सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
(१८१६ देखि १८३९ सम्मको नेपाल र नेपालीबारे लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’
(The Silent Cry) को सङ्क्षिप्त अध्ययन)
पहिलो चरण – पारिवारिक खटपट
रणवीरसिंह थापा भीमसेन थापाका कान्छा भाइमात्र थिएनन्, विश्वासपात्र थिए । दरबारका गतिविधिमा भीमसेन थापालाई उनैले सघाउँथे । सन् १८३३ मा उनलाई गभर्नरको पद दिएर पाल्पा पठाइयो । पाल्पा महत्वपूर्ण क्षेत्र हुनाले त्यहाँको गभर्नरमा थापा परिवारकै व्यक्ति पठाइन्थ्यो । झट्ट हेर्दा बखतावरसिंह थापाको ठाउँमा ‘योग्य’ रणवीरसिंहलाई पठाइएको थियो । तर, भीमसेनका नजिकका भारदारलाई बाहिर पठाउनुको भित्री कारण अर्कै थियो । बडामहारानीको निधनपछि शाही लालमोहर राजाकी जेठी श्रीमती साम्राज्यलक्ष्मी देवीले लिइन् । रणवीरसिंहको जिम्मेवारी दरबारका उतारचढावबारे भीमसेन थापालाई जानकारी गराउनु थियो । तर, रणवीरसिंहले रानीको कामबारे भीमसेनलाई केही भनेनन् । बरु रानीलाई हौस्याए र उनको मन जित्न खोजे । यो कुरा थाहा पाएपछि सेनामा पकड भएका माथवरसिंह थापाले काका रणवीरसिंहलाई हप्काए । स्थिति नचर्कियोस् भनेर उनले श्रीनाथ पल्टनको कमान्डरको पदबाट राजीनामा दिए । रणवीरका गतिविधि थाहा पाएपछि भीमसेनले उनलाई दरबारबाट निकाले । यसबीच रणवीर आफ्नो घरमै बसे । सन् १८३३ को पजनी एक हप्ता ढिलो भयो । यसले गर्दा प्रशासनका काम ठप्प भए । मुख्तियारमा नियुक्त भएपछि भीमसेनले रणवीरलाई दरबार पठाएनन् । रणवीरको महत्वाकाङ्क्षाले खराब परिणाम ल्याउन सक्ने उनलाई थाहा थियो । त्यसैले रणवीरको उचाइअनुसार गभर्नरमा नियुक्त गरी पाल्पा पठाइयो । बाहिर भने रणवीरजत्तिकै योग्य व्यक्तिमात्र पाल्पा जानसक्छ भन्ने तर्क दिइयो । साथमा उनलाई लेफ्टिनेन्ट जनरलको पदवी पनि दिइयो ।
केन्द्रीय प्रशासनमा बडाकाजी अमरसिंह थापाका नातिकाजी सुरतसिंह थापालाई ल्याइयो । पहिलोचोटि काजीहरूको भित्री घेराभित्र एक युवालाई ल्याइएको थियो । उनलाई अघि बढाउन यसो गरिएको थियो वा रणवीरलाई जवाफ दिन, स्पष्ट छैन । तर, माथवरसिंह थापाले आफ्नो जिम्मेवारीबाट राजीनामा दिए । श्रीनाथ पल्टनबाट राजीनामा दिएको भन्दा यो ठूलो घटना थियो । यसअघि झन्झन् बढोत्तरी चाहने उमेरको यस्तो युवाले आफ्ना जिम्मेवारीहरू त्यागेको कहिल्यै सुनिएको थिएन । सेनामा माथवरसिंह थापा निकै लोकप्रिय हुनाले उनको कदमले सेना अशान्त भयो । काठमाडाँै उपत्यकामा श्रीनाथ पल्टनको ठूलो महत्व थियो । त्यसैले माथवरसिंहको निर्णयले सरकारलाई पनि असर ग¥यो । राजाले माथवरसिंह थापा आफ्नो कमान्डमा फर्किऊन् भन्ने चाहन्थे । तर, भतिजाको आनीबानी भीमसेनले राम्ररी बुझेका थिए । वास्तवमा नयाँ मान्छेलाई एक्कासि भारदार बनाउँदा माथवरसिंह रुष्ट थिए । आफ्नो स्वाभिमान विरुद्ध उनी झट्टै सेनामा आउने पनि थिएनन् । सन् १८३३ को मार्चमा माथवरले राजीनामा दिएका थिए । केही महिना पर्खेर उनलाई पुनः आफ्नो पदमा फर्किन मनाउने भीमसेनले सोचेका थिए । यस्तो तनावपूर्ण स्थितिलाई सेप्टेम्बरको भूकम्पले राहत दियो । आपसी मनमुटाव छोडेर सबैजना उद्दार कार्यमा लाग्नुपर्ने समय थियो । यही सिलसिलामा नोभेम्बरमा माथवरसिंह थापालाई नयाँ सिंहनाथ पल्टनको कमान्डर बनाइयो । उनका अगाडि नयाँ पल्टनको हौसला बढाउने र त्यसलाई एउटा छरितो पल्टन बनाउने जिम्मेवारी थियो । तर, सन् १८३४ जनवरीको पजनीमा पुरानो गणका सैनिकहरूले माथवरसिंहबाहेक आफूलाई अर्को कमान्डर अस्वीकार्य हुने बताए । भीमसेन थापाका धर्मपुत्र शेरजङ्ग थापालाई श्रीनाथ पल्टनको कमान्डर बनाएर सैनिकहरूलाई चुप लगाइयो । यी घटनाले समस्या ल्याए । सेना भीमसेनप्रति बफादार भएकोमा राजाको मन चिमोटियो । सेनालाई आफूप्रति बफादार बनाउन राजाले केही गर्नुपर्ने भयो ।
सन् १८३३–३६ को अवधि शान्तरूपमा बित्यो । बाहिरबाट हेर्नेले राजा र भीमसेनबीच घनिष्टता बढेको देखे । तर, भित्रभित्र आगो सल्किरहेको थियो । २० वर्षसम्म अकण्टक शासन गरेका भीमसेनले भर्खरै पारिवारिक खटपटको सामना गरेका थिए । दरबारी खेलमा भीमसेन थापा कमजोर बन्दै थिए । राजा सत्ता हातमा लिने सोचमा थिए । सन् १८३४ मा भीमसेन थापाले नयाँ व्यापार सम्झौताको प्रस्ताव हडसनसामु राखे । हडसन ठूलो सफलता हात पारेझैँ भए । अङ्ग्रेजसँगको सम्बन्ध केही शान्त भयो । सन् १८३५ मा गभर्नर जनरलले व्यापार सन्धिलाई अस्वीकार गरेको खबर आयो । उल्टै गभर्नरले नेपालमाथिको भन्सार कर हटाइदिए । नेपालले पनि यसै गर्ला भन्ने उनको मनसाय थियो । तर, नेपालले त्यसो गरेन । यसबाट हडसनसँगको लडाइँमा भीमसेन थापाको हात माथि पर्न गयो । अङ्ग्रेजहरूसँगको सम्बन्धमा मुख्तियार अझै पनि प्रभावशाली भएको देखियो । हडसन भने यो मान्यता भत्काउनका लागि पूरै जोडबल लगाउन तयार थिए ।
शान्त देखिएकै अवधिबीच सन् १८३४ को नोभेम्बरमा चैनपुरका काजी यक्लाथोपले पूर्वी भेगमा प्रहरी कारबाहीहरू गराए । यसले सिक्किमको आशङ्का बढायो र गभर्नर जनरललाई पनि यो हावाले छोयो । यसमा भीमसेनको हात छ भन्ने हल्ला चल्यो । फेरि एकचोटि नेपाली सैन्य शक्तिको खतरा देखियो । अनुसन्धानले यसलाई गलत प्रमाणित ग¥यो र भीमसेनले यक्लाथोपको ठाउँमा माथवरसिंह थापालाई पूर्वको कमान्डर बनाएर पठाए । यसप्रकार काठमाडाँैबाट भीमसेनका अन्तिम विश्वास प्राप्त भारदार माथवर बाहिरिए । शेरजङ्ग काठमाडाँैमै थिए । तर, उनीसँग दरबारिया कामको अनुभव थिएन । सुरतसिंह योग्य थिए तर नातेदार थिएनन् । यत्तिकैमा जून महिनामा काठमाडाँैको बारुदखानामा आगो लाग्यो । काठमाडाँै नै थर्काउने गरी विस्फोट भयो । १३ जना मरे र १५ जना घाइते भए । अघिल्लो वर्षको भूकम्पको क्षति पनि यथावत थियो । भीमसेनबाट रुष्ट काठमाडाँैको बाहुन समुदाय यस कुलक्षणको फाइदा उठाउन हौसियो । यसबीच फौज अशान्त भइरहेको थियो । त्यसैले राजाले भीमसेनलाई कमान्डर इन चिफ नियुक्त गरे । यस नियुक्तिको लालमोहरमा राजा उनको कामबाट सन्तुष्ट भएको देखिन्छ । यो नै सङ्क्रमणको समयमा भीमसेन थापाको प्रतिष्ठाको उत्कर्ष थियो । यसै घडीमा भीमसेनले बेलायत पठाउन माथवरसिंहको नेतृत्व राजकीय प्रतिनिधिमण्डल कलकत्ता पठाए । भीमसेनले सीधै महारानीसँग सम्झौता गर्न चाहेको जनाउँदै हडसनले गभर्नर जनरललाई पत्र लेखिसकेका थिए । टोलीलाई निजी हैसियतमा मात्र बेलायत जान अनुमति दिनुपर्ने उनको सुझाव थियो । गभर्नरले त्यसै गरे । सन् १८३५ नोभेम्बरको २७ तारिखमा कलकत्ता पुगेको माथवरसिंहको ठूलो भ्रमण टोली फर्किनुपर्ने भयो । केही समय सो टोली कलकत्तामै अडियो । कलकत्ताका सर्वसाधारणको दैनिक खर्च २ रूपैयाँ भएको बेला माथवरसिंहको टोलीले तुहिएको भ्रमणमा १ लाख ५० हजार रूपैयाँ खर्च ग¥यो । भ्रमण टोलीको अचाक्ली खर्चले काठमाडौँमा आक्रोश फैलियो ।
दोस्रो चरण – राजनीतिक दाउपेच
सन् १८३६ को मार्चमा माथवरसिंह नेपाल फर्के । जाँदाजस्तो तामझाम उनी आउँदा थिएन । भ्रमण असफल भएको थियो । व्यापार सन्धिले उकासेको भीमसेनको प्रतिष्ठा खस्कियो । उनले सुपुर्दगीको विषयमा हुने छलफलमा रुचि लिएनन् र रेजिडेन्सीमाथि कडाइ गर्न थाले । हडसनले त्यसलाई नाघेर गतिविधि चालू राखे । आफ्नो कूटनीतिक विजयमा तेर्सिएको अवरोधले भीमसेनलाई सताइरहेको स्पष्ट थियो ।
सन् १८३५ मा वरिष्ठ सैनिक अधिकारीहरूको खान्कीले समस्या उत्पन्न भएको थियो । माथवरसिंहले अघिल्लो वर्ष नै सैनिक सरदारहरूलाई दिइएको बिर्ता फिर्ता लिनुपर्ने बताएका थिए किनभने बिर्ता विशेषतः बाहुन परिवारलाई मात्र दिइन्थ्यो । बासठ्ठी हरणदेखि नै बाहुनहरू रणबहादुर शाह र भीमसेन थापाप्रति रुष्ट थिए । ‘मौनकाल’ मा सैनिक अधिकारीहरूले समेत बिर्ता लिएकोमा असन्तोष फैलेको थियो । सन् १८३६ मा राजाले रंगनाथ पण्डितलाई सेनाको खान्कीको विषयमा जाँचबुझ गर्न लगाए । रङ्गनाथको समूह सैनिक खर्चबाट १४ लाख रूपैयाँ निकाल्न सफल भयो । यो पैसाबाट राजाले दरबारको सुरक्षाको लागि हनुमान दल गठन गरे । राजाले सिंहनाथ पल्टनको जवाफमा यस्तो गरेको हल्ला भए पनि यसको उद्देश्य गहिरो थियो । उनको दृष्टि माथवरसिंह थापाप्रति व्यक्तिगत रूपमा बफादार सेनामा र सन् १८३४ को पजनीमा थियो ।
सेनाको खान्कीमा कटौतीले भीमसेन थापालाई असर ग¥यो । सेनाकै बलमा उनले आफ्नो व्यक्तित्व बनाएका थिए । यसो गर्दा सेनाले आफ्ना स्वार्थहरू जोगिने ठानेका थिए । अठार वर्षसम्मै यस्तै चलिरहेको थियो । अब भने सङ्कट आइलाग्यो । भीमसेन थापाको नियन्त्रण खुकुलो हुँदै गएको सेनाले महसुस ग¥यो । अगाडि बढ्न आवश्यक थियो । अघिल्लो सम्बन्ध कसरी चुँडाउने भन्ने प्रश्नमात्र थियो । आफ्नो परिवार र प्रतिष्ठाको सुरक्षाको सवाल थियो । त्यसैले अब शक्तिमा को आउँछ भनी सेनाले हेर्दै थियो । रणवीरसिंह पहिले नै हटिसकेका थिए । काठमाडाँैमा हुर्किरहेको असुरक्षा र असजिलो परिवेशमा एउटा असङ्गत तप्काले खेल्ने मौका पायो ।
तेस्रो चरण – पर्दापछाडि
सेनाले दरबारमा राजनीतिक अगुवा खोजिरहेको बेला पर्दापछाडि केही भइरहेको थियो । राजनीतिक घटनाक्रमसँग यी गुप्त कार्य मिल्दैनथे । सत्ता हस्तान्तरणसँग जोडिएका पात्रहरूको भावनाले यसमा ठूलो भूमिका खेलेको थियो । असङ्गत भए पनि यी चलखेलले काठमाडौँको राजनीतिमा अनियन्त्रित र नसोचेको परिणाम ल्याए । असुरक्षा, डर, निराशा र महत्वाकाङ्क्षाको आँधीबेहरीमै भीमसेन थापाको मृत्यु भयो । यसकै उत्कर्षस्वरूप सन् १८४६ मा नेपालको इतिहासमा कोत पर्वजस्तो कलङ्क लाग्यो ।
जेठी महारानी साम्राज्यलक्ष्मीले भीमसेन थापालाई सत्ताबाट हटाउन रणजङ्ग पाँडेलाई काखी च्यापिन् । आफ्नो खेलमा सफल हुनुको पछाडि उनको हात थिएन । भीमसेन थापाको ३१ वर्षे कार्यकालले यसको लागि मलिलो परिस्थिति तयार पारिदिएको थियो । भीमसेनको जीवनसँग धेरैजनाको भाग्य गाँसिएको थियो । उनलाई हटाउँदा पर्ने बृहद् असरबारे रानीले विचार गरिनन् । यसले गर्दा नसम्हालिने सेनाबारे हडसनले गरेको अनुमान साकार भयो । अनि शान्तिपूर्ण शक्ति हस्तान्तरण बिथोलियो । स्वयम् राजाको हातमा अख्तियारी भएको व्यक्तिलाई हटाउने र सन्तुलन खलबल्याउने गरी चालिएका रानीका दाउपेचलाई असङ्गत भन्न मिल्छ । भीमसेन थापासँगै भारदारहरूमात्र नष्ट भएनन् बरु वर्षौँसम्म राजपरिवारका आशाहरू तहसनहस भए ।
रणवीरसिंह पाल्पा सरुवा भएपछि रानीले आफ्नो मुराद पूरा गर्ने भरपर्दो व्यक्ति खोज्न थालिन् । भीमसेन थापासँग राजा घनिष्ट भएको र शक्ति हस्तान्तरण पनि ढिलो हुने उनले महसुस गरिन् । प्रशासनका मसिना तौरतरिकाहरू राजाले जस्तो रानीले बुझेकी थिइनन् । रणवीरसिंहको सरुवामा राजाले केही भनेनन् बरु भीमसेनलाई कमान्डर इन चिफ बनाए । त्यसैले रानीले रणजङ्ग पाँडेलाई रोजिन् । अब रानीसँग तीनवटा विकल्प थिए । एक, भीमसेनलाई बर्खास्त गर्न राजालाई मनाउने । दुई, भीमसेन थापाको राजनीतिक छविलाई ध्वस्त पारेर सबैका नजरमा गिराउने र उनलाई बर्खास्त गर्न राजालाई बाध्य पार्ने । तीन, आफ्नो छोरालाई सत्तामा ल्याउन राजालाई हट्न लगाउने अनि राज्य र भीमसेनलाई नियन्त्रण गर्दै छोराको नायबी चलाउने । रानीले पहिलो विकल्प लागू नहुने देखिन् । दोस्रो विकल्प आकर्षक भए पनि यसका लागि रानीले भीमसेन थापाको बदनाम गर्नुपर्ने हुन्थ्यो । जीवनको अन्त्यतिर रानीको ध्यान तेस्रो विकल्पमा गयो र यही विकल्पका कारण काठमाडौँमा तनाव र अन्योल ह्वात्तै बढ्यो ।
रणजङ्ग पाँडे साम्राज्यलक्ष्मीको मनोरथ पूरा गर्नका निम्ति सक्षम व्यक्ति थिएनन् । हुन त उनी एकीकरणका योद्धा कालु पाँडेका नाति थिए । कालु पाँडेका छोरा दामोदर पाँडे तिब्बत दखल गर्दाका योद्धा थिए । पाँडे खलक दरबारको कृपापात्र थियो । तर, दामोदर पाँडेको समूहले रणबहादुर शाहलाई देशबाहिर जान बाध्य पा¥यो । सन् १८०१ मा अङ्ग्रेजहरूसँग सन्धि गरेर यो समूहले रणबहादुर शाहलाई बनारसमै अङ्ग्रेजको निगरानीमा राख्न लगायो । गभर्नर जनरलले यस सन्धिलाई सन् १८०४ मा खारेज गरेपछि मात्र रणबहादुर शाह भीमसेनसँगै काठमाडाँै आए । दामोदर पाँडे मारिए र सर्वस्वहरण गरेर उनका सन्तानहरू निर्वासनमा पठाइए । पछि भीमसेन थापाले पाँडे खलकलाई माफी दिएर काठमाडौँ बोलाए । दामोदर पाँडेका तीन छोरामध्ये करवीर पाँडे सेनामा कप्तान थिए र पछि उनको पदोन्नति भएको थियो । रणदल पाँडे पनि सेनामा कप्तान थिए । रणजङ्ग पाँडे सेनामा सरदार र कप्तान भएका थिए । रणजङ्गले बापबैरी बिर्सेका थिएनन् । बदला लिने ईख उनमा थियो । तर, सेना र भारदारहरूबीच उनको बलियो समर्थक थिएन । पुरानो तुसले गर्दा उनलाई त्यति विश्वास गरिँदैनथ्यो । उनको स्वभाव पनि अस्थिर थियो । पछिल्ला घटनाक्रमले राष्ट्र र सेनाप्रति उनमा मोह थिएन भन्ने देखाउँछ ।
रणजङ्गलाई भीमसेनको विकल्पमा अघि सार्ने साम्राज्यलक्ष्मीको योजना थियो । यसको लागि रणजङ्गले पाँडे खलकको पुरानो जमिन मागे । सबैलाई छक्क पार्दै राजाले जमिन दिए । त्यसपछि रणजङ्गले तिब्बतमा रहेका चिनियाँ अम्बालाई पत्र लेखेर आफ्नो परिवारको पुरानो अधिकार मागे । पेइचिङ पठाउने टोलीको नाइके रणजङ्गलाई नै चुन्नुपर्ने भनी अम्बाले राजालाई चिट्ठी पठाए । तर, राजाले रणजङ्गको ठाउँमा चौतरिया फत्तेजङ्ग शाहलाई पेइचिङ पठाए । रणजङ्गले माथवरसिंह थापाबारे दुष्प्रचार गरे । त्यसपछि माथवरसिंहलाई गोर्खाको जिम्मा दिइयो र उनको ठाउँमा पूर्वी कमान्डको जिम्मा रणजङ्गलाई सुम्पियो । तर, रानीको जुनाफमा हाजिर रहन रणजङ्ग काठमाडाँैमै अडिए । सन् १८३६ तिर रानी र रणजङ्ग आफ्नो लक्ष्यको नजिक पुगे । उनीहरू राजाले भीमसेनलाई हटाएर आफ्नो नजिकको मान्छेलाई मुख्तियार बनाऊन् भन्ने चाहन्थे । यो योजनामा तल्लो तहको भारदारलाई एकैचोटि माथि ल्याउनुपर्ने हुनाले योजना खतरनाक थियो । यस्तो नियुक्ति चाकडी र चाप्लुसीमा आधारित हुने थियो । भीमसेन थापाले समेत रणवीरसिंह, माथवरसिंह र शेरजङ्ग थापाको नियुक्तिमा सेनाको असन्तुष्टि झेल्नुपरेको थियो । त्यसैले रानीको योजनाले यस्तो असन्तुष्टि फैलाउनेमात्र थिएन बरु नयाँ मुख्तियारको दौडमा भारदारबीच शत्रुता पैदा गर्ने थियो । पर्दापछाडिका कुरा सेनाले बुझेको थियो तर ऊ आफ्नै सुरक्षाले चिन्तित थियो । यसकारण भीमसेन थापामाथि विपत्ति आउँदा सेनाले केही गर्न सकेन । उसलाई आफ्नै पद र जीवनको सुरक्षाले पिरोल्यो । दरबार र भारदार दुवै अनियन्त्रित महत्वाकाङ्क्षाको भुमरीमा फँसे ।
भीमसेन थापाको अवसान
सन् १८३७ को फेब्रुअरीमा रणजङ्ग पाँडेलाई काजीमा नियुक्त गरियो । पूर्वी कमान्डको जिम्मा पनि उनीसँगै रह्यो । दरबारको भित्री मामिला उनको हातमा गएकोले भीमसेनमा समस्या झन् बढे । ३० वर्षको परम्परा भङ्ग गर्दै जुलाईमा राजाले अर्को पजनी गरे । पहिले राजाले काजीहरू नियुक्त गर्थे र काजीहरूले आफू मातहतका अधिकारी नियुक्त गर्थे । जुलाईको पजनीमा अबदेखि तल्लो तहका कर्मचारीले माथिल्लो पदका व्यक्तिमाथि निर्भर रहनुपर्ने प्रावधान राजाले हटाइदिए । तैनाथीको अधिकार हातमा लिएर एकै झपटमा राजाले मुख्तियारको शक्ति घटाइदिए । यसैबेला रणजङ्ग पाँडेका तीनै भाइको बढुवा भयो । उनीहरूले आफ्नो पारिवारिक जमिन पनि पाए । परिस्थितिको हेरफेरले आत्तिएका भारदारहरूमाथि लगत्तै अर्को चोट प¥यो ।
१. बर्खास्ती ः दोस्रो पजनीको केही हप्तापछि राजाका कान्छा छोरा देवेन्द्रको मृत्यु भयो । भीमसेन थापाले राजकुमारलाई विष दिएर मारेको हल्ला चल्यो । साम्राज्यलक्ष्मीको दबाबमा भीमसेनलाई पदच्युत गरियो र जमिनबाट बेदखल गरियो । त्यसपछि माथवरसिंह र शेरजङ्गसहित उनलाई जेलमा थुनियो । भीमसेनका बाँकी परिवारलाई घरमै नजरबन्दमा राखियो । रणजङ्ग पाँडेलाई मुख्तियारी दिइयो । यस नाटकीय उथलपुथलले रन्थनिएका केही चौतरिया र भारदारले रणजङ्गलाई हटाउन राजाकहाँ बिन्ती गरे । उनीहरूले भीमसेनलाई रिहा गर्न पनि जोडदार माग गरे । रानीले आफूले एकदम हतारो गरेको महसुस गरिन् । लगत्तै रणजङ्ग पाँडेलाई पदबाट हटाइयो र रंगनाथ पण्डितलाई मुख्तियार बनाइयो ।
रंगनाथले भीमसेन थापालाई थुनामुक्त गरे । दरबार लगेर उनलाई ससम्मान घर जान दिइयो । माथवरसिंह थापा र शेरजङ्ग थापासँग पनि त्यसै गरियो । हर्षोल्लाससहित उनीहरूलाई जनता र सैनिकहरूले घरसम्म पु¥याए । भीमसेन थापाको बगैँचा र अलिकति जमिनमात्र फिर्ता दिइयो । उनलाई जेल हाल्नुको आरोप र निकाल्नुको कुनै कारण खुलाइएन । भीमसेन थापालाई कुनै जिम्मेवारी दिइएको थिएन तर उनको प्रतिष्ठा बढ्दै थियो । घटनाक्रम उल्टिएकोले रणजङ्ग चकित थिए । कठोर परिस्थितिमा उनको पद हातबाट फुत्किसकेको थियो र यस घटनाक्रमले उनलाई हानिमात्र भएको थियो । उनले राजासँग तराई जान अनुमति मागे । राजाले काठमाडाँैमै केही दिने आश्वासन दिए । थापाहरूलाई सन्तुलनमा राख्न रणजङ्ग पाँडे काम लाग्ने राजाले सोचेको हुनुपर्छ । रणजङ्गले काठमाडौँमै बसेर आफ्ना दिन पर्खिन थाले ।
भीमसेन थापा केही गर्नसक्ने स्थितिमा थिएनन् । रणजङ्गले साम्राज्यलक्ष्मीलाई उक्साइरहेका थिए । सन् १८३८ को पजनीमा उनलाई सेनाको कमान्डर बनाइयो । साथै उनका दाई करवीर पाँडेलाई दरबारका कपरदार बनाइयो । उता रंगनाथ पण्डितले लोकप्रियता गुमाउँदै थिए । सेनाको खान्कीमा सुधार गर्ने उनको नीति अलोकप्रिय भयो । त्यसैले उनको मुख्तियारीका दिन गन्न सुरु भइसकेको थियो । यही समयमा सिंहनाथ पल्टनका एक सय सैनिकहरूले राजीनामा दिए । उनीहरूले आफूलाई माथवरसिंह थापाका अनुयायी बताए । धेरै सैनिकले उनीहरूकै बाटो समाते । भीमसेन थापा र माथवरसिंह थापाको लोकप्रियता घटेको थिएन ।
Leave a Reply