भर्खरै :

मौन क्रन्दन – ११, असुरक्षा र तनाव

सन् १८१६–३९ सम्म विकासको गति एकदम सुस्त थियो । प्रशासनमा धेरै परिवर्तन आएन । धेरै हदसम्म युद्धअघिको प्रशासन नै ‘मौनकाल’ भरि कायम रह्यो । कुतप्रथाले गर्दा रैकर र जागिरको जमिनको विस्तृत लगत राख्ने सिलसिला सुरु भयो । मालपोत उठाउने परिपाटीले नै निजामति प्रशासनको धमिलो रुप सुरुआत भयो । क्षेत्रीय प्रशासनिक केन्द्र खोलिए तर तिनको अधिकार सीमित रह्यो । गाउँले जनताकै आग्रहमा यी केन्द्र खोलिएका थिए । अन्नका बकार (मण्डी) खुले पनि व्यापार फस्टाउन सकेन । रैथाने परम्परालाई केन्द्रसँगको संवादमा कानुनी संरचनाभित्र ल्याइयो । ठूलो परिवर्तन कमै भए पनि राष्ट्रिय एकतातिरको प्रगति सुस्त थियो । सरकारी रवैयाले बाधा हाले तापनि यस्तो प्रगति भएको थियो ।
जागिरमा पाबन्दी
यस्तो प्रगतिले भारदारहरूलाई कमजोर बनाएको थियो । एकीकरणताका भारदारहरूका सुनौला दिन थिए । पश्चिमी विजय अघि बढ्दै जाँदा सेना पनि फस्टाउँदै गयो । नयाँ जागिर थपिँदै थियो । भारदारका छोराहरू जन्म नै युद्धका लागि भएझैँ सेनाको नेतृत्व सम्हाल्न पुग्थे । आफ्नै लडाकु क्षमताको भरमा उनीहरू सफलता हात पार्दै जान्थे । यसरी जागिर पाउनु उनीहरूको जन्मजात अधिकारजस्तो बन्न पुग्यो । उनीहरूको पराक्रम देशभक्ति पनि कहलिन्थ्यो ।
सुगौलीले सेनाको वृद्धिलाई रोक्यो । सेनामा नयाँ पद र अवसर कमै थपिए । सैनिक परिवार बढिरहेका थिए । भारदारहरूले जागिरका मौजाको लागि नयाँ विकल्प खोज्न थाले । तर, सेनाभन्दा बाहिर यस्ता पद थोरै थिए । जमिनबाट राजस्व असुल्ने व्यवस्थामा केन्द्र सरकारको सिधै अधिकार नहुनु यसको एउटा कारण थियो । क्षेत्रीय प्रशासनको विकास र त्यससँगै हुने आर्थिक विकासले मात्र यस्तो अवसर सिर्जना गर्नसक्थ्यो । तर, भीमसेन थापाको परम्परावादी प्रशासनले यस्तो हुनबाट छेक्यो । यसले गर्दा भारदारहरूमा दबाब बढ्यो र उनीहरूमा जागिर पाउन र भएको जागिर जोगाउन हानथाप चल्यो । साथै, उच्च शासकप्रति बफादारीतामा वृद्धि भयो ।
१. न्याय व्यवस्था ः
‘मौनकाल’ मा सरकारको न्याय व्यवस्था अधकल्चो वा अप्रत्यक्ष थियो । धेरैजसो दैनिक घटनामा सरकारका नियमकानुनको हात हुँदैनथ्यो । पुराना राज्यहरू, बिर्ता र जागिरका भूभागमा सरकारको उपस्थिति न्यून थियो । थाकखोलाजस्ता ठाउँ राज्यजस्तै थिए । पुराना राजारजौटा, बिर्तावाल र जागिरदारहरू केन्द्रअन्तर्गत भए तापनि कतिपय मामिलामा उनीहरूको कुरा चल्थ्यो । (पुराना राज्यहरूको आन्तरिक मामिला पुरानै राजा रजौटालाई हेर्न दिइएको थियो ।) केही मुख्य विषयमा मात्र उनीहरू काठमाडाँैको राय लिन्थे । पुराना राज्यहरूमा सरकारी अधिकारीको भूमिका सम्पर्क सूत्रको मात्र हुन्थ्यो । खासमा यस्ता भूभाग केन्द्र सरकारको न्याय व्यवस्थाभित्र पर्दैनथ्यो ।
केन्द्रीय प्रशासनभित्र नचल्ने भूमिमा पहाडको धेरैजसो खेतीयोग्य जमिन र तराईको ठूलो भूभाग थियो । त्यसबेला तराईमा भन्दा पहाडमा धेरै जागिरहरू थिए । सेनाको खान्कीका आधारमा हेर्दा देशैभर सेनाका ९० भन्दा बढी कम्पनीको मातहतमा २५०० देखि ३००० वर्ग माइल भूभाग थियो । जागिर र बिर्ताअन्तर्गत कति जमिन थियो भनी यकिनसाथ भन्न सकिन्न । यी सबै भूभाग सीधै सरकारी न्याय व्यवस्थाभित्र आउँदैनथे । उपत्यकाका तीन सहर, तराई, बेनीका मध्य पहाड र पश्चिमी पहाडमात्र सरकारी न्याय व्यवस्थाको दायराभित्र पर्थे ।
२. क्षेत्रीय प्रशासकहरू ः
देशको अधिकांश भाग केन्द्र सरकारको मातहत नपर्दा क्षेत्रीय प्रशासनमा धेरै अधिकारी चाहिँदैनथे । गाउँले तहमा अमाली वा मुखियाले नै धेरै विषय हेर्थे । क्षेत्रीय स्तरमा केन्द्रले न्यायाधिकारी (विचारी), निरीक्षक र स्थानीय प्रशासक नियुक्त गथ्र्यो । चौतरिया, काजी, सरकार र सुब्बाजस्ता अधिकारीले क्षेत्रीय प्रशासन हेर्थे । यही पदको व्यक्ति नियुक्त गर्नुपर्छ भन्ने थिति देखिन्न । सामान्यतया तराईमा ६ जना सुब्बा हुन्थे । एकजना सुब्बा बेनीमा, पाल्पामा एकजना सरदार वा काजी, डोटी र जुम्लामा एकजना काजी वा चौतरिया र चैनपुरमा सरदार वा सुब्बा हुन्थे । मकवानपुर, गोर्खा र नुवाकोटमा सैनिक अगुवाले नै क्षेत्रीय प्रशासकको काम गर्थे । काठमाडाँै, पाटन र भादगाउँका ३ जना प्रशासक वा गभर्नर थिए । साथै थप ११ जना प्रशासक देशभरि छरिएका थिए । सैनिक प्रशासकले आफ्नै कर्मचारीबाट अन्य काम गराउँथे । सामान्य प्रशासकका लागि भने केही सहयोगी चाहिन्थ्यो । तर, ती सहयोगी राख्न थप खर्च चाहिने हुनाले तिनको सङ्ख्या सानो हुन्थ्यो । धेरै सहयोगी राखेमा राज्यकोषमा जाने आम्दानी यसैमा खर्च हुन्थ्यो । प्रशासकका सहयोगीलाई खरिदार भनिन्थ्यो र तिनले पत्राचार गर्नुपथ्र्यो र लगत राख्नुपथ्र्यो । त्यसबाहेक विचारी आदि कर्मचारी हुन्थे । यहाँनिर क्षेत्रीय प्रशासनमा ठूलो पद सिर्जना हुन नसक्ने देखिन्छ । सैनिक र निजामती प्रशासनबीच स्पष्ट भिन्नता नहुनाले क्षेत्रीय प्रशासनका खाली पदमा सैनिकहरू नै नियुक्त हुन्थे । खागसरी सुगौली सन्धिपछि सेनाको सैनिक गतिविधि कम भएपछि यस्तो स्थिति आएको थियो ।
केन्द्रबाट बेलाबेला पठाइने विचारी र निरीक्षकहरूको टोलीले काम गर्दाबाहेक क्षेत्रीय प्रशासक र गाउँबीच धेरै सम्पर्क हुँदैनथ्यो । तिरोतिरान, प्रतिरक्षा, मुख्य मुद्दा–मामिला पर्दा र हुलाक, सैनिक उद्योग र सरकारी सामान लाने ल्याउने काममा झारा जानुपर्दा गाउँलेहरू क्षेत्रीय प्रशासकसँग जोडिन्थे । यसरी सबै सम्बन्धमा केन्द्रको काम बन्थ्यो । गाउँले समस्या बुझ्ने, तिनलाई नियमित र सम्बोधन गर्ने काम हुँदैनथ्यो । बढीमा न्याय र सुरक्षाको जिम्मा हेरिन्थ्यो । गाउँलेहरूका दुःख उनीहरूसँगै थिए । शिक्षा, स्वास्थ्य र विकासका कुरा युगौँ पछि थिए ।
३. भारदारहरूमाथि दबाब ः
सरकारको भूमिका सीमित भएकोले केन्द्र प्रशासनलाई थोरै कर्मचारी भए पुग्थ्यो । सेनाबाहिर नयाँ पद कमै खुल्थे । त्यसबेलाको नेपाली समाजमात्र परम्परावादी थिएन । बरु सरकारी शैली र परम्परा पनि उस्तै थियो । साथै सामाजिक उत्थान पनि कमै भएको थियो । यस विषयमा १५ हजार दस्तावेजहरूको अध्ययन गरिएको थियो । यसले केही तथ्यतिर औँल्याउँछ । ‘मौनकाल’ का अघिल्ला २१ वर्षमा १ प्रतिशत जति पनि पदोन्नति भएको थिएन । सबैभन्दा उपल्ला प्रशासक काजी हुन्थे र तिनको सङ्ख्या ११ थियो । युद्धको बेलामात्र १३ काजी नियुक्त गरिएको थियो । काजीहरूमा भित्री र बाहिरी घेरा हुन्थ्यो । बाहिरी घेराका काजीले सेनाको नेतृत्व गर्थे अथवा जिल्लामा प्रशासकको काम गर्थे । भित्री घेराका काजीहरू निर्णय प्रक्रियामा सहभागी हुन्थे । भित्री घेराका काजीहरू २१ वर्षभरि यथावत रहे । केही मृत्यु र अवकाशले हटे । यस घेरामा घुस्न एकदम गाह्रो थियो । तर यसमा एउटै परिवारको वर्चस्व भने थिएन । भित्री घेरामा थापा, कुँवर (राणा), बस्न्यात र पाँडे परिवारका भारदार थिए । काजीभन्दा मुनिको सरदार पदमा ‘मौनकाल’ भरि पजनी भइरह्यो । सेनाका कप्तानहरूको पद भने बढी स्थिर थियो । त्यस्तै सुबेदार वा सैनिक कम्पनीका कमान्डरको पद पनि स्थिर रह्यो । किसानहरूमाथि बढी थिचोमिचो गर्ने वा राम्ररी काम नगर्ने घटनामा हटाइनेबाहेक सुब्बाहरूको शक्ति लामो समय कायम रह्यो ।
माथिको अध्ययनबाट काजीहरू लामो समय पदमा रहेको देखिन्छ । यसले ‘मौनकाल’ को सरकारबारे केही भन्छ । पहिलो, सरकार लगभग स्थीर थियो । सरकारमा नयाँ विचार कमै आउँथे । धेरै काजी युद्धअघिदेखि नै सो पदमा थिए । राष्ट्रिय समस्यामा नयाँ तरिकाले सोच्ने सम्भावना कम थियो । सरकारको काममा एकमत भएर उनीहरू यसरी टिकिरहेका थिए वा भीमसेन थापाप्रति बफादार रहेर यसो भएको थियो स्पष्ट छैन । जेहोस्, ‘मौनकाल’ का अघिल्ला २१ वर्षसम्म पुरानै दृष्टिकोण निर्बाध कायम रह्यो । दोस्रो, काजीहरू विभिन्न जातिका थिए । भीमसेन थापाले यो धेरै क्षत्री परिवार समेटेर आफ्नो शासनकाल स्थिर बनाएको देखिन्छ । त्यसमाथि बडामहारानी ललितत्रिपुरा सुन्दरीको साथले पनि भीमसेनलाई बलियो बनाएको देखिन्छ । तेस्रो, अन्य परिवारभन्दा थापा परिवारको बढी पदोन्नति भएको देखिन्छ । तर, सुबेदार पद पाउने सबै भीमसेन थापाकै परिवारका थापा थिएनन् । खासगरी सुबेदार पदबाट भारदारीमा पस्ने बाटो खुल्थ्यो । थापा भारदारको मृत्यु हुँदा त्यसमा थापा परिवारबाटै भारदारीमा उक्लेको देखिन्छ । अध्ययनका यी सबै निष्कर्षले सेनामा भारदारका सन्तानलाई कम अवसर खुलेको स्पष्ट हुन्छ । तसर्थ भारदारहरूले बलियो दबाब भोगिरहेको देखिन्छ ।
सुरक्षाको लागि सङ्घर्ष
जमिनको वरिपरि नै सबथोक घुमिरहेको त्यसबखतको नेपालमा व्यक्तिको सुरक्षा पनि जमिनमार्फत नै हुन्थ्यो । जागिर र बिर्ताको महत्व यसैमा थियो । युद्धपछि बिर्तामा पाबन्दी लाग्यो । यसले थोरै भारदारलाई मात्र सुरक्षित बनायो । सालिन्दा हुने पजनीमा धेरै जागिरदारले असुरक्षित महसुस गर्न थाले । सरकारी अधिकारी रहुञ्जेलमात्र जागिर पाइन्थ्यो । पदसँगै जागिरको जमिन पनि जान्थ्यो । परिवारकै अर्को सदस्यलाई सो पदमा राख्न सकेमा मात्र पुरानो सहुलियत जोगिन्थ्यो । यति गर्न नसके पद खोसिने परिवार मोही किसानकै स्तरमा ओर्लिन्थ्यो । यसरी धनदौलत र रोबरवाफबाट च्युत हुनु अकल्पनीय हुन्थ्यो । त्यसैले जागिर आफ्नो हातमा पारिरहन वा आफ्नो पद परिवारभित्रै राख्न भारदारमाथि दबाब प¥यो । यसले वरिष्ठ भारदारहरू लामो समयसम्म पदमा रहनुको रहस्य खोल्छ । थापा परिवारलाई पदोन्नतिमा प्राथमिकता दिँदा उत्पन्न भएको तनावको कारण पनि यही थियो । नयाँँ पदोन्नति गरिँदा वर्षौँ सेवा गरेका परिवारका सदस्य नपर्दा एक खालको निराशा बढेको थियो । नयाँ पद आफ्नो परिवारलाई नपाउने देखेपछि धेरै भारदारले बुढेसकालसम्मै काम गरिरहे । अर्को उपाय थिएन । पजनी गर्नेहरूप्रति बफादार रहनु स्वाभाविक हुन गयो ।
सुरक्षाको सङ्घर्ष र राष्ट्रको विकास ः
भारदारहरूको निराशाले देश र प्रशासनलाई भने हानि ग¥यो । जागिरदारहरूले प्रशासनसँग राम्रो सम्बन्ध कायम गर्नुपर्ने भयो । प्रशासनमा साथीहरू बनाउनुपर्ने भयो । प्रशासकहरूसँग आफ्नो परिवारको वैवाहिक सम्बन्ध कायम गर्नु एउटा उपाय हुन्थ्यो । यसले गर्दा भारदारहरूबीच मित्रताको लहरोजस्तो बन्यो । प्रभावकारी सरकार बनाउनुभन्दा पनि यसरी आफ्ना स्वार्थ रक्षा गर्नमा भारदारको ध्यान जान थाल्यो । जागिर सरकारी सेवाबापत पाइने तनखाभन्दा पनि उपहार बन्न गयो । भारदारले जागिरको उद्देश्य भुलेपछि प्रशासनको विकास र अर्थतन्त्रको सुधारमा तिनको ध्यान जान थाल्यो । यसरी आफ्नो पद जोगाउनु नै उनीहरूको मुख्य चिन्ता भयो । यसरी कर्मचारीतन्त्रमा गति नहुँदा परम्परावादी सोच क्षेत्रीय प्रशासन, व्यापार र कानुनमा देखापर्नु स्वाभाविक हुन गयो । आफ्नो थैलो बाँध्न लागिपरेको शासन व्यवस्था देशका वास्तविक आवश्यकता पूरा गर्न र सुधारका कामपट्टि नलाग्नुमा केको आश्चर्य ?
नेपालको विस्तार रोकिएको थियो । त्यसैले नयाँ उद्देश्य बनाइनुपथ्र्यो । यहाँ प्रशासनको आलोचना गर्न खोजिएको होइन । नयाँ विचार स्थापित हुन समय लाग्छ । तर, बीचको समय सधैँ पीडादायी हुन्छ । यसबीचको नेपालमा नेतृत्वको अभाव थियो भन्दा अप्ठ्यारो मान्नुपर्दैन । नयाँ विचार नपलाउँदासम्म भविष्यको निर्माणतिर लाग्नुभन्दा नेताहरूले विगतकै असल पक्ष जोगाउन खोज्नु स्वाभाविक पनि हो । यता देशमा तनावहरू बढ्दै थिए । सन् १८२० को दशकमा तनाव चरम चुलीमा पुग्यो । सुरक्षाको भोक बढ्यो । प्रशासनमा बढोत्तरी थिएन । सरकारको माथिल्लो तहमा आफ्नालाई च्याप्ने प्रवृत्ति बढ्यो । नयाँ विचारको अभाव थियो । निश्चित दिशाको अभाव थियो र नयाँ विचार आउने ढोकाहरू बन्द थिए । यसले निराशा उत्पन्न ग¥यो । यस्ता निराशाले नयाँ विचार वा हिंसाको रूप लिने गर्छ । नेपालमा यसले चौतरियाहरूको दबाब समूह निर्माण ग¥यो र भीमसेन थापाको प्रशासनभित्र सेना लगातार अशान्त भयो ।
दबाब समूहको उदय
‘मौनकाल’ को अघिल्लो २१ वर्षमा चौतरियाहरूको दबाब समूह देखापरेको थियो । यसलाई ध्यान दिनुपर्छ । गोर्खा राज्यकै समयदेखि चौतरियाहरू शाही परिवारकै सदस्य हुन्थे । खासगरी राजाका भाइहरू चौतरिया हुन्थे । दरबारबाहिर रहेर प्रजाका पिरमर्का चौतारीमुनि बसेर सुन्ने र राजालाई सोहीबमोजिम सल्लाह दिने चौतरियाको काम हुन्थ्यो । देशको प्रशासनमा कुनै बेला चौतरियाको भूमिका प्रभावशाली हुन्थ्यो । रणबहादुर शाहको सन् १७९९ को तामापत्रमा चौतरियाको काम काजीहरू नियुक्त गर्ने र कृतघ्न काजीलाई राजाको आदेशमा दण्ड दिने, देशको उन्नति र दुर्गतिको राजालाई जानकारी गराउने भनी उल्लेख भएको छ । यसबाट कुनै बेला चौतरिया राजाको दाहिने हात रहेको थाहा हुन्छ । सन् १८०४ मा मुख्तियारको पद बनेपछि चौतरियाको काम ओझेलमा प¥यो । पहिले राजा मुख्तियार बने र पछि भीमसेन थापा मुख्तियार बने । सन् १८१५–१६ को छोटो अवधिलाई नगन्ने हो भने १७९९ देखि १८३२ सम्म नेपालमा उमेर पुगेका राजा थिएनन् । तैपनि चौतरिया नियुक्त भइरहेका थिए । राजाको शासन नै नभएकोले चौतरिया नाममात्रका हुन्थे ।
सन् १७९४ मा चौतरियाको सङ्ख्या थपिएको थियो । रणबहादुर शाहले विदुर शाही र शेरबहादुर शाहीलाई दरबारी मामिलाका चौतरिया नियुक्त गरे । बलभद्र शाहलाई काठमाडौँबाहिरको मामिला हेर्न र बम शाहलाई कुमाउँ हेर्न चौतरिया नियुक्ति गरे । सन् १७९२ को नेपाल–चीन युद्धपछि बहादुर शाहलाई निष्कासित गरिएको समयमा यसो गरिएको थियो । यसबाट विश्वासिला व्यक्तिलाई आफूवरपर राख्ने राजाको मनसाय देखिन्छ । तर, ‘मौनकाल’ का चौतरियाहरू सोही मनसायले नियुक्त गरिएका थिएनन् । राजा राजेन्द्र सानै भएकोले बडामहारानी वा भीमसेन थापाले यस्तो नियुक्ती गरेको देखिन्छ । चौतरियाको काम धेरै नभएकोले भीमसेन थापाले यसो नगरेको मान्न सकिन्छ । तैपनि चौतरियाको सङ्ख्या ८ पुग्नुले केही भन्छ । सरकारको लगाम भीमसेन थापाको हातमा रहेको बेला सम्भवतः राजाकी नायबले थप चौतरिया नियुक्त गरेको देखिन्छ । यसबाट प्रशासनमा दबाब पा¥यो । राजा र नायबतिर ध्यान गयो । यिनलाई छलेर काम गर्न गाह्रो हुन गयो । नायबको सदाशयता भीमसेन थापाका लागि महत्वपूर्ण हुन गयो । फेरि प्रशासनमा खेल्न खोज्नेलाई चौतरियाहरूको समूहले ठाउँ बनाइदियो । भीमसेन थापा र भित्री काजीहरूले निर्णय प्रक्रियामा एकहत्ती गर्नुपर्ने भित्री कारण थिएन । त्यसैले चौतरियाहरूको समूहले एक दिन यसमा हात हाल्ने निश्चित थियो । खासमा काजीहरूको भित्री घेरालाई नयाँँ विचारले नफोरेसम्म देशको प्रगति नहुने पक्का थियो ।
‘मौनकाल’ मा चौतरियाहरूको समूह बन्नुले दुइटा कुरा औँल्याउँछ । एक, चौतरियाहरूको समूह राजखलकका सदस्यहरूको थियो । यो एकताबद्ध समूह भने थिएन । कति चौतरिया भीमसेन थापाप्रति बफादार थिए । तैपनि प्रशासनमा यी चौतरियाहरूको वर्ग माथि थियो । प्रशासनमा चलिरहेको मिलेर अगाडि बढ्ने सोचभन्दा उनीहरू माथि थिए । उनीहरू आफ्ना विचारले चल्न स्वतन्त्र थिए । बम शाह यसको बलियो उदाहरण थियो । दुई, प्रशासनमा प्रभाव जमाउन भीमसेन थापाको विकल्प देखाप¥यो । भीमसेन थापाको पक्षमा नलागे पनि बढुवा हुनसक्ने सम्भावना देखियो । केही समयलाई भीमसेन थापाले नायबको सहयोग पाए काम चल्थ्यो । तर राजाको उमेर पुगेपछि धेरै कुराले फरक पर्नसक्थ्यो ।
अशान्त फौज
यस कालको इतिहासमा सेनाको भूमिकाबारे धेरै भ्रम वा अन्योल छन् । अङ्ग्रेज रेजिडेन्ट हडसनले पटकपटक नेपाललाई सैनिक राष्ट्र भनेका छन् । नेपालको कला, साहित्य वा व्यापार नभएको र लडाकु स्वभावका कारण लडाइँ गरिरहने सेनाका कारणमात्र चिनिएको देश भनी लेखेका छन् । यो बकवास थियो । नेपालको जनसङ्ख्याको सानो हिस्सामात्र लडाइँमा जान्थ्यो । वास्तवमा नेपाल किसानहरूको देश थियो । सरकारमा सैनिक नेताहरू बलशाली हुनु र सेनालाई ध्यानमा नराखी कुनै मुख्य निर्णय नलिएको देखेर अङ्ग्रेज रेजिडेन्टले त्यसो लेखेको हुनुपर्छ । तत्कालीन स्थितिमा त्यसको विकल्प पनि थिएन ।
युद्धलगत्तै सहयोगका लागि भीमसेन थापा सेनातिर फर्किनुप¥यो । सेनाहरू आफ्ना पदमा टाँसिएजस्ता भए । सरकारमा ठूलो परिवर्तन आएमात्र उनीहरू गतिमा आउन सक्थे । त्यसबेला सेनामा गरिएको थोरै परिवर्तनले ठूलो खैलाबैला ल्याउन सक्थ्यो । उजीरसिंह थापा र माथवरसिंह थापा फौजी अधिकारीहरूमाझ प्रिय थिए । तर, उनीहरूसँग भीमसेन थापा रुष्ट हुनाले काठमाडाँै बोलाइएको भन्ने हल्लाले सेनामा अशान्ति फैलिएको अङ्ग्रेज रेजिडेन्ट गार्डनरले लेखेका थिए । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने भीमसेन थापा स्वयम् पनि सेना असन्तुष्ट भएको हेर्न चाहँदैनथे । त्यसैले दुवैलाई काठमाडाँैमा सेनाले मात्र होइन उनले पनि स्वागत गरेका थिए । त्यस्तै बाहिरबाट आइरहेका सेनालाई काठमाडाँैमा राख्ने व्यवस्था मिलाउने चर्चा चलिरहेको धेरै वर्ष बितेको थियो । यसले सेनालाई रुष्ट बनाएको थियो । सन् १८२४ तिर सेनाको आक्रोश बढ्यो । त्यसकारण सन् १८२५ सम्ममा सरकारले २३४ जना बिर्तावालहरूको जमिन जोडेर मालाटारमा श्रीनाथ गणको लागि छाउनी बनाइदियो । यसबाट पनि भीमसेन थापा सेनाको मन राख्न तत्पर रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *