भर्खरै :

सक्वको म राजदास – ४४

  • श्रावण २५, २०७७
  • ई. राजदास श्रेष्ठ
  • साहित्य

 
पुश्कीनको जीवनको अर्को पक्ष
आज म धेरै अचम्मित र धेरै खुसी भएँ । आफ्नो जीवनको नियात्रा भनूँ या आत्मवृत्तान्त लेख्दै गरेको झन्डै एक वर्ष भयो । भक्तपुर सहरबाट निरन्तर प्रकाशित भइरहेको ‘मजदुर’ दैनिकमा मेरो ‘सक्वको म राजदास’ को ४३ अङ्क पनि प्रकाशित भइसक्यो । ‘मजदुर’ दैनिक मा प्रत्येक शनिबार प्रकाशित भइरहेको मेरो रचनाबारे बीच–बीचमा पाठक वृन्दहरूबाट आइरहेको सुझावप्रति पनि म धेरै आभारी छु । यसले अझ लेखिरहने प्रेरणा पाएको छु । आफ्ना लेख–रचनाहरू प्रकाशित गरेर साहित्यप्रेमी जनमानसमा मेरो जीवन र मेरो विचार प्रस्तुत गरिदिनुभएकोमा ‘मजदुर’ दैनिक का प्रकाशक तथा सम्पादक साथीहरूप्रति म हार्दिक आभार प्रकट गर्दै आजको भाग लेख्ने प्रयास गर्दै छु ।
आफ्नो आत्मवृत्तान्त लेख्दालेख्दै सोभियत सङ्घमा आफू अध्ययन गर्दै गर्दाको प्रसङ्ग उठिरहेको बेला किन कसरी हो म रुसका महान साहित्यकार कवि अलेक्जेन्डर पुश्कीनको जीवनीमा आएर अड्किन पुगेँ ।
पुश्कीन मलाई धेरै मन परेको हो वा पुश्कीनको बारेमा मेरी श्रीमती भालेन्टिना श्रेष्ठले धेरै कुरा सुनाएकोले गर्दा हो वा पुश्कीनको बारेमा लेख्दै गर्दा पहिले नसुनेका नपढेका कुराहरू बुझ्दै गर्दा हो, मैले पुश्कीनलाई छाडेर अगाडि बढ्न सकिनँ ।
सोभियत सङ्घ जानु अगाडि मैले नेपालमा पुश्कीनको नाम पनि सुनेको थिइनँ । उनको बारेमा जान्ने कुरा त हुने नै भएन ।
बरु लेभ टल्स्टोइको नाम सुनेको थिएँ । अमृत साइन्स कलेजमा आइएस्सी कोर्स पढ्दै गर्दा उनले लेखेका ‘थ्री क्वेसन्स्’ (तीन प्रश्नहरू) भन्ने कथा पढेको थिएँ । सबभन्दा महत्वपूर्ण मानिस को हो ?, महत्वपूर्ण प्रश्नहरूलाई लिएर लेखिएको ‘सबभन्दा महत्वपूर्ण समय कुन हो ?’ र ‘ सबभन्दा महत्वपूर्ण काम के हो ?’ भेलल टल्स्टोइको दार्शनिक कथा धेरै रमाइलो र ज्ञानवद्र्धक छ । यो कथा अङ्ग्रेजी भाषामा पढेको थिएँ । मलाई धेरै मन परेको थियो ।
सन् १९६९ मा सोभियत सङ्घमा उच्च शिक्षा हासिल गर्न गएपछि मलाई सोभियत साहित्य र रुसी सोभियत साहित्यबारे जान्ने, सुन्ने ठूलो अवसर मिल्यो । मेरै श्रीमती इन्जिनियर भालेन्टिना श्रेष्ठबाट मैले सोभियत र रुसी साहित्यमात्र होइन, रुसको परम्परागत कला–संस्कृति र सङ्गीतप्रति धेरै कुरा सुन्ने अवसर पाएँ ।
म सोभियत सङ्घमा पढ्दै गर्दा सन् १९७१ मा सरकारी खर्चमा एक महिनाको लागि सोभियत सङ्घको दक्षिणी भागमा रहेको विश्वप्रसिद्ध समुद्र ‘कृष्ण सागर’ (ब्लाय्क सी) मा बिदाको छुट्टी मनाउन गएको थिएँ । त्यसबेला भालेन्टिनासँग मेरो विवाह भइसकेको थिएन तर हामी धेरै नजिक भइसकेका थियौँ । म ब्लाय्क सीमा रहँदै गर्दा आफ्ना चिट्ठी पत्रहरूमा उनी मलाई रुसी कवि अलेक्जेन्डर पुश्कीनको बारेमा, उपन्यासकार लेभ टल्स्टोइको बारेमा र कविहरू लेरमोन्टोभ मायाकोभ्स्की र एसेनीनको बारेमा धेरै कुरा सम्झाउँदै लेख्थेँ ।
प्रायः प्रत्येक दिन आउने पत्रहरूमा एक दिन उनले पुश्कीनको बारेमा लेख्दै भनेकी थिइन् “‘क्रिमिया’ मा एउटा ‘बक्छिसाराई’ भन्ने पौराणिक ऐतिहासिक स्मारिका छ, त्यहाँ हेर्न जानू ।” ‘बक्छिसाराई’ भन्ने एक पुरानो ऐतिहासिक मुश्लिम बाडशाहको दरबार हो । त्यो दरबारमा एउटा ‘बक्छिसाराई फाउन्टेन’ भन्ने धारा छ । त्यस धाराको विषयमा गीतिकाव्य लेख्ने रुसी कवि अलेक्जेन्डर पुश्कीनको अर्ध–कदको सालिक पनि छ ।
उनले भनेजस्तै म एक दिन त्यो ‘बक्छिसाराई’ दरबार हेर्न गएँ । महान कवि पुश्कीनको स्मारिका पनि देखेँ र ‘आँसुको झरना’ भन्ने ‘बक्छिसाराई फाउन्टेन’ पनि देखेँ । त्यसबेलादेखि मेरो दिमागमा पुश्कीनको बारेमा जान्ने र पढ्ने सोख जागेको हो । आजसम्म पुश्कीन, उनको जीवन र त्यसबेला स्वतन्त्रताको लागि भएको सङ्ग्राम र जनआन्दोलनहरूबारे पढ्दै छु, बुझ्दै छु ।
पहिले मलाई लागेको थियो पुश्कीन एक रुसी कवि हुन् । उनी महान साहित्यकार कवि हुन् । बस यतिमै सीमित थियो– मेरो पुश्कीनबारे ज्ञान र सुझाइबुझाइ । तर, आज पढ्दा–पढ्दै पुश्कीन एक साहित्यकार कवि र लेखकमात्र होइनन उनी महान् क्रान्तिकारी विचारक र स्वतन्त्र सङ्ग्रामका एक सहयोद्धा पनि थिए ।
पुश्कीनको बेला रुसमा गरीब किसानहरूलाई दास बनाइराख्ने प्रथा थियो । सन् १८२५ मा यही दासप्रथाको विरोधमा रुसको राजधानीमा ‘डिसेम्बर विद्रोह’ भएको थियो । ‘डिसेम्बर अपराइजिङ्ग’ भनेर नाम दिइएको यस जनविद्रोहलाई तत्कालीन जारशाहीविरुद्ध भएको पहिलो जनआन्दोलनको रूपमा लिन सकिन्छ । ‘डिसेम्बर अपराइजिङ्ग’ मा उत्रेका ६ सय जना जति सम्भ्रान्त समाजका विद्रोहीहरूलाई रुसी भाषामा ‘डिकाब्रिस्टी’ भनिन्छ । यी आन्दोलनकारीहरूको मुख्य माग तत्कालीन जारशाहीमा भइरहेको किसानहरूमाथिको अमानवीय शोषण बन्द गरी ‘दासप्रथा’ निर्मूल गर्नुका साथै राजनैतिक र सामाजिक जनजीवनमा सुधारहरू ल्याउनु थियो । ‘डिसेम्बर’ आन्दोलनकारीहरूप्रति पुश्कीनको समर्थन र सहभागिता थियो । सन् १८२५ मा रुसको राजधानी सेन्ट पिट्र्सवर्गमा जनविद्रोह हुँदा क्रान्तिकारीहरूका हात–हातमा पुश्कीनद्वारा लिखित साहित्यिक रचना र कविताका पर्चाहरू थिए । यसैको आधारमा रुसमा पुश्कीनमाथि शङ्का उपशङ्का गरिएको थियो ।
‘डिसेम्बर विद्रोह’ हुँदा अलेक्जेन्डर पुश्कीन रुसको दक्षिणी भागमा निर्वासित जीवन बिताइरहेका थिए । बाल्यकालदेखि नै सामन्त शासकका विरोधी भएको, आफ्नो प्रवेशिका परीक्षा दिँदा रुसका शासकहरूको सातोपुत्लो जाने खालको कविता वाचन गरेको र पछि उनका कृतिहरूमा स्वतन्त्रता र दासप्रथाको उन्मूलन गर्ने विषयहरू समाहित भएकै कारण जारशासक निकोलाई प्रथमले उनलाई एक सरकारी जागिरका साथ राजधानी सहर सेन्ट पिट्र्सवर्गबाट रुसको दक्षिणी भागमा रहेको काउकाज क्षेत्रमा निर्वासन गरी पठाएका थिए ।
पुश्कीनले आफ्नो शिक्षादीक्षा रुसको दरबारियाहरूको लागि बनाइएको एक उत्कृष्ट विद्यालय ‘लिएसी’ मा गरेका थिए । त्यहाँ अध्ययन गर्दागर्दै उनी एक जेहेनदार कवि भएर निस्केका थिए ।
पुश्कीनको जन्म एक आधा–बिग्रिसकेको कुल घरानियाँमा भएको थियो । उनका पिता पनि साहित्यप्रेमी थिए । त्यसकारण रुसका प्रख्यात विद्वान कवि र साहित्यकारहरू उनको घरमा आउने जाने गर्दथे । यसरी साहित्यिक वातावरणमा जन्मे हुर्केकाले पनि पुश्कीनमा ज्ञान–गुणका कुराहरू बढेको हुनसक्छ । घरमा राम्रा राम्रा पुस्तक रहेको पुस्तकालय पनि थियो ।
युवा पुश्कीनलाई अमेरिकामा भएको ‘स्वतन्त्रता–सङ्ग्राम’ र दासप्रथा उन्मूलन गृहयुद्धले प्रभाव पारेको थियो । यसरी युरोपका फ्रान्स, इटाली, ग्रीस आदि देशमा भएका आन्दोलनले पुश्कीनमा विद्रोही स्वभाव उत्पन्न भयो । यसबाहेक पुश्कीनको दिमागमा तत्कालीन बेलायतका महान साहित्यकार नाटककार विलियम शेक्स्पीयरको प्रभाव परेको थियो ।
पुश्कीनले आफैँले आफ्नो एक साथीलाई लेखेको चिट्ठीमा बयान गरेका थिए – कसरी उनी शेक्स्पीयरबाट प्रभावित भएको छु भनेर ।
पुश्कीनका धेरै उत्कृष्ट गीति–काव्यहरूमा पात्र–संयोजन गर्दा उनले शेक्स्पीयरका पात्रहरूको अनुकरण गरेको स्वीकारेका छन् । उनको एक उत्कृष्ट रचना ‘बारीस गोडुनोभ’ लेख्दा शेक्स्पीयरको ‘हेनरी–चौथो’ को प्रतिबिम्ब झल्किएको देखिन्छ । अलेक्जेन्डर पुश्कीन फ्रेन्च भाषामा धेरै पोख्त थिए । उनले विशेष गरेर शेक्स्पीयरको साहित्य अध्ययन गर्न अङ्ग्रेजी सिक्ने पनि प्रयास गरे । तर, उनले शेक्स्पीयरलाई बुझ्न अङ्ग्रेजीमा भन्दा बढी फ्रेन्च भाषामा अनुवादित साहित्यको सहारा लिए  ।
संयुक्त राज्य अमेरिकामा दासप्रथा उन्मूलन गर्न भएको गृहयुद्ध, तत्कालीन युरोपमा भएको स्वतन्त्रताका युद्ध र बेलायतको महान साहित्यकार विलियम शेक्स्पीयरको साहित्यले उनमा धेरै मलजल प्रदान गरिदियो । महान कवि अलेक्जेन्डरको साहित्य रचना र वैचारिक दर्शनबारे लेख्दै गर्दा र मेरो आत्मवृत्तान्तको कथा अगाडि सार्दै गर्दा हिजो एउटा अचम्मको घटना घट्यो ।
मैले आफ्नो इन्टरनेटको मेसेन्जर पेज खोल्दा आफ्नै छोरा अलेक्जेन्डर (साशा) को एउटा स्टाटस देखेँ । यो मैले कहिल्यै नसोचेको घटना हो । छोरोले धेरैजसो मेरो दैनिक जीवनको बारेमा सोध्ने, लेख्ने गथ्र्योे र फोनमा कुरा गर्दा पनि यस्तै यस्तै कुराहरू हुन्थ्यो । तर, मेरो नाममा हिजोको उनको मेसेज थियो ः “अनोडर साइड अफ पुश्कीन ।” (Another Side of Puskin)

Leave a Reply

Your email address will not be published. Required fields are marked *