भर्खरै :

अत्यावश्यकका नाममा अनावश्यक घुमफिर

काठमाडौँ, ११ भदौ । कोभिड–१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरबाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार जानकारीमा हुँदाहुँदै पनि मानिसले सरकारी आदेश र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइएको छ । जथाभाबी हिँडडुल गर्नेदेखि अनावश्यकरूपमा सवारी साधन चलाउने देशभर नै भेटिएका छन् ।
कतिपय भने मास्क नै नलगाई हिँड्ने गरेको समेत पाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । मानिसको अटेरीपनका कारण जोखिम बढ्ने भएकोले त्यसविरुद्ध थप कडाइ गरिएको उहाँले बताउनुभयो । “निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि सहजीकरण गरिएको छ, यस्तो अवस्थामा अत्यावश्यकका नाममा अनावश्यक घुमफिर भएको पाइयो, त्यस्ता गतिविधि रोक्न छड्के जाँच सुरु गरिएको छ”, महाशाखा प्रमुख ढकालले भन्नुभयो ।
निषेधाज्ञाको उल्लङ्घन हुन थालेपछि तीन दिनदेखि उपत्यकाका १२० स्थानमा हुने छड्के जाँचका लागि १२० प्रहरी परिचालन गरिएको छ । उक्त टोलीले अत्यावश्यक सेवाका लागि हिँडेकाहरूको गतिविधिसमेत निगरानी गर्नेछ । त्यस्ता गतिविधि गर्ने दुई हजार १४ जना कारबाहीमा परेका छन् । मुख्यगरी प्रहरीको उपस्थिति नभएका ठाउँबाट अत्यावश्यक भनेर अनावश्यकरूपमा गाडी चलाउने पाइएको छ । नक्कली परिचयपत्र बनाएर हिँड्ने, अत्यावश्यक कामका लागि हिँडेको भनेर ढाँट्ने र बन्दाबन्दीका बेलाको सवारी पास बोकेर हिँड्नेसमेत फेला परेको छ । काम नभइकन बैङ्कको कार्ड भिरेर अन्तै घुम्न हिँडेका व्यक्तिसमेत फेला परेको महाशाखाले जनाएको छ ।
प्रवउ ढकालले ट्राफिक प्रहरीले उपत्यकामा सामाजिक सचेतनाका कार्यक्रमलाई सँगै अघि बढाइएको जानकारी दिनुभयो । ट्राफिक नियम पालना गर्न, अनिवार्य मास्क प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न अनुरोध गर्दै विभिन्न चोकमा प्रचारात्मक साइन बोर्ड राख्न थालिएको छ ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक साताको निषेधाज्ञाका समयमा सात हजार १६३ सवारी साधनलाई ‘होल्ड’ मा राखेर कारबाही गरिएको छ । त्यसमा ८० प्रतिशत मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । दुई दिनमा मात्रै अत्यावश्यक काम भनेर अनावश्यकरूपमा हिँड्ने एक हजार १०२ जनालाई कारबाही गरिएको छ । आजै ३०६ जनालाई नियन्त्रणमा लिइसकिएको छ । निषेधाज्ञा उल्लङ्घन रोक्न उपत्यकाका ४५ स्थानमा संयुक्तरूपमा अस्थायी सुरक्षाचौकी स्थापना गरी निगरानी गरिएको छ ।
यस्ता गतिविधिले कोभिड–१९ सार्न सहयोग पुग्ने भएकोले संयम हुन र अत्यावश्यक काम नपरी बाहिर ननिस्कन प्रहरीले सबैमा अनुरोध गरेको छ । उपत्यकाका तीन जिल्लामा भदौ १७ गतेसम्मका लागि निषेधको आदेश जारी गरिएको छ । निषेधाज्ञाका समयमा अत्यावश्यकबाहेक गतिविधि पूर्ण रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेशको पूर्ण पालना गरी रोगको सङ्क्रमण रोक्ने सरकारी अभियानमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । उपत्यकामा समेत सङ्क्रमण दरमा वृद्धि भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा दैनिक २०० देखि ३०० को हाराहारीमा नयाँ सङ्क्रमित देखिँदै आएको छ । सरकारले गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछि मानिसको आवागमन ह्वात्तै बढ्दा सङ्क्रमण बढेको जनस्वास्थ्यविज्ञको भनाइ छ । एक महिनाका अवधिमा नजानिँदोरूपमा सङ्क्रमण र मृत्युदर बढिरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *