भर्खरै :

नेपाल अझै निरक्षर मुलुक

विगतदेखि हालसम्मका सरकारहरू अर्थात् सत्तासीन दलका नेता र मन्त्रीहरू देश र जनताप्रति जिम्मेवार नभएको कुरा नेपाल अहिलेसम्म साक्षर मुलुक नभएबाट पुष्टि हुन्छ । सत्तासीन दलका नेताहरूको ध्यान जसरी भए पनि दल ठूलो बनाउने, सरकारको नेतृत्व गर्ने, मन्त्री बन्न तँछाडमछाड गर्ने या भागबन्डाको राजनीतिमा अल्झेको कारण प्रजातन्त्र स्थापना भएको तीन दसकभन्दा बढी समय बिते पनि नेपाल साक्षर मुलुक बन्न नसकेको हो । नेपाललाई साक्षर मुलुक घोषणा गर्ने कुरा एक दसकदेखि सरकारले नीति तथा कार्यक्रम ल्याएर बजेट छुट्याएको थियो । यो आर्थिक वर्षमा पनि साक्षर नेपाल बनाउने उद्देश्य राखी नीति तथा कार्यक्रम र बजेट छुट्याएको छ । सरकारी तथ्याङ्कअनुसार नै साक्षर जिल्ला घोषणा गर्नुपर्ने जिल्ला २४ छन् ।
साक्षर नेपाल घोषणा गर्ने र मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याई खानेपानीको व्यवस्था गर्ने सरकारी कार्यक्रम या योजना उस्तैउस्तै बनेको छ । मेलम्चीको खानेपानी उपत्यकामा ल्याउने योजना पनि आजभोलि भन्दाभन्दै तीन दसक बितिसकेको छ । अहिलेसम्म उपत्यकावासीले मेलम्चीको खानेपानी उपभोग गर्न पाएका छैनन् । सुरुङ मार्गमा पठाएको मेलम्चीको पानी पनि सुरुङ मार्गको संरचनाको कमजोरीले गर्दा असफल भयो । साक्षर नेपाल घोषणा पनि हालसम्म पूरा भएको छैन । यसले सरकारहरू गम्भीर नभएको पुष्टि गर्छ ।
नेपालजस्तै अरू सानो देश प्रजातान्त्रिक जनगणतन्त्र कोरिया देशलाई बुद्धिजीवीकरण गर्ने अभियानमा छ र अरू त्यस्तै छिमेकी देशहरू पहिले नै साक्षर देश बनिसकेका छन् । तर, नेपालमात्र पछि प¥यो । आफूलाई ठूला प्रजातन्त्रवादी, जनवादी भनिने दलहरूलाई नेपाल साक्षर मुलुक नभए पनि कुनै चिन्ता छैन । नेपाललाई साक्षर मुलुक बनाउन सरकारले प्रत्येक वर्ष करोडौँ अरबाँै रकम खर्चिरहेको छ । सरकारले साक्षर नेपाल घोषणा गर्ने अभियान चलाएको पनि १२ वर्ष बितिसकेको छ । त्यसो त २०४७ मा प्रजातन्त्र पुनस्र्थापना भएदेखि सत्तारुढ दलले निरक्षरता उन्मूलन गर्ने कुरा उठाउँदै आएका छन् । तर, अहिलेसम्म त्यो माग पूरा भएको छैन । लाखौँ नेपाली अहिले पनि निरक्षर छन् ।
साक्षर मुलुक घोषणा गर्नु मुख्य कुरा होइन । निरक्षरहरूको सङ्ख्या बढाएर या प्रौढ कक्षा सञ्चालन भए पनि नभए पनि काल्पनिक रेकर्ड बनाएर साक्षर वडा, साक्षर गाउँ र साक्षर नगर घोषणा गरेर साक्षर जिल्ला घोषणा गरेको पनि बेलाबखत चर्चामा नआएको होइन । साक्षर घोषित वडा, गाउँ, नगर यथार्थमा आधारित छ वा छैन राम्रो अनुगमन गरिंदैन । हचुवाको भरमा साक्षर वडा, गाउँ र नगर घोषणा गरेर साक्षर जिल्ला घोषणा गरे पनि यथार्थमा स्थानीय बासिन्दाहरू निरक्षर नै रहेका हुन्छन् । कति ठाउँमा साक्षरता अभियानअन्तर्गत प्रौढ कक्षा सञ्चालनका लागि आएको कोटाको रकम बुझेर कक्षा नै सञ्चालन नगरी हाजिरी रेकर्ड पठाएको गुनासो पनि प्रकाशमा आएको थियो । योजना सफल पार्ने नाउँमा साक्षर जिल्ला घोषणा गरेर साक्षर नेपाल घोषणा गर्नुको के अर्थ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *