भर्खरै :

‘कोपिला’ र युगकवि सिद्धिचरणको काव्य यात्रा

युगकवि सिद्धिचरण श्रेष्ठको काव्य आराधनाको प्रारम्भबारे बुभ्mन पढ्नुपर्ने कवितासङग्रह हो – कोपिला । कवि श्रेष्ठले विसं १९८४ मा कोर्नुभएको कविता ‘सन्ध्या’ देखि विसं १९९७ मा लेख्नुभएको ‘विजया’ सम्म यस सङ्ग्रहमा अटेका छन् । प्रारम्भिक कवितादेखि १९९७ सालसम्मका जम्मा ६४ वटा कविताले कविको सुनौलो बिहानी दर्शाउँछ । विसं १९९६ मा नै प्रकाशनको तयारी गरिए तापनि सन् २०२१ सालमा मात्र प्रकाशन गर्ने साइत जु¥यो । ‘त्यो त्यसैबेला निस्कनुपर्ने थियो । आज २५ वर्षपछि त्यसैमा केही रचनाहरू
(जो त्यसबेला छाप्न गा¥हो परेको थियो) थपेर यो ‘कोपिला’ निस्किरहेछ … ’ कवि श्रेष्ठले भूमिका खण्डमार्पmत प्रस्ट्याउनुभयो ।
तत्कालीन रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्माले प्रकाशकीयमा स्पष्ट पारे, “ ‘कोपिला’ श्री सिद्धिचरण श्रेष्ठको काव्य शक्तिको कोपिला हो । कविले आफ्नू काव्य–जीवनको प्रथम रचनादेखि आफू १९९७ सालमा राणाशाहीको शिकार भई जेल नपरेसम्मका रचना यस काव्यमा सजाउनुभएको छ ।” शर्मा अगाडि भन्छन्, ‘श्री सिद्धिचरण श्रेष्ठको काव्यको सर्वप्रधान गुण अनुभूतिको कोमलता हो । उहाँको सुकुमार चेतनाको दर्शन उहाँका रचनामा सर्वत्र हुन्छ ।” ‘उर्वशी’ पछि एकेडेमीबाट प्रकाशित कवि श्रेष्ठको यो दोस्रो रचना हो । शर्माले भनेभैmँ ‘कोपिला’ ले कवि सिद्धिचरणको कवितामा क्रमिक शैलीगत विकासबारे बुभ्mन सहज बनाउनेछ ।
प्रारम्भमा कवि श्रेष्ठ प्रकृतिप्रेमी, सौन्दर्यका पुजारी हुनुहुन्थ्यो भन्ने महसुस ‘कोपिला’ मा सङ्ग्रहित कविताले गराउँछ । मानवीय गुण–अवगुण, प्रेम–घृणा, समाजको यथार्थ चित्रणले उहाँका कविता ओतप्रोत थिए भन्ने जानकारी यी कविताबाट मिल्छ । जीवन, प्रेम र प्रकृतिको गुणगान उहाँका कविताको विशिष्ट पक्ष हो । स्वच्छन्दतावादी धारलाई समाएर आरम्भ गरिएको काव्ययात्रा विद्रोही चेतमा पदार्पण भएको प्रस्ट अनुभूति कविताहरू पढ्दै जाँदा हासिल हुन्छ । ‘कोपिला’ बनी थालिएको यात्रा ‘चिराग’ बनी क्रान्तिको बाटोमा हिँड्यो भन्नु अझ समीचीन होला !
कवि श्रेष्ठले ‘कोपिला’ मा ‘फुल्नेछु, खुल्नेछु म ढक्कमक्क, अपार आनन्द खनाउनेछु’ भनी १९९५ सालमा घोषणा गर्नुभयो । नभन्दै उहाँ देश, देशवासी र विश्वजगतसामु ढक्कमक्क फुल्नुभयो, चारैतिर सुवास छर्दै । ‘वसन्त’ कवितामा कुनै रोमानीवादी अङ्गे्रज कविले भैmँ
भन्नुहुन्छ –
‘सुन्दर हे ऋतुराज वसन्त
शिशिरको स्थिति भो अब अन्त …’
उहाँ प्रफुल्ल हुँदै अगाडि भन्नुहुन्छ –
‘छन् जति वृक्ष लतादि समस्त
सुन्दर पल्लवले गरी मस्त,
सद्गुण केवल छाडी प्रशस्त
दोषमा म भयो अब अस्त ।’
कवि श्रेष्ठले यसप्रकार १९८७ सालमै आपूm वसन्तको व्यग्र प्रतीक्षामा रहेको खुलस्त पार्नुभयो । ‘शिशिरपछि वसन्त आउने’ प्राकृतिक नियमप्रति आफू अत्यन्त विश्वस्त रहेको उद्घोष गर्नुभयो ।
‘जुवा’ कविताले कविको सामाजिक चेत र परिवर्तनको आकाङ्क्षा उजागर
गर्दछ –
‘खेलेर लाभ कति छैन जुवा कुखेल,
तस्मात् अवश्य प्रिय वर्ग, जुवा नखेल ।’
उहाँ कडा शब्दमा यसरी भन्नुहुन्छ –
‘बेश्यासरि बुझ जुवा पनि वर्जनीय,
यो दुष्ट हो प्रिय सखे ! अति सोचनीय’
‘कोकिल’, ‘जुनेली रातमा निर्झर’, ‘साँझमा हिमालयको दृश्य’, ‘प्रातःकालीन किरण’ आदि कविताले कवि श्रेष्ठलाई प्रकृतिको सौन्दर्यले कति सम्मोहित बनायो भन्ने अनुमान लगाउन मद्दत गर्दछ ।
नेपाली गीतमा अत्यन्त रुचाइएको र रेडियो–टीभीमा बजिरहने ‘वखलढङ्गा’ लाई एउटा कालजयी गीत मान्न सकिन्छ । विसं १९९२ सालमा रचिएको यो कविताले सिद्धिचरणलाई थप परिचित बनायो र उहाँको काव्य यात्रामा एउटा फड्को ल्यायो भन्नु उपयुक्त होला ¤ कवि श्रेष्ठको कवि हृदयको परिचयमात्र होइन, उचाइ र गहिराइ यस कविताले दियो । ‘वखलढङ्गा’ गीत सर्वाधिक रुचाइने नेपाली गीतहरूमध्ये पर्दछ । आफ्नो जन्मभूमिप्रति अगाढ आस्था, प्रेम दर्शाएर लेखिएका कवितामध्ये यो एक अनुपम उदाहरण बनेको धेरैको अनुभव छ । कविजी सगौरव घोषणा गर्नुहुन्छ –
‘… तर खेद छैन तिम्रै आकृति
लेखिएको छ यो हृदत्रि †
मेरो प्यारो वखलढङ्गा !
यस कविता सङ्गालोमा कवि श्रेष्ठको बहुचर्चित पङ्क्तिसहितको कविता ‘वर्षा’ पनि सङ्ग्रहित छ । विसं १९९४ सालमा नेपालभाषामा लेखिएको कविता ‘वर्षा’ मार्फत कवि श्रेष्ठ भन्नुहुन्छ –
‘हुँकार्छु खूब रिसले जगलाई हाँकी
मास्दै सबै अशुभ वस्तु कुनै नराखी
क्रान्तिबिना कहीं हुँदैन नि स्वच्छ शान्ति
शान्तिबिना अनि हुँदैन कि के त भ्रान्ति’
त्यस कालखण्डमा यी शब्दले परिवर्तनप्रेमी तथा राणाविरोधीहरूको मन–मस्तिष्कमा जागरण र चेतना जन्मायो । विद्रोह हुर्कायो । क्रान्तिकारीहरूका निम्ति ठूलो ऊर्जा दियो । कवि श्रेष्ठ भने राणाहरूको तारो बन्नुभयो । परिवर्तनको पक्षमा हाकाहाकी बोलेर, लेखेर र उभिएर कवि श्रेष्ठले युगीन अभिभारा बहन गर्नुभयो । युग परिवर्तनको शङ्खघोष गर्नुभयो । धेरै–धेरै परिवर्तनप्रेमीको मुखमा झुन्डियो – ‘क्रान्तिबिना हुँदैन शान्ति ।’ सचेत जनताबीच थप उत्साहको सञ्चार ग¥यो । यी शब्दले उहाँलाई विद्रोही कविको पङ्क्तिमा उभ्यायो ।
‘उच्छ्वास’ कवितामा आमासँगको संवादमा छोरा अर्थात् कवि अन्तरमनदेखि भन्नुहुन्छ – ‘आमा मेरो जीवन कविता ।’ यसरी कवितासँगको अटुट सम्बन्धबारे प्रस्ट धारणा कविजीले राख्नुभयो । यो द्रव्यमुखी, नाफामुखी संसारमा अत्यन्त अभाव, दुःख, कष्ट र पीडाका बीच पनि स्वाभिमानका साथ दृढ सङ्कल्प गर्दै काव्य साधनाप्रतिको लगाव र झुकावबारे कवि श्रेष्ठ भन्नुहुन्छ– रोक्छ भन्दैमा वैभवको पथ
के म नलेखूँ अब कविता ?

वैभवका निम्ति कवितालाई तिलाञ्जली दिन आपूm असमर्थ भएको कविजीले स्पष्ट पार्नुभयो । साथै उहाँले अगाडि बढेर सरल भाषामा आफ्नो चिनारी खुलस्त पार्नुभयो – म कवि जगतको प्रतिद्वन्द्वी ।
‘खास नेपाली’ मा नेपालमा जन्मनुलाई नै नेपाली हुनुको पर्याप्त परिचय मान्न नसक्ने कवि दाबी गर्नुहुन्छ । कोही नेपाली हुँदैमा उसको अन्याय–अत्याचार सहेर बस्न नमिल्ने तर्क गर्नुहुन्छ, युगकवि श्रेष्ठ ।
कवि श्रेष्ठका कविता अध्ययन गर्दै जाँदा प्रकृतिप्रेम, जीवनप्रेम हुँदै न्याय, स्वतन्त्रता तथा क्रान्ति प्रेमसम्म पुगेको अनुभव गर्न सकिन्छ । क्रमशः कवि श्रेष्ठका कवितामा क्रान्ति चेत छचल्किन थालेको पाठकहरू अनुभव गर्दछन् । त्यस्तो अनुभूति ‘जोवन’ कविताले पनि दिन्छ । कवि आफ्नो जवानीको उत्साह यसरी शब्दमा उतार्नुहुन्छ –
नाची, उफ्री, खेली, हाँसी
सुन सुन भन्दछु ताली बजाई
फाँसीमा पनि हाँसी हाँसी
चढ्न तयारी जोवन आयो ।
विसं १९९४ सालमा लेखिएको ‘जोवन’ कविताका हरेक पङ्क्तिमा उत्साह, आक्रोश, विरोध र उत्सर्गी भाव भेटिन्छ । परिवर्तनका निम्ति बलिदान अपरिहार्य हुने र समाजको युवा पुस्ताले तातो रगतको परिचय निर्भयका साथ दिन आह्वान गरिएको आभास हुन्छ । कवि श्रेष्ठ आफ्नो निर्णय यसरी सुनाउनुहुन्छ –
‘विपत्बिनाको जीवन व्यर्थ
विपत्तिलाई स्वागत नित्य
विपत्ति सहँदै हाँस्दै जाने
मेरो प्यारो जोवन आयो ।’
‘परिचय’ कवितामार्फत आफ्नो थप परिचय कवि यसरी दिनुहुन्छ –
नेपाली हुँ कठिन गिरिमा चढ्नलाई सिपालु
वैरी नै होस् तर छु बहुतै दीनमाथि दयालु,
तातो रातो रगत रिपुको प्यँुन हर्दम् तयार,
मेरो मेरो प्रिय खुकुरी यो हेर भै होशियार ।
कवितामा सम्पूर्ण नेपाली देशभक्त जनताको चिनारी प्रस्तुत गरी आत्मगौरवलाई उँचो पारिएको छ । देशभक्तिको अदम्य साहस प्रस्तुत गरिएको छ । समय सँगसँगै युगकवि श्रेष्ठका कविता देशप्रेमले ओतप्रोत हुन थालेको स्पष्ट छ । हिनताबोध, निराशा या ग्लानिको अंश कहीँ कतै कुनै कवितामा भेटिन्न । बरु भविष्यप्रति आशावादी दृष्टिकोण र आफ्नो मातृभूमिप्रति अत्यन्त इमानदार एवम् बफादार सिपाही हुनुको प्रमाण कविताका पङ्क्ति–पङ्क्तिमा छचल्किएको अनुभूत हुन्छ । त्यसैले त कवि श्रेष्ठ भन्नुहुन्छ –
गोली लागी पट पट फुटोस् देहको अंगअंग
छाला टाँगी वदन सब होस् मासुको मात्र पुञ्ज
बाटो होओस् भत् भत् उसै पोलिने बालुवाको
देशद्रोही यदि छ त कहीँ माथ नै ताक्छु त्यस्को ।
नेपाली वीरको छात्तीमा देशद्रोहीविरुद्ध दनदनी बलिरहेको आक्रोश यहाँ अभिव्यक्त भएको छ ।
‘चम्क युवक, अब चम्क न चम्क, छाती फुकाई लम्क न लम्क’ भन्दै ‘चम्क युवक’ कवितामा युगकवि श्रेष्ठ नेपाली युवाहरूलाई सत्य, न्याय, स्वतन्त्रता र राजनीतिक अधिकारका निम्ति जागी उठ्न आह्वान गर्नुहुन्छ ¤ कवि युवाहरूलाई उत्साहित पार्दै अर्थपूर्ण तथा सार्थक जीवन बाँच्न सल्लाह दिनुहुन्छ –
बरु बाँच युवक, दुई घडी मात्र
चम्की उज्ज्वल पारी समस्त
के छ र बाँची लाखौँ वर्ष
पारी अँध्यारो बाहिर भित्र ।
‘तिमी हौ आशा दुःखीहरूको, तिमी हौ सहारा सारा जनको’ भन्दै युगकवि युवाहरूप्रतिको भरोसा प्रकट गर्नुहुन्छ र सामाजिक तथा राजनीतिक परिवर्तनको अभिभारा बहन गर्न आह्वान गर्नुहुन्छ । युवाहरूलाई बारबार अभिप्रेरणा दिनुहुन्छ ।
कवि श्रेष्ठ आफ्नो भित्री मनको इच्छा ‘दुई शब्द’ मा सरलतापूर्वक यसप्रकार सार्वजनिक गर्नुहुन्छ –
‘… छ यही मेरो मनको इच्छा
भित्र बनूँ कवि, बाहिर योद्धा ।’
कवि भएर पनि परिवर्तनका पक्षधर एक योद्धा बन्ने साहस र शासकसामु नझुक्ने हिम्मत नेपाली साहित्य जगतमा विरलैमात्र कवि, कलाकार तथा साहित्यकारले देखाएको कसैबाट लुकेको छैन ।
‘विश्वव्यथा’ शोक कविता हो । चार वर्षको छोरोको निधनमा विसं १९९६ सालमा सो कविता लेखिएको हो । कविले पुत्रवियोगको असह्य पीडा कवितामा व्यक्त गर्नुभएको छ । आँसुले लेखिएको कविता मर्मस्पर्शी छ ।
‘युवक’ कवितामार्फत कविले नूतन विचार प्रस्तुत गर्नुभएको आभास हुन्छ । कामअनुसारको ज्यालाको नवीन सिद्धान्तको वकालत गर्दै मानिसले नयाँ जीवन पाउने समाजको स्थापना गर्न अग्रसर हुनुपर्नेतर्फ यसरी इंगित गर्नुहुन्छ –
लहलहाउँदै खेत नाच्दछ,
श्रम गरेसरि माम मिल्दछ,
सुख र शान्तिले विश्व गाउँछ
मनुजले नयाँ मोल पाउँछ ।
कामगरी खाने जनताको नयाँ समाज सम्भव भएको सन्देश यस कवितामा छचल्किरहेको प्रतीत हुन्छ । मूल्यहीन जीवन बिताइरहेका बहुसङ्ख्यक शोषित–पीडित जनताले एक दिन अवश्य नयाँ जीवन पाउने विश्वास व्यक्त गरिएको छ । युवाको पौरख, युवाको उत्साह तथा जाँगर र उद्देश्यबारे स्पष्ट पार्दै युगकवि सिद्धिचरण सरल एवम् सरस भाषामा आफ्नो अन्तर हृदयको भाव यसरी व्यक्त गर्नुहुन्छ –
हरर हाँस्दछौँ प्रीति जोड्दछौँ
हृदयभित्रका फूल बाँड्दछौँ
सुख सुवासना शान्ति छर्दछौँ
‘जिउनु क्या मजा’ झल्ल पार्दछौँ ।
यस सङ्ग्रहको अन्तिम कविता ‘विजया’ हो । वि.सं. १९९७ कार्तिक २ गते कवि पक्राउमा पर्नुभन्दा एक महिनाअघि यो कविता कोरिएको हो । आफ्नी आमालाई सम्बोधन गर्दै कविताका सुपुत्र भन्छन् –
म के बाँचूँ निर्धो भई रगतको सिन्धु नतरी,
म छोरो हूँ हेरुँ बिन्ति छ मुमाको मुख पनि ।
कविताका छोरा स्वयम् कविजी हुनुहुन्छ भन्ने अनुमान लगाउन खासै गा¥हो छैन । आमासमक्ष प्रतिबद्धताका शब्द यसरी व्यक्त गर्नुहुन्छ कविजी –
‘न झारी शेखी ती अधमहरूको ज्यूनु कसरी,
लुछी, काटी, मारी सब क्षय गरु हुन्छ जसरी ।’
कविजीले निरङ्कुशतन्त्रविरुद्ध आफूभित्र ज्वालामुखीसरि गुम्सिरहेको उकुसमुकुस, जोश तथा विद्रोही चेतलाई यसरी विस्फोट गर्नुभयो –
चलाई ड्वाङ्ड्वाङ् ती असल बडिया बन्दुकहरू,
म तिम्रो पूजामा अब अघि सरेँ है खुसीरहू ।
कविजी जहानियाँ राणाशाहीविरुद्ध र स्वतन्त्रता तथा प्रजातन्त्रको पक्षमा सडकमा उत्रिन कति अधीर बनिसक्नुभएको रहेछ भन्ने यथार्थ यी शब्द र अन्तरनिहित मर्मले उजागर गर्दछ । युगकवि श्रेष्ठ नेपाल आमाको मुहार हँसाउन र उज्यालो बनाउन कृत्सङ्कल्पित रहेको यो पङ्क्तिले पनि प्रस्ट पार्छ ।
‘कोपिला’ मा सङ्ग्रहित कविताहरू सरल छन् । लयात्मकता यसको अर्को आभूषण हो । गहिरो भाव, स्पष्ट शिक्षा या सन्देश र सरसता धेरैजसो कवितामा पाइने गुण हुन् । ‘कोपिला’ ले कवि सिद्धिचरण लोभलाग्दो पुष्प बनी फक्रने प्रबल सम्भावना देखायो । ‘कोपिला’ युगकवि सिद्धिचरणको काव्य यात्राको प्रस्थानविन्दु तथा प्रारम्भिक कोशेढङ्गा हो । समयक्रमले बलियो आधारशिला प्रमाणित ग¥यो । सिद्धिचरणको साहित्यिक जीवनमा यसको बेग्लै महत्ता छ । ‘कोपिला’ केवल कोपिला नभई नेपाली काव्यजगतको कहिल्यै नओइलाउने फूल बन्यो ।
 

One response to “‘कोपिला’ र युगकवि सिद्धिचरणको काव्य यात्रा”

  1. Bindu Hamal says:

    धन्यवाद सम्पूर्णमा !
    सच्चा मनको सत्य कविता पाउ अध्ययन गर्न,
    हटाउ जरै देखि दुष्ट खोस्टालाई सक्नु पर्छ मार्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *