भर्खरै :

जनविश्वास गुमाउँदै सरकार

मलको लागि लाइन
सरकारले जनताको विश्वास क्रमशः गुमाउँदै गएको छ । पछिल्लो निर्वाचनमा जनसमर्थनबाट झन्डै दुईतिहाइ बहुमत पाएको सरकारका गतिविधि र व्यवहारको कारण उसप्रतिको विश्वास खुकुलो बन्दै गएको हो । आजसम्म आइपुग्दा निर्वाचनमा सत्तासीन दलले दिएको ‘समृद्धि र विकास’ को नाराको हास्यास्पद अन्त्यमात्र भएको छैन, बरु हिजोका कुनै पनि सरकारभन्दा अहिलेको ‘शक्तिशाली’ ठानिएको सरकारले केही पनि फरक काम गर्न सकेन । देशको अवस्था हिजोभन्दा अघि बढ्नु त परको कुरा अझ अधोगतितर्फ यात्रा गरिरहेको जनताले महसुस गर्न थालेका छन् । भ्रष्टाचार हिजोभन्दा अझ संस्थागत बनेको छ । भ्रष्टाचारीहरू सत्ताको अझ नजिक पुगेको धेरै घटनाले पुष्टि हुँदै छ ।
राजनीतिक अस्थिरताको कारण देशले विकास र समृद्धिको बाटो हिँड्न पाएन भन्ने छलफल लामो समयसम्म चल्यो । विशेषतः अहिलेका शासक दलका नेताहरूले नै यस्ता समझदारी जनतासमक्ष राखे । जबकि राजनीतिक अस्थिरताको मूल जड नै तिनै दलहरू थिए । राजनीतिक स्थिरताले नै देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने अपेक्षाका साथ ‘एक’ बनेको दललाई जनताले चुनाबमा बहुमत दिए । तर, जनतासमक्ष शासक दलले राखेको त्यो समझदारी आफूलाई राजनीतिक शक्तिसम्पन्न बनाउने पासोमात्र भएको वास्तविकता भने जनताले त्यत्तिबेला बुझे, जब शक्तिशाली बनेपछि शासक दलभित्र विभाजन र खुट्टा तानातानको खराब दृश्यको मञ्चन पूर्ववत रह्यो ।
हरेक दिन सञ्चारमाध्यममा सरकारलाई कुरीकुरी गर्ने खालका अनेकन समाचार आइरहेका छन् । देशका अधिकांश भूभागमा धान रोपिसकेर दाना पोसाउने बेला भइसक्यो । तर, अझ पनि सरकारले किसानलाई मल दिन सकेको छैन । निषेधाज्ञाको खिल्ली उडाउँदै किसानहरू मलको लागि लाइन बसे । दिनभर चर्को घाममा लाइन बस्दा पनि किसान रित्तो हात फर्के । समयमै मल राख्न नपाउँदा धानमा रोग देखिन थालेको छ । त्यसै त कोरोनाले आर्थिक मन्दी निम्त्याउँदै छ, त्यसमाथि खेतको धान पनि सद्दे नहुँदा जनताले सरकारलाई अविश्वास नगरी गर्ने के ?
कोभिड–१९ महामारी नियन्त्रणमा सरकारले झन्डै आत्मसमर्पण गरिसकेको अवस्था छ । नगर्नु गल्ती भइसकेको छ, अब ‘दक्षिणतिरको भाइरस’ अलि कडा भयो भनी कपाल कन्याउनुको सरकारसँग अर्को विकल्प नै के छ र ? महामारी भूकम्प आएजस्तै अचानक आएको थिएन । कोरोना भाइरस दक्षिणपूर्वी एसिया, युरोप, अमेरिका, भारत हुँदै नेपाल पसेको थियो । कोरोना एकप्रकारले बाजा बजाएरै नेपाल पसेको थियो । शासक दल भने सत्ता सङ्घर्षकै छिनाझम्टीमा व्यस्त भयो । पार्टी र संसदभित्रका प्रतिपक्षलाई चोटिलो प्रहार गर्नसक्नुमा नै प्रधानमन्त्री आफ्नो सफलता ठानेर बसे । परिणाम आज हामी हरेक दिन देख्दै छौँ– न स्वास्थ्यकर्मीको मन राख्न सक्यो, न सुरक्षाकर्मीको चित्त बुझाउन सक्यो ।
जनताका दैनिक समस्याको उचित व्यवस्थापन नगरी सरकारले निषेधाज्ञा र लकडाउन ग¥यो । चीनको उहानमा लकडाउन गरेर नै महामारीमाथि जीत हासिल गर्न चिनियाँहरू सफल भए भन्दै नेपाल सरकारले पनि लकडाउन घोषणा ग¥यो । तर, चीनमा लकडाउनको अवधिका जनताको जीवन सहज बनाउन सरकारले के कस्ता काम गरेको थियो, त्यो भने नेपाल सरकारले सिकेको देखिएन । त्यसकारण आज खुलामञ्चमा ‘भात खान आउने’हरूको लस्कर दिनानुदिन बढ्दै छ । मानिस ‘यही ताल हो भने’ निषेधाज्ञा उल्लङ्घन गर्ने मनस्थितिमा पुगेका छन् । यसरी सोच्ने मानिसहरू दिनभर कमाएर रातमा भोक मेट्नेहरू नै हुन् । सरकारले त्यो वर्गको विषयमा त केही सोचेको जस्तो देखिएन । अनि यस्तो अवस्थामा जनताले यो सरकारलाई किन विश्वास गर्ने ? यो सरकारले जनताको भलो गर्छ भनी के आधारमा जनता कुरेर बस्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *