भर्खरै :

देर्सुउजाला किन बन्यो ?

विश्वविख्यात फिल्म निर्देशक अकिरा कुरोसावाले सन् १९७१ मा आत्महत्या गर्ने कोसिस गरे । रसोमोन, सेभेन सामुराइ, रेड बियर्डजस्ता फिल्म जगतकै बहुचर्चित कलात्मक फिल्म बनाइसकेका कुरोसावाको यो दुर्दशा होला भनेर कसैले चिताएका थिएनन् । उनी नमरुञ्जेल फिल्म बनाउन चाहन्थे तर ७० को दशकसम्म आइपुग्दा फिल्म निर्माताहरूले उनलाई पत्याउन छोडेका थिए । आर्थिक हिसाबले उनी टाट पल्टेका थिए । जापानी फिल्म बजारमा उनलाई पुरानो ढर्राका फिल्मकार भन्न थालिएको थियो ।
अकिरा कुरोसावाको आत्महत्या प्रयास विफल भयो । मृत्यु पराजित भयो । जीवनले जित्यो । कुरोसावा बक्यौतामा पाएको जीवन बिताइरहेका थिए । यत्तिकैमा उनलाई तत्कालीन सोभियत सङ्घबाट फिल्म निर्देशनको प्रस्ताव आयो । कुरोसावाले आशाको किरण देखे । उनले जीवनमा पाएको पर्दाभन्दा त्यो पर्दा रङ्गीन र भव्य थियो । त्यो पर्दा थियो सोभियत सङ्घको सरकारी चलचित्र निर्माण संस्था मोस्फिल्मको पर्दा ।
कुरोसावाले धेरै पहिले जारकालीन रुसका यात्री भ्लादिमिर आर्सिनियभको संस्मरण पढेका थिए । देर्सु उजाला त्यस संस्मरणका नायक थिए । ‘देर्सु उजाला’ प्रकृतिसँग एकाकार भई जिउने यहीँ नायकको कहानी हो । साथै यो कहानी हो, सहरी सभ्यतामा बाँच्ने क्याप्टेन आर्सिनियभसँगको नायकको चोखो सम्बन्धको । कुरोसावाले भनेका छन्, “मानिसले आफू प्रकृतिको अङ्ग हुँ भन्ने भुलिसकेको छ । त्यसैले प्रकृतिको चर्को दोहन गर्छ । हामी यसको विरुद्ध जहाँतहीँबाट चिच्याउनुपर्छ । म फिल्ममार्फत चिच्याइरहेको छु ।” कुरोसावा जापानमाथि संरा अमेरिकाले प्रहार गरेको परमाणु बमले गर्दा अत्यन्त व्यथित थिए । कुरोसावाको यहीँ सोचका कारण जन्मेको थियो सुन्दर सिनेमा ‘देर्सु उजाला’ । पुरानो फिल्मको रिमेक भएर पनि सन् १९७५ मा बनेको ‘देर्सु उजाला’ ले ओस्कर अवार्ड जित्यो । यसले कुरोसावाको खस्केको साख माथि उठाइदियो । यसपछि पनि उनले धेरै राम्रा चलचित्र बनाइरहे ।
देर्सुको कथा
जारकालीन रुस । फिल्मको कथा सन् १९०२ बाट सुरु हुन्छ । कप्तान आर्सिनियभ केही सिपाहीसहित राताम्ये जङ्गलमा देखापर्छन् । जङ्गलको बिरानोपन भुल्न उनीहरू चर्को स्वरमा गाइरहेका हुन्छन् । सरकारले उनीहरूलाई चिनियाँ सीमानजिकको सुदूर रुसी भूभागमा भौगोलिक पर्यवेक्षणको लागि खटाएको हुन्छ । राती बास बस्दै गर्दा जङ्गलमा केही चहलपहल सुनिन्छ । उताबाट बन्दुक नचलाउन अनुरोध आउँछ । जङ्गलको अँध्यारोबाट रातोपिरो, खाइलाग्दो र गठिलो शरीरका एक साइबेरियाली बुढा देखापर्छन् । तिनै पाको व्यक्तिको नाम हुन्छ देर्सु उजाला ।

अकिरा कुरोसावा


अर्को दिनदेखि देर्सुले कप्तानलाई जङ्गल र वरपरका भूभाग घुमाउन थाल्छन् । उनी नजिकै पहाडको एउटा झुपडीमा एक्लै बस्छन् । उनको परिवार पानीसरा लागेर मरिसकेको हुन्छ । उनी जङ्गलमा एक्लै जीवन धानिरहेका हुन्छन् । शिकार नै उनको जीवन हुन्छ । जङ्गलका प्राकृतिक चुनौतीसँग जुध्नु उनको दिनचर्या हुन्छ । सहरबाट आएका पर्यवेक्षक आर्सिनियभ र उनको टोली देर्सुको प्रकृतिसम्बन्धी ज्ञान देखेर दङ्ग पर्छ । देर्सु जङ्गलमा देखिने जीवजन्तुको पाइला वा छाप देखेरै त्यहाँ कति समयअघि के भएको थियो पत्ता लगाउन सक्छन् । जङ्गलमा सुत्ने थलो बनाउने काममा उनी पोख्त हुन्छन् । समय नाप्ने उनको आफ्नै प्राकृतिक नापो हुन्छ । प्रकृतिको भाषा पढ्नमा उनी निपुण हुन्छन् । उनी सादा, बुद्धिमान र व्यवहारिक हुन्छन् ।
फिल्मको सिनेमाटोग्राफी गजबको छ । घाम डुबिरहेको र जुन उदाइरहेको रातो नीलो पृष्ठभूमिमा आर्सिनियभ र देर्सुको बातचितबाट देर्सुको जीवन दर्शन थाहा पाइन्छ । देर्सुले निर्जीव सजीव दुवैलाई साथीभाइजस्तो सम्बोधन गर्छन् । घाम र जूनलाई ‘ठुला साथी’ भन्छन् । घाम मरे हामी पनि मर्छौँ भन्छन् । तिनलाई आफूजस्तै प्रकृतिका अङ्ग ठान्छन् । खोलाको किनारमा बस्दै उनले आगो, पानी र हावा पनि सजीव हुन् भनी सिपाहीहरूलाई बताउँछन् । सिपाहीले उनको खिल्ली उडाउँछन् । सिपाहीहरू सहरबाट आएका हुन् । उनीहरूले प्रकृतिलाई जितेका छन् । तर, देर्सु प्रकृतिसँग दिनदिनै जुध्छन् । प्रकृति कति बलवान् हुन्छ उनले गहिराइमा महसुस गरेका छन् । त्यसैले प्रकृतिलाई साथी नबनाई र त्यसलाई सम्मान नगरी बस्न सक्दैनन् । उनी प्रकृतिको रौद्र रूपबाट बँच्न पनि जानेका छन् । यस्तै एक प्रसङ्गमा देर्सुले कप्तानलाई मर्नबाट बचाउँछन् । यसको केही समयपछि नै कप्तान आफ्नो टोलीसँग रेलबाट विशाल रुसको पूर्वी सहर भ्लादिभोस्तोकतिर लाग्छन् । उनीहरूले देर्सुलाई यस्तो गा¥हो जीवन बाँच्नुभन्दा आफूसँगै सहर जान प्रस्ताव पनि गरेका हुन्छन् । तर, देर्सुले आफू सहरमा बस्न नसक्ने बताउँदै बचेको गोलीगठ्ठा माग्छन् । फिल्ममा उनीहरूको बिदाइको मार्मिक ढङ्गले चित्रण गरिएको छ । सन् १९०७ मा आर्सिनियभ पुनः त्यहीँ जङ्गल जान्छन् नक्साङ्कनको कामले । जङ्गल वसन्तको हरियो रङ्गमा सजिएको हुन्छ । उनलाई देर्सुको अस्याट लाग्छ । यत्तिकैमा एकदिन देर्सु भेटिन्छन् । उनीहरूको आत्मीय सम्बन्ध उजागर गर्न निर्देशकले कुनै कसर बाँकी राखेका छैनन् । यसपालि पनि देर्सु आर्सिनियभका लागि धेरै कुरामा सहयोगी बन्न पुग्छन् । एक दिन उनीहरूले खोलाको किनारमा जङ्गली जनावर मार्न थापिएको धराप देख्छन् । देर्सु धराप थाप्नेसँग रिसाउँछन् । किनभने केही धरापमा धेरै दिनदेखि दुईचार जन्तु मरेका हुन्छन् । पशुपंक्षी बित्थामा मार्नु हुँदैन र धरापमा पार्ने भए लिन पनि आउनुपर्छ भन्ने देर्सुको विचार हुन्छ । देर्सुले यसपालि पनि कप्तानलाई जोगाउन आफ्नो ज्यान हत्केलामा राख्छन् । शरद ऋतु आउँदै गर्दा उनीहरूले सुन्दर तस्वीरहरू खिचाउँछन् ।
यस्तैमा एउटा घटना घट्छ । कप्तानलाई बचाउन खोज्दा देर्सुले बाघलाई गोली हान्छन् । तर, बाघ घाइते भई भाग्छ । बाघलाई उनी अम्बा भन्छन् । वनदेवताले आफूलाई मार्न अर्को अम्बा पठाउने अन्धविश्वासले उनको दिमाग खलबल्याउँछ । उनी ससानो कुरामा पनि झिँजो मान्न थाल्छन् । जङ्गलमा शिकारको क्रममा उनको दृष्टि घटेको प्रमाणित हुन्छ । शिकारबिना जङ्गलमा कसरी बाँच्ने ? प्रकृतिसामु आफू निरीह भएको ठानेर उनी आर्सिनियभसँगै उनको घर रहेको सहर जान्छन् ।
सहरमा देर्सुको जीवन कुँजिन्छ । उनी शिकार गर्न जान चाहन्छन् । तर, शिकार गर्न नपाइने कानुन हुन्छ । व्यापारीले पानी बेचेको देखेर उनी रिसाउँछन् किनभने उनले जीवनभरि पानीलाई व्यापारको वस्तु ठानेकै हुँदैनन् । उनी दाउरा लिन जङ्गल जाँदा रुख नै ढलाउँछन् । यो पनि अवैध हुन्छ । उनलाई प्रहरीले समात्छ । आर्सिनियभको छोरा भोभाले देर्सुलाई रुचाउँछ । ऊ देर्सुको निडर स्वाभावबाट प्रभावित हुन्छ । वनको चरी वनमै रमाउँछ भन्छन् । देर्सु वनजङ्गलको खुला वातावरणमा रमाएका हुन्छन् । उनी सहरमा आफू जङ्गलको सुकेको मुढोझैँ भएँ भनी कप्तानसँग गुनासो गर्छन् । अनि आफू पुनः जङ्गल जान चाहेको बताउँछन् । आर्सिनियभले मार हान्न सजिलो हुने अत्याधुनिक हतियार दिएर उनलाई बिदा गर्छन् । तर, यहीँ हतियार देर्सुको लागि घातक बन्न पुग्छ । कसैले देर्सुको हतियार लुट्न उनको हत्या गर्छ ।
फिल्म फ्ल्यासब्याक शैलीमा छ । फिल्मको सुरुकै दृश्यमा सन् १९१० तिर कप्तान आर्सिनियभ जङ्गलबीच नयाँ बस्तीमा पुग्छन् । गाउँलेलाई चिहान भएको ठाउँ सोध्छन् । भर्खर बस्दै गरेको गाउँ हुनाले यहाँ कुनै चिहान छैन भनी एक गाउँलेले बताउँछन् । भावुक भएर आर्सिनियभले साथी देर्सुको नाम लिएपछि फिल्मको मूल कथा सुरु हुन्छ भने देर्सु शब्दसँगै फिल्म समाप्त पनि हुन्छ ।
टिप्पणी
फिल्ममा एउटा संवाद छ, “प्रकृतिको गहनतासँग जुध्न मानिस झिनो प्राणी हो ।” त्यसैले स्टेपीको फराकिलो मैदानमा हँसिलो अनुहार लाएर देर्सु भन्छन्, “सँगै हिँडौ, सँगै काम गरौँ ।” यसरी फिल्मले प्रकृतिको विराट रूप देखाउँछ र प्रकृतिसँगको मानवीय भाइचाराको सन्देश दिन्छ । ‘देर्सु उजाला’ मानव मानवबीचको सङलो सम्बन्धको लागि सदा सम्झिइनेछ । यसले प्रकृतिलाई हेर्ने सम्यक दृष्टि सिकाइरहनेछ । साथै प्रकृतिसँगको मानिसको अटुट सम्बन्धलाई जगेर्ना गर्न घच्घचाइरहनेछ । विद्यार्थी एवं कलाप्रेमी सबैका लागि कुरोसावाको यस चलचित्रले धेरै कुरा भनेको छ । (सुन्न र हेर्न खोज्नेलाई यो चलचित्र युट्युबमा हाजिर छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *