भर्खरै :

भारत र चीनलाई जुधाउन चाहने को को ?

भारत र नेपालबीच सीमा विवाद रहेजस्तै भारत र चीनबीच पनि सीमा विवाद बाँकी नै रहेको छ । सीमा विवाद र भारतीय शासकहरूको स्वार्थ र घमण्डले १९६२ मा दुई देशबीच सीमा युद्ध भएको थियो र दुवै देशले ठूलो नोक्सानी व्यहोरेको थियो । अहिले पनि भारत र चीनलाई जुधाउन चाहने राजनीतिक शक्तिहरू सक्रिय भएर लागेका छन् । भारत र चीनबीचको सिमानामा दुई देशका सेनाका टुकडीहरू आमनेसामने हुन्छन् तर त्यसको समाचार चीनविरोधी शक्तिहरूले लिक गर्छन् । विवादास्पद सीमामा दुई देशका सेनाहरू आमनेसामने हुनु त असामान्य कुरा होइन, तर त्यसको खबर पहिले कसले पाउने र दिने भन्ने कुरा महत्वपूर्ण हो ।
लद्दाखको दक्षिणी प्याङगोङको विवादित क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएको मिडिया रिपोर्ट आयो । त्यस समाचारको स्रोत एक निर्वासित एक तिब्बती नामग्याल डोलकर अघियारी थिए । उनी अहिले भारतमा निर्वासित छन् । रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेसल फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ थिए । यसबारे भारतीय सेनाको आधिकारिक बयान भने आएको छैन । चीनले उक्त समाचारको खण्डन गरेको छ र त्यस क्षेत्रमा कुनै भिडन्त नभएको दाबी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन् यिङले पत्रकार सम्मेलनमा सो दाबी गरेकी हुन् ।
यस घटनाक्रमले चिनियाँ सेनाले कुनै उत्तेजनात्मक कारबाही नगरेको र चीन सरकारले पनि त्यस्तो नचाहेको देखियो । भारतीय शासक वर्गका केही पक्ष भने दुई देशबीच युद्धको आगो बालेर आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको रोटी पोल्ने ताकमा देखिन्छन् । भारतीय र चिनियाँ सरकार र सेनालाई जुधाउन चाहने प्रतिक्रियावादी र पश्चिमा साम्राज्यवादी शक्तिहरू निकै सक्रिय रहेको स्पष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *