भर्खरै :

घरदेखि सडकसम्म

 
नामै सानी । सानी छँदा राखिदिएको नाम ठूली हुँदा पनि त्यही रह्यो । कुरो नामको हैन, परिचयको । पहिचानको हो । उसो त जन्मँदा पहिचान लिएरै जन्मेकी हो ऊ । घर थियो, न्वारनमा नाम पाई, थर पाई, गोत्र पाई । मान्छेले पाउने सबैथोक पाई । सानी भन्न सुहाउँदै बिहे भयो, घर, थर र गोत्र फेरियो । अलि ठूली हुँदासम्ममा जेठी गोमे, छोरो नारन् र कान्छी सुनीता गरी काखमा तीनटा लालाबाला आइसकेका थिए । छोराको कान बाबरजस्तै हुनाले प्यारले बाबरे भन्थी ।
लोग्नेले एकदिन अकस्मात आँखा चिम्लेको, कहिल्यै उघारेन । उसको सिन्दूर पखालियो, पोते चुँडालियो, चुरा फोरियो । लोग्नेसँग मायापिरिम बसिनसकेकोले होला उसको भन्दा सिन्दूर, टीका, चुरा, पोते गुमाएकोमा दुःख लाग्यो । त्यसैको मायाले खूब रोई सानी ।
पुस्तैनी रिसइबी साँध्ने नाउँमा बर्खान्तमै नैरितेले उसको इज्जत लुट्यो । बिनाबाबुकी सन्तानकी आमा बन्ने भई ऊ । नैरितेले सकार्ने छाँट नदेखेपछि न्वारन गर्ने शर्तमा घरले उसलाई हलीको हिल्ला लगाइदियो । अब सानीबाट लोग्नेको थर छुट्यो, घर गुम्यो, गोठको बास भयो । तर, पनि सिउँदोमा हलीको नामको सिउँदो भरेर हिँड्न पाउँदा ऊ द·ै थिई । तर, हली के खाएर सानी नामकी घाँडो भिरेर बस्दो हो ? राम्रो ठाउँमा काम लगाइदिन्छु भन्ने दलेको जिम्मा लगाइदियो । अब सानीबाट त्यो गोठ पनि छुट्यो । दलेको लक्ष्य बम्बै थियो तर कसो कसो पुलिसको आँखा छल्दाछल्दै सानी नै छलिन पुगेको परिणामः पुलिस्नीको हिटलरे शासनमा कामदार बन्न पुगी ।
त्यहाँबाट फकाएर एउटी कुटुनीले अन्तै काममा लगाइदिई । यहाँ राम्रै थियो । मालिक्नीलाई रिस उठेको बेलामा ‘तीनपोइले’ भनेर वचन लगाए पनि इज्जत बचाएर खान लाउन पाएकी थिई । मालिक्नीले दया देखाएर छोराछोरीलाई बोलाएर पनि भेटाइदिइन् । बाबरेबाट नैरिते रगत छादेर मरेको र हलीले झड्केली छोरीलाई बम्बैमा बेच्न लान लाग्दा पुलिसले पक्रेर खोरमा जाकेको थाहा पाई । कोग्ल्याँटो हुनु पनि राम्रै हो, उसलाई यो खबरले न दुःखी तुल्यायो न खुसी । बाबरेले ‘पोइल गएकी’ आमाको हातको भात काटेर नखाई भौकै गयो र पनि उसलाई दुःख मनाउ भएन ।
सानी कोरीबाटी राम्री भएर हिँड्थी । छिमेकमा बस्ने धम्मरेले उसैलाई रिझाउन यसो गरेकी भन्ने अर्थ लगाएछ । त्यसले फकायो, सानी फकिई । घरमा बस्नै मन नलाग्ने, उसैलाई मात्र भेटौँ भेटौँ लाग्ने । मुनी (मोहनी) लायो रे धम्मरेले, सानीको शब्दमा । जिउ उक्सन थालेपछि धम्मरेले भगाएर एउटा कोठामा लग्यो र ‘बस्दै गर, अहिले आउँछु’ भनेर गएको कहिल्यै आएन । साँझ कोठा धनी सिकुटे आयो । ऊ भन्दाअघि आएकी उसकी कर्कसा स्वास्नीले झन्डै मारिथी । सिकुटेले ‘रातको बेला, आइमाईमान्छे कहाँ जाओस् ?’ भन्दै शरण दियो । अनि ऊ सिकुटेकै नामको सिन्दूर हालेर कर्कसाकी सौता भएर बस्न थाली । व्याजमा धम्मरेकी एउटी र सिकुटेकी एउटी छोरी पाई ।
‘आपूm त महादेव उत्तानो टाङ, कसले देला वरदान?’ मजदुर सिकुटेकी दुईदुईटी जोई ? आ–आफैँ नकमाए मुखमा माड लाग्दैनथ्यो । सानी कहिले इन्नेर, कहिले पाइलोटको घरधन्दा गरेर गुजारा चलाउन थाली । कोठा भाडा तिरेर सिकुटे चामलसम्म किनिदिन्थ्यो, खाने भए दाल तिहुन ल्याएर पकाओ, नभए भोकै । सौता सुको झिक्दिन भन्थी सानी, सानी सुको झिक्दिन भन्थी सौता । झिक्न दुवै सुको झिक्दैनथे । सानीकी जेठी छोरी पनि रसिक निस्की । १५ वर्ष नपुग्दै पोखराको लफ·ोसँग टाप कसी । लफंगो मुनी लगाएको रे सानीकै शब्दमा । कान्छी छोरी काम न धाम मीठो खान पाम भन्दै मोबाइलमा डल्ला फोर्ने खेलमा मस्त रहन्थी । वरको सिन्को पर सार्दिनथी ।
सिकुटेले निजगढमा घर बनायो रे । सानीलाई लैजान्छु, लैजान्छु त भन्यो तर जेठीलाई लगेर त्यहाँ थन्क्यायो । सानीको हात लाग्यो सुन्ना ! ‘हामी आमाछोरीको नार्ता (नागरिकता) बनाइदेऊ, अर्थोक केही दिनु पर्दैन’ भन्दा टेरपुच्छर लगाएन । छोरीको नार्ता भयो भने अंश दिनुपर्छ, उसको छोराको भाग खोसिन्छ भनेर कर्कसाले कान भरेकी छ रे । नार्ता भए बिर्द भत्ता (वृद्धभत्ता) पाइन्थ्यो, पेस्सर (उच्च रक्तचाप) को औषधि र खुराक खानसम्म पुग्दो हो भन्ने सानीको आश हो । खुराक उसको माछा र मासु छोपलाको सिन्की होइन, चिया, चुरोट हो । अर्थोक चौरासीव्यञ्जन भए नि पटक्कै लोभ नाइँ । खुराकपछिको अर्को नशा थियो हिन्दी सिर्रेल । घरबेटीको कोठामा थच्चा मारेर तीनटा सिर्रेल नहेरी निद्रै नलाग्ने भइसकेको थियो । हेर्न छुटेको भोलिपल्ट पाइलोटको घरमा गर्दा गर्दैको धन्दा छाडेर ‘हिजो बत्तीनिभेर हेर्न पाइएन, ‘कुमकुम भाग्य लगाउनोस्’ नानी !’ भनेर पनि धित मारेरै छाड्थी ।
दुःखको कारण नहुनु हो कि हुनु हो ? सानीलाई हेरेर निक्र्योल गर्न सकिन्न । उसँग केही छैन, कोही छैन र पनि दुःखी छैन र पनि निराश छैन, सुस्केरा हाल्दिन । पाङ्दुरे कुरामा सेन्स अफ ह्युमर पनि चर्कै छ । पूजापाठमा धन्दा गर्न निम्तो दिएको ठाउँमा, ‘ल है पुरेत आइपुगे !’ भनेर आँखा झिम्क्याउँदै भित्र पस्थी । काममा झर्को फर्को नाइँ, ‘केको पिरलो, दिन गए नि रात छँदैछ’ भन्दै काम गर्थी । हातगोडा चालुञ्जेल सानीको जीवन नैया चल्छ, हातगोडा थामिएको दिन ???
पाँच–पाँच जनासँग सम्बन्ध बने पनि आज कोही उसको छैन । भएका आधा दर्जन सन्तान कसैलाई वास्ता छैन । काम गरेको ठाउँमा काम प्यारो, काम दिन नसकेपछि चन्दासम्म देलान्, अर्थोक सरोकार राख्ने छैनन् । कोही नहुनेको सरकार हुन्नुपर्ने तर सरकार उसलाई चिन्दैन । ऊ नेपाली हो र नेपालीबाहेक केही होइन भन्ने सबै जान्दछन् तर नार्ता नामक कागजको खोस्टो नहुन्जेल ऊ सरकारी अभिलेखमा दर्ता हुन्न । यसमा सरकारलाई फाइदै छ ः सानीको निर्धनताले देशको गरीबीको सूचाङ्क बढ्दैन, उसले काम नपाउँदा देशको बेरोजगारीको तथ्याङ्क बढ्दैन । त्यसैले सानीलाई सरकार चिन्नै चाहँदैन ।
अलिकति ऊ स्वयंको गल्ती, अलिकति आफन्तको स्वार्थ, अतिकति रुढीवादी सामाजिक परम्पराको प्रसाद, अलिकति पुरुष जातिको कुदृष्टिको शिकार, अलिकति जनताप्रति उत्तरदायित्वबोध नभएको सरकारको कारण घरबाट आरम्भ भएको सानीहरूको जीवनयात्रा कोठाभाडा तिर्न नसकेको दिन सडकमा गएर टुगिंने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *