भर्खरै :

राजनीतिक कार्यकर्ताले अध्ययन गर्नैपर्ने ‘लामो हिँडाइमा अध्यक्ष माओसँग’

चीनले मुक्तियुद्ध जितेको ७१ वर्ष नाघ्यो । जापानी उपनिवेशवाद, अमेरिकी साम्राज्यवाद र देशभित्रकै च्याङकाइ सेकजस्ता प्रतिक्रियावादीहरूसँगको लडाइँमा चिनियाँ जनताले अत्यन्त बहादूरीपूर्वक लडेको थुप्रै दशक बित्यो । हरेक वर्षको अक्टोबर १ को दिन चिनियाँ जनता जनगणतन्त्र चीनको मुक्ति दिवसका रूपमा हर्ष उल्लासका साथ मनाउँछन् । ऐतिहासिक लडाइँ र युद्धका पन्नाहरू पल्टाउँछन् । देशको मुक्ति या जनताको स्वतन्त्रताका निम्ति बलिदान दिएका अग्रजहरूप्रति श्रद्धासुमन अर्पण गर्छन् । हो, २१ औँ शताब्दीमा अझ शानदाररूपमा उभिएको चीन केही दशकको मेहनतको उपज होइन बरु थुप्रै–थुप्रै सङ्‍घर्षका शृङ्खलाहरू, लडाइँका सिलसिलाहरूमा विजयी चिनियाँ जनताले निर्माण गरेको स्वतन्त्र र सार्वभौम देश हो, चीन । विभिन्न युगहरू छिचोल्दै आज चीन समाजवादी युग निर्माणका निमित्त लड्दै छ ।
आजको चीन अध्यक्ष माओ त्से तुङको विचारले दीक्षित छ । अध्यक्ष माओले चीन र विश्वमा मानव मुक्तिका निम्ति देख्नुभएको सपनामा आजको चीन बाँच्दै छ । चीनको मुक्ति र स्वतन्त्रताका निम्ति अध्यक्ष माओले निर्वाह गर्नुभएको भूमिका र नेतृत्व बेजोडको थियो । अध्यक्ष माओको जीवन, व्यक्तित्व र सङ्‍घर्षका पृष्ठहरूमा चीनको इतिहास भेटिन्छ अर्थात् चीनको इतिहासमा अध्यक्ष माओको नाम स्वर्ण अक्षरले लेखिएको छ । माक्र्सवाद र लेनिनवादलाई चिनियाँ माटोमा रोपेर चीन र चिनियाँ जनताको मुक्तिकथा लेख्ने अध्यक्ष माओले तत्कालीन समयमा देश र जनताका निम्ति थालेका आन्दोलन र अभियानहरूले युगान्तकारी भूमिका खेल्यो । सङ्‍घर्षका थुप्रै आयामहरूमध्ये अध्यक्ष माओको नेतृत्वमा भएको ‘लामो हिँडाइ’ लाई एक विश्व हल्लाउने घटनाका रूपमा लिइन्छ । ‘लामो हिँडाइ’ को समयमा बटुलेका अमूल्य अनुभव र सिकाइका पृष्ठ आज पनि पल्टाइन्छन् । अध्यक्ष माओसँगै रहेर काम गरेका उहाँका सहयोगी र अङ्गरक्षकहरूको आत्मसंस्मरणमा अध्यक्ष माओको आकृति स्पष्ट भेटिन्छ । त्यस्ता पठनीय संस्मरणहरूमध्ये का. चेन चाङ फेङको ‘लामो हिँडाइमा अध्यक्ष माओसँग’ एक हो ।
‘लामो हिँडाइ’ जापानी उपनिवेशवादी शक्तिविरुद्धको जुझारु प्रतिरोध त थियो नै साथै च्याङकाइसेक जस्ता प्रतिक्रियावादीहरूको घेराबन्दी र हमलाविरुद्ध जनताको सङ्‍घर्ष पनि थियो । सन् १९३४ अक्टोबर ६ देखि सन् १९३६ अक्टोबरसम्म दक्षिणी आधार फुकियाङ (ँगपष्भल) र कियाङसी (प्ष्बलनकष्) देखि उत्तरी शेन्सी (क्भलकष्) सम्म २५ हजार अर्थात् १२ हजार ५ सय किलोमिटर लामो त्यो हिँडाइमा चिनियाँ लालसेनाले लड्दालड्दै एघार प्रान्तहरू पार गरेका थिए । लामो हिँडाइका दौरान अग्ला पहाडदेखि फराकिला नदीहरू, हिउँका पहाड, डरलाग्दा जङ्गललगायत थुप्रै कठिन मोडहरू छिचोले । कति लालसेना बाटोमै देशको मुक्तिका निम्ति बलिदान भए । सन् १९३१ मा जापानी उपनिवेशवादीहरूले चीनको उत्तरपूर्वी क्षेत्रमा कब्जा गरे । सन् १९३३ अक्टोबरमा च्याङकाइसेकको हजारौँ सैन्य दलले क्रान्तिकारी आधारक्षेत्रहरूमा हमला गर्ने अभियान थाल्यो । त्यसपछि लालसेना र नागरिक सेना गरी ३ लाख सेना क्रान्तिकारी लडाइँका निम्ति तयार भए । क्रान्तिकारी विचारसहित कृषि र आर्थिक क्षेत्रमा भइरहेको सुधार र जनताको जीवनस्तर उकास्ने सङ्‍घर्षसँगै लामो हिँडाइ जोडियो । पहिलो मोर्चाका सेनामाथि शत्रुको हमला भएपछि अध्यक्ष माओको निर्देशनमा शत्रुमाथि जाइलागेका लालसेनाले उत्तरी क्वाइचाउ (प्धभष् अजयध) को ठूलो सहर सुनइ (त्कगलथष्) कब्जा गरे । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय राजनीतिक ब्यूरोको सुनइ सम्मेलनले चिनियाँ क्रान्तिको महत्वपूर्ण इतिहास उजागर गर्छ । जसले लामो हिँडाइलाई सफलताको शिखरमा पुर्‍यायो । तत्कालीन समयमा अध्यक्ष माओले लिनुभएको पार्टीभित्रको सङ्‍घर्षको नीति, बोक्नुभएको स्पष्ट कम्युनिस्ट विचारले नै चिनियाँ क्रान्ति सफल भएको हो । पार्टी स्थापनादेखि क्रान्तिकारी विचार अर्थात् माक्र्सवादी–लेनिनवादी विचारको लाइनमा अध्यक्ष माओले अडान नलिनुभएको भए, पार्टीभित्र कार्यकर्तालाई क्रान्तिकारी आचरण र संस्कार नसिकाउनुभएको भए सङ्‍घर्ष सफलतामा टुङ्गिने थिएन । आजको नयाँ चीनको दूरदृष्टि त धेरै परको कुरा थियो । त्यसकारण, अध्यक्ष माओ नयाँ युगको नयाँ चीनका निर्माताका रूपमा पुजिइनुहुन्छ । उहाँले लामो हिँडाइका विषयमा लेख्नुभएको छ –“लामो हिँडाइको औचित्य के हो भनेर सोध्ने जो–कोहीलाई भनिदिनू कि लामो हिँडाइ एउटा घोषणापत्र जस्तै हो । यसले लालसेनालाई देशभक्त नायकहरूको सेनाको रूपमा परिचित गरायो । साम्राज्यवाद र त्यसका पिछलग्गू च्याङकाइसेक र प्रतिक्रियावादीहरूले चीनमा उपद्रोह मच्चाइरहँदा चीन र चिनियाँ जनताको रक्षार्थ लालसेना छन् भनी विश्वलाई देखायो । ती साम्राज्यवादी र प्रतिक्रियावादीहरू हरेक जनविरोधी हमलाहरूमा लालसेनाबाट कसरी पराजित बनाइए विश्वले देखे । त्यसकारण, लामो हिँडाइ मुक्तिका निम्ति प्रचार आन्दोलन पनि हो । मुक्तिको बाटोमा हिँडेका करोडौँ करोड लालसेनाको शक्ति चिनियाँ जनताको शक्ति हो । लामो हिँडाइ देशभर न्यायको बिउ छर्ने अभियान पनि हो । करिब ११ वटा प्रान्तहरूमा क्रान्तिको बिउ छर्न सफल भयो । भविष्यमा फसल काट्न मिल्ने बाली लामो हिँडाइका क्रममा लगाइयो । त्यो बिउ पूmल बनेर फुल्नेछ, फल बनेर पाक्नेछ । लामो हिँडाइ शत्रुको हार र सत्यको विजयमा टुङ्गिन्छ ।”
अध्यक्ष माओ र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको ‘लामो हिँडाइ’ अत्यन्त कठिनतम र चुनौतीपूर्ण सङ्‍घर्षको नाम हो । यात्रामा तेर्सिएका विविध खतरापूर्ण परिस्थितिहरूको सामना गर्दै न्यायपूर्ण गन्तव्यमा, विजयको चौतारीमा टुङ्गिएको यात्राको नाम हो, लामो हिँडाइ । त्यही लामो हिँडाइमा माओसँगै रहेका चेन चाङ फेङले ६ वर्ष माओको सहयोगी (यचमभचथि) र अङ्गरक्षक रहँदा बटुलेका अनुभवलाई पुस्ताकाकार दिए । पुस्तकमा चिनियाँ क्रान्तिको एउटा अविछिन्न अध्यायको मार्मिक प्रस्तुती छ । अध्यक्ष माओको व्यक्तित्व चित्रण छ । उहाँको नेतृत्व कौशल, कार्यशैली, अध्ययन र व्यवहारबारे अत्यन्त मन छुने घटनाक्रमहरू सङ्ग्रहित छन् । अध्यक्ष माओको क्रान्तिकारी दृष्टिकोण र सादा जीवनको बडो सुन्दर तस्वीर पुस्तकमा छ । यस पुस्तकमा अध्यक्ष माओसँग रहँदा र माओको सम्झनामा लेखिएका परिच्छेदहरू सङ्ग्रहित छन् । लामो हिँडाइ र त्यसको पृष्ठभूमिसमेत बताउने यस पुस्तक अत्यन्त मार्मिक र पठनीय छ । लामो हिँडाइ र अध्यक्ष माओलाई एक सहयोगी र अङ्गरक्षकको आँखाबाट पाठकले पढ्न पाउँछन् ।
पुस्तकमा लेखकको बाल्यकालदेखिको सन्दर्भ छ । गरिब, किसान परिवारमा जन्मिएका उनी जमिनदारको घरमा गोठाले भई काम गर्छन् । पढाइ त टाढाको कुरा, साँझ बिहान पेट भर्न असाध्यै दुःख गर्नुपथ्र्यो । उनको परिवार र बाल्यकालले क्रान्ति अगाडि चिनियाँ किसान परिवार र बालबालिकाको प्रतिनिधि शब्ददृश्य प्रस्तुत गर्दछ । अभाव, गरिबी र शोषणको थिलथिलो भोगेका चाङ फेङले सानैदेखि क्रान्तिकारी लालसेना बन्ने उद्देश्य बोकेका थिए । उनको गाउँ निङतु (ल्ष्लनतग) मा एक पटक लालसेनाले सामन्त र जमिनदारसँग लडेर किसानलाई जग्गा बाँडेपछि उनको मानसपटलमा त्यो छाप बसेकोे थियो ।
चाङ फेङ अध्यक्ष माओको सहयोगीमा नियुक्त गरिइँदा उनी जम्मा १६ वर्षका थिए । पहिलो पटक अध्यक्ष माओलाई देख्दा उनी चकित हुन्छन् । अत्यन्त सादा जीवन, साधारण मान्छेको जीवन जस्तो । सबैले लाउने खरानी रङ्गको लुगा, सानो कक्षमा काठको खाट, तकियासमेत थिएन, एक अफिस जहाँ अध्यक्ष माओ राती अबेरसम्म किताब, नक्सा असरल्ल छरेर काम गरिरहनुहुन्थ्यो । उहाँ अध्ययन, लेखन र काममा लिन भइरहनुहुन्थ्यो । उहाँ चाङ फेङलाई पढ्न उत्साहित गरिरहनुहुन्थ्यो, फुर्सदको समयमा नयाँ सिक्न हौस्याइरहनुहुन्थ्यो । कसैले खानेकुरा फाल्दा त्यसो नगर्न सुझाउनुहुन्थ्यो –“यति लामो सङ्‍घर्ष भातको सानो–सानो सिताको लागि त हो । गरिबीले एक गाँस भात देख्न नपाएका जनताका लागि ।”
चाङ फेङलाई अध्यक्ष माओको आत्मीय व्यवहार र न्यानो ओतले खुसी दिन्थ्यो । उनी अध्यक्ष माओको मुहारमा एक महान् नेता त देख्छन् नै साथै एक असल पिता, गुरु र मार्गदर्शक पनि पाउँछन् । ६ वर्षमा उनी एक पटक जन्मस्थान जाने सोच्छन् । घरमा चिठ्ठी पठाउन नजानेर उनलाई अध्यक्ष माओले सिकाइरहेको दृश्य मन छुने खालको छ । गाउँ एक सोभियतमा परिणत भइसकेको हुन्छ । चाङ फेङले भोगेको दुःख र शोषण आफू जन्मेको गाउँमा नदेखेपछि उनी दङ्ग हुन्छन् ।
लामो हिँडाइ फुकिइन ९ँगपष्भल० हुँदै कियाङ्सीतर्फ अघि बढ्छ । बाटोमा शत्रुहरूबाट घेराबन्दी र अन्धाधुन्द बम बर्सा हुन्छ । अध्यक्ष माओ त्यो रात निदाउन सक्नुहुन्न । उपाध्यक्ष चाउ एनलाइ लगायतका नेताहरूलाई खबर र चिठी लेखनमा व्यस्त हुनुभएको थियो । अबको मार्गचित्रबारे विस्तृत जानकारी बताउनुभएको थियो, सायद । चाङ फेङले त्यसलाई सही ठाउँमा छोड्ने काम गरे । यात्रामा अध्यक्ष माओसँग एक झोला पुस्तक र नक्सा, दुईवटा ब्ल्याङ्केट, एक जोडा कपडा, एउटा ओभरकोट र च्यातिएको छाता हुन्थ्यो । त्यति बोकेर उहाँ भन्नुहुन्थ्यो “हामी अग्रमोर्चामा लड्न जाँदै छौँ ।”
अध्यक्ष माओ युतु (थ्गतग) का कामरेडहरूको हालखबर बुझ्दै मियाओ क्षेत्रभित्र लाग्नुभयो । दिन–दिनभर खाली पेटमा हिँड्दै लड्दै गर्दा पनि अध्यक्ष माओ थाक्नु हुन्नथ्यो । थकानको समयमा बेगसहित बग्दै गरेको नदी पार गर्नुपर्ने चुनौती आइलाग्थ्यो, अत्यन्त साहसपूर्वक तर्नुपर्ने नदीहरू । यात्रामा देशका फरकफरक भूगोलका फरक जाति, जनजातिका चिनियाँ जनतासँग साक्षात्कार भइन्छ । चाङफेङले अड्कल नगरेको ठाउँमा पनि चिनियाँ कम्युनिस्ट पार्टीका इमानदार कार्यकर्ता र शुभेच्छुकहरूसँग भेट हुन्छ । मियाओ क्षेत्रको एउटा गाउँमा बास बस्दा त्यहाँ पोखरीमा माछा पालेको देखेर चाङफेङ मोहित हुन्छन् र माछा मार्नतिर लाग्छन् । त्यसको तुरुन्तै पछि अध्यक्ष माओले उनलाई सम्झाउनुहुन्छ –“हामीले पैसा नै तिर्न परेपनि जनताको सम्पत्ति छुने अधिकार छैन । यही हाम्रो अनुशासन हो ।”
अध्यक्ष माओ जहाँ बास बस्नुहुन्थ्यो त्यहाँ पार्टी कार्यकर्ताहरू अलग–अलग भेषमा भेट्न आउँथे । मियाओका गुरिल्लाहरू भेट्न आउँदा चाङफेङ शत्रु हुन् कि भनी सशङ्कित भएको घटना पुस्तकमा छ । यात्रा हुआङपिङ काउन्टी, क्वेइचाउ प्रान्त हुँदै अगाडि बढ्छ । नयाँ वर्षको समय थियो । उत्सव मनाउने, मिठो खानेभन्दा पनि शत्रुको चङ्गुलबाट उम्कन उ (धग) नदी पार गर्ने चुनौती थियो । सुनौलो बालुवासहितको नदी किनारको संस्मरण रोचक छ । अध्यक्ष माओले यात्रा रोकिने समय सबैभन्दा पहिले आप्mनो लागि काम गर्ने ठाउँको बन्दोवस्त गर, खाना र आराम दोस्रो प्राथमिकतामा राख्नुपर्छ भन्नुभएको थियो । त्यो नदी किनारमा तीन दिनसम्म, ३० हजार लालसेनाको समूहले त्यो ठाउँ पार गरी हिँडिसक्दा पनि उहाँले आफूले काम गर्ने डेस्क नछोड्नुभएको घटना सम्झन्छन् चाङफेङ ।
अनसुनचाङ (ब्लकजगलअजबलन) बाट ताटु नदीको लुटिङ पुलमा हिँड्दाको दृश्यचित्र पुस्तकमा छ । पहाडको उकालो हिँडाइ अत्यन्त सकसपूर्ण थियो । गन्तव्य नपुग्दै पहाडको टाकुरामा सुसाएर आफूले बोकेको सुख्खा खाजा खाँदै त्यही छेऊमा बगेको पानी पिउँदै थप चढ्ने ऊर्जा बटुल्दाको अनुभव छ, पुस्तकमा । टाउकोले तातो ढुङ्गा या चट्टान भेट्नासाथ निदाउन सक्ने थकानको वयान छ । हरेक बसाइमा, उकाली–ओरालीमा अध्यक्ष माओले तिनलाई दिनुभएको नयाँ – नयाँ शिक्षा छ ।
सिउतसेती (क्जगष्तकभतष्) को बाटोमा अध्यक्ष माओमाथि शत्रुले बमबारी गरी हमला गर्दा चाङफेङका साथी हु चाङ पाओ गम्भीर घाइते हुन्छन् । त्यो समय अध्यक्ष माओको धैर्य र संयमको व्यवहार र निरन्तरको हौसलाको चर्चा छ । हु चाङले अन्तिम घडीमा भनेका थिए –“मलाई मृत्युदेखि डर छैन । मैले अध्यक्ष माओसँगै उहाँलाई सुरक्षा दिँदै उत्तरको सेन्सी पुग्न सकिनँ, यही अफसोस छ ।” कार्यकर्ताहरूलाई उच्च समर्पणभाव दिई हुर्काइएको एउटा घतलाग्दो दृश्य यो पनि हो ।
बाक्लो हिउँको सिरक ओढेका पहाडहरू चढ्ने यात्रा कठिनमात्र होइन मुटु कमाउने खालको थियो । हिमालका टाकुराहरू छिचोल्दै हरिया घाँसेमैदान टेक्ने यात्रा गर्नु असम्भव जस्तै थियो । हिउँका पहाडहरूमा आकाश खसेजस्तो आँधी, हिउँ वर्षासँग सामना, अर्को लडाइँ थियो । टाकुरा नजिक पुग्दा हावा, अक्सिजनको अभावले सास बन्द हुने स्थितिमा दह्रो उभिएर पाइला चाल्दै गर्नुभएका अध्यक्ष माओको सालिन तस्वीर छ, पुस्तकमा । चाङफेङलाई त्यो हिमपहाड चढ्न निकै गार्‍हो भएको थियो । उनी अचेत भएका थिए । बिउँझदा माओको लामो कोट ओढाइएको थियो । सयौँ माइलको यात्रामा अनकन्टार गाउँको बास सामान्य जस्तै थियो । अध्यक्ष माओ मट्टितेल र टुकीमा पनि अध्ययन र लेखन, यात्राको मार्गचित्र कोर्न छुटाउनुहुन्नथ्यो ।
लगातारको वर्षामा निथ्रुक्क भिजेरै भएनि हिँडेको सम्झनाका डोबहरू सङ्ग्रहित छन् । चाङफेङलाई मलेरिया हुँदा, शरीरमा अप्ठ्यारो हुँदा अध्यक्ष माओसँग लुकाउन नसकेका घटना र उहाँको मायालु र स्नेही व्यवहारको मन खोलेर बयान पुस्तकमा गरिएको छ । कहिलेकाहीँ चेङलाई लाग्थ्यो– “म उहाँको सहजताका निम्ति छु या आप्ठ्यारोका निम्ति ।”
लामो हिँडाइ तिब्बती क्षेत्र पुग्दा (कान्सुको हुइ क्षेत्र) पकाउन पिठो, चामल थिएन मकै मात्र थियो । चाङफेङले एउटा खसी ढाले, अरू पकाएनन् । अध्यक्ष माओले तिनलाई परिवेशअनुसार आचरण, खानपिन र लवाइखवाइ सिक्नुपर्ने नत्र भोकै परिने शिक्षा दिनुभएको स्मरण छ ।
सन् १९३६ बसन्ततिर चाङफेङलाई लालसेना ऐकेडेमीमा पढ्नका निम्ति पठाउने निधो अध्यक्ष माओले गर्नुभयो । जान अन्कनाइरहेका उनलाई माओले भन्नुभयो – “पढ्नुलेख्नु भनेको अफिसर मात्र बन्नलाई होइन । योभन्दा सक्षम र सबल बने देश र जनताका निम्ति अझ योगदान गर्न सक्नेछौ ।”  लालसेना एकेडेमीको पढाइपछि उनी उत्तरपश्चिम सुरक्षा ब्यूरोमा खटाइन्छन्, सानो बटालिएन कमान्डर बन्छन् । त्योबीचमा अध्यक्ष माओसँगको मिठो र अमूल्य भेटलाई असाध्यै सुन्दर प्रस्तुती दिइएको छ ।
चाङफेङका लागि पार्टीको निर्देशन नै सबैभन्दा माथि थियो । पार्टीले सान तुङ जस्तो निकै टाढा पठाउने निर्णय गर्दा चाङफेङले सहर्ष स्वीकारे र अध्यक्ष माओसँग बिदा लिन गए । अध्यक्ष माओले उनको नोटबुकमा लेख्नुभएका अक्षरहरू पुस्तकमा महत्वका साथ छापिएको छ । “कामरेड चाङफेङ, मेहनतसाथ काम गर । पार्टी र जनताप्रति इमानदार बन । हरेक पाइलामा सफलताको शुभकामना !” अध्यक्ष माओको यो भनाइ चाङफेङको जीवनदर्शन बन्यो ।
यसरी अध्यक्ष माओका सच्चा कार्यकर्ता चाङफेङहरू अर्थात् चाङफेङजस्ता करोडौँ–करोड कामरेडहरूको समर्पण, पार्टी र क्रान्तिप्रतिको इमानदारीले चिनियाँ क्रान्ति सफल भयो । चीनमा जनगणतन्त्र स्थापना सम्भव भयो । बाहिरी र भित्री शत्रु परास्त भए र मुक्ति प्राप्त भयो ।
आजको चीनमा मनाइने मुक्ति दिवसहरूमा अध्यक्ष माओ र चाङफेङहरूको योगदान जीवित र जवान रहेको आभास मिल्छ । लामो हिँडाइ र सङ्‍घर्षका थुप्रै–थुप्रै ऐतिहासिक अध्यायहरूको जुझारु धुन बजेको सुनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *