भर्खरै :

मौन क्रन्दन – १४ आँधीबेहरीभित्र

(१८१६ देखि १८३९ सम्मको नेपाल र नेपालीबारे लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (The silent cry) को सङ्क्षिप्त अध्ययन)
निष्कर्ष
रेजिडेन्सीको सवालमा भीमसेन थापाले जे गरेका भए पनि उनको नीतिले काम ग¥यो । नेपाली प्रशासनलाई कमै सघाउने क्याम्पबेलले समेत भीमसेन थापाका नीतिको प्रभावकारीताको प्रशंसा गरेका छन् । नेपालको मामिलामा गभर्नर जनरलको अहस्तक्षेप नीतिबारे उल्लेख गरेपछि उनी लेख्छन्, “यस देशको आन्तरिक मामिलामा खेल्नबाट परिस्थितिले हामीलाई रोकिरहेको छ । नेपालमा हामीले चलखेल गर्नु परेको छैन । अन्य देशमा भए परिस्थिति ती राज्यले स्वतन्त्रता गुमाउने हदसम्म ध्वंसात्मक हुने थिए । नेपाली सेनालाई हामीले खर्च दिएका छैनौँ । न हामीले नेपालसँग पैसा लिएका छौँ वा नेपालमाथि हाम्रो दाबी छ । विदेशी आक्रमणमा उसलाई सघाउन हामी बाध्य छैनौँ । न त हामीले जनताका लागि सबैभन्दा कष्टदायी हत्कण्डा प्रयोग गर्ने अर्थात् राजमुकुटको रक्षा गर्ने कसम खाएका छौँ । नेपालका उच्चपदस्थहरू कुनै पनि विषयमा हामीमाथि निर्भर छैनन् । छोटोमा, नेपाल अङ्ग्रेज शक्तिबाट मुक्त र स्वाधीन छ ।” यसबाट अङ्ग्रेजहरू आफूले स्थानीय शासकप्रति गर्ने व्यवहारबारे के सोच्थे भन्ने स्पष्ट हुन्छ । रेजिडेन्सी र दरबारबीचको सम्बन्धमा भएको हस्तक्षेपबारे भने यहाँ केही बोलेको छैन । गभर्नरले अहस्तक्षेपको नीति अघि बढाए पनि रेजिडेन्टहरू आफ्नै ढङ्गले चल्ने र आन्तरिक राजनीतिको स्थिति खलबलिने कुरा अज्ञात भने थिएन । जेहोस्, रेजिडेन्सीलाई एक्ल्याउने भीमसेन थापाको नीतिले नेपालको स्वतन्त्रतामा योगदान गरेको क्याम्पबेलको ठहर छ । प्रशासनका अन्य विषयमा उनको आलोचना गर्न सकिए पनि भीमसेनको यो योगदान निर्विवाद छ । इस्ट इन्डिया कम्पनीसम्बन्धी उनका नीति सफल भए । उनले बढीभन्दा बढी तराई फिर्ता लिन सके, नेपालको स्वाधीनताप्रति अङ्ग्रेजहरूको सम्मान हासिल गरे र सीमा तनाव घटाए । देशलाई युद्धमा नेतृत्व गर्ने र देशको भाग गुमाउँदा उत्पन्न भएको सकसपूर्ण स्थितिबाट गुज्रेको व्यक्तिका लागि यो उल्लेखनीय उपलब्धि थियो । कम्पनीसँग युद्ध गर्दा नै नेपालका समस्याको समाधान हुने निष्कर्षमा भीमसेन थापा किन पुगे भन्ने विषयमा इतिहासकारका फरक विचारहरू हुनसक्छन् । तर, ‘मौनकाल’ मा भीमसेन थापाको परराष्ट्र नीति एकदम प्रभावकारी रह्यो । यसकारण उनले झगडा गरिरहनुपर्ने रेजिडेन्टबाट पनि उच्च प्रशंसा पाउन सके ।
मूल प्रश्नतिर फर्कौँ । के परराष्ट्र नीतिको सफलताका लागि विशाल सेना आवश्यक थियो ? के नेपाली जनताले सन् १८१६ पछि सेनालाई थाम्न बोकेको आर्थिक बोझ आवश्यक थियो ? गभर्नर जनरललाई नेपालसँगको छलफलमा सेनाको विषयले प्रभावित गरेको थिएन । नेपाललाई भारतमाथिको खतराको रूपमा उनले हेरेका थिएनन् । रेजिडेन्टको सल्लाहमा उनले सीमामा निगरानी बढाएका थिए, सिन्धिया घटनामा काठमाडाँै दरबारसँग औपचारिक स्पष्टीकरण मागेका थिए । नेपाल दरबार र भारतका राज्यहरूबीचको पत्राचारमा पनि उनले रूचि लिएका थिए । तर, सेनाको आकारको विषयमा कहीँकतै चासो दिएका थिएनन् । नेपाललाई चीन वा भारतले कब्जा गर्ने कुनै सङ्केत थिएन । नेपालसँगको युद्धमा खर्च धेरै लाग्थ्यो र थोरै हात पथ्र्यो । त्यसैले नेपालको सीमा सुरक्षित थियो । बरु, नेपालको बाटो हुँदै तिब्बत र चीनसम्म व्यापार गर्न सकिने हडसनको विचारले गभर्नरको महत्व पाएको थिएन । अर्कोतिर विशाल भारत वा चीनलाई हस्तगत गर्ने नेपालको पनि इरादा थिएन । सन् १८१४ मा कम्पनी कमजोर रहँदा भीमसेन थापाले त्यसका विरुद्ध सैनिक गठबन्धन बनाउने प्रयास गरेका थिए । मराठाहरूको पराजयपछि त्यो सम्भावना तुहिएको थियो । एक्लै लड्नुपर्दा नेपालले धेरै गुमाउनुपरेको थियो । अब भने सरसाधनका हिसाबले अङ्ग्रेजहरू निरन्तर बढ्दै थिए । यसप्रकार छिमेकमा आक्रमण गर्ने वा आक्रमणको सामना गर्ने उद्देश्य नेपाली सेनासामु थिएन । गभर्नर जनरललाई नै प्रभावित नगर्ने सेनाको परराष्ट्र नीतिमा के भूमिका हुनसक्छ ? गार्डनर र म्याडकलाई नेपाली सेनाले प्रभावित गरेको थिएन । उनीहरू यसको आकारबारे टिप्पणीमात्र गर्थे । तर, हडसनको सन्दर्भमा यसो भएन । उनी नेपाली सेनाको आकारबाट प्रभावित भए र भारतलाई त्यसबाट खतरा देखे ।
हडसनको विचारमा नेपाली सेना भीमसेन थापाको सन्तान थियो । भीमसेन थापा बुढो हुँदै जाँदा यसले कम्पनीसँगको शान्ति र स्थायित्वमा खलल पुग्ने उनको विश्लेषण थियो । त्यसैले सेनाको आकार घटाउन भीमसेन थापालाई दबाब दिनु नै उनको लक्ष्य बन्यो । यसो गर्न हडसनले गभर्नरलाई पनि भनेका थिए । गभर्नरले बेवास्ता गर्दा हडसनले मुख्तियार कमजोर रहेको बेला सीधै भीमसेनमाथि दबाब दिन थाले । हडसनका जमर्काहरूलाई बढाइचढाइ गर्नुहुँदैन । यसबेला उनले दरबारमा धेरै प्रभाव पार्न सक्दैनथे । जोड दिनुपर्ने कुरा के मात्र हो भने भीमसेन थापाले बनाएको र कायम राखेको सेनाको कारण नै हडसन सक्रिय भएका थिए । हडसनले अचाक्ली गरेको चाहिँ हो । सुगौली सन्धिपछि बनेको सेना उनले भनेजस्तो अत्यन्त विशाल भने थिएन । आलोपालो प्रथाले पनि यसको आकार मध्यममात्र बनाएको थियो । गभर्नर जनरलले जस्तै हडसनले पनि आफ्नो आशङ्का हटाउन सक्थे । तर, उनले यसो गरेनन् । अन्तिम विश्लेषणमा नेपाली सेना भीमसेन थापा र राष्ट्रकै लागि पनि दुःखको कारण बन्यो ।
‘मौनकाल’ पछि सेनाको आकार झन् बढेको तथ्यबाट हामी पनि हडसनले झैँ अचाक्ली सोचिरहेका त छैनौँ भन्ने प्रश्न उठ्न सक्छ । किसानहरूमाथिको आर्थिक बोझको सवाल पनि अति सोच त होइन ? नेपाली सेनाले इतिहासमा बनाएको कीर्तिमानलाई कम आँक्ने कुनै पनि प्रयास नरुचाइएला । हामी यहाँ सेनाले ग्रामीण नेपाललाई ठूलो आर्थिक भार बोकाएको थियो वा सेनाका उच्चपदस्थहरूले जसरी हुन्छ तलबमात्र हात पार्न खोजिरहेका थिए भनिरहेका छैनौँ । बरु, नेपाली सेनाको सङ्गठन र आर्थिक स्रोतको बन्दोबस्त महँगो थियो मात्र भनिरहेका छौँ । यो सैनिक समस्या नभई प्रशासनिक समस्या थियो । भीमसेन थापाको प्रशासनलाई यसलाई हल गरेन किनभने जागिरदारहरू सैनिकहरू नै थिए । फेरि सैनिकहरू आफैँ गाउँले जनताभन्दा बढी सन्तुष्ट थिएनन् । तर, यी निष्कर्षले आफ्नो रोबरवाफ कायम राख्न सैनिक अगुवाहरूले आँखा चिम्लेको विषयलाई ओझेल पार्नु हुँदैन । यी नीति भीमसेन थापाका थिए र यसले राष्ट्रलाई भलो गरेनन् ।
भीमसेन थापाको शासनकाल सिक्ने समय, सफलताको समय र निराशाको समयमा बाँडिएको थियो । सबै त्रासदीको यस्तै रित हुन्छ । भीमसेनको दुःखद मृत्युले भावुक बनाउन सक्छ र ‘भीमसेन नै देश थिए’ भन्ने हदसम्म पु¥याउन सक्छ । तर, त्यसबेलाको नेपाल एउटा राष्ट्र बन्ने आवश्यकतामा बाँधिएका नेपालीहरूको समुच्चय थियो । यसै दिशामा भीमसेनले दिएको योगदानको प्रकाशमा उनलाई हेर्नुपर्छ । परराष्ट्र नीतिमा भीमसेन थापाको योगदानका लागि नेपालीहरूले उनलाई सदा धन्यवाद दिइरहनेछन् । तर, सन् १८१६ पछि सेनाको आकारलाई कायम राख्नुलाई भीमसेनको सुकर्म मान्न सकिन्न । सबै त्रासदीका पात्रजस्तै भीमसेनका कमजोरी हुनु पनि स्वाभाविक छ । उनी प्रशासक थिए । पृथ्वीनारायण शाहको परम्पराका नेता थिएनन् । उनको कमजोरीले नै उनको महानता घटेको हो । आफ्ना निजी महत्वकाङ्क्षालाई सन्तुलनमा राख्दा उनी जनहितविरुद्ध गए । यही नै उनको असफलताको कारण बन्न पुग्यो । उनको असफलता दुःखद थियो नै । तर, यो असफलता कठोर दुःखकष्ट भोगिरहनुपरेका र राष्ट्रिय एकता र उद्देश्यको भोकमा छटपटिएका जनताको भन्दा ठूलो थिएन ।
बिफरका कारण सन् १८१६ मा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु भयो । ३ वर्षका राजेन्द्र विक्रम शाह राजा बने । गीर्वाणयुद्ध विक्रमकी जेठी रानी सती गइन् । बिफरकै महामारीबीच दुई हप्तापछि कान्छी महारानीको पनि मृत्यु भयो । बडामहारानी ललितत्रिपुरा सुन्दरी राजाकी नायब बनिन् । प्रशासन सम्हाल्न योग्य अर्को व्यक्ति नदेखिएकोले भीमसेन थापा मुख्तियार बनाइए । युद्धपछिका १५ वर्ष मुख्तियार भीमसेनले बडामहारानीकै सहयोगमा शान्तिपूर्वक शासन गरे । भारदारीमा खासै परिवर्तन आएन ।
टकको समस्या, ऋणमा पिल्सिँदो ग्रामीण नेपाल र क्षेत्रीय प्रशासनको विकासप्रति असंवेदनशील कर्मचारीतन्त्रको चर्चा भइसकेको छ । त्यस्तै राजतन्त्रको विषयमा पनि भीमसेन थापा असंवेदनशील रहे । भीमसेन थापा राजाप्रति बफादार थिए । हडसनले यसलाई देखावटी भनेका छन् । तर, राजाको पछिको व्यवहारमा भीमसेन थापाप्रति सानो छँदैबाट गहिरो द्वेष बसेको देखिन्न । व्यक्तिगतरूपमा भीमसेन थापाले राजालाई सम्मान गर्थे । तर, राजा सानो छँदासम्म भीमसेनले राजा नभएजस्तै शासन गरे । भारदारहरूबीच छलफल भए पनि भीमसेन थापाकै निर्णय पास हुन्थ्यो र बडामहारानीले यसमा लालमोहर लगाइदिन्थिन् । मुख्य नियुक्ति, कानुन वा जमिन र राजस्वसम्बन्धी प्रशासनिक कामकारबाही मुख्तियारकै तजबिजमा हुन्थ्यो । यही शक्तिका कारण मान्छेहरू उनलाई इज्जत पनि गर्थे । मान्छेहरू भीमसेनको पछि लागेको राजालाई थाहा थियो । वास्तवमा भीमसेनले आफ्नै शक्ति प्रयोग गरेको विषय राजालाई खट्किन्थ्यो । राजासँग शक्तिका दुई आधार हुन्थ्यो । एक, बिर्ता र जागिर बाँड्ने अधिकार । बिर्ता र जागिर धन, शक्ति र प्रतिष्ठाका सूचक थिए । यिनैले सामान्य जनताबाट सम्भ्रान्तहरूलाई अलग्याउँथे । दुई, पजनीको अधिकार । विशेष अधिकार प्राप्त व्यक्तिदेखि साधारण कारिन्दासम्म जोकोहीलाई बिना कुनै आरोप बर्खास्त गर्ने शक्ति राजासँग हुन्थ्यो । राजाको मर्जीअनुसार छिनभरमै नयाँ भारदार बन्न सक्थे र जति पुराना भारदार पनि बर्खास्त हुनसक्थे । हरेक वर्ष पजनी गर्ने परम्परा थियो । तर, राजाको इच्छाअनुसार ढिलोचाँडो पजनी हुनसक्थ्यो । उमेर पुगेपछि राजाको हातमा यही शक्ति आउँदै थियो ।
शासनमा छिद्र
सन् १८३१ देखि १८३७ बीचको इतिहासबारे इतिहासकारहरू सशङ्कित हुन्छन् । त्यसपछिको सन् १८४६ सम्मको घटनाक्रमलाई पनि हेर्ने हो भने उनीहरू अन्योलग्रस्त नै हुन्छन् । ऐतिहासिक प्रमाणको अभाव र अगुवा पात्रहरूको नियत र दरबारको साठगाँठ आदिका कारण यस्तो हुन गएको हो । यस्तो बेला इतिहासकारहरू आफ्नो दृष्टिकोणअनुरूप इतिहासलाई हेर्ने गर्छन् । यहाँ सुरुदेखि नै युद्धपछि देखापरेका चुनौती र नेपालीबीच ‘राष्ट्रियता’ को विकास, दुई आधारमा त्यस बेलाको इतिहासलाई हेर्ने प्रयास गरिएको छ । युद्धपछि नेपाली जनताको काँधमा ठूलो आर्थिक भार आउनु निजामती कर्मचारीतन्त्रको अस्तित्व थिएन र एकसुरे भारदारहरूबीचको एकता नै ‘राष्ट्रियता’ थियो । राज्यको एकता, भीमसेनको ओहोदा, राज्यको आर्थिक समस्या र अङ्ग्रेज रेजिडेन्टको राज्यका नीतिप्रतिको चर्को विरोध सबैको कारण पनि एकता आवश्यक थियो । भीमसेन थाहा भए पनि र नभए पनि यी भारदारहरू राजमुकुटप्रति बफादार थिए । त्यसैले राजेन्द्र विक्रमले सत्ता हातमा लिन खोज्दा कसैले विरोध गरेनन् । भीमसेन थापाले समेत आनाकानी गरेनन् । नेपाली समाजको यही प्रवृत्तिका आधारमा सन् १८३१ देखि १८३९ सम्मका घटनाक्रमलाई नियाल्नुपर्छ ।
भीमसेन थापाको एकमना कर्मचारीतन्त्रमा तीनटा छिद्र परे । सन् १८३१–३३ बीचमा राजा शासन गर्ने उमेरमा पुगे, नायबको मृत्यु भयो र ब्रायन हडसन अङ्ग्रेज रेजिडेन्ट बने । यी तीनवटै घटनाले आफ्नो शक्तिका लागि भारदारीलाई खेलाउने र प्रशासनलाई नियन्त्रणमा राख्ने भीमसेन थापाको क्षमतामा अङ्कुश लगाए ।
सन् १८३१ को अन्त्यतिर राजेन्द्र विक्रम प्रत्यक्ष शासन गर्ने उमेरमा पुगे । शासन हस्तान्तरण गर्न कुनै औपचारिक कार्य गर्ने नेपाली परम्परा थिएन । रणबहादुर शाहले उमेर पुगेको धेरै वर्षसम्म पनि शासन हातमा लिएका थिएनन् । गीर्वाणयुद्ध विक्रमले राजाको अधिकार कतिबेला लिए भन्ने स्पष्ट छैन । त्यसैले शासन हस्तान्तरण निकै संवेदनशील हुनुपर्छ । बिस्तारै शासनको नियन्त्रण राजालाई सुम्पनु स्वाभाविक देखिन्छ ।
सन् १८३२ को अप्रिलमा नायब बडामहारानी पनि बितिन् । त्यसैले राजाले आफ्ना कामकारबाहीमा हात हाल्न थाले । भीमसेन थापा र उनको कर्मचारीतन्त्रले आ–आफ्नो काम गर्थे र राजालाई लालमोहर लगाउन पठाउँथे । यसमा राजाले धेरै खट्नुपर्दैनथ्यो । सुरुमा राजाले सबै कागजपत्र बुझ्ने कुरा पनि भएन । ती सबै नियमित प्रक्रिया हुन्थे । तर, नियुक्ति र नीतिनिर्देशनका पत्रमा बिस्तारै ध्यान जानु नै थियो । सरकारका सबै काममा राजालाई अल्झाउन भीमसेनलाई अनावश्यक लागेको हुनुपर्छ । रेजिडेन्सीको विषयमा उनले अझै पनि पाबन्दी लगाएका थिए । यस्तै व्यवहार प्रशासनमा पनि देखिएको हुनुपर्छ । राजाले हेर्ने यसबेलाका धेरै कागजपत्र धर्मकर्मसँग सम्बन्धित हुन्थे । लेख्ने खरिदार एउटै हुनाले धेरैको त भाषा पनि उस्तै थियो । राजाले समेत प्रशासनमा परिवर्तनको आवश्यकता देखेको कुनै सङ्केत पाइँदैन । भीमसेन थापाले आफ्नो शक्ति प्रयोग गरिरहेको राजाले देखिरहेका थिए । तर, शक्ति हातमा लिनुअघि राजाले प्रशासनलाई बुझ्न र प्रशासकहरूलाई चिन्न आवश्यक थियो । दैनिक कामकारबाहीको लागि विश्वासिलो मान्छे खोज्नुपर्ने थियो । यसबीच राजाले भारदारी सङ्घर्षमा चासो दिँदै थिए । सन् १८३३–३७ को अवधिमा राजाले राजनीतिक वास्तविकता र प्रशासकहरूलाई बुझ्दै गएको देखिन्छ । उनले भारदार र आफूबीच उमेरको ठूलो अन्तर पाए ।
सन् १८३३ को जनवरीमा प्रशासनमा तेस्रो छिद्र प¥यो । ब्रायन हडसन रेजिडेन्ट बने । यसअघि नै उनले नेपालमा आठ वर्ष बिताएका थिए । उनलाई दरबार र रेजिडेन्सीबीचका समस्या थाहा थियो । उनी गभर्नर जनरलको निर्देशन पनि नपर्खी काम गर्नसक्ने मान्छे थिए । भीमसेन थापा अझै लामो समय मुख्तियारको पदमा रहने भएकाले उनले भीमसेनलाई उनको नीति फेर्न दबाब दिन थाले । यसरी उनको नियुक्तिले प्रशासन चिढिएको र भीमसेन थापाको ध्यान महत्वपूर्ण आन्तरिक मामिलाबाट मोडिन गएको देखिन्छ । हडसनका गतिविधिले दरबारी राजनीतिमा फुट पनि चर्कायो । नेपाल र कम्पनीबीचको सम्बन्ध फेरि एकचोटि विवादमा तानियो । चासो राख्नेहरूले भीमसेन थापाको विवेक र व्यवहारमाथि प्रश्न उठाउने मौका पाए । हडसनले प्रत्यक्ष दरबारी गतिविधिमा हस्तक्षेप गर्नसक्दैनथे । तर, सत्ता हस्तान्तरणको संवेदनशील समयमा उनका गतिविधिले आगोमा घिउ भने थपे नै ।
सत्ता हस्तान्तरण
सत्ता हस्तान्तरणमा पजनीले ठूलो भूमिका खेलेको थियो । यसमा हात नहालेसम्म राजा भीमसेन थापाको प्रशासनसँग सन्तुष्ट छन् भन्ने अर्थ लाग्थ्यो । बडामहारानीको निधनपछि भीमसेन थापाको वार्षिक नियुक्तिको अधिकार राजाको हातमा आएको थियो । १८३३ फेब्रुअरीको पजनीमा केही ढिलाइ भएको हडसनले हलुकारूपमा लेखेका छन् । भीमसेन थापाको नियुक्ति ढिलो हुनुका पछाडि धेरै कुरा लुकेको थियो । यसबेला हडसनलाई दरबारभित्र चलिरहेका खेलबारे जानकारी नभएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *