भर्खरै :

रासायनिक मलको लागि बजारको समस्या नहुने

छिमेकी देश भारत नेपालमा रासायनिक मल कारखाना खोलेको हेर्न चाहँदैन, खोलेकै भए पनि अनेक दबाब या बाधा दिएर व्यवधान पु¥याउन सकिन्छ भन्नेतर्फ नेपाल सरकार चनाखो हुनुपर्छ । रासायनिक मल ल्याएर कमिसनमा पल्केका या कमिसनमा लागेर करोडौँ रकम हसुर्न पाएका नेता र मन्त्रीहरू पनि नेपालमा मल कारखाना खोल्न चाहँदैनन् । नेपालमा मल कारखाना खोलेपछि मलबाट पाउने भारतको ठूलो आम्दानी घट्छ । नेपालका शासक नेता र मन्त्रीहरूले पनि कमिसनमा रमाउन पाउँदैनन् या पदको दुरुपयोग गरी अकुत सम्पति कमाउन पाउँदैनन् । त्यही कारण देशको निम्ति आवश्यक भएर पनि मल कारखाना स्थापना गर्न सकिरहेको छैन ।
कृषिप्रधान देशमा मल नभई हुँदैन । देशको निम्ति मल कति आवश्यक छ भन्ने कुरा प्रत्येक वर्ष विदेशबाट अरबौँ खरबौँ रकम बराबरको मल आयात भइरहेबाट थाहा हुन्छ । यसकारण मल बिक्री गर्न बजारको समस्या हुन्छ भन्ने कुरा झूट हो । मल कारखाना खोल्नको लागि नेपालमा जमिनको पनि अभाव छैन । जग्गा खनजोत गर्न नसकेरै हजारौँ हेक्टर जग्गा त्यसै बाँझो राखिएको छ । ठाउँ र बजारको समस्या देखाएर रासायनिक मल कारखाना खोल्न त्यति सजिलो छैन भन्नु निराशाजनक विचार हो । कारखाना खोल्न ठूलो लगानी जरुर आवश्यक हुन्छ । त्यो पनि देशको निम्ति समस्या होइन ।
रासायनिक मल कारखाना खोल्न अध्ययन र अनुसन्धान अवश्य गर्नुपर्छ । अध्ययनले ठाउँ, वातावरण, बाटो, कच्चा पदार्थ, लगानी सबै पक्षको प्रतिवेदन तयार गरेकै हुन्छ । तर, टोलीले सत्य तथ्यमा आधारित रहेर अध्ययन गर्नुपर्छ । कारखाना एकै वर्ष बनाउन सकिने होइन । यसकारण बजेटको समस्या हुँदैन । महत्वपूर्ण कुरा मलको निम्ति चाहिने कच्चा पदार्थ हो । कच्चा पदार्थ सहज भएमा मल कारखाना खोल्न कठिन हुँदैन । मलको निम्ति चाहिने कच्चा पदार्थ आफ्नै देशमा छ भने सोको पनि अध्ययन गर्नुपर्छ, छैन भने कुन कुन देशसँग छ बुझेर ती देशसँग समन्वय गर्नुपर्छ । कारखानाको निम्ति चाहिने विद्युत् कुन ठाउँबाट नयाँ योजना बनाएर प्राप्त गर्न सकिने हो, त्यसको पनि अध्ययन हुनुपर्छ । मल कारखाना खोल्न विद्युत्, कोइला र प्राकृतिक ग्यासमध्ये कुन आपूर्ति गर्न र उपयोग गर्न सहज हुन्छ, त्यसको पनि अध्ययन हुनुपर्छ । सत्तासीन दलका नेता र मन्त्रीहरूमा दृढ इच्छा शक्ति भएमा मल कारखाना खोल्न कठिन हुँदैन । काम थालेको ५÷६ वर्षपछि नै नेपालबाट रासायनिक मल उत्पादन गरेर वितरण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *