भर्खरै :

विदेशीको भरमा होइन आफ्नै जनताको भरमा परिवर्तन

काठमाडौँ, ११ भदौ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा राज्यस्तरबाट रचित भक्तपुर काण्ड विषयक प्रवचन कार्यक्रम अनलाइन जुममार्फत बिहीबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर काण्डमा पञ्चायतले योजनाबद्ध तरिकाले षड्यन्त्र रचेको बताउँदै सरजमिन एकतर्फी गर्नु र जिल्ला अदालतमा मुद्दा नगरी विशेष अदालतमा गरिनु संविधान र ऐनकानुनविपरीत भएको बताउनुभयो ।
पञ्चायतले नेमकिपाका नेता–कार्यकर्ताहरूलाई युद्धबन्दीको जस्तो दुव्र्यवहार गरेको उल्लेख गर्दै उहाँले तत्कालीन प्रम, मन्त्रीलगायतका उच्चपदस्थहरूले नै जुलुसमा ‘रोहितलाई फाँसी दे’ नारा लगाउनु निन्दनीय छ भन्नुभयो ।
उहाँले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गरेको कारण त्यसलाई रोक्ने उद्देश्यले षड्यन्त्र गरेको बताउँदै कम्युनिस्ट पार्टीविरुद्धका षड्यन्त्र बेलायत, फ्रान्स, रुस, जर्मनी, अमेरिकालगायतका देशहरूमा पनि भएको प्रस्ट्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले विदेशी जासुस र पञ्चहरू नेपालका प्रमुख दलहरूमा भएको कारण शासक दलहरूले देश र जनताको सुरक्षा र सेवा गर्न नसक्ने औँल्याउनुभयो ।
विदेशीको सहयोगमा नभई जनताको सहयोगमा क्रान्ति गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले माओवादी पार्टीले नेपालमा गरेको उपद्रवले नराम्रो परिणाम ल्याउने बताउनुभयो ।
अहिलेसम्म भारतले हाम्रो खुट्टा बाँधेको छ, यदि एमसीसी पास भएमा अमेरिकाले पनि हाम्रो खुट्टा बाँध्नेछ, दुबैले तान्दा नेपालको हविगत नाजुक हुनेछ, अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
उहाँले ठेक्कापट्टा र गुन्डागर्दीबाट युवा–विद्यार्थीलाई टाढा राख्नुपर्ने र स्वयम्सेवक भई काम गर्न जोड दिनुभयो ।
उहाँले युवा–विद्यार्थीहरू पद–पैसाको निम्ति नभई देश र जनताको सेवा गर्नको लागि राजनीतिमा लाग्नुपर्ने बताउँदै २२ हजारभन्दा बढी नेपालका सरकारी कर्मचारीहरू भारतको तलब लिएर देशघाती कार्य गरिरहेकोमा विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सदस्य सरजु फसिकवाले भक्तपुर काण्डको घटनाक्रम र नेमकिपाको सङ्घर्षबारे प्रस्तुति दिनुभएको थियो ।
आयोजक समितिका अध्यक्ष सविन ख्याजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका उपाध्यक्ष प्रकाश गुरुङ र सदस्य मिलन गणेजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *