकारीहरूले सुनुवाइ नै गरेनन् ।
४ महिनासम्म आरामसाथ बसेका त्रिविका पदाधिकारीले अहिले आएर बल्ल परीक्षासम्बन्धी ४ वटा मोडालिटी तयार पारेका छन् । जसमा ओपन बुक एक्जाम
(अनलाइन र अफलाइन), आन्तरिक मूल्याङ्कन र मौखिक परीक्षा
(अनलाइन), अनलाइन परीक्षा र भौतिक उपस्थिति (परम्परागत) परीक्षा गरी ४ वटा मोडालिटी अगाडि सारिएका छन् । तर, दुर्भाग्य नै भन्नुपर्छ ४ वटा मोडालिटी बनाइए पनि भौतिक उपस्थिति गराएर नै परीक्षा गराउने मनस्थितिमा छ त्रिवि । यसमा केही स्वार्थहरू लुकेका पाइन्छन् । भौतिक उपस्थिति गराएर परीक्षा गराउँदा भत्ता आउने र विश्व बैङ्कले ग्न्ऋ मार्फत विश्वविद्यालयलाई दिने ४७ करोड र लाईब्रेरीलाई दिने ३९ लाख पैसाको हिनामिना गर्नलाई जसरी पनि भौतिक उपस्थितिबाटै परीक्षा लिन खोजिरहेका हुन् । आफ्ना सीमित स्वार्थ र त्रिविमा अध्यापन गराउने पुराना प्राध्यापकहरूको पुरानै मानसिकताको पराकाष्ठा हो यो ।
विश्वमा सेमेस्टर प्रणालीको सम्पूर्ण जिम्मा सम्बन्धित क्याम्पसलाई नै दिने प्रचलन रहेको पाइन्छ । त्रिविले विषम परिस्थितिमा पनि परीक्षासम्बन्धी सम्पूर्ण जिम्मा किन क्याम्पसलाई दिन नसकेको ? त्रिवि किन परिवर्तन हुन चाहँदैन ?
सरल र सहज तरिकाले अगाडि बढ्नुपर्ने समयमा त्रिविले परम्परावादी सोचलाई नै यथावत राख्नु आफैँमा लज्जाको विषय हो । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ लाई एउटा अवसरको रूपमा लिएर अगाडि बढ्नुपर्ने समयमा हो । विश्वका थुप्रै विश्वविद्यालयहरूले विभिन्न तरिकाले पठनपाठन र परीक्षा सञ्चालन गरिरहेका छन् ।
२०७७ साउन १४ गते सेतोपाटी अनलाइनले त्रिविमा आन्दोलन गरिरहेका विद्यार्थीको तस्बिर हाल्दै त्रिविका विद्यार्थी भदौमा परीक्षा दिन सक्दैनौँ भनिरहेका छन् भन्ने हेडलाइनमा समाचार छाप्यो । विद्यार्थीले परीक्षा दिन सक्दैनौँ भनेका होइनन् । अहिलेको परिस्थितिमा भौतिक उपस्थितिमा परीक्षा दिन सम्भव छैन । त्रिविले वैकल्पिक बाटो रोजेर परीक्षा गर्दा उपयुक्त होला भन्ने हो । यो विषम परिस्थितिमा सरल र सहज भनेको आन्तरिक मूल्याङ्कन हो । आन्तरिक मूल्याङ्कनमा विद्यार्थीले एसईईजस्तो अपग्रेड गराउनु पर्यो भनेका पनि होइनन् । आन्तरिक मूल्याङ्कनमा अनलाइन अफलाइन भाइबा सोध्ने, प्रिजेन्टसन् गर्न लगाउने र होम असाइन्मेनट दिएर आन्तरिक मूल्याङ्कन गर्नसकिन्छ । स्नातकोत्तरको सेमेस्टर परीक्षाको हकमा ४० प्रतिशत आन्तरिक परीक्षा र शतप्रतिशत प्रयोगात्मक परीक्षा हुने भएकोले ६० प्रतिशत डिनले लिने अन्तिम परीक्षाले मात्रै विद्यार्थीको स्तर निर्धारण गर्न सकिनेमा हामी विश्वस्त छैनौँ । भौतिक उपस्थितिबाहेक आन्तरिक मूल्याङ्कनमात्रै पनि विकल्प होइन । ओपन बुक एक्जाम पनि गराउन सकिन्छ । विश्वका धेरै विश्वविद्यालयले अहिले अनलाइन ओपन बुक एक्जाम गराइरहेको छ ।
छिमेकी देश भारतको दिल्ली विश्वविद्यालयले समेत ओपन बुक एक्जाम गराइरहेको पाइन्छ । भारतको सर्वोच्च अदालतले सेमेस्टर प्रणालीको अन्तिम परीक्षा नगरी अरू उपयुक्त विकल्पबाट मूल्याङ्कन गर्नको लागि विश्वविद्यालयलाई निर्देशन दिइसकेको छ । यी सकारात्मक कामको सिको गर्न किन नसकेको नेपाल सरकार र त्रिविले ?
प्रयास गरेपछि सम्भव हुन्छ । यसको एउटा उदाहरणको रूपमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको भौतिकशास्त्र केन्द्रीय विभागले २०७७ साउन ११ गतेदेखि क्याम्पसले लिने अन्तिम (प्रीबोर्ड) परीक्षा ओपन बुक एक्जाम (अनलाइन) लिइरहेको छ । जसमा ९६ प्रतिशत विद्यार्थीको सहभागिता रहेको पाइन्छ । यदि त्रिभुवन विश्वविद्यालयले अनुमति दिएपछि भौतिशास्त्र केन्द्रीय विभाग बोर्ड एक्जाम गराउन पनि तयार रहेको विद्यार्थीको दाबी छ । अनलाइन मौखिक परीक्षा पनि गर्न सकिन्छ, यस्तै थुप्रै विधि हुँदाहुँदै त्रिवि किन वैकल्पिक विधि रोज्न चाहँदैन ? विदेशीले दिएको सेमेस्टर प्रणाली लागू गर्नसक्ने त्रिविले विषम परिस्थितिमा नयाँ विकल्प रोज्न किन नसक्ने ? कि त्रिविले सेमेस्टर प्रणाली सुधार गर्न सक्नुपर्यो होइन भने सेमेस्टर प्रणाली नै खारेज हुनुपर्छ ।
वर्षाको समय छ । हुम्ला, मनाङ्ग, मुस्ताङमा भएका विद्यार्थी कसरी भदौमा परीक्षा दिन काठमाडाँै आउन सक्छन् ? कोरोना दिनप्रतिदिन बढिरहेको छ । नेपालगञ्ज, स्याङ्जा र तराईका केही जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ । त्यहाँ भएका विद्यार्थी कसरी आउँछन् परीक्षा दिन ? परीक्षा दिँदादिँदै एक जना विद्यार्थीमात्रै सङ्क्रमित भेटियो र त्यो विद्यार्थीको ज्यान नै गयो भने त्रिवि त्यसको जिम्मा लिनसक्छ ?
काठमाडौँका अधिकांश घरभेटी घर भित्रिन दिँदैन, कहाँ बसेर परीक्षा दिने विद्यार्थीले ?
सेमेस्टरको नाममा विद्यार्थीको ढाड सेक्ने गरेर लाखौँ पैसा लिने तर किन समयमा परीक्षा नगराउने ? वैकल्पिक विधि रोज्न किन नसक्ने ? प्रयोगशाला व्यवस्थित नबनाउने ? पठनपाठन गराउने कक्षा व्यवस्थित किन नबनाउने ? प्रोजेक्टको माध्यमबाट पढाउने भनेर विद्यार्थीबाट शुल्क उठाउने तर प्रोजेक्टको व्यवस्था किन नगर्ने ?
राजनीतिक भागबन्डामा नियुक्ति हुने पदाधिकारीहरूले विश्वविद्यालयलाई अनुसन्धानमूलक र खोजको केन्द्र बनाउनुपर्छ भनेर कहिल्यै सोचेनन् ? राजनीतिक दाउपेचको लडाइँमा मात्रै कार्यकाल समापन गर्ने गरेका छन् ।
सङ्ख्यामा ठुला भनाउँदा विद्यार्थी सङ्गठनहरूले विद्यार्थीका मुद्दामा बोल्न सकिरहेका छैनन् । राजनीतिक भागबन्डामा नियुक्ति गरिएका पदाधिकारीको उल्टै बचाउ गर्दै हिँडिरहेका छन् । राजनीतिलाई पेशा सम्झने यी विद्यार्थीको नाममा राजनीति गर्ने कलङ्क विद्यार्थी सङ्गठनले राजनीति सेवा हो भनेर किन बुझिरहेका छैनन् ? यस्ता अवसरवादी विद्यार्थी सङ्गठनलाई हामीले चिन्नुपर्छ र फेरि एकचोटि चिन्ने समय आएको छ । केही ठुला विद्यार्थी सङ्गठनलाई हामीले भेटेरै विद्यार्थीका मागहरूलाई समेटेर विश्वविद्यालय समिति र केन्द्रीय समितिबाट प्रेस विज्ञप्ति निकाल्नुपर्यो भनेर अनुरोध गर्दा बेवास्ता गरियो । विद्यार्थीको मागलाई समेटेर नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले विज्ञप्ति जारी गर्दै त्रिविका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र डिनसमेतलाई भेटेर ध्यानाकर्षण गराएको छ । नेक्राविसङ्घले स्थापना कालदेखि नै शिक्षा उत्पादन श्रमसँग जोडिएको, निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षा प्रणाली स्थापना गरी सम्पूर्ण कामदार जनताका छोराछोरीको शिक्षालाई समान अवसर दिनुपर्छ भन्दै आइरहेको छ । आवाज बुलन्द पार्न नेक्राविसङ्घ अघि रहेकोमा विद्यार्थीहरू खुसी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *