भर्खरै :

भारतको चीन युद्ध, सीमा युद्ध (दुई भञ्ज्याङबीच)

पठानियाको पीर
यसबीच पठानियाले ब्रिगेडियर होशियार सिँहसँग कुराकानी गरेका थिए । होशियार सिँह केही दिनपछि नै मारिएको हुनाले उनीहरूबिचको कुरा विवादित छ । (पठानिया र होशियार सिँहका अफिसरहरूको कुरा बाझिन्छ । तर, अफिसरहरूका कुरा बढी विश्वसनीय सुनिन्छन् ।) पठानियाले पछाडि हट्ने प्रस्ताव राखेपछि होशियार सिँहले विरोध जनाए । गढवालीलगायत अन्य टाढाका सिपाहीहरू अझै सेला भञ्ज्याङ आइपुगेका थिएनन् । हट्ने नै आदेश हो भने पनि अर्को दिनमात्र हिँड्न सकिने उनको सुझाव थियो । त्यस रात निस्कनु घातक हुने उनको तर्क थियो । यसलाई स्वीकार्दै पठानियाले दिराङ जोङको रक्षाका लागि दुई कम्पनी सेना पठाउन आदेश दिए । उनले कोर ४ मा यसको जानकारी गराएनन् ।
त्यस रात ११ बजे कौल हेडक्वाटरमा आए । लगत्तै उनले पठानियासँग कुरा गरे । यसबीच डिभिजन ४ ले चिनियाँहरूले सेला र दिराङ जोङबीचको सडक काटेको सूचना पाएको थियो । त्यसैले ब्रिगेड ६२ लाई तत्काल पछि हट्ने आदेश नदिए उनीहरू पछि फर्किन नसक्ने पठानियाको तर्क थियो । कौलले कम्तीमा त्यो रात त्यहीँ बस्न भने तर कुनै निश्चित आदेश दिएनन् । त्यसपछि कौल, थापर, सेन र ब्रिगेडियर पाटिलबीच कुराकानी भयो । आधा घण्टापछि एउटा सूचनासहित कौल बाहिर आए र ब्रिगेडियर केके सिँहलाई तत्काल सो सूचना पठाउन भने ।
पठानियालाई सेला र दिराङ जोङबाट बोम्दीला फर्किन आदेश दिइएको थियो । तर, यति नै बेला डिभिजन ४ र तेजपुरको सम्पर्क काटिन पुग्यो । केके सिँहले सो सन्देश बोम्दीलास्थित ब्रिगेड ४८ पठाए र त्यसलाई दिराङ जोङ पु¥याउन भने । त्यो आदेश बोम्दीला पुग्न पाएन र त्यही खारेज गरियो । हक्की ब्रिगेडियर पाटिलले सेलामै रोकिनुपर्ने अडान राखेको देखिन्छ । १२ हजार सैनिक लडाइँको मैदान छोडेर पछि हटेको खण्डमा सेनाले कसरी देशसामु मुख देखाउने भनी कडा मिजासका पाटिलले भनेपछि हतारमा निर्णय गर्ने सैन्य नेतृत्व हच्केको हुनुपर्छ । त्यसपछि कौलले थापर र सेनसँग मिलेर डिभिजन ४ लाई अर्को सन्देश पठाए । सन्देशका तीन बुँदा सारमा यस्ता थिए ः
१. सकेसम्म अहिलेकै अवस्थामा बस्नु । बस्नै नसक्ने भएपछि मात्र आफूलाई पायक पर्ने ठाउँमा सार्न मेरो अनुमति छ ।
२. लगभग ४०० जना शत्रुले सडक काटेका छन् । ब्रिगेड ४८ लाई आजै राति हरहालतमा शत्रुमाथि आक्रमण गरेर सडक साफ गर्न आदेश दिएको छु । तिम्रो वरिपरि तीन ठाउँमा शत्रुले सडक काटेको देखिन्छ । त्यसैले तिमीसँग सकेसम्म लड्नेबाहेक अर्को विकल्प छैन ।
३. बिहानसम्म (नोभेम्बर १८) बोम्दीलामा पैदल ब्रिगेड ६७ पुग्नेछ । पूरै शक्ति लगाएर सम्पर्क बनाउन खोज्नू ।
राम्ररी पढ्ने हो भने यो सन्देश दोष पन्छाउने उपायमात्र देखिन्छ । यसका दुई अर्थ निस्किन्छन् । पठानियाले यथास्थानमै रहेर लड्न चाहेमा यही सन्देशले उनलाई अनुमति दिन्थ्यो । उनी हट्न चाहेमा पनि यही सन्देशले उनलाई अनुमति दिन्थ्यो । उनी हट्न चाहन्छन् भन्ने कौललाई थाहा थियो । जुनसुकै निर्णय लिए पनि त्यो कौलको नभई पठानियाको हुन्थ्यो । कौलले पछि पराजयको लागि पठानियालाई जिम्मेवार ठह¥याउँदै सारमा यसरी लेखे – “सेलाबाट पछाडि हट्न लगाउनु मेरो आदेशको मूल मर्मविपरीत थियो ।”
कौलले बोम्दीलामा रहेको ब्रिगेड ४८ का कमान्डर गुरबक्स सिँहलाई ट्याङ्क र पैदल सेनासहित तीव्र र जोडदार आक्रमण गर्न आदेश दिए । सिँहले यसमा विरोध जनाए । उनीसँग बोम्दीला जोगाउन नै ६ वटा राइफल कम्पनीमात्र बचेका थिए । रातमा साँघुरो र घुमाउरो बाटो हुँदै शत्रुतिर जानु आफ्नै काल निम्त्याउनु हो भन्ने उनको तर्क थियो । रातमा यस भेगमा आँखै टाल्ने तुवाँलो लाग्थ्यो र यो भूगोलमा ट्याङ्कको महत्व कम थियो । कौलले अर्को बिहानसम्मलाई आदेश फिर्ता लिए । भोलिपल्ट २ बटालियन सेना बोम्दीला पुग्ने आशा गरिएको थियो । कौलको दुई अर्थी सन्देश नोभेम्बर १८ को झिसमिसेमा मात्र डिभिजन ४ सम्म पुग्यो । पठानियाले त कौलले फोनमा भनेका कुरामात्र सम्झेका थिए । कौलले पछि हट्नका लागि ‘तयार रहनू’ तर अन्तिम आदेश भोलि बिहान आइपुग्छ भनेका थिए । यहाँ फेरि दुई अर्थी कुरा थियो । ‘तयार रहनू’ भन्नाले ‘त्यस्तो सोच राख्नू’ वा ‘तयारी गर्नू’, जे पनि बुझ्न सकिन्छ ।
सेला
होशियार सिँहले सुरुमा आफ्ना बटालियनका कमान्डरहरूलाई त्यो रात पछि हट्न नसकिने बताएका थिए । त्यसैले ब्रिगेडले अर्को रात हट्ने योजना बनाउँदै थियो । टुकडीहरू भञ्ज्याङमा चिनियाँहरूलाई पर्खेर बसिरहेका थिए । टाढा रित्ता गाउँहरूमा कुकुर भुकेको र बेलाबेला चम्किने चिनियाँ टर्च लाइटबाट उनीहरू भञ्ज्याङतिर आउँदै गरेको स्पष्ट थाहा हुन्थ्यो । मध्य रातमा होशियार सिँह र पठानियाबीच फोनमा कुराकानी भयो । त्यस लगत्तै भञ्ज्याङको महत्वपूर्ण स्थानमा बसेको एउटा बटालियनलाई तत्काल पछाडि फर्किन आदेश दिइयो । पठानियाले यो आदेश होशियार सिँहको थियो भनेका छन् । तर होशियार सिँहले बटालियन कमान्डरलाई कठोर आदेश आएकोले यसो गर्नुपरेको बताएका थिए । आदेश जसले दिए पनि पठानिया सेनालाई सकेसम्म चाँडो पछाडि हटाउन चाहन्थे र होशियार सिँह अलि ढिलोमात्र हट्न चाहन्थे भन्ने छर्लङ्ग छ । तर, यसले गर्दा चिनियाँहरूलाई स्वागत गर्ने गरी सेलाको ढोका खुल्न गयो ।
चिनियाँ सेनासँग बिहानतिर लड्न तम्तयार भई कुरेर बसिरहेका सेलाका सिपाहीहरू मध्यरातपछि धमाधम पछाडि हट्न थाले । रातारात भञ्ज्याङबाट पछि सर्नुपर्दा र नेतृत्वको सोच एकाएक उल्टिँदा लडाकु सैनिकहरूको मनोबल खस्केको हुनुपर्छ । त्यसमाथि शत्रुसामु भारतीय टुकडीहरू टिक्न सकिरहेका थिएनन् । केही दिनअघि मात्र सेलाबाट पठाएको २ सय जवानको सग्लो गस्ती टोली चिनियाँ एम्बुसमा परेको थियो । अकस्मात् आएको आदेशले अघिल्लो पङ्क्तिमा बसेका टुकडीहरूको मनमा चिसो पस्यो । चिनियाँहरू गोली नचलाइकन आए र भारतीयहरूले भर्खर छोडेको ठाउँ ओगटे । उनीहरूले भित्र पसेर गोली चलाउन सुरु गरेपछि एउटा बटालियन लाखापाखा लाग्यो । ब्रिगेड भताभुङ्ग हुनथाल्यो । पछि हट्नेबाहेक होशियार सिँहसँग अर्को विकल्प थिएन भन्ने देखिन्छ ।
चिनियाँहरूले एकैचोटि पूर्व र पश्चिममा आक्रमण गर्ने सोचेको हुनुपर्छ । छुशल र सेलामा एकैसाथ चिनियाँहरू अघि बढेका थिए । तर, वालोङमा ‘जन्मदिनको उपहार’ ले चिनियाँहरूलाई त्यो मौका दुई दिनअघि नै दियो । नोभेम्बर १८ को बिहान भारतीयहरू सेला छोडेर बाहिरिएका थिए । टुकडीहरू पछि हटेका थिए तर उनीहरूका हतियारहरू जस्ताको तस्तै थिए । अमेरिकी स्वचालित राइफलहरू बाक्साबाट निकालिएका पनि थिएनन् । चिनियाँहरू भारतीय टुकडीहरूको पछिपछि लागे ।
दिराङ जोङ
बिहान ५ बज्दै थियो । गएको रात दिराङ जोङमा हडबडी थियो । अहिले त्यही दिराङ जोङ सुनसान थियो । दुईजना ट्याङ्क अफिसर आदेशको लागि डिभिजन हेडक्वाटर आएका थिए । त्यहाँको दृश्य अनौठो थियो । अफिसरहरू आफ्ना झुपडीमा सुतिरहेका थिए । बरन्डामा मान्छेहरू कम्बल ओढेर सुतिरहेका थिए । कोही पहरेदार थिएन । युद्धको कुनै गाइँगुइँ थिएन । टेलिफोन लाइन काटिएको थिएन । भर्खर आएका अफिसरबाट पठानियाले सेलाका टुकडीहरू यतैतिर आउँदै गरेको थाहा पाए । साथै चिनियाँहरू सेलानजिक सडकमा आइसकेको पनि थाहा पाए । उनीहरू सेलाबाट फर्किरहेका टुकडीहरूको बाटो रोक्न चाहन्थे । यति नै बेला उनले दिराङ जोङ आउने बाटोमा पठाएको एउटा टुकडीको नाइके आत्तिँदै आइरहेको देखे । उसले आफ्नो टुकडीलाई गोलाबारीसामु छोडेर आएको थियो । त्यति बेला डिभिजन हेडक्वाटरमा टाढा कतै गोली चलेको आवाज सुनियो । यो अन्तिम झट्का थियो । पठानियाले आफूसँगै रहेको ब्रिगेड ६५ लाई दक्षिण बेँसीतिर लाग्ने आदेश दिए । उनले सबैजनालाई बोम्दीलासम्म लड्दै जानुपर्ने मौखिक आदेश दिए । उनले ट्याङ्कहरू लैजान सकिन्न भने खुरुखुरु हिँड्न भने । बोम्दीलातिर नलागेर उनी आफ्ना अफिसर र केही टुकडीसहित फुटाङतिर लागे । त्यहाँ उनले पहिले भारतीय टुकडी पठाएका थिए । त्यहाँबाट घुमाउरो बाटो हुँदै बोम्दीला जाने उनको योजना थियो । त्यसपछि त्यहीँबाट मोडिएर उनीहरू तल बेँसीतिर लागे ।
पठानियापछि दिराङ जोङको कमान्ड हेर्ने कोही भएन । २ बटालियन पैदल सेना, ट्याङ्कको एउटा टोली, बन्दुक र सयौँ मानिसलाई नोभेम्बर १८ बिहान ७ बजेपछि हेडक्वाटरमा अलपत्र छोडिएको थियो । केही मेजर पदका अफिसरले उनीहरूलाई बोम्दीलातिर लाग्न अगुवाइ गरे । तर, सडकमा उनीहरूले चिनियाँहरूको अवरोध झेल्नुप¥यो । त्यहाँबाट उम्केको एउटा बटालियन तल बेँसीमा पुग्दा एउटा युनिटको सङ्ख्यामा झरेको थियो । बाँकी सबैजना ससाना समूह बनाएर दक्षिणतिर लागे । जङ्गलैजङ्गल निस्कँदा कोही चिनियाँ एम्बुसमा परे, कोही खराब मौसमको शिकार भए । डिभिजनको हेडक्वाटरले आफ्नो ठाउँ खाली गर्नेबारे कसैलाई जानकारी गराएन । सेला र बोम्दीलाका कमान्ड रातमा त्यागिएका थिए ।
सेलाबाट बाहिरीरहेका टुकडीहरू चिनियाँ गोलीका शिकार भए । फर्किनुपर्ने बाटो नै पार गर्न नसकिने देखेपछि टुकडी अलमलियो । चिनियाँ गोलाबारीबीच पूरै ब्रिगेड ससाना समूहमा तितरबितर भयो र आआफ्नै तरिकाले दक्षिण बँेसीतिर लाग्यो । केही दिनभित्र धेरै समूहहरू एम्बुसमा परे, मारिए वा समातिए । ब्रिगेडियर होशियार सिँह नोभेम्बर २७ मा फुटाङमा गोली लागेर मरे ।
बोम्दीला
अक्टोबर १८ बिहान ढल्दै गर्दासम्म बोम्दीलामात्र बाँकी थियो । त्यहाँको ब्रिगेड ४८ नेफाभरिको एकमात्र भारतीय सैनिक टोली थियो । ब्रिगेडमा ६ कम्पनी बचेका थिए । आधा कम्पनीको ठाउँ खाली भइसकेको थियो । बन्दुक, मोर्टार र हलुका ट्याङ्कका चार बन्दुक थिए । उनीहरू चिनियाँहरूलाई पर्खिरहेका थिए । तेजपुरले पठाएका दुई बटालियनहरू थपिएका थिए । बाँकी बटालियन केही घण्टापछि आउँदै थिए ।
बिहान ११ बजेतिर कौलले फोन गरेर ब्रिगेड ४८ लाई दिराङ जोङलाई सघाउन टुकडी पठाउन आदेश दिए । कौललाई दिराङ जोङको स्थिति थाहा थिएन । ब्रिगेडियर गुरबक्स सिँहले विरोध जनाए । बाँकी सिपाही नआउँदासम्म अघि बढ्नु चिनियाँहरूका लागि ढोका उघार्नुजस्तै हुने उनको तर्क थियो । गर्जिँदै कौलले बोम्दीलामा जे भए पनि आधा घण्टाभित्र एउटा टोली दिराङ जोङ पठाउन आदेश दिए । २ पैदल कम्पनी, २ ट्याङ्क र २ वटा बन्दुकसहितको एउटा टोलीलाई २० माइल लामो घुमाउरो बाटो हुँदै दिराङ जोङतिर पठाइयो । तिनीहरूको सट्टामा भान्से, प्राविधिक र कारिन्दालाई बन्दुक समाउन लगाएर मोर्चामा उभ्याइयो । टोली बाहिरिएको १० मिनेटमा पहिलो चिनियाँ प्रहार सुनियो । पहिलो धावालाई परास्त गरियो । तर, दोस्रो आक्रमणमा बोम्दीला चिनियाँहरूको हातमा गइसकेको थियो । पछाडिको टोली एक्लियो । चिनियाँ गोलाबारी चलिरहेको थियो । भारतीय पक्षले गरेको प्रत्याक्रमण विफल भयो । ४ बजेसम्म गोलाबारी गरेपछि गुरबक्स सिँहले आफ्ना सैनिकलाई ८ माइल दक्षिणमा रहेको रूपातिर लाग्न भने । त्यहाँ उनले माथि आउँदै गरेको बटालियन भेट्ने ठानेका थिए । त्यसमध्ये एउटा बटालियन फरक बाटोबाट बोम्दीला गएको थियो । ऊ त्यहाँ पुग्दा ब्रिगेड तल रूपातिर झरिसकेको थियो । चिनियाँहरूले उनीहरूमाथि गोली चलाएनन् । साँझ छिप्पिएपछि गुरबक्स सिँह बोम्दीला गएर तिनलाई फर्काएर ल्याए ।
रूपा र चाकु
१८ तारिख रातमा ब्रिगेड रूपाको रक्षाका लागि तयारी गर्नथाल्यो । यस्तैमा कोर ४ बाट तल बेँसीभन्दा ठीक माथिको गाउँ फुटहिल्स फर्किन आदेश आयो । टुकडीहरू तल ओर्लिरहेका थिए । यस्तैमा रूपामै अडिनुपर्ने कौलको आदेश आयो । कौल आफ्नो हेडक्वाटरमा थिएनन् । उनी फुटहिल्स आएका थिए । ब्रिगेड फर्केर रूपा गयो । त्यहाँका पहाडमा बसिसकेका चिनियाँहरूले फेरि गोलाबारी सुरु गरे । रूपा जोगाउन असम्भव देखियो । त्यसपछि एउटै युनिटको रूपमा लडेको ब्रिगेडलाई चाकुमा फर्किने आदेश आयो । केहीबेरसम्म चिनियाँहरूले भारतीय पक्षलाई खेदिरहे । त्यसपछि उनीहरू देखिएनन् । एक ब्रिगेड सेना घटेर एक बटालियनजति भएको थियो । नोभेम्बर १९ को झिसमिसेमा यी सैनिकहरू चाकुमा आए । माथिबाट आएको टोली वरपर नियाल्दै झरिरहेको थियो । उनीहरूले फर्किरहेका भारतीय सैनिकहरूलाई छोडेका थिएनन् । मध्यरातपछि चिनियाँहरूले चाकुलाई तीनतिरबाट घेरे । हतियार र रासन आदि ल्याइरहेको एउटा गाडीलाई चिनियाँहरूले एम्बुसमा पारे । आगोको प्रकाशमा भारतीय सैनिकहरूलाई देख्न सकिन्थ्यो । चिनियाँहरू ब्रिगेडलाई तितरबितर पार्दै उनीहरूबीच पसे । अन्तमा ससाना समूह बनाएर सैनिकहरू बेँसीतिर झरे ।
नोभेम्बर २० को बिहान ३ बजे ब्रिगेड ४८ भताभुङ्ग भएसँगै नेफामा एउटा पनि भारतीय सङ्गठित सैन्यबल बाँकी रहेन । त्यसैगरी पश्चिमी सीमामा पनि चीनले दाबी गरेको भूभाग भारतीय सैन्यबलबाट मुक्त भयो । सैनिक हिसाबले चीन विजयी भयो, भारत हा¥यो ।
पछि हट्ने काम सकिएको थिएन । नोभेम्बर १९ राति कौल तेजपुर हेडक्वाटरमा फर्के । उनी चिनियाँहरू तल बेँसीमा आउनेछन् भन्नेमा विश्वस्त थिए । भोलिपल्ट बिहान जनरल सेनसँग सल्लाह गरेर कौलले कोर हेडक्वाटरलाई तुरून्तै गुहाटी सार्ने आदेश दिए । गुहाटी तेजपुरबाट करिब १०० माइल पश्चिममा पर्छ । ब्रिगेडियर केके सिँह र अन्य केही अफिसरले जिम्मेवारीका कारण आफूहरू तेजपुरमै बस्नुपर्ने तर्क गरे । त्यसपछि कौल पनि त्यहीँ बसे । सार्न नमिल्ने बिरामी आदिबाहेक कोर हेडक्वाटरका अन्य सबै गुहाटी सारिए । भोलिपल्ट हेलिकप्टर चढेर कौल डिभिजन ४ का बचेखुचेका सैनिकहरू खोज्न गए । उनले पठानिया र अन्य केही घाइतेहरूलाई लिफ्ट दिएर तेजपुर ल्याए ।
हतास नेहरू
वालोङको हारको समाचार नोभेम्बर १८ मा दिल्ली पुग्यो । थागलाको हारले भन्दा यसले ठुलो खैलाबैला मच्चियो । थागलाको हमलालाई अचानक गरिएको ठानिएको थियो । तर, वालोङमा त सेना बलियो छ भनी ठानिएको थियो । भारतीय सेनाले त्यहाँ ३ हप्ता लगाएर तयारी गरेपछि आक्रमण गरेको थियो । यसैबीच सेलामा चिनियाँ आक्रमण भएकोबारे चर्चा भयो । भोलिपल्ट लोकसभामा नेहरूमाथि प्रश्न उठ्यो । वालोङमा विजयी हुने आशासहित बन्द भएको संसद एक हप्तापछि बस्दै थियो । प्रधानमन्त्रीले वालोङमात्र होइन, सेला पनि गुमाउन पुगेको जानकारी गराए । नेहरू चुप लागे र कुर्सीमा बसे । त्यसपछि विपक्षीहरूले प्रश्नहरू बर्साउन थाले । संसदमा कोलाहल मच्चियो । यस्तो बेला नेहरू अधिकारपूर्ण स्वरमा सधैँ संसदलाई झपार्ने गर्थे । तर, यो राष्ट्रिय सङ्कटको घडीमा नेहरू मौन थिए । लोकसभामाथिको आफ्नो प्रभाव ओइलाएको उनले महसुस गरेको हुनुपर्छ ।
नोभेम्बर २० को रात नेहरूले देशको नाममा सन्देश दिए । तीन हप्तासम्म उनको स्वरमा रहेको रवाफ खस्केको थियो । उनको स्वर निरस र थकित थियो । उनको शब्दमा ओज थिएन । विपत्तिहरूको लस्करमा उनले बोम्दीला पनि जोड्नुप¥यो । यो सन्देश उनले आसामका जनताको नाममा दिइरहेका थिए । उनले भने, “हाल जे भयो त्यो गम्भीर र दुःखद थियो । हामी हाम्रा आसामी साथीहरूको भावना बुझ्छौँ किनभने यी सबै उहाँहरूको आँगनमै रहेको छ । म उहाँहरूप्रति दुःखी छु र उहाँहरूलाई सहयोग गर्न हामीले सक्दो गर्नेछौँ ।” नेहरूको यस भाषणलाई आसाममा राम्रो मानिएन । आसाम चीनको हातमा जाने भएकोले नेहरूले बिदाइ गरिरहेको र उनले केही गर्न नसकेको भाव आसामीहरूले उनको भाषणमा महसुस गरे । साथै उनले ‘आक्रमणकारीले भारत छोडेर नजाँदासम्म वा उसलाई नधकेलेसम्म हामी आरामले बस्नेछैनौँ’ भने । यस दिनको विषयमा अमेरिकी राजदूतले ‘भारतको मनोबल खस्केको देखेको सकसपूर्ण दिन’ भनी लेखेका थिए । चीनले तेजपुर लिन्छ, राजधानीमा प्यारासुटबाट सैनिक ओराल्छ, कौललाई बन्दी बनाइयो आदि आधारहीन हल्ला फैलिरहेको थियो । कौलसम्बन्धी हल्लामा राष्ट्रपति राधाकृष्णनले भने, ‘दुर्भाग्य, यो सत्य होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *