भर्खरै :

अदूरदर्शी शासकले दिएको कहर

काठमाडौँ उपत्यकामा सबै सुविधा, विकास र प्रशासन केन्द्रित गर्दाको दुःख यतिबेला देशले भोगिरहेको छ । विकासमा केन्द्रीकरणले कुनै दिन यस्तै भयावह अवस्थाको कल्पना धेरै अघि नै दूरदर्शी विज्ञहरूले गरेका थिए । राजधानी नै काठमाडौँबाट बाहिर लानुपर्ने विचार नयाँ होइन । देशको सन्तुलित विकास गर्न स्रोतसाधन काठमाडौँ उपत्यकामा मात्र खन्याउनु उपयुक्त नभएको दृष्टिकोण धेरै अघिदेखि नै छलफलको विषय थियो । तर, काठमाडौँ उपत्यकाप्रति पृथ्वीनारायण शाहकालीन चिन्तनबाट मुक्त हुन नसकेका शासकहरूले ती दृष्टिकोणभित्र निहित गाम्भीर्य बुझ्न सकेनन् । फलतः आफूलाई निर्वाचित गरेका जनताको घरदैलोमा विकास पु¥याउनुको सट्टा शासक दलका नेताहरूले सबैलाई काठमाडांँैमा ल्याउने योजनाहरू बनाए । सबैलाई काठमाडौँ उपत्यकाभित्रै ल्याउने शासक दलको अल्पदृष्टिको कारण आज दुई वटा धार भएको तरबारले देशलाई दुःख दिँदै छ ।
पहिलो धार, सबै साधन स्रोत र सुविधा काठमाडौँ उपत्यकाभित्र सीमित हुँदा काठमाडौँ उपत्यकाबाहिरका जिल्लामा आज कोरोना महामारीविरुद्ध लड्न पूर्वाधारको कमी देखियो । सुविधासम्पन्न अस्पताल, प्रयोगशाला आदिको अभाव विभिन्न जिल्लामा कोभिडविरुद्ध लड्न बाधक बनेका छन् । सबै अधिकार केन्द्रमा सीमित हुँदा सङ्घीयता संविधानमा सजाउने फूलदानीमात्र बनेको छ ।
दोस्रो धार, सबै साधन–स्रोत र सुविधासम्पन्न भएकोले काठमाडौँ उपत्यकामा क्षमताभन्दा बढी मानिसको बसोबास छ । त्यसकारण, उपत्यकामा कुनै सानो समस्याले पनि धेरै मानिस प्रभावित हुने गरेका छन् । मानिसबाट मानिसमा सजिलै सर्ने कोभिड–१९ जस्तो महामारी काठमाडौँ उपत्यकामा व्यापकरूपमा फैलिनु कुनै असामान्य कुरो होइन । अहिले त्यसैको परिणाम नेपाली जनता भोग्न बाध्य छन् ।
राजनीतिक नेतृत्वले तय गरेको नीतिको प्रभावबारे दीर्घकालसम्म समीक्षा हुने गर्छ । काठमाडौँ उपत्यकामा सबै साधन–स्रोत र सुविधा केन्द्रित गर्ने आजसम्मका सरकारको नीतिबारे अहिले समीक्षा गर्न आवश्यक भएको छ । कोभिड–१९ महामारी फैलिनुअघि सिंहदरबारका कोठामा काठमाडौँ उपत्यकामा मानव बस्ती बिस्तार गर्ने र ‘स्मार्ट सिटी’ बनाउने विषयमा उच्चपदस्थहरूबीच बैठक चलिरहेको थियो । सरकारका त्यस्ता नीतिप्रति विमति राख्नेहरूलाई सरकारले सजिलै ‘विकासविरोधी’ को संज्ञा दिइरहेको थियो । कोभिड–१९ महामारी निःसन्देह अहिले कहर बनेर आएको छ । तर, नकारात्मक कुराले पनि केही सकारात्मक डोबहरू छोडेर जाने गर्दछ । जङ्गली आगोजस्तै फैलिरहेको कोभिड–१९ को सङ्क्रमणले यतिबेला काठमाडौँ उपत्यकामा थप मानव बस्ती विस्तार गर्ने दृष्टिकोणका पक्षपातहरूलाई गतिलो जवाफ दिएको हुनुपर्छ ।
ठूला देशका निकै फराकिला राजधानीको अन्ध नक्कल गर्दै काठमाडौँ उपत्यकामा देशको एकतिहाइ जनसङ्ख्याको बसोबास गराउने सोच राख्ने शासकहरू दीर्घकालीन सोच भएका शासक होइनन् । उनीहरूको अल्पदृष्टिले जनतालाई दुःख हुने कुरा यतिबेला ऐनामा झैँ प्रस्ट देखिएको छ । अब देशको सन्तुलित विकासको निम्ति काठमाडौँ उपत्यकाकेन्द्रित विकासको नीतिलाई त्याग्नुपर्छ । नेपालजस्तो देशको निम्ति ठूलठूला सहर होइन, स–साना सहरहरूको विस्तार गर्न आवश्यक छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारीको कारण जनताले भोग्नुपरेको कहरका दोषी सबै स्रोत–साधन यहीँ खन्याएर काठमाडौँको साख र हुर्मत लुट्ने शासकहरू दोषी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *