भर्खरै :

रानीपोखरी पुनःनिर्माण सुरुवात हो, अन्तिम सफलता होइन

काठमाडौँको रानीपोखरीको पुनः निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । ऐतिहासिक मल्लकालीन रानीपोखरी पुनः निर्माणको सफलता सम्पूर्ण नेपालीहरूको लागि खुसीको कुरा हो ।
विकास, समृद्धि र आधुनिकताको नाममा रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर कङ्क्रिटले निर्माण गर्ने, पोखरी वरपर रेस्टुराँ खोल्ने र पोखरीलाई नै पनि पौडी पोखरी बनाउने योजना राज्यकै निकायबाट प्रस्तावित भएको थियो । काठमाडौँ उपत्यकाका मल्लकालीन सम्पदाप्रति अझै पनि पृथ्वीनारायण शाहकालीन चिन्तन बोकेका घुम्ने मेचमा बस्नेहरूबाट यस्तो प्रस्ताव आउनु कुनै आश्चर्यको कुरा थिएन । तर, सम्पदाको जीवन्ततामा नेपाल बाँचेको देख्ने सिर्जनशील दिमाग बोकेका जनताको दबाबमा अन्ततः पोखरी पुनः निर्माण ऐतिहासिक स्वरुपअनुसार नै भएको छ ।
आधुनिकताको नाममा पश्चिमा प्रविधिलाई नै सर्वज्ञानी ठान्ने ‘विद्वान’हरूले रानीपोखरीको पिँधमा ढलान गर्ने उपाय दिएका थिए । तर, मल्लकालीन पोखरी पुनः निर्माणमा सिमेन्ट प्रयोग गरी सम्पदालाई अझ कुरुप र कमसल बनाउने त्यस्ता विचारलाई नेपालकै माटोमा हुर्केका मौलिक प्रविधिका ज्ञाताहरूले चुनौती दिए । सिमेन्ट नामको कुनै वस्तु आविष्कार नै भइनसकेको प्रताप मल्लको पालामा रानीपोखरीमा कसरी पानी अडाइयो भनी खोज अध्ययन गर्ने क्रममा संस्कृतिकर्मी, इतिहासकार र सम्पदाप्रेमीहरूले भक्तपुरतिर औँला देखाए । हो, भक्तपुरको त्यस्तै मल्लकालीन सिद्धपोखरी पुनःनिर्माण रानीपोखरी पुनः निर्माणको निम्ति मार्गदर्शन बन्यो । आधुनिकताको नाममा सिमेन्ट होइन, माटोकै प्रयोगले पनि पानी चुहिने समस्या रोक्न सकिने परम्परागत प्रविधि रानीपोखरीमा पनि सफल भयो । आज सुन्दरीजलबाट रानीपोखरीमा पानी भर्ने काम भइरहेको छ । पोखरीमा पानी भरिने क्रम जारी छ ।

रानीपोखरीको पुनः निर्माणलाई नै अन्तिम सफलता मान्ने गल्ती हुनुहुन्न । रानीपोखरी सुरुवात हुनुपर्छ । एक सय वर्षपछि त्यत्तिबेलाको पुस्ताले रानीपोखरी पुनः निर्माण गर्न खोज्दा फेरि परम्परागत प्रविधिको खोजी गर्नुपर्ने अवस्था आउन दिनुहुन्न । नेपालका शिक्षण संस्थाहरूमा यस्ता विषयको पठनपाठन, प्रयोग, खोज अनुसन्धानका कार्य अघि बढाउन सके सम्पदा पुनः निर्माणमा नेपालमै हुर्केको प्रविधिको प्रयोग संस्थागत हुनेछ । साथै ठूलठूला औजारले होइन, मानिसको हातले बनाएका सम्पदामा मात्र मौलिकताको सुवास छचल्किरहनेछ ।

रानीपोखरी आफ्नो ऐतिहासिक पहिचानसाथ भरिँदै गर्दा नजिकैको धरहराको शिर भने अग्लो भएर पनि निहुरिंदै गएको देखिन्छ । धरहरालाई पनि परम्परागत स्वरुपमा निर्माण गर्नुपर्ने जनताको दबाब लत्याउँदै सरकारले आधुनिकताको नाममा अर्कै शैलीबाट बनाउँदै छ । रानीपोखरीको ऐतिहासिक मौलिक स्वरुपसामु धरहराको ‘आधुनिक’ स्वरुप भद्दा देखिनेछ । धरहरा लाजले निहुरिनेछ ।
हजारौँ वर्षअघि बनाइएका सम्पदाको मौलिक स्वरुप संरक्षण गर्न कम चुनौतीपूर्ण काम होइन । तथापि, प्रविधिमा आज जस्तो ठूलठूला फड्को मारिनसकेको समयमा बनाइएका ती सम्पदा उत्तिबेला कुन ज्ञान र प्रविधिको प्रयोग गरी बनाइए, त्यसको खोज अनुसन्धान हुनु नेपालको गौरवको खोजी पनि हो । हिजोका पुर्खाले गर्न सकेको काम विज्ञान प्रविधिले फड्को मारिसकेको आजको युगमा गर्न नसक्नु आजको पुस्ताकै लज्जाको विषय हो । त्यसकारण अब पुर्खाले बनाएका सम्पदा पुनः निर्माणमा प्रयोग भएका प्रविधि र विज्ञानको अध्ययन गर्न राज्यले प्रतिष्ठान र कलेजहरू स्थापना गर्न जरुरी छ । नेपालका लाखौँको सङ्ख्यामा रहेका सम्पदा पुनः निर्माण र संरक्षणमा त्यही पुराना प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी तिनको परिचयलाई जीवित बनाउन आवश्यक छ । रानीपोखरीको पुनः निर्माणलाई नै अन्तिम सफलता मान्ने गल्ती हुनुहुन्न । रानीपोखरी सुरुवात हुनुपर्छ । एक सय वर्षपछि त्यत्तिबेलाको पुस्ताले रानीपोखरी पुनः निर्माण गर्न खोज्दा फेरि परम्परागत प्रविधिको खोजी गर्नुपर्ने अवस्था आउन दिनुहुन्न । नेपालका शिक्षण संस्थाहरूमा यस्ता विषयको पठनपाठन, प्रयोग, खोज अनुसन्धानका कार्य अघि बढाउन सके सम्पदा पुनः निर्माणमा नेपालमै हुर्केको प्रविधिको प्रयोग संस्थागत हुनेछ । साथै ठूलठूला औजारले होइन, मानिसको हातले बनाएका सम्पदामा मात्र मौलिकताको सुवास छचल्किरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *