भर्खरै :

हतियारको प्रयोग सधैँ हार नै हुनेछ

कुनै एक देशको लागि परमाणु हतियार देखापरेको खतरालाई कालान्तरमा सबै देशहरूको लागि खतरा मान्नुपर्छ । यिनै खतरनाक हतियारलाई विश्वबाट निषेध गर्ने संयुक्त राष्ट्र सङ्घको लक्ष्य पनि थियो । यो लक्ष्य सन् १९४६ मा बसेको राष्ट्रसङ्घीय महासभाको पहिलो सङ्कल्पको विषय पनि बनेको थियो । तर, विश्वशक्ति राष्ट्रहरूले प्रतिस्पर्धात्मक ढङ्गले परमाणु हतियार तीव्र विकास गरिरहेका छन् । पृथ्वीलाई नै मरुभूमिमा परिणत गर्नसक्ने न्युक्लियर शक्तिहरू अहिले विश्वका धेरै देश छन् । तिनै हतियारको बलमा शक्तिको प्रदर्शन गर्ने अनि एक अर्कालाई चेतावनी दिन धेरै देशहरू र तिनका सरकारहरू तल्लीन देखिन्छन् । अमेरिकी साम्राज्यले प्रजग कोरियालगायत हरेक मुलुकमा आफ्नो अधिकार जमाउन चाहन्छ भने प्रजग कोरिया, चीन, भियतनाम तथा इरानलगायत अन्य परमाणु हतियारसम्पन्न देशहरू पनि आफ्नो सर्वभौमसत्ता रक्षा गर्न आफ्नो क्षमता प्रदर्शन गर्दै छन् ।
विश्वका बालबालिकाहरूले पोषिलो खान नपाइरहेको अनि एकसरो लुगा पनि लाउन नपाउने विश्वका अधिकांश जनसङ्ख्या गरिबीको रेखामुनि छन् । तर, शक्ति राष्ट्र भनाउँदाहरू धेरैभन्दा धेरै पैसा र अध्ययन परमाणु हतियारको विकासमा खर्च गरिरहेका छन् । जुन निकट भविष्यमा हुनसक्ने तेस्रो विश्वयुद्धको तयारी हुनसक्छ । संसारका मुख्य शक्ति राष्ट्रहरूको बोली र व्यवहारमा चिसोपन बढेपछि र नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) भित्रिएपछि फेरि तेस्रो विश्वयुद्धको त्रासदी बढेको छ ।
संरा अमेरिका, चीन, युरोपियन युनियन र तत्कालीन सोभियत सङ्घ (रुस) का स्वार्थहरू एक आपसमा बाझिन थालेपछि पुनः ती परमाणु हतियारको प्रयोग त हुने होइन भन्ने आशङ्का पनि बढेको छ ।
एकातिर अहिलेको समय, विश्वका परमाणु हतियारसम्पन्न राष्ट्रहरूका निम्ति चिन्ताको विषय पनि हो । किनभने, जुनसुकै बेलामा यी परमाणु हतियार विश्वका विभिन्न मुलुकमा सक्रिय आतङ्कवादी सङ्गठनको हातमा पर्नसक्छ । यदि आतङ्कवादको हातमा उक्त हतियार परेको खण्डमा विश्व झन् असुरक्षित हुने निश्चित छ । अमेरिकी साम्राज्यवादले दोस्रो विश्वयुद्धको अन्तमा अर्थात् सन् १९४५ को अगस्त ६ मा जापानको हिरोसिमा र अगस्त ९ मा नागासाकीमा आणविक हतियार प्रहार गर्दा अझै पनि कुनै रुख या बिरुवा उम्रन सकेको छैन भन्दा हामीलाई अचम्म लाग्ला । परमाणु शक्तिको दुरुपयोगले मानव समुदायलाई कसरी ध्वस्त पार्न सक्छ भन्ने उदाहरणको रूपमा हामी यसलाई लिनसक्छौँ । मुख्य कुरा त विश्वका थुप्रै मुलुकमा तयारी अवस्थामा रहेका यस्ता हतियारले विश्वलाई कसरी शान्तिसुरक्षा दिन सक्छ भन्ने हो, सोच्नुपर्ने बेला आएको छ । संरा अमेरिकी साम्राज्यवादले त परमाणु हतियारकै आडमा अरू कमजोर राष्ट्रलाई थिचोमिचो नै गरिरहेको छ । युद्धको धम्की दिँदै अन्य देशको स्वतन्त्रता र सार्वभौमिकतामाथि हस्तक्षेप गरिरहेको छ । अमेरिकी साम्राज्यको स्थिति हेर्दा पुनः तेस्रो विश्वयुद्धको नजिक नै पुगेको महसुस गर्नसकिन्छ । संरा अमेरिकाले पहिलो र दोस्रो विश्वयुद्ध युरोपेली मुलुकहरूबाट सुरुआत गरेको हुनाले अबको तेस्रो विश्वयुद्ध एसियाबाट गर्न चाहेको देखिन्छ । त्यसकारण, भारतलाई समर्थन गरेर चीनलाई घेर्ने उद्देश्यसहित अमेरिकी गतिविधि बढाउन एमसीसी परियोजना नेपालमा भिœयाइएको हुनसक्ने आमजनताको मत रहेको छ । तर, हामी युद्ध होइन शान्ति चाहन्छौँ । यदि तेस्रो विश्वयुद्ध भयो भने पृथ्वीमा मानव जातिको अस्तित्व नै सङ्कटमा पर्नेछ । किनकि, कुनै एक देशले अर्काे देशमा परमाणु बम हानेमा अर्काे देशले पनि त्यो देशलाई परमाणु बम हान्ने निश्चित छ । सन् २०१९ मा अमेरिकी साम्राज्यवादद्वारा इराकमा इरानी सेना प्रमुखको हत्या हुँदा त्यसको प्रतिकार गर्दै इरानद्वारा इराकमा रहेको अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण भएको थियो । यस्ता अनेक उदाहरण छन् । अहिले नेपालमा सम्झौता गराउन लगिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) ले पनि नेपाली जनतामा थप शङ्का उब्जाएको छ । कतै तेस्रो विश्वयुद्ध एसिया महाद्वीपबाट सुरुआत गराई अमेरिकाले त्यसको फाइदा उठाउन खोजेको त होइन ? विश्वका सचेत जनतालाई थाहा छ, साम्राज्यवादी अमेरिका संसारमा युद्ध थोपेर हतियारको व्यापार गर्ने आतङ्ककारी देश हो । यसतर्फ ओली सरकार सजग हुनुपर्छ । तर, एमसीसीअन्तर्गत पाउने ५५ अर्बमा ओली सरकार ¥याल चुहाउँदै छ । नेपाल सार्वभौमसत्ता सम्पन्न तथा गौतम बुद्ध जन्मेको देश नेपालमा अमेरिकी सैन्य अखडा हुनुहुँदैन र मातृभूमि नेपालमा विदेशी सेनाको बुट बजार्न दिनुहुँदैन भन्ने बहुमत जनताको मागलाई ओली सरकारले पूर्ण बेवास्ता गरेको देखिन्छ ।
संयुक्त राष्ट्र सङ्घको परमाणु हतियार निर्मूल पार्ने लक्ष्यलाई पनि संरा अमेरिकाले अटेर गर्दै अमेरिकाले नै संयुक्त राष्ट्र सङ्घलाई चलाइरहेको देखिन्छ । अमेरिका युद्धको व्यापारी भएको छ ।
युद्धको व्यापार गर्ने सिलसिलामा एमसीसी पनि नेपाली जनताको लागि परमाणु बमजत्तिकै खतरा हुनसक्छ । चीन सरकारको सहयोगले नेपालमा भइरहेको विकासलाई अवरोध गर्ने अमेरिकी सरकारको लक्ष्य रहेको देखिन्छ । जहाँ जहाँ संरा अमेरिकाको सक्रिय उपस्थिति रहेको छ त्यहाँ त्यहाँ गृहयुद्ध अथवा अशान्ति भइरहेकै देख्छौँ । परमाणु हतियारकै बलमा अमेरिकी साम्राज्यवादले धेरै देशहरूमा वर्षाैँदेखि नाकाबन्दी गर्दै आएको छ । यस सन्दर्भमा संयुक्त राष्ट्र सङ्घको प्रभावकारितामा पनि प्रश्नचिह्न खडा हुन्छ । अमेरिकाले भनेबमोजिम नमान्ने देशहरू जतिलाई राष्ट्र सङ्घले पनि नाकाबन्दी स्वीकृत गर्नु यो जायज र न्यायसङ्गत हुनसक्दैन । के संरा सङ्घ साम्राज्यवादी अमेरिकाकै इसारामा चलेको छ ? यस कार्यले राष्ट्र सङ्घको परमाणु हतियार निर्मूल पार्ने लक्ष्य सफल पनि हुनसक्दैन । तर, हरेक परमाणु शक्ति राष्ट्रहरूले आत्मसमीक्षा गर्दै परमाणु हतियारलाई निस्तेज पार्न सकेको खण्डमा सिङ्गो विश्व नै शान्तिले छाउने दिशातर्फ उन्मुख हुनसक्छ । यही संवेदनशील र सोचनीय विषयलाई केन्द्रित गरेर संयुक्त राष्ट्र सङ्घले पनि प्रत्येक वर्षको सेप्टेम्बर २६ का दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाउने गर्दछ । तर, उक्त दिवस दिवसमै सीमित छ ।
व्यवहारमा लागु गर्नसकेको छैन । हतियारको सहायताले कुनै पनि युद्ध जितिँदैन, यसको प्रयोगले सधैँ हार नै हुनेछ । भियतनाम युद्धमा इतिहासमै पहिलोपटक अमेरिकी साम्राज्यवादको हार र नेपालमै दसवर्षे ‘जनयुद्ध’ ले सिकाएको पाठ पनि हो । अन्तमा, विश्वका शक्ति राष्ट्रहरूले गौतम बुद्धको पञ्चशीलमा टेकेर मानवताको लागि भए पनि परमाणु हतियार त्याग्नु उत्तम विकल्प हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *