भर्खरै :

साउने हरियो संस्कृतिमा विकृति

ऐतिहासिक सिंहावलोकन
गोपालवंशी प्रथम राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर देवल स्थापना गरेको कथन छ । पशुपतिनाथलाई महेश्वर, शङ्कर, भोलेनाथ, शम्भु, शिव, महादेव ज्योतिलिङ्गेश्वर, किराँतेश्वर आदि नामले नामाङ्कन गरी पुकारेको पाइन्छ । पञ्च पाण्डवहरूले महाभारतको घनघोर युद्ध समाप्तिपछि क्षमायाचनाको सिलसिलामा, हिमाल जाने क्रममा, पशुपतिनाथको पूजा–अर्चना गरी लिच्छवि वंशका प्रथम राजा ‘बिक्रमादित्य’ उपाधि हासिल गरेको पाइन्छ । साथै, ‘वैशालाधिपति’ का रूपमा बज्रयोगिनी, पशुपतिनाथको त्याग–तपस्या गरी शक्ति प्राप्त गरेपश्चात् बत्तीसपुतलीमा सिंहासन स्थापना गरी काशीमा विश्वनाथ मन्दिर निर्माण गरेको कुरा हिम्वत् खण्ड पौराणिक ग्रन्थहरू एवम् वंशावलीमा उल्लेख गरेको पाइन्छ । पशुपतिनाथलाई भृकुटीका बाउ राजा अंशुवर्माले नै राष्ट्रियस्तरको देवताको मान्यता प्रदान गर्नुका साथै बाइसी–चौबिसी राज्य एकीकरणका नायक पृथ्वीनारायण शाहले नै पञ्चामृतले स्नान गराउने परिपाटीको श्रीगणेश गरेको उल्लेख छ ।
पशुपतिका पुजारीको पुनरावलोकन गर्ने सन्दर्भमा, वि.सं. १७१४ भन्दा अगाडि पशुपतिका पुजारीको रूपमा सन्यासीहरू थिए भने पछि नेवारका बाहुन राजोपाध्यायबाट पूजा गरिन थालियो । काभ्रेको बनेपाबाट भण्डारेको रूपमा नेवार समुदायका पुजारीहरू ल्याएर पशुपतिको भण्डारे बनाइए । प्रताप मल्लको शासनकालमा कर्नाटकका राजासँग सम्पर्क गर्ने सन्दर्भमा, दाइजोको रूपमा तान्त्रिकद्वय लुम्भकर्ण भट्ट र ज्ञाननन्दलाई पशुपतिनाथको पुजारीमा स्थापित गरियो । वर्तमान अवस्थामा पशुपतिमा १०६ जना नेवार भण्डारीसहित मूलभट्टसमेत चारजना भट्ट पुजारी रहेका छन् ।
वि.सं. १४६५ मा राजा ज्योति मल्लले पशुपतिको अभिलेखमा यसरी उल्लेख भएको पाइन्छ ः “पुण्त्ूमि नेपालखण्डमा वत्सलेस ५ मुखयुक्त परम् पशुपति बाग्मतीतिरमा हुनुहुन्छ र यहाँ पूज्य बासुकीनाग पनि हुनुहुन्छ ।” भाषा वंशावलीमा उल्लेख गरेअनुसार एकीकरणको पूर्वसन्ध्यामा पशुपतिको पूजा पाठ गरेर नै पृथ्वीनारायण शाहले सफलता हासिल गरेका थिए । वसन्तपुर दरबारको वि.सं. १८२६ को अभिलेखमा यसरी उल्लेख गरिएको छ ः “राजा पृथ्वीनारायण शाहको वंश गुह्यकाली र पशुपतिको दुई पाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस् ।” त्यसरी नै वि.सं. १८६७ मंसिरमा राजा गिर्वाणयुद्ध विक्रम शाहबाटै पुजारीहरूको सुविधा तोकी दिएको कुरा लालमोहरहरू लागू गरिएबाट ज्ञात हुन्छ ।
साउने हरियो संस्कृतिको विकृति
आयातीत हरियो पहिरन, हरियै चुरा–पोते– मेहन्दी र महँगा गर–गहनामा सजिएर महिनैभरि हिन्दू नारीहरू शिवमन्दिरमा धाउने गर्छन् । कतिपय अपत्यारिला हैसियत र संस्कृति प्रदर्शन गर्नमा बढी लालायित देखिन्छन् । आफूले मान्दै आएको रीतिरिवाज, परम्परा, चाडपर्व, धर्म, कला–संस्कृति र सम्पदाको जगेर्ना गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । प्राचीन कालदेखि पिता–पुर्खाको पालादेखि स्वतन्त्र र स्वाभिमानी नेपालीहरू नुन, तेलको वर्षभरिको जोहो गर्न भोट र भारतीय सीमा ठोरीमा महिनौँ दिन लगाएर जान्थे । साथै, घरमै उम्रने तिउरे फूल, मेहन्दी र घरायसी वस्तु मिसाएर मेहन्दी लगाउँथे । वर्षभरि अत्यावश्यक पर्ने उपभोगका सामग्रीहरू, विभिन्न प्रकारका खाद्यान्नहरू टारी–टुकुरा, पाखा–पखेरा, खोरिया बिराएर उत्पादन गरी आत्मनिर्भर हुन्थे । अहिले साउने हरियो संस्कृतिको नाममा र धार्मिक आडम्बरको कारणले भान्छामा प्रयोग हुनेदेखि लत्ताकपडा र श्रृङ्गारजन्य सौभाग्यवतीका सामग्रीहरूमा बर्सेनि अरबौँ रुपियाँ विदेशतिर बाहिरिने गरेको छ । यसले वैदेशिक ऋणको भयावह भुमरिमा पर्ने अवश्यम्भावी छ । विदेशी सिकोलाई तिरस्कार गर्दै आफ्नो औकातलाई पहिचान गरी मितव्ययी ढङ्गले आत्मनिर्भर बनेर विदेशीको कठपुतली बन्नबाट मुक्ति पाउन समयमै सचेत हुनु बुद्धिमानी हुनेछ ।
समाजमा हुँदा खाने र हुने खानेबिचको प्रतिस्पर्धाले समाज आक्रान्त बनेको छ । यिनै होड्बाजिले सरकारी, शैक्षिक आदि निकायहरूमा भ्रष्टाचारको चरम अखडा हुनुको साथै जघन्य आपराधिक क्रियाकलाप हुने गरेका छन् । पवित्र मनले घरमै आश्रित अग्रज बुबा–आमा, सासू–ससुरा, दीर्घ रोगी, अशक्तहरूको स्वतस्फूर्त सेवा–सुषुश्रा गर्नसके मन–मन्दिरका देवी–देवताहरू आल्हादित भई पुण्य र आशीर्वचन मिल्थ्यो होला । अत्यधिक उपभोग हुने श्रृङ्गार सामग्री स्वदेशमै तालिम प्रदान गरी उत्पादन हुनसके, महिला आत्मनिर्भरता र सशक्तीकरणमा कोशेढुङ्गा हुनुको साथै तन्नेरी पाखुराहरूको विदेश पलायनमा कमी आउने अपेक्षा गर्न सकिन्छ ।
निष्कर्ष
यसरी स्वदेश तथा विदेशस्थित सबै शिव मन्दिरहरूमा साउनको हरेक सोमबार, एकादशी, तीज, बालाचतुर्दशी, शिवरात्री, अक्षयतृतीया आदि पर्वमा जात्रा नै हुन्छ । खोला, नाला, नदी, ताल–तलैया, झरना, हिमाल, पहाड, तराई, जङ्गल आदि अनुपम छटा र विविधताले भरिएको पुण्त्ूमि नेपाललाई हिन्दू राज्यको रूपमा पृथ्वीनारायण शाहबाट बृहत् बनाई र उनका कान्छा छोरा बहादुर शाहबाट सविस्तार गरियो । प्रायः जसो साउन महिनामा ५ वटा सोमबाट संयोगले पर्ने भए पनि, यस पटक भने ४ वटामात्रै परेको छ । सोमबार शिवजीको जन्मदिन भएकोले पहेँला र राता पहिरनमा बोलवबमहरू पुरुष–महिला भक्तजनहरू, सुन्दरीजल र शाली नदीबाट घडाहरूमा पवित्र जल ल्याएर खालि गोडासहित, शिवालयहरूमा श्रद्धापूर्वक अर्पण गर्छन् र मन्दिर प्रवेशमा बेरोकटोक हुन्छन् । मुसलमान, यहुदी, क्रिश्चियनहरूको मक्का–मदिना जेरुसेलेम भारतमा चारधामजस्तै हिन्दू र बौद्धको पशुपतिनाथ, स्वयम्भूनाथ, गोसाईकुण्ड, बौद्ध, पाथीभरा, जनकपुरधाम, बराहक्षेत्र, मुक्तिनाथ, लुम्बिनी, कैलाश मानसरोवर आदि आस्थाका केन्द्रहरू हुन् । भारत, अङ्ग्रेजको उपनिवेशमा रहनु परे पनि, नेपाल वर्तमान अवस्थासम्म स्वतन्त्र र स्वाभिमान भई बाँचिरहेछ । नेपाल–भारत हिन्दू धर्म, दर्शन, सभ्यता र संस्कृतिको उद्गमस्थल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *