भर्खरै :

रणनीतिक महत्वको महाकाली करिडोर निर्माण गतिहीन

दार्चुला, २२ भदौ । तराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशक अघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन
सुदूरपश्चिम प्रदेशको लाइफलाइन मानिएको करिडोरको निर्माण कछुवा गतिमा अघि बढेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट सुरु हुने करिडोर निर्माण अझै यहाँबाट सुरुआत हुन सकेको छैन । करिब ४२५ किलोमिटर लम्बाइ भएको करिडोरअन्तर्गत ब्रह्मदेवदेखि जोगबुडासम्म ११ किलोमिटर क्षेत्र पर्छ । “ब्रह्मदेवबाट दुई÷तीन किलोमिटरपछि जङ्गल सुरु हुन्छ ।” महाकाली करिडोर दार्चुला टिङ्कर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले भन्नुभयो, “लामो समय सो क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन हुन नसक्दा काम सुरु भएन ।”
उहाँले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएको र उक्त क्षेत्र निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिनुभयो । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका टिङ्करसम्म व्यापार विस्तारका लागि करिडोर निर्माणको अवधारणा अगाडि सारिएको भए पनि करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुला क्षेत्रमा पनि निर्माणको काम सन्तोषजनक छैन । “लकडाउन भएकोले तीन वटै प्याकेजको काम गर्न निर्माण कम्पनीलाई ६ महिना (मंसिर) सम्मको समय थपिएको छ ।” उहाँले भन्नुभयो ।
तीन वर्षअघि करिडोरअन्तर्गत चार जिल्लामा ट्रयाक खोल्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण योजनाको काममा आंशिक प्रभाव परेको जनाइएको छ । “मजदुरहरू सबै स्थानीय भएकाले काममा त्यति धेरै बाधा पुुगेन ।” उहाँले भन्नुभयो, “वर्षात्का बेला भने काम रोकिएको थियो ।” ०६५ सालदेखि निर्माण सुरु भएको दार्चुला टिङ्कर सडकलाई ०७२ सालमा महाकाली करिडोरअन्तर्गत गाभिएको हो ।
करिडोरअन्तर्गत डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा कुल ६७ किलोमिटर सडक खण्डको ट्रयाक खुलाइएको छ । साविकको दार्चुला टिङ्कर सडक खण्डको कुल १३४ किलोमिटरमध्ये ठेक्का नलागेको ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि टिङ्करसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
यस्तै दार्चुला टिङ्कर सडकको ठेक्का लागेको ४७ किलोमिटरमध्ये ४३ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाइएको इन्जिनियर रैखोलाले जानकारी दिनुभयो । यस्तै कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरासम्मको सडक खण्डको ठेक्का लाग्न बाँकी छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको ढिलाइले काम पनि हुन सकेको थिएन । अहिले करिडोरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन आएको छ ।
सबैभन्दा ढिलाइ दार्चुला टिङ्कर सडक खण्डमा भइरहेको छ । करिब १२ वर्षमा ४३ किलोमिटर सडकखण्डको ट्रयाक खुलाइएको भए पनि सबै क्षेत्रमा अहिले सवारी साधन चल्न सक्ने अवस्था छैन । बर्खायाममा यस सडक खण्ड पूरै अवरुद्ध छ । सडकको चार किलोमिटर सडकको ट्रयाक खुलाउन अमर सूर्यसँग ०६९÷०७० मै ठेक्का भएको हो । पाँच पटक म्याद थप भइसकेको छ । अझै काम सुरु भएको छैन् । सडक योजनाले निर्माण काम ढिलाइ गरेको जनाउँदै सरकारले गत वैशाख १४ गते निर्णय गरेको हो ।
यस्तै चालू आर्थिक वर्षमा सडक सुधार गर्ने भन्दै हिकिलाको पोखरा भीर, पिपलचौरीको विजयपुर भीर, हुतीको तङ्ले भीर र धौलाकोटको चुकपानी भीरको लागि चार वटा ठेक्का लगाइएको छ । यस क्षेत्रमा सडक र भीर सुधारको लागि बझाङको सुर्मा सरोवर निर्माण सेवाले ठेक्का पाएको छ ।
महाकाली करिडोर दार्चुला टिङ्कर सडक योजनालाई बहुवर्षीय ठेक्का लगाउने गरी कागजी प्रक्रिया अघि बढाइएको इन्जिनियर रैखोलाले बताउनुभयो । उद्योग वाणिज्य सङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले महाकाली करिडोर निर्माण गरेर कैलाश मानसरोवरलाई जोड्न सके सुदूरपश्चिमको मुहार फेरिने बताउनुभयो । “कृषि, पर्यटन र जलविद्युत्मा यहाँ तमाम सम्भावनाहरू छन् ।” उहाँले भन्नुभयो ।
उहाँले निजी क्षेत्रले सङ्घीय र प्रदेश सरकारलाई पटक–पटक यस विषयमा कुरा उठाउँदै आएको जानकारी दिनुभयो । “हिजोका दिनमा महाकाली नदीमा सरकारले पक्की पुल बनाउनसक्छ र भन्थे त्यो अहिले बन्दै छ ।” उपाध्यक्ष पाठकले भन्नुभयो, “सरकारको इच्छा शक्ति भए करिडोर बनेर राष्ट्रिय अर्थतन्त्रमै टेवा पुग्न सक्छ ।”
निर्माणको सुरसारमा सेना
दार्चुलादेखि चीनसँग जोडिएको टिङ्कर गाउँसम्म ८७ किलोमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । मन्त्रिपरिषद्ले गत वैशाखमा महाकाली करिडोरको दार्चुला टिङ्कर सडक योजनाअन्तर्गत यस सडक निर्माणको जिम्मा सेनालाई दिएको हो ।
सडक खण्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम सुरु गरेको जनाएको छ । सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डीपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङको नेतृत्वमा सैनिक टोली गत साउन २३ गते दार्चुला सदरमुकाम खलंगा पुगिसकेको जनाइएको छ ।
अहिले विकास निर्माण दलको टोली सदरमुकाम खलंगामा रहेको सेनाको गुल्म परिसरमा बसिरहेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले बाटोको केही सयमअगाडि स्थलगत निरीक्षण गर्नुभएको थियो ।
यस ठाउँमा सडक निर्माण गर्न पनि कठिन छ । भौगलिक विकटता छ । दार्चुला टिङ्कर सडकले खोलेको ४७ किलोमिटरभित्र पनि राम्रोसँग गाडी चल्न सक्दैन । सेनाले निर्माण गर्ने सडक त्योभन्दा माथि हो । धेरै ठाउँमा ब्लास्टिङ गर्नुपर्ने स्थिति छ, । महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्नेछ । “सडक निर्माण गर्नसक्यो भने व्यासीहरूको सपना पूरा हुन्छ ।” नेपालकै बाटो भएर व्यासको छांगरु टिङ्कर पुगेका दीपक खाती भन्नुभयो, “सडकमात्रै बन्नुपर्छ, यो क्षेत्रको धेरै विकास हुन्छ ।”
यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ । कैलाश पर्वत दर्शन, चीनसँगको व्यापार, हिमाललगायतका थुप्रै पर्यटकीय क्षेत्रहरू यस क्षेत्रमा छन् । यहाँ उत्पादन हुने स्याउले सीधै बजार पाउने सम्भावना छ । अहिले यस क्षेत्रमा स्याउ खेती बढ्दै गएको छ । “चाँडोभन्दा चाँडो व्यास जोड्ने गरी सडक निर्माण गर्न सके व्यासवासीहरूले भारतीय बाटोको परनिर्भरता हट्ने थियो” व्यासका स्थानीय मुकेश बुढाथोकीले भन्नुभयो, “आफ्नो भूमिमा सडक नहुँदा भारतीय थिचोमिचो सहेर हिँडडुल गर्नुपर्ने बाध्यता छ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *