भर्खरै :

लेनिन कथा – २५

लेनिन र चोर
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाङ्की प्रस्तुत गर्ने गहकिलो एवम् प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मारिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् । अघिल्लो अङ्कमा हामीले सोभियत रुसको क्रान्तिकारी सरकारलाई अपदस्थ गर्न अन्य देशहरूले गरेको हमला साथै लेनिनको ज्यान लिने हेतुले गरिएको गोलीकाण्डका बारेमा पढ्यौँ ।)
सङ्कटका वर्षहरू
जनकमिसार परिषद्को गल्लीमा फ्याक्स मेसिन खटखट खटखट बजिरहेको थियो । फौजी ओभरकोट पहिरेको एक अपरेटरले मेसिनबाट निस्केको कागज उठायो । अजीब आत्तुरीमा पढ्यो । गल्लीको पल्लो कुनामा रहेको लेनिनको फ्ल्याटमा पु¥याउन दौडियो ।
ढोका क्रुप्सकायाले उघारिन् ।
“जानुस्, तुरून्त लेनिनलाई दिनुस्,” उनले भनिन् । आफँै गएर लेनिनलाई पत्र दिने आदेशले अपरेटर उत्तेजित भएको थियो । ऊ एउटा सानो कोठामा पस्यो ।
त्यहाँ चारखाने बुट्टासहितको कम्मल ओछ्याइएको एउटा खाट थियो । त्यसको छेउमा झ्यालको नजिकै लेख्ने टेबल थियो । लेनिन टेबलनिर कुर्सीमा बसेका थिए । उनी दायाँ हातमा गाला अड्याएर पढिरहेका थिए । बायाँ हात पट्टीमा झुन्डिएको थियो । उनी पहिलेकै जस्ता देखिएका थिए । पहिलेकै जस्ता आँखा र पहिलाजस्तै फुर्तिला । तर, कमजोर र दुब्ला भएका थिए ।
खबर लालसेनाका योद्धाहरूले पठाएका थिए ।
“प्रिय भ्लादीमिर इल्यीच, हजुरको जन्मनगरमा कब्जा गरेका छौँ । हजुरको एउटा घाउको बदला लिएका छौँ । दोस्रो घाउको जवाफ समारा कब्जा गरेर लिनेछौँ ।”
“स्याबास ¤” लेनिनले आफ्नो प्रसन्नता लुकाउन सकेनन् । “धेरै–धेरै धन्यवाद ।” उनले खबरलाई एकचोटि फेरि बुलन्द आवाजमा पढे – ‘हजुरको जन्मनगरमा कब्जा…’ सुन्नुभयो साथी अपरेटर, हाम्रो फौजले सिम्बिस्र्क कब्जा ग¥यो । नाद्या, सुन्यौ, कति शानदार सफलता हो ।
लेनिनले तुरून्तै जवाफी पत्र लेखे । त्यसमा उनले लालसेनालाई बधाई दिएका थिए र लेखेका थिए, “सिम्बिस्र्कमाथिको कब्जा मेरो घाउमा सबैभन्दा गतिलो र आरामदायी मलम हो । यो समाचारभन्दा ठुलो मलम मेरो लागि अरू केही हुनसक्दैन । अब निको हुन धेरै समय लाग्नेछैन ।”
साँच्चै नै केही दिनपछि ‘प्राभ्दा’ मा डाक्टरी बुलेटिन छापियो – भ्लादीमिर इल्यीच स्वस्थ हुनुभएको छ ।
डाक्टरहरूले लेनिनलाई काममा फर्कने अनुमति दिए ।
देशमा छाइरहेको विपत्ति अझै गम्भीर हुँदै थियो । अन्ततः लालसेनासँग लड्नु चानचुने कुरा होइन भनी शत्रुले चाल पाइसकेको थियो । यसकारण उसले थप फौज बोलाएको थियो । चौध देश मिलेर सोभियत धर्तीमा हमला सुरु गरे । सोभियतहरूको देश चारैतिरबाट घेरिएको किल्लाजस्तै बन्न पुग्यो ।
“घेरामा परेको किल्लामा सबथोक युद्धकालीन परिस्थितिअनुरूप हुनुपर्छ,” लेनिनले भने । उनले एक प्रस्ताव राखे – सबै नागरिकहरूले काम नगरी हुन्न । अबदेखि सबै सोभियत जनताले कलकारखाना, अड्डा, खेत र रेलमार्गमा काम गर्नुपर्नेछ । देशवासीहरू, लालसेनालाई मद्दत गर्नुस् ¤
लालसेनालाई हतियार चाहिएको छ । मजदुर साथी हो, धेरै हतियार तयार गर्नुस् । लालसेनालाई जुत्ता र लुगालत्ता चाहिएको छ । मजदुर साथी हो, धेरैभन्दा धेरै जुत्ता, बर्दी, कोट तयार गर्नुस् ।
कलकारखानाले चाहिएजति लुगाफाटो सिउन सक्दैनथे । चाहिएजति जुत्ता बनाउन छाला पुग्दैनथ्यो । कपडाको कमी थियो । के गर्ने होला ? जनता र लालसेनाको आवश्यकता कसरी पूरा गर्ने होला ?
सरकार र पार्टीका नेता कार्यकर्ताले न्याना कपडाहरू जम्मा गर्न अपिल गरे । मानिसहरूले सङ्कलन केन्द्रहरूमा भुत्ले कोट, स्वीटर, ऊनी गलबन्दी, मोजा जम्मा गर्न थाले । बुर्जुवा वर्ग भने आफ्ना मालताल दिन चाहँदैनथ्यो ।
“बुर्जुवाहरूबाट सबै अतिरिक्त लुगालत्ता कब्जा गर्न जरुरी छ । तिनीहरूले एउटा ओभरकोटले पनि काम चलाउन सक्छन् ।” लेनिनले झेर्जिन्स्कीसँग भने । “कामदारहरूले आफ्ना सबैथोक दिइरहेका छन् । पुँजीपतिले पनि दिनुपर्छ ।”
झेर्जिन्स्की चेकाका अध्यक्ष थिए । उनले चेकाका कर्मचारीहरूलाई हुनेखाने र पुँजीपतिहरूका घरघर पठाए । अतिरिक्त कपडा र जुत्ताहरू जम्मा गरे । जम्मा गरिएका सरसामानबाट पछि केही मालसामान दुईसरो लुगा पनि नभएका मजदुरहरूलाई निःशुल्क बाँडियो । केही सामान मोर्चामा लडिरहेका सैनिकहरूलाई पठाइयो । तर, सबैभन्दा डरलाग्दो थियो भोकमरी । सहरमा रासनको व्यवस्थापन पहिलेदेखि नै लागू थियो । तर, अन्नपात र खाने चीजबीजहरू पूरा पुग्दैनथ्यो ।

सोभियत सरकारले एउटा नयाँ र कठोर कानुन पास ग¥यो । यो कानुनअनुसार किसानहरूले सम्पूर्ण अतिरिक्त अन्न र खानपानका चीजबीज सरकारलाई बेच्नुपर्ने भयो । आटा, सुजी, मासु, दही, आलु सबथोक लालसेना, मजदुर र अड्डाका कर्मचारीहरूलाई दिन थालियो । किसानहरूलाई यसबाट समस्या त भयो । तर, अर्को उपाय पनि त थिएन ।
सोभियत देशमा अतिरिक्त खाद्य सामग्री राज्यलाई बेच्नुपर्ने र अनिवार्य श्रम गर्नुपर्ने कानुन जारी थियो । सारा जनता मोर्चाका लागि काम गर्थे । खानेकुरा र कपडाको भारी कमीले गर्दा रासन र लुगाफाटो विशेष आदेशपत्रअनुसार बाँड्ने बन्दोबस्त थियो । आधा ध्वस्त भएको यातायात व्यवस्था मोर्चाहरूमा हातहतियार र सैनिक ओसार्न व्यस्त थियो । विशेष पास देखाएरमात्र रेलमा यात्रा गर्न सकिन्थ्यो । यस्तो व्यवस्थालाई लेनिनले युद्धकालीन कम्युनिज्मको नाम दिए ।
कति सकसपूर्ण थिए ती दिन ¤
धन्न यी भयङ्कर वर्षहरूमा सोभियत सत्ताको बागडोर लेनिनको हातमा थियो ।
साकोल्निकी घटना
लेनिन बिरामी भई केही समय मृत्युको मुखमा परेको बेला क्रुप्सकायाले आफ्नो व्याकुलता लुकाइराखेकी थिइन् । मानिसहरू उनको धैर्य देखेर दङ्ग पर्थे ।
तर, लेनिन निको भइसकेपछि उनी थला परिन् । सिकिस्तै बिरामी भइन् । डाक्टरहरूले स्वच्छ र सफा हावापानीले मात्र तङ्ग्रिन सक्ने बताए । तिनताक आरोग्य केन्द्रहरू त थिएनन् । तर, दुर्बल बालबालिकाका लागि मस्कोबाहिर साकोल्निकीमा पार्कले घेरिएको एक स्कूल थियो । यहाँ ताजा हावापानीको कमी थिएन । धेरै अनुनय–विनयपछि क्रुप्सकायालाई यस स्कूलमा बस्न राजी गराइयो ।
लेनिन धेरै व्यस्त रहन्थे । हरेक दिन रात छिपिँदासम्म सरकारी कामकाजमा व्यस्त रहन्थे । देशमा हरेक चीज नयाँ तरिकाले निर्माण भइरहेको थियो । लेनिन यी सबैका सूत्रधार थिए । तर, पनि साँझ एकाध घण्टा निकाली उनी गीलसँग भन्थे, “जाऔँ, नाजेज्दालाई हेरेर आऔँ ।”
शरद् लागिसकेको थियो । मस्को हिउँले ढाकिएको थियो । हिउँ हटाउनेहरू, मजदुरहरूले दिनरात काम गरे पनि सडकबाट हिउँ हटाउन सकिरहेका थिएनन् । सडकको दुवै किनारमा हिउँका ठुल्ठुला थुप्रा लागेका थिए ।
जनवरी १९१९ मा यसरी नै हिउँ परिरहेको थियो । एक दिन सोकोल्निकीको स्कूलमा नव वर्षको समारोह गरिने भएको थियो । भ्लादीमिर इल्यीचले त्यस कार्यक्रममा उपस्थित हुने बाचा गरेका थिए । साँझ उनी मरिया इल्यीनिच्नासँगै तयार भए । अनि, क्रुप्सकायाका निम्ति भाँडामा दूध लिएर सोकोल्निकीतिर लागे ।
सधैँजस्तो ड्रात्रको सीटमा गील बसेका थिए । साथमा सुरक्षा विभागको चेभानोभ नामका अर्का व्यक्ति पनि थिए ।
आइतबारको दिन थियो । सडक व्यस्त थियो । दुवैतिर हिउँका ठुल्ठुला थुप्रा लागेका थिए । यसकारण सडक छाङ्गाको बीचमा लम्पसार परेजस्तो देखिन्थ्यो । केही ठाउँमा त सडकमा हिँड्न पनि मुस्किल थियो । तैपनि ड्रात्र गीलले एकदम दक्षतापूर्वक मान्छे र हिउँका थुप्राबीच कार हाँकिरहेका थिए । कार बेरोकतोक गुडिरहेको थियो ।
अचानक सोकोल्निकीनिर रेलमार्गको पुलछेउ एक सुनसान ठाउँमा तीनजना व्यक्तिले बाटो छेके ।
“रोक ¤ नत्रभने गोली चलाउनेछौँ ।” गील गाडी हुइँकाउन चाहन्थे । तर, लेनिनले रोक्ने आदेश दिए । लेनिनले उनीहरू मिलिसियाका मान्छे होलान् भन्ठानेका थिए । लडाइको समय थियो । यसकारण कारमा को बाहिर गइरहेको छ भनी जाँचबुझ गर्नु मिलिसियाको काम थियो । हुन त उनीहरूले कुनै पोशाक लगाएका थिएनन् । तर, त्यसबेला मिलिसियाको कुनै विशेष पोशाक पनि थिएन ।
कार रोकियो । तीनजना भुसतिघ्रे मान्छेले कारलाई घेरे अनि ढोका खोलेर बन्दुक देखाउँदै भने ः
“बाहिर निस्क ¤”
“म लेनिन हुँ,” भ्लादीमिर इल्यीचले भने ।
लेनिनले अझै पनि तिनीहरू मिलिसियाका मान्छे नै होलान् भन्ने सोचेका थिए । लौ, के भएको ? उनीहरूमध्ये दुईजना व्यक्तिले लेनिनको कन्चटमा बन्दुक सोझ्याए । भेडाको ऊनले बनेको काकेशियाली टोपी लगाएको उद्दण्ड खालको व्यक्तिले उनको गोजी खोतल्यो ।
त्यसपछि तीनैजना गुण्डाहरू कारमा बसेर त्यहाँबाट भागे । कार नजरबाट ओझेल भयो । यो काण्ड कति छिटो भयो भने कोही पनि प्रतिकारमा उत्रन सकेन ।
केही बेरसम्म लेनिन रिसले चुर हुँदै चुपचाप बसे । पछि आफैलार्ई धिक्कार्दै
बोले ः
“लाजमर्दो कुरा हो ¤ हामी यत्तिका मान्छे भएर पनि उनीहरूलाई कार समेत लिएर भाग्न दियौँ ।”
“भ्लादीमिर इल्यीच, तपाईँलाई केही होला भनेर मैले उनीहरूमाथि गोली चलाइन,” गील पनि एकदम उत्तेजित थियो ।
“हो ठिक्कै ग¥यौ । झगडा बेकार थियो । उनीहरू हामीभन्दा बलिया देखिन्थे,” लेनिनले सहमति जनाए ।

चेभानोभमा लेनिनका आँखा परेपछि भने उनी थामिन सकेनन् । उनी खित्का छोडेर हाँस्न थाले । यस्तो हाँसो लेनिनमात्र हाँस्न सक्थे । मरिया इल्यीनीच्ना र गील पनि एकाएक हाँस्न थाले । चेभानोभमात्र हाँसेनन्… । उनको हातमा दूधको भाँडो थियो ।
“गुण्डाहरूले नलुटेको एउटै सामान,” हाँस्दै–हाँस्दै भ्लादीमिर इल्यीचले भने ।
अनि चेकाको सदस्य चेभानोभसँग कुराकानी गर्दै सबैजना नजिकैको सोकोल्निकी इलाकामा पर्ने सोभियत कार्यालयतिर लागे । चेभानोभले अक्क न बक्क परेर एउटा हात गोजीभित्र राखी रिभोल्भर खेलाइरहेका थिए । अनि अर्को हातले उनले दूधको भाँडो समाइरहेका थिए । कार्यालयबाट उनीहरूले अर्को कार लिए र स्कूलतिर लागे । उक्त घटनाको विषयमा झेर्जिन्स्कीलाई जानकारी पनि पठाइदिए ।
चाँडै नै चेकाका मानिसहरूले ती गुण्डालाई पक्रे ।
यता क्रुप्सकायालाई लेनिन अझैसम्म किन आएनन् भनी चिन्ता लाग्यो । उनी बारम्बार झ्यालबाहिर चिहाउँथिन् र कोही नदेखिएपछि अर्को झ्यालमा गएर उभिन्थिन् । बाहिर पूरै पार्क हिउँले ढाकिएको थियो ।
उनको चिन्ता केटाकेटीहरूका आँखाबाट लुकेको थिएन । छिट्टै समग्र स्कूल चिन्तित भयो । घडीको सुई बिस्तारै घुमिरहेको थियो । आखिर कसैको प्रफुल्लित स्वरले सारा स्कूल गुञ्जियो ः
“आउनुभयो ¤ आउनुभयो ¤”
लेनिन लम्किँदै कोठामा प्रवेश गरे । ओभरकोटका टाँक खुला थिए । दारी र आँखीभौमा हिउँका कण जमेका थिए । गाला पनि चिसोले गुलाबी भएका थिए ।
“हिउँ बाजे ¤ हिउँ बाजे ¤” चिच्याउँदै केटाकेटीहरूले उनलाई घेरा हाले । कसै गरी उनीहरूको घेरा तोडी लेनिन क्रुप्सकायानिर पुगे । पहिले त उनी गुण्डाहरूको हमलाबारे बताउन चाहँदैनथे । तर, क्रुप्सकायाले उनलाई केही न केही त भएको छ जस्तो चिन्तित नजरले हेरिरहेकी थिइन् ।
“केही भएको छैन, नाद्या । साँच्चै भनेको, खासै ठुलो कुरा हैन ।”
गुण्डाहरूको हमलाबारे सुनेर क्रुप्सकायाको अनुहारको रङ उड्यो । उनले यतिमात्र भन्न सकिन् ः “लाख–लाख धन्यवाद, धन्न तिमीलाई केही भएनछ ।
त्यसपछि सबैजना हाँसी–खुसी नव वर्ष मनाउनतिर लागे । स्कूलको हलमा छतै छुने अग्लो नव वर्ष वृक्ष उभिएको थियो । वृक्षलाई आफैँले बनाएका तोरण, सुनौला तार र खेलौनाहरूले सजाइएको थियो । त्यसका तीखा पातहरूबाट मनमोहक बास्ना आइरहेको थियो । केटाकेटीहरू घेरा बनाएर रुखको वरिपरि नाच्न थाले । बच्चाहरूले गाइरहेका थिए । लेनिनले पनि गाइरहेका थिए । केही बेरमा केटाकेटीहरू खेल्न थाले । लेनिन पनि उनीहरूको खेलमा सामेल भए । सबैजना मिच्छिने गरी नाचखेल गरे । चाडबाडको दिन थियो । हाँसखेल गर्ने मौका किन गुमाउने ?
क्रुप्सकायालाई थाहा थियो, दुई घण्टाअघि लेनिन मृत्युको मुखबाट फर्केका थिए । अछट्टै उभिएकी उनले प्रशंसापूर्ण नजरले हेरिरहेकी थिइन् र सगर्व सोचिरहेकी थिइन् ः “तिमी निर्भिक छौ । यसैले यति विनोदप्रिय छौ ।”
अनुवाद ः माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *