भर्खरै :

“जब चीनले विश्वको नेतृत्व गर्नेछ” बारे एक छलफल – ८

चीनको अपमानको युगदेखि आर्थिक उन्नयनसम्म
उत्तेजना र आक्रमण
पहिलो अफिम युद्ध (१८३९–१८४२) मा बेलायतसँगको हारसँगै चीनमा छिङ्ग वंश (Qing)को पतनको समय सुरु भयो । दक्षिण पश्चिमको युनानमा भएको मुस्लिम विद्रोह (१८६२–१८७३),उत्तरमा भएको नाइन विद्रोह (१८५५–७३), उत्तर–पश्चिममा र्तिर्कक जातिको अर्को मुस्लिम विद्रोह (१८५३–१८६८) र ताइपिङ विद्रोह (१८५०–६४) गरी चार ठुला विद्रोहले छिङ्ग वंशको जग हल्लाइदियो । अफिम युद्धमा बेलायतसँगको हार, १८४८–५० मा आएको भीषण बाढी र अनिकालले विद्रोहको वातावरण निर्माण ग¥यो । दुई चार करोड मानिसको ज्यान लिएको ताइपिङ विद्रोह दबाउन छिङ्ग वंशले बेलायती र फ्रान्सेली सेनाको सहयोगमा नयाँ सेना निर्माण गर्नुपर्ने स्थिति जन्मियो ।
ताइपिङ विद्रोह दबाएसँगै सन् १८७० र ८० को दशकमा पश्चिमा महत्वाकाङ्क्षा र उग्रता केन्द्रमा प¥यो । पहिलो अफिम युद्धको हारपछि असमान सन्धिको सामना गर्नुपरेको चीनले मूल्य चुकाउन बाध्य भयो र हङकङ गुमायो । बेलायतको पक्षमा चार बन्दरगाह सुम्पनुप¥यो । सन् १८५७–६० सम्म चलेको दोस्रो अफिम युद्धमा बेलायती र फ्रान्सेली सेनासँगको हारपछि थियाङजीन (Tianjin) सन्धि र पेइचिङ सम्झौतामा हस्ताक्षर गर्न बाध्य भयो । आफ्नै जमिनमा आफ्नो अधिकार (नियन्त्रण) गुमायो । सदियौँदेखि चीनको अभिन्न मित्र रहेको भियतनामलाई फ्रान्सले उपनिवेश बनायो । कृषिप्रधान देश चीनको ध्वजावाहक जहाजहरू औद्योगिक फ्रान्सका जहाजसामु एक घण्टा पनि टिक्न सकेनन् । हिन्दचीन फ्रान्सको कब्जामा गयो ।
सन् १८९४ को चीन जापान युद्ध अर्को निर्णायक मोड बन्यो । सदियौँदेखि चीनको प्रभावमा रहेको कोरिया जापानको नियन्त्रणमा गयो । तीव्र औद्योगिकीकरण र उग्र छिमेकी जापानसँगको लज्जास्पद हारसँगै राज्यको सम्पूर्ण वार्षिक आयको तीन गुणा हर्जाना तिर्ने सम्झौतामा हस्ताक्षर गर्न चीन बाध्य भयो । ताइवान, दक्षिण मञ्चुरियाको ठुलो भूभाग गुमाउनुका साथै अनेकौँ असमान सन्धिहरूमा चीन फस्दै गयो । उन्नाइसौँ शताब्दीको अन्त्यसम्ममा बेलायत, फ्रान्स, जापान, जर्मनी, संरा अमेरिका, बेल्जियम र रुसको बढ्दो उपस्थितिसँगै चीनको सार्वभौमिकता नियन्त्रित हुन पुग्यो, गुम्न पुग्यो ।

पश्चिमा शक्तिविरुद्ध उठेको बक्सर विद्रोह (१८९८–१९०१) दबाउन बेलायत, जापान, फ्रान्स र अमेरिकी संयुक्त सेना पेइचिङको लागि रवाना भए र एक वर्ष पेइचिङ दरबार नियन्त्रणमा राखे । प्रत्यक्ष उपनिवेश नभए पनि चीनले अर्धउपनिवेश सामना गर्नुप¥यो । चीन अपमानित बन्यो । दरिद्र बनाइयो ।
बढ्दो विदेशी हस्तक्षेपले राज्यलाई आधुनिकीकरण गर्न सुधारका आन्दोलनहरू उठ्न थाले । सुरुआतमा शाही शासनले यस आश्यकतालाई न त बुझ्न सक्यो न समर्थन नै ग¥यो । सन् १८९८ मा सरकारकै आशीर्वादमा सुधार आन्दोलनले उचाइ हासिल ग¥यो । पश्चिमाप्रतिको घृणाले सुधारका पश्चिमा शैली समर्थकप्रति समेत चिनियाँहरूमा घृणाभाव बढायो । सन् १९०० को हाराहारीसम्म सुधारको दृष्टिकोण कन्फ्युसियसको विचारमा आधारित थियो – “भावना र मूल्यमान्यता चिनियाँ, तरिका पश्चिमा” । बीसौँ शताब्दीको सुरुआतसँगै चीनका बुद्धिजीवीहरूमाझ समाजवादी र माक्र्सवादी विचारहरूले प्रवेश पाए । सन् १९११ को क्रान्ति मुख्यतः पश्चिमा विचारबाट प्रभावित थियो ।
बीसौँ शताब्दीको सुरुआततिर छिङ्ग वंश आफ्नै मुलुकमा विदेशी शक्तिसामु निरीह बनिसकेको थियो । आर्थिकरूपमा विभिन्न हर्जाना र लादिएको दायित्वका कारण विदेशी बैङ्कहरूको ऋणमा डुबिसकेको थियो । ताइपिङ विद्रोहलगायतका जनताका आन्दोलनहरू दबाउन सेनाको शक्ति प्रयोग गरेका कारण सरकार जनताबाट तिरष्कृत बन्दै थियो । सन् १९११ को क्रान्तिपछि २६८ वर्ष लामो शासन गरेको छिङ्ग  (Qing)  वंशको स्थान सन यातसेनको गणतान्त्रिक सरकारले लियो । सैनिक शक्तिमा कमजोर सन यातसेनको (राष्ट्रवादी) कोमिन्ताङ पार्टीले चीनको सार्वभौमिकतालाई खण्डित बनाउने बाटोमा डोे¥यायो । सन् १९१६ देखि १९२८ को अवधि चीन युद्ध सरदारहरूको नाममा रह्यो ।
सन् १९२७–१९३७ सम्म युद्ध सरदारका उत्तराधिकारी एवम् कोमिङताङ पार्टीका नेता च्याङ काईसेकको तानाशाही नेतृत्वमा चीन तुलनात्मकरूपमा एकताबद्ध हुनथाल्यो । ग्रामीण चीनमा प्रभाव अत्यन्त कम भएको च्याङ काइसेक जापान, विदेशी शक्ति र बढ्दो कम्युनिस्ट शक्तिबाट घेरिएको थियो अर्थात् प्रभावमा थियो । खेतीयोग्य जमीन र औद्योगिक क्षेत्रले भरिएका पूर्वी र उत्तर पूर्वी प्रान्तहरूमा जापानले १९३७ मा गरेका आक्रमणहरूबाट चीन थप कमजोर बन्यो । झन्डै ३,००,००० चिनियाँको ज्यान लिने गरी १९३७ डिसेम्बरमा भएको “नानचिङ्ग नरसंहार” आज पनि चीन जापान सम्बन्धमा अँध्यारो घटनाको रूपमा इतिहासमै कालो अक्षरले लेखिएको छ । १९३७ पछि च्याङ्ग काईसेक जापानको कब्जाबाट चीनलाई मुक्त गर्ने मोर्चामा झन् कमजोर हुँदै गयो । त्यसबेला देशभक्तिपूर्ण आन्दोलन र चिनियाँ मुक्तिको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टीले ग¥यो । अन्ततः १९४९ मा चीनको सत्ता माओ त्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीको हातमा ल्याउन सफलता मिल्यो ।
चीनको इतिहासमै खराब समयले दुई महत्वपूर्ण प्रश्न छोडेर गएको छ ः अत्यन्त खण्डित चीन किन टुक्रिएन ? दीर्घकालीनरूपमा चीनमा पश्चिम र जापानको प्रभाव किन सीमित रह्यो ? सन् १९११–४९ को समयमा चीनको खण्डीकरण भएको थियो । १९११–१६ को बीचमा चीनमा तीनपटक विभिन्न प्रान्तहरूले केन्द्र सरकारबाट स्वतन्त्र भएको घोषणा गरेका थिए । तर सन् १९३३–४१ मा बाहिरी मङ्गोलिया र सन् १९१३–१९३३ मा तिब्बतका केही भूभागले गरेको स्वतन्त्रताको अभ्यासबाहेक चीनमा विखण्डनको कुनै गुञ्जायस रहेन । सदियौँ पुरानो सांस्कृतिक पहिचान र एकता, पृथक किसिमको कृषिमा आधारित सभ्यता र विदेशी उपनिवेशको विरुद्ध जागेको विद्रोहको बलियो भावनाले चीनको एकता पुनः बलियो बनायो ।
साथै चीनको विशाल भूमिमा कब्जा गर्नु बेलायत र संरा अमेरिकी साम्राज्यवादले फाइदाजनक नदेखेको कारण पनि अफ्रिका र मध्यपूर्वमा भन्दा फरक चीनमा विदेशी नियन्त्रण सीमित रहन पुगेको हो । पश्चिमा शक्ति र जापानको उपस्थितिप्रति चिनियाँ जनता सधैँ शत्रुतापूर्ण र अपमानको दृष्टिकोणबाट हेर्थे । तर, भारतीय जनताको हकमा यस्तो थिएन । भारतीयहरूले बेलायतको उपस्थितिलाई स्वीकार्न थालेका थिए । अरू सबै कुराका अलावा चीनले आप्mनो आत्मविश्वास, आफ्नो श्रेष्ठता, आफ्नो इतिहास र सभ्यता भुलेनन् । चीनले अपमानको शताब्दीमा भोगेको पीडाबाट गहिरो र दीर्घकालीन शिक्षा प्राप्त ग¥यो, चिनियाँ चेतना जगायो । जुन आज पनि जीवित छ ।
‘१९४९ पछि’
सन् १९११ पछि चीनले सीमित सार्वभौमिकताको अनुभवमात्र गरेको नभई कैयौँ साम्राज्यवादी देशहरूको उपनिवेश र धेरै आन्तरिक दुश्मन शक्तिसँग बहु सार्वभौमिकताको समस्याको पनि सामना गर्दै थियो । चिनियाँ कम्युनिस्ट पार्टीसामु मुख्यतः तीन वटा प्रमुख जिम्मेवारी थिए – मुलुकको सार्वभौमिकता फिर्ता ल्याउने, चीनको पुनः एकीकरण र राज्यको पुनःनिर्माण तथा एकात्मक ९गलष्तबचथ० सरकारको पुनः स्थापना । दोस्रो विश्वयुद्धको अन्त्यसँगै चीनबाट जापानको बहिर्गमन भयो । कम्युनिस्टको विजयपछि चीनमा कम्युनिस्ट पार्टीमाथिको जनविश्वासको महत्वपूर्ण कारण भनेको देशको स्वतन्त्रता पुनः स्थापना गर्न र चीनको एकताका निम्ति खेलेको नेतृत्वदायी भूमिका नै हो ।
पश्चिमको उदयपश्चात् चीनसँग आधुनिकीकरणका तीन बाटा थिए ः पहिलोमा चीनको परम्परागत राज्य संयन्त्रको सुधार गर्नु, जुन चीनले १९११ अगाडि असफल प्रयास गरिसकेको थियो । दोस्रोमा, पश्चिमा बाटोमा चीनलाई दोहो¥याउनु, जून १९११ देखि १९४९ सम्म चीनले गरेको अभ्यास असफल भएको थियो । तेस्रोमा चीनलाई सुहाउँदो व्यवस्था स्थापना गर्ने जुन विगतका अनुभव र विदेशी सफल उदाहरणमा आधारित होस् । सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापश्चात् चिनियाँ कम्युनिस्ट पार्टीले तेस्रो बाटो अँगाल्यो ।
नयाँ शासन व्यवस्थाको मेरुदण्ड भनेको चिनियाँ कम्युनिस्ट पार्टी थियो । यसको पनि केन्द्रमा अध्यक्ष माओ त्सेतुङ हुनुहुन्थ्यो । गाउँका व्यापक किसानहरू चिनियाँ कम्युनिस्ट पार्टीको समर्थनमा थिए । नयाँ व्यवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो क्षमता र लचकतालाई समयानुकूल पुनः स्थापित (reinvent) गर्न सफल भयो ।
सन् १९४९ पछि क्रान्तिपश्चात्को समयको विषयमा चीनभित्र र बाहिर फरक फरक कोणबाट विश्लेषण भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनमा लामो समयदेखि रहेको महिलामाथिको विभेद अन्त्य गर्ने, कन्फ्युसियसको पद अनुक्रमलगायतका विभेदकारी विचारको विरोध गर्ने, क्रान्तिकारी भूमिसुधार लागू गर्ने कार्य सम्पन्न ग¥यो । दुई सहस्राब्दी लामो कन्फ्युसियन सिद्धान्तमा आधारित चीन र १९४९ पछिको कम्युनिस्ट व्यवस्थामा केही समानता र केही भिन्नता रहे । विन वाङ (Bin Wang) का अनुसार कन्फ्युसियन र कम्युनिस्टबीचको भिन्नता स्पष्ट छन्ः– पदानुक्रमविरुद्ध समानता, रुढीवादविरुद्ध क्रान्तिकारी विचार र सद्भावविरुद्ध द्वन्द्व आदि प्रमुख भिन्नता हुन् ।
असमानता कम गर्ने, जमिनमाथि स्वामित्वको सीमा तोक्ने र जमिन पुनः वितरण गर्ने, जनजीविकाका मुख्य–मुख्य विषयमा राज्यको दायित्व आदि विषयका प्रश्नमा कन्फ्युसियस र कम्युनिस्ट पार्टीका विषयमा समानता पनि पाइन्छ । दुवै शासन प्रणालीमा राज्यले आफ्नो दायित्व पूरा गर्न असक्षम भएमा विद्रोह गर्ने अधिकार जनतासँग रहन्छ । कन्फ्युसियसको समयमा यसलाई स्वर्गबाट प्रदान गरेको अधिकारका रूपमा लिइन्थ्यो, कम्युनिस्ट शासनमा यो वर्गसङ्घर्षको आधार बन्यो । दुवै व्यवस्थामा राज्य र जनताबीचको सम्बन्ध भने अधिनायकवादी र श्रेणी अनुक्रममा आधारित रह्यो । राजनैतिक अधिकार र प्रतिनिधिमूलक संस्थाहरूको सवालमा चीनको अभ्यास पश्चिमा शैलीभन्दा भिन्न देखियो । सहरी र ग्रामीण क्षेत्रमा भिन्न शैलीबाट राज्य सञ्चालन गर्ने सवालमा पुरानो (राजाकालीन) र कम्युनिस्ट व्यवस्थामा केही समानता पुस्तकले केलाएको छ । नागरिक समाज र स्वायत्त सामाजिक क्षेत्र भने चीनमा विगतमा पनि थिएन र आज पनि छैन ।
कम्युनिस्ट चीन चिनियाँ जनताका निम्ति राजाकालीन व्यवस्थाकै सशक्त निरन्तरता रह्यो । तसर्थ जनवादी गणतन्त्र चीन ऐतिहासिक चीनकै अभिन्न अङ्गका रूपमा बुझ्न जरुरी छ भन्छन्, लेखक ।
‘आर्थिक उडान’
पश्चिमा शक्ति र जापानको औद्योगिकीकरणको समयमा पछाडि परेकै कारण अन्तत्वगत्वा चीन उन्नाइसौँ शताब्दीमा कमजोर हुन पुग्यो । उन्नाइसौँ शताब्दीको मध्यपछि चीनमा भएको गृहयुद्ध, विद्रोह, चाँदीमा मूल्यवृद्धि, बाढी र अनिकालले चीनको उत्पादनमा ¥हास आयो । सन् १८९४ मा जापानसँगको हारपछिको हर्जानाका (reaparation payment)  सर्तका कारण चीन कङ्गाल भयो र युरोपेली तथा जापानी सर्तहरूका सामु चीन निरीह बन्यो । ‘भाडाको क्षेत्र’ का नाममा पश्चिमा शक्तिहरूले कमजोर चीनमाथि दोहन गर्ने नयाँ सृङ्खलाको सुरुआत ग¥यो । विदेशी व्यापार व्यवसायको विस्तारसँगै चीनमा वैदेशिक लगानीको बाढी आयो ।
सन् १८२० मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ६०० अमेरिकी डलर भएको चीन, सन् १८५० मा ६०० डलरमै सीमित, १८७० मा झरेर ५३० डलर, १८९० मा ५४० डलर, १९१३ मा थोरै अङ्कले बढेर ५५८ डलरमा सीमित भएको तथ्याङ्कले चीनको दुर्दशाको तस्बिर स्पष्ट पार्छ । सन् १९५० मा यो तथ्याङ्क पनि घटेर ४३९ अमेरिकी डलरमा झ¥यो ।
मुलुकको एकता पुनः स्थापनासँगै औद्योगिकीकरणको प्रश्न पनि जनवादी गणतन्त्र चीनले सामना गर्नुपरेको केन्द्रीय कार्य थियो । जमीनको पुनःवितरण र विशाल कम्युनको स्थापनासँगै उल्लेख्य वृद्धि भएको कृषि उत्पादनबाट सङ्कलित करबाट ठुला उद्योग क्षेत्र स्थापनाको लागि लगानी जुटायो । माओको नेतृत्वको जनवादी गणतन्त्र चीन सन् १९५० देखि १९८० को तीन दशकमा ४.४ प्रतिशतको उत्साहजनक औसत आर्थिक वृद्धिदरसँगै राज्यको कुल गार्हस्थ उत्पादनमा चार गुणा र प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन दुई गुणाले वृद्धि गर्न सफल भयो । सोही अवधिमा भारतमा भने राज्यको कुल गार्हस्थ उत्पादन करिब ३ गुणाले र प्रतिव्यक्ति कुलगार्हस्थ उत्पादन करिब ५० प्रतिशतले मात्र वृद्धि भएको थियो । चीनको सामाजिक क्षेत्रको प्रदर्शन अझै उत्कृष्ट थियो । शिक्षा, असाक्षरताविरुद्धको अभियान, असमानताविरुद्धको यात्रा र स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिसँगै चीनको मानव विकास सूचकाङ्क ४.५ गुणाले वृद्धि भयो ।
जनवादी गणतन्त्र चीनमा कम्युनिस्ट सरकारको पहिलो केही दशकमा चालिएका पाइलाहरूले चिनियाँ भविष्य निर्माणमा ठुलो भूमिका निर्वाह गरे । औद्योगिकीकरण र आधुनिकीकरणका लागि यो समयमा बलियो जग राख्ने कार्य सम्पन्न भयो । जनवादी गणतन्त्र चीनमा सन् १९४९ देखि १९७८ सम्म असफलताका वर्षहरूलाई उल्टाइयो । एकता पुनः स्थापना र मुलुकमा स्थायित्व प्रदान गर्दै आर्थिक उडान भर्ने कार्य भयो ।
खण्ड ४ समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *