भर्खरै :

नबिराउनू, नडराउनू !

शनिबार बिहान परिवारसँगै प्रभातफेरिमा थिएँ । हरेक बिहान नियमित प्रभातफेरि गर्ने ज्येष्ठ नागरिकहरूको एक समूहसँग कमलविनायक पोखरीमा भेट भयो । उहाँहरूले ‘जय शम्भो’ भनी अभिवादन गर्नुभयो, मैले ‘नमस्कार’ भनी फर्काएँ । उहाँहरूको आग्रहअनुसार पोखरीको परिक्रमा सँगै ग¥यौँ ।
“यो पालिको (सापारु) गाईजात्रामा घिन्ताङ्घिसी, माक प्याखँलगायतका नाचहरू र बाजा नल्याई साँचा, ताहामचा मात्र ल्याएर नगरपालिकालाई स्थानीय जनताले धेरै सहयोग गरेको हो है, बाबू ¤”
“हो बाजे । महामारीको रूपमा फैलिएको रोगको सङ्क्रमण हामीकहाँ पनि फैलिने सम्भावना भएकोले नगरपालिकाले गाईजात्रालाई औपचारिकतामा सीमित गर्न सबैलाई आग्रह गरेको थियो, नगरवासीहरूले नगरपालिकाको आग्रहलाई सहर्ष स्वीकार गरे ।”
मैले यति भन्नासाथ सँगै आउनुहुने अर्को ज्येष्ठ नागरिकले आप्mनो धारणा राख्नुभयो, “ताहामचा मात्र ल्याएपनि हुलमुल त थियो नि ¤ मान्छेहरू पनि जति भने पनि अबुझझैँ भइदिने ¤”
“होइन बाजे, ताहामचा ल्याउँदा परिवारका सदस्य र केही आफन्तहरूमात्र थिए नि ¤ घिन्ताङ्घिसी वा बाजा वा अरू नाच ल्याइएको भए नाच्नेहरू पनि कता कताबाट को को आउँथे होलान् । हेर्ने दर्शकहरू पनि त भक्तपुरभन्दा बाहिरका पनि आउँथे नि, होइन र ?”
“त्यो त हो, बाबू ¤ भक्तपुरको गाईजात्रा विशेष प्रकारको हुन्छ भनेर काठमाडौँ, पाटन, बनेपा, धुलिखेल, पनौतिलगायतका विभिन्न स्थानबाट आफन्त र अन्य मान्छे थुप्रै आउँथे ।”
हामीसँगै बिस्तारै हिँड्नुहुने बज्यैले गुनासो गर्नुभयो, “मैले नबुझेको नि, बाबू ¤ ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ पनि भन्ने अनि घिन्ताङ्घिसी खेल्न नदिने, बाजा बजाउन नदिने र कति राम्रा – राम्रा नाचहरू समेत प्रदर्शन गर्न नदिने । किन यस्तो गरेको बाबू ?”
उहाँलाई हात समाएर डो¥याउँदै आउनुहुने बाजेले उत्तर दिइहाल्नुभयो, “होइन बुढी । तिमीले कुरा बुझिनौ । पहिला हाम्रो पालामा ‘भ्वोँ ल्वय्’ भनेर हैजा, झाडा पखाला लागेर सयौँ बालबच्चा र बुढाबुढी मरेजस्तै अहिले पनि खतराको भाइरस आएको छ रे क्या । कोरोना भन्छ क्या रे होइन, बाबू ¤”
मैले मुसुक्क हाँसेर टाउको हल्लाएँ ।
“हो, त्यो भाइरसबाट नेपालमा पनि ५० भन्दा बढी मान्छे मरे रे ¤ हजारौँ मान्छेहरू बिरामी भएका छन् रे ¤ त्यो रोग त मान्छेहरू सँगै बस्दा, हात मिलाउँदा, एक अर्काको शरीरमा हुँदा समेत सर्छ रे बुढी ¤”
बाजेको कुरामा थोरै सच्याउने उद्देश्यले मैले कुरा थपेँ, “रोग लागेको मान्छेले हाछ्यूँ गर्दा वा खोक्दा वा अन्य कार्य गर्दा सँगै बसेको निरोगी मान्छेलाई थुक वा ¥याल प¥यो भने तुरुन्तै सर्ने सम्भावना हुन्छ । रोगीले प्रयोग गर्ने कपडा वा रुमाल प्रयोग गर्दा, रोगीले छोएको कुनै पनि चिज छुँदा पनि सर्ने सम्भावना हुन्छ भनी डाक्टरले भनेका छन् । त्यसैले त जहाँ गएपनि मास्क लगाउने, हाछ्यूँ गर्दा वा खोक्दा मुख छोप्ने, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने कुरा रेडियो टीभीमा आइरहन्छ ।”
अलि बुझेजस्तो गरेर बज्यैले भन्नुभयो, “हो बाबू । हाम्रो पालामा बिफर, टीवी, हैजा, आऊँ र महारोग लागेर भकाभक मान्छे मर्थे । त्यतिबेला अहिलेजस्तो अस्पताल पनि थिएन, औषधी पनि थिएन । तर, अहिले त सबै रोगको उपचार भइहाल्छ नि होइन र ?”
“अहिले सबैलाई तर्साइरहेको कोरोना भाइरसले सार्ने कोभिड – १९ रोगको औषधी पत्ता लागेको छैन बज्यै । त्यसैले अमेरिका, इटाली, चीन जस्तो राम्रो र धनी देशमा समेत हजारौँ मान्छेहरू यो रोग लागेर मरिसके । यो रोग हामीकहाँ पनि नआओस् भनेर सचेत बन्नुपर्छ बज्यै ¤”
“यो मान्छे मार्ने रोग हाम्रो ठाउँमा नआओस् भनेर नगरपालिकाले धेरै मेहनत गरेको छ नि ¤” हिँड्दाहिँड्दै एकैछिन थकाइ मार्न बसेका बेला अर्का ज्येष्ठ नागरिकले भन्नुभयो, “हामीले चुनावमा जिताएका बाबूनानीहरू र अरू भाइबहिनीहरू घरमा आएर हामीलाई रोगको बारेमा बताइरहनुभएको छ, सफाइ गाडीमा फोहर लिन आउँदा पनि माइकिङ गर्नुहुन्छ । स्वयम्सेवक भाइबहिनीहरू पनि टोलटोलमा आउनुहुन्छ ।”
“त्यतिमात्र हो र ? भीड जम्मा हुन्छ भनेर बिस्का जात्रा, मातातीर्थ औँसी, देवाली पूजा, बुद्ध जयन्ती समेत सामान्य ढङ्गबाट मात्र मनाउन नगरपालिकाले आग्रह गरेको थियो नि ¤” अघिदेखि बिस्तारै हातखुट्टा हल्लाई शारीरिक अभ्यास गरिरहनुभएका ज्येष्ठ नागरिकले आराम लिँदै भन्नुभयो, “यो गाइजात्राको अगाडि पनि यी बाबूनानीहरूले टोलटोलमा दाफा भजन गर्ने सांस्कृतिक गुरुहरू र मान्छे मरेको घरका सदस्यहरूलाई डाकेर सम्झाउनुभएको थियो । म पनि गएको थिएँ । रोगको विषयमा कति राम्रो कुरा बताउनुहुन्छ, बाबूहरूले ¤”
“जनप्रतिनिधि बाबू, नानीहरूले रातदिन दुःख गरेर सबैलाई सम्झाएको कारणले योपालि त्यति भीड भएन । अझ केही उद्दण्ड केटाहरूले जबरजस्ती घिन्ताङ्घिसी ल्याउन खोजेका थिए रे भन्ने सुनेको थिएँ, हो बाबू ?”
“हामीले युवाहरूलाई पनि राम्रैसँग सम्झाएका थियौँ बाजे । खराब बानी भएका एकदुई जना त जहाँ पनि हुन्छन् नै । सबै नगरवासीहरूले हाम्रो अनुरोध माने । धेरै राम्रो भयो ¤”
“पराल छाएर बनाउने भैरवको ताहामचा नघुमाउने भनिएको थियो, होइन र ?” बज्यैले मेरो हात समाउँदै प्रश्न गर्नुभयो ।
“छलफल त त्यसरी नै भएको थियो बज्यै ¤ भैरवको ताहामचा नलगेमा के के अनर्थ हुन्छ भनेर स्थानीय बाज्याअजीहरूले जोड गरेपछि हामीले उहाँहरूको चित्त दुखाउन चाहेनौँ । फेरि उहाँहरूले परालको भैरवको ताहामचा लगेपनि घिन्ताङ्घिसी नलग्ने वचन दिनुभएको थियो, घिन्ताङ्घिसी ल्याइएन पनि ¤”
“परालको भैरव ल्याउँदा त मान्छे थुपै्र जम्मा भए नि ¤”
“मान्छे जम्मा भए पनि पहिलेका वर्षहरूमा भन्दा कम मात्रै मान्छे थिए है बुढी ¤ ‘धर्मनाश’ हुने कुरा भन्नुहुन्न । घिन्ताङ्घिसी ल्याइएको भए दोब्बर तेब्बर मान्छे हुन्थे ।”
बज्यैलाई मैले सम्झाउनुपर्नेमा बाजे आफैले सम्झाइरहनु भएको थियो ।
“त्यति भीड पनि जम्मा नहोओस् भन्ने चाहेका थियौँ, बाजे ¤ त्यो भीडमा एक जनामात्र कोरोना भाइरसको सङ्क्रमित बिरामी भएमा धेरैजनामा सर्नसक्ने खतरा हुन्थ्यो ।”
“अशुभ कुरा मनको स्यानो कुनामा पनि नराख, बाबू ¤” बज्यैले मेरो शीरमा आप्mनो हात राख्दै भन्नुभयो ।
“कामना त त्यही नै गर्ने हो बज्यै । तैपनि सबै जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाहरू एकजुट भएर गाईजात्रालाई व्यवस्थित गर्ने त्यत्रो प्रयास गर्दा समेत केही भीड जम्मा हुँदा फेसबुकमा हामीले केही नगरेको जस्तो गरी हामीलाई गालीगलौज गरेका रहेछन् ।”
“फेसबुक भनेको के हो, बाबू ?”
“त्यति पनि थाहा छैन बुढी ¤ त्यो छ नि एकजनाले मोबाइल, कम्प्युटरमा फोटो राख्छ र जहाँ बसेकोले पनि तुरुन्तै हेर्न मिल्छ । घरमा नाति नातिनीहरू ती फोटाहरू हेरेर हाँसिरहेको देखेकी छैनौ र बुढी ?”
“ए, त्यो त देखेकी छु । अनि त्यसमा यी बाबू नानीलाई के भनेका छन् र त्यसरी चित्त दुख्नेगरी ?”
“चित्त त के दुख्नु बज्यै ¤” “नगरपालिका सुतेर बसेको छ कि ?”, “जनप्रतिनिधिहरू कहाँ गए ?” यस्तै यस्तै लेखिएका छन् फेसबुकमा । अझ केही साथीहरूले भैरवको ताहामचा ल्याउँदा केही ठाउँमा मान्छेको भीड रहेको फोटो राख्दै लेखेका छन्, “भक्तपुरको बासिन्दा भन्न लाज लाग्यो ¤”, “धिक्कार छ मलाई ¤”
बज्यैले मेरो हात स्नेहपूर्वक समातेर बिस्तारै भन्न थाल्नुभयो, “केही चिन्ता लिनु पर्दैन, बाबू ¤ कोठाभित्र बसेर संसार नियाल्न खोज्नेहरूले काम गर्ने ठाउँमा कति दुःख गरेका हुन्छन् भन्ने बुझ्दैनन् । नगरपालिकाले कति मेहनत गरेको छ भन्ने हामीले बुझेका छौँ त ¤”
एकछिन अड्किएर बज्यैले पुनः सम्झाउन थाल्नुभयो, “हेर बाबू ¤ हाम्रो पालामा पनि किसानहरूले मोहियानी हकको आन्दोलन र बाली काट्ने आन्दोलन गरेपछि आधा जग्गा दिनुपर्ला भनेर “भक्तपुर फोहर छ” भन्दै भक्तपुर छोडेर काठमाडाँै भाग्नेहरू धेरै थिए । “भक्तपुरे ज्यापुहरू फोहरी छन्, खुला ठाउँमा दिसा गर्छन्” भनी हामीलाई हेप्थे । यहाँका किसानले धेरै दुःख गरेर आज भक्तपुरलाई सबैभन्दा सफा नगर बनाए, मठ मन्दिरहरू बनाएर पर्यटकहरू भित्याए, सुन्दर बनाए । पहिले भाग्ने र हेप्नेहरू नै अब “हामी पनि भक्तपुरवासी हौँ” भन्न थालेका छन् । आपत् पर्दा आपूm जन्मेहुर्केको ठाउँ र आफन्तलाई छोडेर भाग्नेहरू हिजो पनि थिए, आज पनि पक्कै होलान् । स्वार्थी र अवसरवादीहरू जहाँ पनि हुन्छन् । मुख्य कुरा आफू हिँडेको बाटो सही छ भने कत्ति पनि नडगमगाउने र बहुमत जनतालाई सही बाटोमा डो¥याउने कोसिसमा लाग्ने हो ।”
उमेरले सत्तरी नाघेका बज्यैले मलाई यसरी सम्झाउनुहोला भन्ने सोचेको थिइनँ । उहाँले आप्mनै शैलीमा मलाई सम्झाउन थाल्नुभयो, “समाजको हित गर्न लाग्ने बेलामा एक दुई जनालाई चित्त नबुभ्mन सक्छ । अगाडि बढ्नेबाहेक हामीसँग अर्को विकल्प छैन । गल्ती भने कदापी नगर्नू ¤ भुसुनाले दुःख दियो भनेर हात्ति लम्कन छोड्दैन बाबू ¤ नबिराउनू ¤ नडराउनू ¤”
प्रभातफेरिमा दिनभरिका लागि जाँगरिलो बन्ने प्रयत्न गरिरहँदा बज्यैको उत्साहपूर्ण सल्लाहले मलाई थप ऊर्जा प्राप्त भयो । म हर्षित भई ज्येष्ठ नागरिकहरूसँग बिदा भएँ ।
दिउँसो वडाका राजनैतिक अग्रजसँग बुझ्दा पो थाहा पाएँ, उहाँ बज्यै त उतिबेलाको किसान आन्दोलनका सक्रिय योद्धा हुनुहुँदो रहेछ ¤ नगरको सफाइ अभियानको क्रममा कुचो समातेर अग्रमोर्चामा रहनुहुने महिला कार्यकर्ता उहाँ नै पो हुनुहुँदो रहेछ ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *