मध्यचीनको हुपेई प्रान्तको राजधानी उहान सहरबाट सुरु भएको भनिएको कोरोना भाइरसको महामारी विश्वभरि फैलिँदै छ । घना जनसङ्ख्या भएको हुपेईको राजधानी उहानमा १ करोड २० लाख मानिस बस्छन् । सन् २०१९ डिसेम्बरको अन्ततिर उहान सहरको हौनान समुद्री खानाको थोक बिक्री बजारका केही व्यापारीहरूमा निमोनियाको लक्षण भएका बिरामीहरू देखापरेका थिए । पछि त्यही रोग सहरभरि फैलियो । यसै क्रममा श्वास–प्रश्वास रोगका वरिष्ठ चिनियाँ विद्वान् चोङ् नान सनले सामाजिक सञ्जालको माध्यमबाट यो रोग मान्छेबाट मान्छेमा सर्दैछ भनी सजग बनाए । सन् २०२० जनवरी ७ तारिखका दिन विशेषज्ञहरूको टोलीले प्रारम्भिक अनुसन्धानबाट उहानमा फैलिएको रोग संसारमा अहिलेसम्म नदेखिएको भाइरस ‘नोबेल कोरोना भाइरस’ को कारणबाट भएको पत्ता लगाए । कोरोना भाइरसको सङ्क्रमणले उग्ररूप लिएपछि जनवरी २३ को बिहान १० बजेदेखि उहान सहरमा लकडाउन घोषणा गरियो । त्यसको दुई दिनपछि अरू तीन नगर उछाङ्ग, हानखौ तथा हानयाङ्मा पनि बिहानदेखि यातायात बन्द गरियो । त्यही दिनको दिउँसो २ बजेदेखि देशभरका २४ प्रान्तमा प्रारम्भिक स्तरको स्वास्थ्य सङ्कटकाल घोषणा भयो । त्यस्तै जनवरी २३ तारिखबाट चीनका सबै ३१ प्रान्तमा प्रारम्भिक स्वास्थ्य सङ्कटकाल घोषण गरियो । अनि जनवरी ३१ तारिखको बिहानै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले यो भाइरसको विश्वव्यापी प्रकोपलाई ‘जनस्वास्थ्य सङ्कटको अन्तर्राष्ट्रिय चासो’ (एगदष्अि ज्भबतिज भ्mभचनभलअथ या क्ष्लतभचलबतष्यलब िऋयलअभचल(एज्भ्क्ष्ऋ) को रूपमा घोषणा ग¥यो । पछि विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोरोना भाइरसलाई सार्स कोभ–१९ को संज्ञा दियो जुन अहिले विश्वभर ‘कोभिड–१९’ नामले परिचित छ ।

उहानमा सङ्क्रमित ज्येष्ठ नागरिकको स्याहार गर्दै स्वास्थ्यकर्मी
आगो, पानी र महामारीलाई कहिल्यै सानो भन्नुहुँदैन र हेलचक्राइँ गर्नुहुँदैन । यो विनाशकारी हुन्छ । त्यसकारण यस्ता महामारीलाई एउटा युद्धको रूपमा लिइनुपर्छ । यस्ता महायुद्धका नेतृत्वको मुख्य भूमिका हुन्छ । यसरी फैलिएको महामारीविरुद्ध लड्न २६ जनवरी २०२० मा चीनका राष्ट्रपति सी चिनफिङ्गले चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवको हैसियतले आदेश ‘कोरोना भाइरसविरुद्धको लडाइँमा सबै पार्टी, सङ्गठन, पदाधिकारी र सदस्यहरूले जनताको हितमा सर्वोपरि राख्नुपर्ने, पार्टी स्थापनाको उद्देश्यमा सच्चारूपले अडिग रहनुपर्ने र महामारीसँग भिड्न अग्रपङ्क्तिमा पार्टी नेतृत्वको साथ लााग्नुपर्ने निर्देशन दिए । त्यस्तै प्रधानमन्त्री ली खस्याङ महामारीको क्रममा स्थलगत निरीक्षण र निर्देशन दिन उहान पुगे । त्यहाँ स्वास्थ्यकर्मी तथा बिरामीहरूलाई भेटेर महामारीविरुद्धको लडाइँमा चिनियाँ जनताले जित्नुपर्ने निर्देशन दिँदै आवश्यक थप २५०० स्वास्थ्यकर्मी दुईदिनभित्र र २०,००० जोर पीपीई (सुरक्षात्मक कवच) दैनिक उपलब्ध गर्ने आश्वासन दिए ।
महासचिव सीको निर्देशनअनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि एक नेतृत्वदायी कार्यदल गठन ग¥यो जसको नेतृत्व स्थायी समितिले गरेको थियो । कार्यदलले विभिन्न निकायहरूसँग समन्वय गरी जनतालाई दैनिक आवश्यक वस्तुहरू आपूर्ति गरेर उत्पादन गर्ने कार्य ग¥यो । यसरी कोभिड–१९ विरुद्ध लड्न चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना अनेकौँ नेता–कार्यकर्ता, स्वास्थ्यकर्मी र सैनिक परिचालन ग¥यो । तर, हाम्रो देश नेपालका प्रधानमन्त्रीले कोरोना भाइरसलाई ‘हाँछ्युँ गरेर उडाइ दिने’ जस्ता अभिव्यक्ति दिएर जनतालाई भ्रममा पारे । न त उनले महामारीविरुद्ध लड्न सम्पूर्ण पार्टीहरूलाई समन्वय गरी एक मोर्चा बनाउन सके न आफ्नै नेता तथा कार्यकर्ता परिचालन गर्नसके । उनी अग्रपङ्क्तिमा लड्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको विश्वास लिन पनि चुके । कोरोना महामारीविरुद्ध लड्नुको सट्टा आफ्नै पार्टीभित्र पद र पैसाको लडाइँमा उनी व्यस्त भए । त्यसैले अहिले नेपालमा कोरोनाको महामारी फैलिँदै छ । कुनै पनि पार्टीले महामारीविरुद्ध लड्न मार्ग निर्देशनसहितको मोर्चा बनाएको देखिएन । ठूला भनिएका शासक पार्टीका नेता तथा कार्यकर्ताहरू आफ्नै डम्फूमा नाचिरहेका छन् ।
जनवरी २३ तारिखको बिहान १० बजेदेखि उहान सहर पूरै लकडाउन हुँदै छ भन्ने कुरा बिहानै थाहा पाएका मानिसहरू सहर छोड्नको लागि हुलका हुल दौडादौड गरे । उनीहरूलाई थाहा थियो, त्यत्तिबेला उहानमा बस्नु भनेको विभिन्न वस्तुको अभावमा जिउनु हो, कोरोना भाइरसको जोखिममा बस्नु हो । तथापि अधिकांश उहानवासीले आफ्नो सहर छोडेनन् किनकि उनीहरूले आफ्नो सहरमा सीमित कोरोना भाइरस चीनभरि फैलाउन चाहेनन् । बरु, सङ्क्रमणको समयमा आफ्नै घरमा पृथक एकान्तबाट अर्थात् क्वारेन्टिनमा बसे । तर, हाम्रो देशमा जब लकडाउन हुँदै छ भन्ने कुरा सर्वसाधारणलाई थाहा भयो, तब आफू बसेको सहर छोडेर जाने मानिसहरूको तँछाडमछाड थियो । लकडाउनकै समयमा विभिन्न पार्टीका नेताले भनसुन गरेर सवारी पास लिएर ‘आफ्नो पार्टीको मानिस’ भन्दै ओसार–पसार गरे । फलतः सङ्क्रमण गाउँ–गाउँसम्म पुग्यो । जब लकडाउन खुकुलो भयो तब छिमेकी देश भारतबाट आएका मानिसहरूलाई बिनाचेकजाँच र क्वारेन्टिनमा नराखी नेपालका गाउँ–गाउँमा पस्न दिए । अहिले नेपालको हरेक कुना–कुनासम्म यो भाइरस फैलिएको छ । यसकारण यस्तो महामारीको समयमा एक ठाउँबाट अर्को ठाउँमा जाने वा लाने गर्नुहुँदैन । देशभरि फैलिन नदिने एउटा उपाय यही हो ।
उहानमा क्रमशः सङ्क्रमित बिरामीले अस्पतालका शय्या भरिँदै गए र शय्याको अभाव हुनथाल्यो । जनतालाई समयमै उपचार सेवा दिनको लागि उहान सरकारले सन् २००३ मा सार्स भाइरससँग लड्न पेइचिङमा बनाएको स्याओ थाङ्सान अस्पतालजस्तै अस्पताल बनाउने निर्णय ग¥यो । त्यो अस्पतालको नाम हुओशनशान अर्थात् ‘अग्निदेव पर्वत’ राखियो । किनकी चिनियाँ लोक संस्कृतिमा अग्निदेवले प्लेगजस्ता रोगलाई निर्मूल गरेको थियो । कोरोना भाइरस पनि उच्च तापक्रममा मर्छ भने विश्वास थियो । यस्तो अस्पताल बनाउने थाहा पाउनासाथ धेरै स्वयम्सेवकहरूले त्यसको निर्माण कार्यमा सहयोग गर्न इच्छुक देखाए । त्यसमध्ये स्याओथङ्सान अस्पताल बनाउँदाका अनुभवी ७९ वर्षीय ह्वाङ् सिछिउले आफू पनि सो परियोजनमा सामेल हुन पाउँ भनी पत्र नै लेखे । पार्टीका धेरै सदस्यहरूले पार्टीको झन्डा छोएर उच्चतम गुणस्तरीय निर्माण समयमा नै पूर्ण गर्न अनुकरणीय भूमिका खेल्नेछौँ भनी कसम खाए । यसरी हजारौँ पार्टी सदस्यका साथै धेरै स्वयम्सेवकको सहयोगले २४ सै घण्टा काम गरेर जनवरी २५ तारिखमा सुरू गरेको परियोजना फेब्रुअरी २ मा सम्पन्न गरी नयाँ १००० शय्याको हुओशनशान अस्पताल सैनिक चिकित्सकहरूलाई औपचारिकरूपमा हस्तान्तरण गरियो । त्यस्तै फेब्रुअरी २ तारिखमा याङ्जी नदीपारिको १६ सय शøयाको लैशनशान अस्पताल पनि हस्तान्तरण गरियो । त्यस्तै साधारण बिरामीलाई उपचार गर्ने थुप्रै अस्थायी उपचार केन्द्र स्थापना गरियो । तर, आफूलाई दुईतिहाइको ‘कम्युनिस्ट’ सरकार दाबी गर्ने नेकपा सरकारले भएका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरूलाई समेत राम्ररी सञ्चालन गर्नसकेन न त स्वास्थ्यकर्मीलाई नै परिचालन गर्नसक्यो । निजी अस्पताललाई त छुनै सकेको छैन । यो ६–७ महिनाको अवधिमा कुनै नयाँ अस्पताल बनाउन सकेन । कुनै–कुनै स्थानीय सरकारहरूले सुरू–सुरूमा करोडौँ खर्च गरेर आइसोलेसन अस्पताल बनाए भनेर प्रचारबाजी गरे । तर, जब सङ्क्रमित बिरामी बढ्दै ग¥यो, त्यस्ता अस्पतालको कुनै चर्चा सुनिएन । कतै कतै त क्वारेन्टिन राख्नको लागि सरकार आफैँ सरकारी भवन नबनाई आफ्ना नजिकका मान्छेको निजी पार्टी प्यालेस, टहरा, खाली ठाउँ लिएर करोडौँ खर्च ग¥यो । कुनै–कुनै नगरपालिकाले त आफ्नो ठाउँमा क्वारेन्टिन वा आइसोलेसन राख्ने हो भने आर्थिक र भौतिक सहयोगको मोलमोलाइ गरे ।
महामारीको युद्धमा एकजुट भएर लड्नुपर्नेमा मिलिजुली भ्रष्टाचार गर्न तल्लीन भए । त्यस्तै हरेक स्वास्थ्य सामग्री र उपकरण खरिदमा भ्रष्टाचार भएको खुलासा भयो । त्यसकारण यो सरकारप्रति जनविश्वास हराउँदै गयो । त्यही कारण जनता पनि महामारीलाई बेवास्ता गर्दै सुरक्षाका साधारण उपाय पनि अपनाएनन् र महामारीले उग्ररूप लियो । त्यस्तै अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई चाहिने साधारण सुरक्षाका सामान (मास्क, पञ्जा, भाइजर) र पीपीई उपलब्ध गराउन सरकारले सकेन । परिणामतः आज हजारौँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित भए । ती स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई प्रोत्साहनको लागि जोखिम भत्ता दिने भनियो । तर, सरकारले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिनसकेको छैन । उल्टै मन्त्रालय, विभाग र स्थानीय तहका कर्मचारीले समेत जोखिम भत्ता लिँदा सरकारप्रति स्वास्थ्यकर्मीहरूको विश्वास पातलो बन्दै गयो । त्यसकारण स्वास्थ्यकर्मीहरू हतोत्साहित छन् । कतिपय स्वास्थ्य संस्थामा त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् ।

लगातारको कामले थकित स्वास्थ्यकर्मी
यो महामारीविरुद्ध लड्नको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत सम्पूर्ण जनताको विश्वास जित्नुपर्दछ । महामारीविरुद्ध लड्न सम्पूर्ण जनता एकजुट हुनुको विकल्प छैन । एक आपसमा सहयोग गर्नुपर्दछ । जसरी उहान सहरमा सङ्क्रमण फैलिँदा जनता लकडाउनमा थिए, त्यसबेला छिमेकी गाउँका जनतादेखि सहरका हरेक व्यक्तिले उहानलाई सहयोग गरे । महामारीको कारणले हुपेई प्रान्तमा दैनिक आपूर्तिको अभाव भएको थाहा पाएर शी पान चाय गाउँले २२ टन केरा मोटरसाइकलमा राखेर पहाडी बाटो हुँदै कोसेली पठायो । त्यस्तै सोङ सियान काउन्टीका जनताले पनि ५०,००० किलो डुन्डुको साग उहानलाई सहयोग पठायो । लकडाउनले गर्दा स्वस्थ र ताजा खाना अभाव देखेर रेस्टुराँ सञ्चालक छिउले बिनानाफा स्वास्थ्यकर्मीलाई खाना पु¥याए । अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीलाई खानाको सुनिश्चितता गर्न सकेनौँ भने महामारी अझ दर्दनाक हुने उनको विचार थियो । एक प्रसिद्ध ब्रान्ड कफी ‘वाकान्डा युथ’ कफीले पनि दैनिक ५०० कप कफी निःशुल्क प्रान्तीय अस्पतालमा प्रदान ग¥यो । यस्तै विभिन्न देशमा बस्दै आएका चिनियाँ जनताले पनि स्वास्थ्य सामग्री खरिद गरी उहानका अस्पतालहरूमा प्रदान पठाए । यसरी विभिन्न व्यक्ति तथा संस्थाहरूले महामारीमा एक आपसलाई सहयोग गरे । तर, हाम्रो देशमा सहयोग त कहाँ हो कहाँ, उल्टै सामानको कालोबजारी, सयौँ गुणा नाफा लिने, खाद्यवस्तु र तरकारीमा विचौलियाबाट सयौँ गुणा नाफामा बेच्ने, किसानहरूले दूध बिक्री भएन भनेर बाटोमा फाल्ने, किसानको तरकारी बारीमा कुहाउने, अण्डा र चल्ला खाल्डोमा पुर्नेजस्ता काम भए । यसरी कालोबजारी र बढी नाफा लिनेमा साना–साना व्यापारीदेखि ठूल–ठूला व्यापारी र वाणिज्यदूतसमेत देखिए । यस्ता कालोबजारी र महँगीलाई सरकारले ध्यान दिन नसक्दा जनतामा निराशा बढ्यो । लकडाउनमा ज्यालादारी मजदुरको कमाइ भएन । अनि सरकारप्रति असन्तुष्टि बढ्दै गयो । यस्तो अवस्थाले महामारीको रोकथाम र नियन्त्रणमा असर पर्नेछ ।
कोरोना महामारीलाई रोकथाम र नियन्त्रण गर्नको लागि सरकारले भाषणमा होइन काममा देखाउनुपर्नेछ । ‘दूधको साक्षी बिरालो’ भनेजस्तै सरकारकै मन्त्री र सचिवहरूकै टोली सी. सी. एम. सी. होइन, विभिन्न क्षेत्रका विशेषज्ञहरूको समूहसहित गठन गर्नुपर्ने हो । विशेषज्ञहरूको राय र सुझावलाई कार्यान्वयनमा ल्याइनुपर्छ । अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई दिइएका सुरक्षाका आश्वासन पूरा गरी विश्वास जित्नुपर्ने हो । सरकारी अस्पतालमात्र होइन, निजी अस्पताललाई पनि सरकारले जिम्मा लिएर आइसोलेसन अस्पताल बनाउनुपर्छ । गाउँ र नगरपालिकामा साना–साना क्वारेन्टिन र आइसोलेसन नबनाई ठूला–ठूला केन्द्रहरू बनाउनुपर्छ ।
कालोबजारी र विचौलियाहरूलाई नियन्त्रण गर्नुपर्छ । किसानहरूको उत्पादनलाई सरकारले नै सङ्कलन गरेर ठाउँ–ठाउँमा बिक्री विवरण गर्नुपर्दछ । त्यस्तै तीनै तहका सरकारहरूबीच समन्वय गरी कोभिड–१९ को युद्धमा मोर्चाबन्दी बनाउनुपर्दछ । अनि मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिन्छ । जसरी लिपुलेक र लिम्पियाधुराको विषयमा देशका सबै पार्टीहरू एक भए, त्यसरी नै महामारीविरुद्ध लड्नका लागि पनि सम्पूर्ण पार्टीहरू एकै ठाउँमा बसेर आफ्ना नेता तथा कार्यकर्ताहरूलाई परिचालन गर्नुपर्दछ । यसरी सम्पूर्ण जनता र सरकारबीच एकता भए र महामारी विरुद्धको युद्धमा मोर्चा खडा गरी लडेमा मात्र महामारीलाई परास्त गर्न सफल हुनेछौं ।
Leave a Reply