भर्खरै :

कोरोनासँग मिलेर लडौँ

कोरोनासँग लड्दाको मेरो अनुभव समाजसँग साट्न चाहन्छु ।
म कोरोना सङ्क्रमित भएको कुरा जनस्वास्थ्य केन्द्र, च्याम्हासिंहबाट रिपोर्ट आउने बित्तिकै मैले स्थानीय केपी दाइ र वडा अध्यक्ष महेन्द्र खायमलीसँग सम्पर्क गरेँ । उहाँहरूकै सल्लाहमा म खरीपाटी क्वारेन्टिनमा गएँ ।
कोरोना लागेको थाहा पाउँदासम्म मेरो शरीरमा कुनै पनि लक्षण थिएन । मलाई लाग्यो, क्वारेन्टिनमा किन बस्नुप¥यो ? म ठीक नै छु, हिँड्न सक्छु, काम गर्नसक्छु, राम्ररी कुरा गर्नसक्छु । ज्वरो आए पनि निको भइसकेको थियो । तर, खरिपाटी पुग्दा थाहा भयो, त्यहाँ मजस्तै धेरै जना सङ्क्रमित थिए । सङ्क्रमित साथीहरूसँग कुरा गर्दै गर्दा मलाई जस्तै सबैलाई एउटै लक्षण देखिएको रहेछ ।
उनीहरूसँग कुरा गर्ने क्रममा मलाई जनस्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रत्नसुन्दर लासिवाले भन्नुभएको कुरा याद आयो । उहाँले मलाई सम्झाउनुभएको थियो– यो रोगलाई हामीले जथाभावी हेलचक्र्याइँ गर्नु हुन्न । सङ्क्रमित व्यक्ति परिवारबाट टाढा बस्नुपर्छ । परिवारको कोही व्यक्ति कमजोर भए उसलाई चाँडै आक्रमण गर्छ । मलाई केही भएको छैन भनी बिनासुरक्षा र सावधानी यताउता जानु ठीक होइन । चिकित्सक र सामाजिक कार्यकर्ताले दिएको सल्लाह मान्नुपर्छ  ।
कोरोनासँग सामना गर्दा मैले निम्न कुरा अनुभव गरेँ –
– ज्वरो आउने ।
– घाँटीमा अड्केको जस्तो गरी दुख्ने ।
– सुख्खा खोकी लाग्ने ।
– शरीरका अङ्गहरू दुख्ने ।
– शरीरमा थकान हुने, केही काम गर्न मन नलाग्ने ।
यी लक्षणहरू मैले पनि अनुभव गरेँ । हामी आफ्नो प्राण या जिउधनको सुरक्षा गर्न हरदम लागिरहेका हुन्छौँ । तथापि, हामीलाई बेलाबेला अनेक रोगले सताइरहेको हुन्छ । त्यस्ता धेरै रोगहरूमध्ये कोभिड–१९ रोगले महामारीको रूप लिएको छ । महामारीबाट हामी सबै त्रसित छौँ । तर, मेरो अनुभवमा यो रोगबाट धेरै त्रसित हुन जरुरी छैन किनकि हामी बुझ्न सक्ने, सिक्न सक्ने, सिकाउन सक्ने प्राणी हौँ । हो, हामीले सामाजिक दुरी कायम गर्नुपर्छ । कहीँ कतै जानुपर्ने भए मास्क लगाउनुपर्छ । बिनाकारण हातले मुख र नाकको वरिपरि छुनु हुँदैन । साबुन पानीले हात धुने गर्नुपर्छ । तातो पानी खाने बानी बसाल्नुपर्छ । कोरोनाबारे कुनै नकारात्मक कुरा नगर्ने सल्लाह व्यवहारमा अपनाउन जरुरी छ ।
हामीमध्ये कति मानिस आफूले बुझेको कुरा बुझ पचाउने गर्छन् । अरूलाई दुःख पर्दा या रोग लागेमा त्यसलाई होच्याउने र रोगीको आत्मबल घटाउने किसिमको व्यवहार गर्नु सही होइन । जसरी हामीले अरू रोगको सामना ग¥यौँ, यसको पनि हामीले सामना गर्ने हो । एक अर्काप्रति माया–ममता र आत्मबल बढाउने व्यवहार गरे र आपसमा बुझ्न र बुझाउन सके यो रोग पनि हामीले सजिलै जित्न सक्नेछौँ । आगामी दिनमा हाम्रो परिवार, समाज र देश नै आफ्नो गन्तव्यतिर लम्कन सक्नेछौँ ।
कोही कोरोना सङ्क्रमित छ भने उसलाई मानसिक तनाव हुने कुनै वातावरण सृजना गर्नुहुन्न । म सबैलाई त्यसो नगर्न अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *