फर्कनेको होइन, बिदेसिनेको लर्को
- भाद्र १०, २०८३
केही गर्ने चाहना भएकाले जस्तोसुकै परिस्थितिमा जसरी पनि काम गर्छ । जहाँ इच्छा, त्यहाँ उपाय । तर, चाहना भएन भने अनेक थरी बहानाहरू आउँछन् । यो कुरा लकडाउनको बेलामा कतिपय ठाउँमा देखिएको शैक्षिक गतिविधिबाट स्पष्ट भएको छ ।
कोरोना महामारीकै बिच पनि धेरैै सहरिया विद्यालयले नयाँ शैक्षिक सत्र लागेसँगै अनलाइन कक्षा सञ्चालन गरे । असहज पक्कै पनि भयो । तर, लकडाउनको बेलामा अत्यावश्यक काम रोकिएन । पैदल यात्रीको कुरा नगर्दा पनि, सवारी पास र यात्रा अनुमति लिएर यात्री र यातायात रोकिएनन् । जरुरी भएपछि नक्कली बिरामी बनेर भए पनि मानिसहरू एम्बुलेन्समा समेत यात्रा गर्न बाध्य भए । बिहे, व्रतबन्ध, घरायसी पूजाआजाका काम पनि रोकिएनन् । तर, विद्यार्थीको सिकाइसँग सम्बन्धित गतिविधिलाई भने सरोकारवालाहरूले सबैतिर अत्यावश्यक काम ठानेनन् । विद्यार्थी आफैँ पढ्ने भए विद्यालय र शिक्षक नै चाहिंदैनथ्यो । उमेर र अवस्थाका कारण पनि, धेरै विद्यार्थीहरूलाई फेसबुक र लकडाउनको मिलनले अध्ययनबाट विमुख बनायो ।
त्यसो त मन, जाँगर र सक्रियता भएका प्रअ र स्थानीय तह मिलेर, अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नहुने पहाडी क्षेत्रतिर पनि साविकझैँ शैक्षिक सत्र सुरु भएको केही समयपछि सिकाइ क्रियाकलापले निरन्तरता पायो । कतिपय ठाउँमा घरघरमा किताब बाँड्दै, टोलटोलमा विद्यार्थी जम्मा गरेर पढाउने काम पनि भयो । सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेपछि सिकाइ गतिविधि झनै बढ्यो । कतिपय स्थानीय तहले स्वाध्ययन सामग्री पनि छापेर बाँडे । करोडौँको सरकारी खर्चमा यी सब गर्दा, विद्यालयमै शिक्षक विद्यार्थी आमनेसामने भएर सफल मनोवैज्ञानिक सिकाइ नभए पनि अवस्था र परिस्थितिअनुसार जे भयो, केही न केही त अवश्य भयो ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले स्थानीय तहलाई तेइसवटा शैक्षिक अधिकार दिएको कुरा स्मरणीय छ । यस क्रममा, असार १ गतेदेखि शैक्षिक प्रशासन खोल्ने सरकारी निर्देशनलाई स्थानीय सरकारले फरक–फरक तरिकाले बुझेर फरक फरक सूचना जारी गरे । कतिपयले कडा सूचना जारी गरेर शिक्षकहरूलाई विद्यालयमा अनिवार्य हाजिर हुन भने । कसैले, बाहिरी जिल्लाका रहेका शिक्षकहरूलाई विद्यालयमा प्रवेश निषेध नै गरे । कसैले विद्यालयमा सम्पर्क गरी १४ दिनसम्म क्वारेन्टिनमा बसेर पठनपाठनमा संलग्न हुन पनि निर्देशन दिए । कतिपय विद्यालयमा जोरबिजोर कक्षाका विद्यार्थी बोलाएर शिक्षण गरे । केही नभए, शिक्षकहरू जम्मा भएर सिकाइ योजना र शैक्षिक सामग्री निर्माण गर्ने काम भयो ।
जिल्लाबाहिर रहेका कतिपय शिक्षकहरूलाई ‘सार्वजनिक यातायात नचलेको’ बहाना भयो । ‘विद्यालयमा अनिवार्य हाजिर हुन’ भनिएपछि आफ्नो घरमा बन्दाबन्दी खेपिरहेका दूरदराजका आज्ञाकारी र कर्तव्यनिष्ट शिक्षकहरू यातायात शिफारिस पास, गाडी रिजर्भ तथा अनेक दुःखकष्ट झेलेर विद्यालय पुगी स्थानीय सरकारले दिएको निर्देशन पालना गरी शैक्षिक क्रियाकलापमा सहभागी त भए । तर, केही दिनपछि कतिपय जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय एकाइले ‘शैक्षिक क्रियाकलाप तुरून्त बन्द गर्नू’ भन्ने सूचना जारी गरेका छन् । यसैबिच सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना र विद्यार्थी सङ्ख्या यकिन गर्ने कुरा भनेपछि, अरू बेला पनि विद्यालय जान ढिलो गर्ने, गए पनि कक्षामा जान अल्छि मान्ने गर्ने, गए पनि पूरै घण्टी कक्षामा बस्नै नसक्ने, विद्यालयबाट छिट्टै भागेर अन्य फाइदाको व्यवसायमा लाग्ने शिक्षकहरूलाई आनन्द भएको छ । स्वच्छ र रमणीय प्राकृतिक वातावरणका कारण, कोरोना भए पनि तुरुन्तै प्रभावहीन होलाजस्तो लाग्ने, कोरोना सङ्क्रमित नभएको क्षेत्रमा रहेका पन्ध्रबीसजना विद्यार्थी र दुईतीनजना स्थानीय शिक्षक भएका कतिपय आधारभूत विद्यालयहरू पनि सुनसान देखिन थालेका छन् । अझ कतिपय दुर्गमका स्थानीय शिक्षक नभएका विद्यालयले त सुगमका घर भएका शिक्षकहरूको मुख देख्न कहिले पाउने होलान् ¤ विद्यार्थीहरू बोलाएमात्र आउने र शिक्षकहरू अनुमति पाएमात्र विद्यालय खोलेर पढाउने भएको हुँदा शैक्षिक वातावरण क्रियाशील बनाउने वा नबनाउने जिम्मा स्थानीय तहकै त हो तर ‘माथिको आदेश’ का कारण कतिपय स्थानीय सरकारको पनि जाँगर मरेको छ ।
विद्यालय नखुले पनि, शिक्षकहरू निष्क्रिय भएर शैक्षिक गतिविधि रोकिन नहुने हो । अनलाइन कक्षा सञ्चालन गर्न नेटवर्क छैन, नेटवर्क भए प्राविधिक ज्ञान छैन, लामो दुरी तय गर्नुपर्ने भएको हुँदा विद्यालय जान सार्वजनिक सवारी साधनमा पास पाइँदैन, पास पाए महँगो भाडा तिर्न सकिंदैन, लिफ्ट नै पाए पनि विद्यालयमा भर्खरै क्वारेन्टिन राखेको छ, विद्यालय सुरक्षित भए पनि गाउँटोलमा सङ्क्रमित छन्, गाउँटोलमा सङ्क्रमित नभए पनि देशभरि सङ्क्रमितहरूको सङ्ख्या बढिरहेकै छ, विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिइरहेको छ …बहानाका यस्तै कुराका शृङ्खला जोड्दै जानेसँग कसैको पनि केही लाग्दैन । विद्यालयमा हाजिर हुनासाथ पाँचहजार अतिरिक्त भत्ता पाइने भन्ने सूचना आएको भए, जसरी पनि हाजिर हुन जाने कुरो आउँथ्यो होला ।
निश्चयय नै, विद्यालय भीडभाड हुने स्थल हो । कोरोना सङ्क्रमणका बारेमा सबैलाई थाहै छ । अन्य व्यवसाय खुलिसके । विगत सातआठ महिनाको अवधिमा सार्वजनिक भएको विश्व स्वास्थ्य अनुभव, तथ्याङ्कका क्रममा पछिल्लो पटक, कोरोनाको भाइरस हावाबाट पनि सर्नसक्ने वैज्ञानिक दावी आएपछि, यसैसँग अभ्यस्त भएर बाँच्नुको बिकल्प नभएकोले स्वास्थ्य सावधानी अपनाएर पूर्ववत् काममा नफर्की अर्को उपाय नै छैन । यस क्रममा, सबैतिर शिक्षालय खोल्ने÷खोलाउने कुरा सम्भव नभए पनि शैक्षिक गतिविधि रोक्न नहुने कुरामा सम्बन्धित सबैको ध्यान जान ढिला भइसकेको छ ।
Leave a Reply