कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
साङ्गठनिक जीवन सुरू भएसँगै धेरै पटक अध्ययन गरेका पुस्तकमध्ये एक हो, ‘राजनीतिक कार्यकर्ता बन्ने भाइ–बहिनीलाई चिठी’ । उक्त पुस्तिकाका लेखक साहित्यकार हरिबहादुर श्रेष्ठ अर्थात् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) हुनुहुन्छ । सो पुस्तिका अध्ययन गर्दा एउटा राजनीतिक कार्यकर्तामा ऊर्जा प्राप्त हुन्छ, उत्साहित बनाउँछ । नेताको प्रशिक्षण कक्षामा बसेजस्तै लाग्छ पाठकलाई । पढ्न सुरू गरेपछि अन्त्य नभएसम्म छोड्न मन लाग्दैन । त्यसैले कहिलेकाहीँ एक्लो अनुभव भएको बेला, मनमा देशप्रतिको चिन्ता बढेको बेला यो पुस्तिका पल्टाउन थालेपछि पाठकलाई राजनीतिक चिन्तनमा थप स्पष्टता प्रदान गर्न बल मिल्छ । सबै थोक त्यागेर राजनीतिक गतिविधिमा लाग्न उत्प्रेरित गर्छ ।
लेखक हरिबहादुर श्रेष्ठ स्वयम्ले राजनीतिक आन्दोलन तथा सङ्घर्षमा पाएका अनुभव, भोगेका कठिनाइ र दुःखका क्षणहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सो पुस्तिका चिठीको रूपमा अगाडि सार्नुभएको महसुस हुन्छ – पुस्तिका पढ्दै गर्दा । मूलतः पञ्चायतकालमा व्याप्त शोषण र शोषणविरुद्ध भएका सङ्घर्षलाई मूल विषय–वस्तु बनाएर लेखकले पत्रसाहित्य तयार गर्नुभएको देखिन्छ । मानसिक र शारीरिकरूपमा देश निर्माणमा समर्पित हुन चाहनेहरूलाई राजनीतिमा लाग्न र राजनीतिक कार्यकर्ता बन्न यस पुस्तिकाले झनै उत्साहित गर्छ । देश र जनताको हितमा राजनीतिक कार्यकर्ता बन्न यस पुस्तिकाले आह्वान गरेकोे छ ।
अहिलेको पुँजीवादी राजनीतिमा भ्रष्टाचार व्याप्त छ । असमानता र विभेद झन् बढेको छ । शोषण, अत्याचार, दमन आदिको प्रभाव बढेको बेला यो पुस्तिकाको सान्दर्भिकता झन् बढेको छ । कार्यकर्ताले भोग्नुपर्ने चुनौती तथा अप्ठयारासँग सामना गर्न मानसिकरूपमा तयार पार्न पुस्तिकाले सहयोग गर्छ । नयाँ कार्यकर्तालाई प्रारम्भमै यो पुस्तिका अध्ययन गर्न दिएमा थोरै डर मान्ने सम्भावना हुनसक्छ । दुःख, कठिनाइ, समस्या, पीडा, अभाव, जेल–नेल र जालझेलसँग सामना गर्न ठूलो साहस र धैर्य चाहिन्छ, सामान्य मानिसमा त्यो क्षमता नहुन सक्छ । जीवनलाई सङ्घर्षको अर्थमा बुझेपछि भने यो कुरा स्वाभाविक लाग्न थाल्छ ।
अहिले पुँजीवादी दलका नेता–कार्यकर्ताले राजनीतिलाई कमाउने धन्दाको रूपमा चित्रण गरिरहेको अवस्थामा राजनीति भनेको देश र जनताको सेवा गर्नु हो भन्ने यो पुस्तिकाको सन्देश सबभन्दा महत्वपूर्ण पाटो हो । जागीर खानलाई, ठेक्का–पट्टा लिनलाई, जसरी पनि पैसा कमाउनलाई, उद्योग–व्यापार गर्नुलाई मात्र राजनीति सम्झने र सत्ताधारी दलहरूमा संलग्न हुनेहरूको विरोधमा सङ्घर्ष गर्न बल पुग्छ, यस पुस्तिकाको अध्ययनले । राजनीतिक कार्यकर्ता भइसकेपछि निरन्तर अध्ययन त्याग, साहस र दृढता हुनुपर्ने लेखकको जोड छ ।
हरेक राजनीतिक कार्यकर्ताकोे सक्रियतासँगै आउने अनेक समस्या, कठिनाइ, पीडा, दुःख, निराशालाई भुल्न जनताका साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘राजनीतिक कार्यकर्ता बन्ने भाइ–बहिनीलाई चिठी’ पुस्तिका अध्ययन गर्नु आवश्यक छ । सो पुस्तिकाको अध्ययनपछि उत्साह र ऊर्जा बढ्नुको साथै राजनीतिमा सक्रियता र निरन्तरता कायम गराउन सहयोग पु¥याउँछ । निरन्तर सैद्धान्तिक अध्ययन र छलफल गरेर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नसक्ने क्षमता पनि विकास हुन्छ ।
‘राजनीति गुलाबको ओछ्यान होइन’ र ‘राजनीतिक कार्यकर्ता तरवारको धारमा हिँड्नुपर्ने’ कुराको अर्थ वास्तविक राजनीतिक कार्यकर्ता भएर जनताको घर–आँगनमा जान थालेपछिमात्र बुझ्न सकिन्छ भन्ने सन्देश यस पुस्तिकाको अध्ययनपछि अवगत हुन्छ । सिद्धान्तमात्र अध्ययन गरेर प्रशिक्षण दिँदै हिँड्ने राजनीतिक कार्यकर्ताले वास्तविक देश र जनताको समस्या, पीडा, कठिनाइ, दुःख बुझ्न नसक्ने हुन्छ । तसर्थ, सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्दै अघि बढ्ने कार्यकर्तामात्रै सही राजनीतिक कार्यकर्ता वा नेता हुनसक्ने सन्देश यस पुस्तिकाबाट पाउन सकिन्छ ।
लेखकले राजनीतिक कार्यकर्ता भएर देश र जनताको पक्षमा सक्रिय भएपछि, सङ्घर्षमय जीवनमा लागेपछि औपचारिक पढाइ बिग्रन सक्नेप्रति सचेत पार्न खोज्नुभएको छ । तसर्थ, राजनीतिक कार्यकर्ताले आफ्नो झोलामा स्कूल÷कलेजका पुस्तकको साथै सैद्धान्तिक प्रकाशन पनि बोक्नुपर्ने र समय मिलाएर रात–दिन नभनिकन अध्ययन गर्न अल्छी गर्न नहुनेमा जोड दिइएको छ । अन्यथा औपचारिक अध्ययन बिग्रिने र आफूसँगै पढेका साथीहरू तथा आफूपछिका पुस्ताले औपचारिक शिक्षामा पछि पार्न सक्नेप्रति सचेत गर्न खोजिएको छ । यदि त्यस्तो अवस्था भएमा समाजमा नकारात्मक उदाहरणका रूपमा चित्रण गरिने खतरा रहेको लेखकको भनाइ छ । तर, औपचारिक पढाइ बिग्रेपनि राजनैतिक कार्यकर्ताको सङ्घर्षमय जीवनले विश्वविद्यालयमा नपाएको शिक्षा पाउने, ऊ विभिन्न विषयको जानकार हुने भएकोले आफूलाई सन्तुष्ट बनाउन सकिने सन्देश लेखकको हो । औपचारिक अध्ययन पूरा गरेका तर साङ्गठनिक अनुभव कम भएका पनि नेतृत्वमा अगाडि देखिएपछि पढाइ बिग्रेका तर इमानदार, सङ्घर्षशील राजनैतिक कार्यकर्ता निराश हुने र सङ्गठनबाट पलायन हुनसक्नेप्रति समयमै सचेत हुन लेखकले आह्वान गर्नुभएको छ । सिद्धान्त र नेतृत्वमात्र सही भएर नहुनेप्रति विचार पु¥याउनुपर्ने आग्रह पनि सान्दर्भिक छ ।
राजनीतिक कार्यकर्ताको रूपमा सक्रिय भएपछि घर र आफन्तबाट टाढिनसक्ने सन्देश पनि यस पुस्तिकाबाट लिन सकिन्छ । पञ्चायतकालको भूमिसुधार ऐन लागु गराउन भएको किसान सङ्घर्षको अनुभव र उदाहरण दिएर राजनीतिक कार्यकर्ताको सक्रियताको चित्रण पुस्तिकामा गरिएको छ । किसानको पक्षमा बाली काट्ने आन्दोलनमा लाग्दा प्रहरीबाट पक्राउ पर्ने, आफन्तहरू नै विरोधी हुनसक्ने सम्भावना, परिवार र आफन्तको नजरमा हेलाको पात्र हुनसक्ने र आफूलाई बिग्रेको मान्छेको रूपमा लिनसक्नेप्रति पनि कार्यकर्तालाई सचेत पार्न खोजिएको छ पुस्तिकामा ।
राजनीतिक कार्यकर्ता भएपछि विवाहको समस्या आउनसक्ने, काम नपाउने खतरा रहेको भन्दै राजनीतिक विरोधीहरूबाट हुने हल्ला, हमला र अपनाउनुपर्ने होसियारीबारे लेखकले स्पष्ट पार्नुभएको छ । राजनीतिक कार्यकर्ताप्रति सामाजिक हेला–होचो हुनसक्नेबारे पनि स्पष्ट, सटिक र सरल भाषामा यस पुस्तिकामा चित्रण गरिएको छ ।
तसर्थ, हरेक राजनीतिक कार्यकर्ताकोे सक्रियतासँगै आउने अनेक समस्या, कठिनाइ, पीडा, दुःख, निराशालाई भुल्न जनताका साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘राजनीतिक कार्यकर्ता बन्ने भाइ–बहिनीलाई चिठी’ पुस्तिका अध्ययन गर्नु आवश्यक छ । सो पुस्तिकाको अध्ययनपछि उत्साह र ऊर्जा बढ्नुको साथै राजनीतिमा सक्रियता र निरन्तरता कायम गराउन सहयोग पु¥याउँछ । निरन्तर सैद्धान्तिक अध्ययन र छलफल गरेर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नसक्ने क्षमता पनि विकास हुन्छ ।
Leave a Reply