भर्खरै :

‘द अनटोल्ड स्टोरी’ अर्थात् मदर टेरेसाबारे लुकाउने गरिएको वास्तविकता

मदर टेरेसालाई जीवनको आदर्श मान्ने मानिसहरूको संसारमा कमी छैन । धेरैको लागि उनी दया, करुणा र प्रेमका प्रतीक हुन् । कतिको लागि उनी भगवानका अवतार हुन् । कतिको लागि उनमा चामत्कारिक गुण छन् । भगवान भएकैले उनमा त्यस्तो असाधारण क्षमता भएको कति मानिस विश्वास गर्छन् । पाठ्यपुस्तकमा मदर टेरेसाको जीवनी पढेर हुर्केका धेरै विद्यार्थीको लागि उनी पूजनीय व्यक्तित्व हुन् । एकोहोरो सकारात्मक चर्चाले मदर टेरेसालाई लौकिकताबाट अलौकिकतामा उकासेको छ । विभिन्न उद्देश्य, स्वार्थ र कारणले यसरी भगवान बनाइएका संसारमा अरू पनि धेरै मानिस छन् ।
तर, सामान्यतः भगवान बनाइएका यस्ता अधिकांश मानिसको बाहिरको प्रचार र भित्री वास्तविकतामा ठुलो अन्तर हुने गरेको छ । निहीत स्वार्थको निम्ति भगवान बनाइएका यस्ता मानिसको भित्री पाटोको उजागर भने गम्भीर र आलोचनात्मक चेत भएका अध्येताहरूबाट हुने गरेका छन् । मदर टेरेसाबारे प्रचार गरिएका सकारात्मक कुराबाहेक भित्री पाटोबारे त्यस्ता केही पुस्तक प्रकाशित छन् । ती पुस्तकका लेखकहरूले टेरेसाबारे गरिएका प्रचारबाजीभित्र वास्तविकताको खोजी गरेका छन् । अरूप चट्टर्जीको पुस्तक ‘द अनटोल्ड स्टोरी’ टेरेसाबारे आलोचनात्मक अध्ययन गरिएको त्यस्तै पुस्तक हो ।
लेखक चट्टर्जी पेशाले चिकित्सक हुन् । उनी मदर टेरेसासँग टासिएर आउने सहर कोलकोत्ताका रैथाने हुन् । तथापि उनी लामो समयदेखि लण्डनमा चिकित्सा कर्म गरिरहेका छन् । भारतबाट लण्डन पुगेपछि त्यहाँ मदर टेरेसाप्रति मानिसहरूको अस्वाभाविक सकारात्मक भावना देखेर उनी चकित परे । विशेषतः टेरेसाले कोलकोत्ता सहरमा गरिरहेको कामबारे पश्चिमा समाजमा व्याप्त बुझाइ देखेर चट्टर्जी आजित बने । पश्चिमा समाजमा मानिसहरूले कोलकोत्ता सहरलाई नकारात्मकताको हदमा पुगेर बुझेका थिए । कोलकोत्तालाई पश्चिमा समाजले गरिब, निमुखा, रोगी र झोपडपटीहरूको सहरका रूपमा चिनेको थियो । उनीहरू कोलकोत्ताका सडक र फोहोरको डङ्गुरमा लास फालिएको हुने सोच्थे । कोलकोत्तामा बस्ने अधिकांश मानिस कुष्ठरोगी र अपाङ हुने भनी प्रचार थियो । पश्चिमाहरूको बुझाइमा कोलकोत्ताको यस्तो विद्रुप छवि निर्माणमा भूमिका खेलेको थियो–मदर टेरेसाको मिसनको च्यारिटीले । यस्तो ‘कुरूप मानवता’ बाँचेको सहरलाई उद्दार गर्न मदर टेरेसाले आफ्नो जीवन अर्पण गरेकी छिन्, त्यसकारण उनी महान र भगवान हुन् भन्ने पश्चिमाहरूको बुझाइ थियो । कोलकोत्ताको रैथाने हुनुको नाताले अरूप चट्टर्जीलाई यी सबै प्रचारबाजी कति असत्य र अतिरञ्जनापूर्ण छन् भन्ने कुरा राम्ररी थाहा छ । पश्चिमा समाजमा कोलकोत्ताबारे यस्तो छवि बनाउने भूमिका खेल्ने मदर टेरेसाको मिसन अफ च्यारिटीको त्यहाँ कुनै उल्लेखनीय उपस्थिति नै देखेका थिएनन् उनले ।

विभिन्न उद्देश्य, स्वार्थ र कारणले यसरी भगवान बनाइएका संसारमा अरू पनि धेरै मानिस छन् । तर, सामान्यतः भगवान बनाइएका यस्ता अधिकांश मानिसको बाहिरको प्रचार र भित्री वास्तविकतामा ठुलो अन्तर हुने गरेको छ । निहीत स्वार्थको निम्ति भगवान बनाइएका यस्ता मानिसको भित्री पाटोको उजागर भने गम्भीर र आलोचनात्मक चेत भएका अध्येताहरूबाट हुने गरेका छन् ।

प्रचारबाजी र वास्तविकताबीचको यो गहिरो अन्तरले उनलाई मदर टेरेसाबारे थप अध्ययन गर्न उत्साहित गर्छन् । उनी लगातार झन्डै २५ वर्ष मदर टेरेसाको विषयमा अध्ययन लाग्छन् । यो अवधिमा उनी मदर टेरेसाबारे प्रचारबाजीभित्रका वास्तविकता खोज्छन् । मदर टेरेसाबारे लेखिएका र भनिएका सबै कुराभित्रका यथार्थ कुराको खोजी गर्छन् । उनीबारे यसरी बोल्ने, लेख्ने र चन्दा दिने विभिन्न व्यक्ति र संस्थालाई चट्टर्जी चिट्ठी पठाएर स्पष्ट हुन खोज्छन् । कोलकोत्ताका झोपडपटी र गल्लीमा पुगेर मिसनको च्यारिटीले उनीहरूको जीवनमा पारेको प्रभावबारे सोधखोज गर्छन् । टेरेसाको विगत र विकासक्रम, उनले विभिन्न क्षेत्रमा बोलेका कुरा र त्यसअनुसार व्यवहारको अन्तरविरोध खुट्याउने प्रयास गरिरहे । चट्टर्जीको लामो अवधिको अध्ययनपछि तयार भएको अनुसन्धानमा आधारित पुस्तक हो–द अनटोल्ड स्टोरी ।
अनटोल्ड स्टोरी अर्थात् नभनिएको कथा । मदर टेरेसाबारे सकारात्मक बुझाइले खाँदिएको दिमागले यो पुस्तक पढ्दा वास्तवमै कुनै नसुनिएको र नभनिएको कथा पढेको अनुभव हुन्छ । अल्बानियाबाट स्वास्थ्य परिचारिकाको रूपमा भारतको कोलकोत्ता पुगेकी टेरेसा कसरी मदर टेरेसा बनिन् ? टेरेसा क्याथोलिक धर्मको धर्मप्रचारको कार्यक्रमअन्तर्गत नै भारतको कोलकोत्ता पुगेकी थिइन् । अधिकांश धार्मिक मिसनले जस्तै क्याथोलिक धार्मिक मिसनले पनि मानव सेवा र मानव धर्मको आवरण बोकेको थियो । टेरेसाको त्यो औसत मिसनलाई संसारभर प्रचार गर्ने काम भने बेलायती र अमेरिकी सञ्चारमाध्यममा बलियो प्रभाव भएका पत्रकार एवम् लेखक मालकोम मलोवेजले गरे । मलोवेज स्वयम् क्याथोलिक धर्मका कट्टर अनुयायी थिए । मदर टेरेसाले कोलकोत्तामा गरिरहेका औसत कामलाई पनि उनले आफ्नो प्रभावमा रहेका सञ्चारमाध्यमको उपयोग गरी चर्चाको शिखरमा पु¥याएदिए । सञ्चारमाध्यममा प्रकाशित तिनै लेख र समाचारले मदर टेरेसाप्रति पश्चिमा धारणा बन्दै गयो । उनलाई क्याथोलिक धर्मको मुख्यालय भ्याटिकनले पनि प्रचारमा आउन थप मद्दत ग¥यो । मदर टेरेसाले कोलकोत्तामा गरिरहेको कामभन्दा पश्चिममा गरिएको प्रचार निकै ठुलो थियो । त्यसकारण पश्चिमा सञ्चारमाध्यममा प्रकाशित लेख र समाचारको प्रभावमा परेर मदर टेरेसाको च्यारिटी होम हेर्न आउनेहरू कोलकोत्ताको सानो भवन देखेर विश्वास गर्न गा¥हो मान्छन् ।
क्याथोलिक धार्मिक अभियन्ताहरूले टेरेसालाई नियोजितरूपमै प्रचारको उचाइमा पु¥याएका छन् । उनीहरूले विभिन्न पदक र सम्मानबाट सम्मानित गरेर पनि उनलाई संसारमा चर्चित बनाए । टेरेसाको त्यही नियोजित चर्चाको आडमा क्याथोलिक अनुयायीहरूले संसारभर धर्मप्रचारको कार्यलाई जारी राखे । मदर टेरेसाको करुणा, दया र सहनशीलताको आवरणमा क्याथोलिक धर्मको प्रचार गरियो । क्याथोलिक धर्म संसारभर पश्चिमा राजनीतिक प्रभावको हतियार पनि हो । अफ्रिकाका विभिन्न देशमा पश्चिमा शक्तिहरूको प्रभाव धर्मकै नाममा थोपरिएको हो । चिन्वा अचिवेका उपन्यासहरूले पश्चिमाहरूले धर्मलाई कसरी राजनीतिक उपनिवेशको हतियार बनाएका थिए भन्ने कुराको चित्रण गरिएको देख्छौँ ।

टेरेसाको त्यो औसत मिसनलाई संसारभर प्रचार गर्ने काम भने बेलायती र अमेरिकी सञ्चारमाध्यममा बलियो प्रभाव भएका पत्रकार एवम् लेखक मालकोम मलोवेजले गरे । मलोवेज स्वयम् क्याथोलिक धर्मका कट्टर अनुयायी थिए । मदर टेरेसाले कोलकोत्तामा गरिरहेका औसत कामलाई पनि उनले आफ्नो प्रभावमा रहेका सञ्चारमाध्यमको उपयोग गरी चर्चाको शिखरमा पु¥याएदिए । सञ्चारमाध्यममा प्रकाशित तिनै लेख र समाचारले मदर टेरेसाप्रति पश्चिमा धारणा बन्दै गयो । उनलाई क्याथोलिक धर्मको मुख्यालय भ्याटिकनले पनि प्रचारमा आउन थप मद्दत ग¥यो । मदर टेरेसाले कोलकोत्तामा गरिरहेको कामभन्दा पश्चिममा गरिएको प्रचार निकै ठुलो थियो ।

कोलकोत्तालाई गरिब, निमुखा र दयनीय सहरको रूपमा चित्रण गरी त्यहाँका जनताको सेवा गरेको भनी प्रचार गर्दै टेरेसाले पश्चिमा समाजको सद्भावमात्र बटुलेनन् । बरु उनीहरूबाट आर्थिक सहायता पनि उठाए । ती सबै पैसा कोलकोत्ता र मिसन अफ च्यारिटीको नाममा उठाइन्छ । तर, यसरी मानवता रक्षा र गरिबको नाममा उठाइएको चन्दा भने भ्याटिकनको धार्मिक प्राधिकारको खातामा जम्मा हुने गरेको छ । कोलकोत्ताका झोपडपटीहरूका तस्वीर राखेर चन्दा उठाइन्छ । तर, उठेको पैसाको निकै सानो हिस्सामात्र कोलकोत्ता वा भारतको जनताको निम्ति प्रयोग हुने गरेको छ ।

अरूप चट्टर्जी


पुस्तकमा लेखकले कोलकोत्तामा मदर टेरेसाको संस्था मिसन अफ च्यारिटीले स्थापना गरेका वृद्धाश्रम र बालगृहको दयनीय अवस्थाको बारे पनि अध्ययन गरी वास्तविकता उजागर गरेका छन् । त्यहाँभित्र स्वयम्सेवकहरूले ज्येष्ठ नागरिकलाई गर्ने व्यवहार, स्वास्थ्य सामग्रीको अस्वस्थ प्रयोग, बालबालिकाको अव्यवस्थित अवस्था, अस्वस्थ वातावरण आदिको चित्रण गरिएको छ । मिसन अफ च्यारिटीमा स्वयम्सेवा गर्ने भावनाले विभिन्न देशबाट आउने स्वयम्सेवकहरू त्यहाँको अवस्थाका कारण आजित भएर बाहिरिएका उदाहरण लेखकले प्रस्तुत गरेका छन् । मदर टेरेसाको कार्यालयनजिकै झोपडपटी छ । तर, त्यहाँका जनताले आफ्नो जीवनमा टेरेसाको कुनै पनि प्रभाव नभएको लेखकको अध्ययनले देखाएको छ । टेरेसाका अनुयायीहरूले चन्दामा आएको सामान पनि आफन्तलाई बाँड्ने, एम्बुलेन्सलाई पनि आफ्नो यातायातको निम्ति प्रयोग गर्ने, सुविधासम्पन्न होटलमा बस्ने गरेको, कोलकोत्ताका जनताबीच धर्म परिवर्तन गरी क्याथोलिक बनेमात्र सहयोग गर्ने गरेको जस्ता सूक्ष्म कुरा पुस्तकमा उल्लेख छ ।
मदर टेरेसा पीडालाई भगवानको आशीर्वाद मान्छिन् । त्यसकारण कोही मानिस पीडामा हुन्छ भने उनी उपचारको सट्टा भगवानको नाममा सहन सल्लाह दिन्छिन् । यसकारण धेरै उपचार सम्भव भएका मानिसको पनि अनाहकमा ज्यान गएको मिसन अफ च्यारिटीमा काम गर्ने स्वयम्सेवकहरूको अनुभव पुस्तकमा लेखिएको छ । सर्वसाधारणलाई पीडा सहन सल्लाह दिए पनि मदर टेरेसा आफू भने कोलकोत्ता, युरोप र संरा अमेरिकाका विभिन्न राम्रा अस्पतालमा उपचार गर्ने गर्छिन् । उनी कोलकोत्तालाई आफ्नो सहर भन्न थाक्दैनन् । तर, उनी वर्षको थोरै समयमात्र कोलकोत्तामा बिताउने गर्छिन् । अधिकांश समय उनी विदेश भ्रमणमै बिताउँछिन् । युरोप, संरा अमेरिका र विभिन्न देशको उच्चपदस्थ शासकहरूसँग उठबसमा उनको समय व्यतित गर्छिन् । तर, यी सबै काम उनी गरिबको नाममा गर्छिन् । यसप्रकार टेरेसाको बोली र व्यवहारबीचको भेदले उनी वास्तवमा जे प्रचार गरिएको हो, त्यो भन्दा निकै भिन्न भएको यो पुस्तकको मूल दाबी हो । पश्चिमा सञ्चारमाध्यम र लेखकहरूले टेरेसाबारे जे प्रचार गरेका छन्, तिनका आफ्नै निहीत स्वार्थ छन् । त्यसमा कोलकोत्ता वा टेरेसाले निकै नाम लिने गरेका गरिब जनतासँग कुनै लिनुदिनु नभएको लेखकको भनाइ हो । कोलकोत्तालाई पश्चिमा सञ्चारमाध्यमले टेरेसाले नै बनाएको सहरजस्तो प्रचार गरे पनि मिसन अफ च्यारिटीले भन्दा त्यो सहरमा कुनै समस्या पर्दा सहयोग गर्ने अरू नै सामाजिक एवम् धार्मिक संस्था रहेको तर्क लेखकले तथ्यसहित प्रस्तुत गरेका छन् । टेरेसासँगै जोडेर कोलकोत्ता सहरलाई पश्चिमा समाजमा नकारात्मकरूपमा चित्रण गरिएको छ । तर, कोलकोत्ता वास्तवमा सभ्यता, संस्कृति र समृद्धिको सहर भएको लेखकले सटिकरूपमा प्रस्तुत गरेका छन् । आज पनि कोलकोत्ता भारतकै प्रमुख आर्थिक केन्द्र हो । लेखकले आफू जन्मेको सहरको पश्चिमा समाजमा भएको बदनामीप्रति आक्रोश पुस्तकमा महसुस गर्न सकिन्छ ।
झन्डै चार सय पृष्ठको पुस्तक लामो समयको अध्ययनको नतिजा भएकोले खँदिलो छ । लेखक चट्टर्जीले निकै मिहिनेत गरेर यो पुस्तक तयार गरेका छन् । स–साना कुरालाई पनि उनले पछ्याएर सत्यको खोजी गर्ने धैर्यता देखाएका छन् । मदर टेरेसालाई सम्पूर्णतामा बुझ्न यो पुस्तक ज्यादै महत्वपूर्ण छ नै । साथै पश्चिमा राजनीतिक र धार्मिक शक्तिहरूको पाखण्डीलाई पनि यो पुस्तकले उजागर गरेको छ ।

2 responses to “‘द अनटोल्ड स्टोरी’ अर्थात् मदर टेरेसाबारे लुकाउने गरिएको वास्तविकता”

  1. धन्यवाद निरज जी र सम्पूर्णलाई । धन्यवाद ! लेखक ज्युलाई सत्य र सहि चिज लेखन गरिदिनु भएकोमा ।

  2. धन्यवाद निरजजी मदर टेरेसा बारे थाहा नपाएको कुराहरुको थाहाभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *