भर्खरै :

समाजवादी चीनको स्थापनाले बदलेको विश्व राजनीति

जनवादी गणतन्त्र चीन स्थापना भएको ७१ वर्ष पूरा भई ७२ वर्षमा प्रवेश (नेपाली पात्रोअनुसार गत असोज १५ गते) भयो । नयाँ चीन अर्थात् समाजवादी चीनको जन्म सन् १९४९ अक्टोबर १ मा भएको थियो । अक्टोबर १ चिनियाँ कामदार जनताले स्वतन्त्रता र मुक्तिको सास फेरेको दिन हो । चीनको हजारौँ वर्ष लामो इतिहासमा विश्व हल्लिने गरी युगान्तकारी परिवर्तन प्रारम्भ भएको दिन हो, अक्टोबर १ । विश्वका समाजवादका पक्षधरहरू, न्यायप्रेमी तथा शान्तिकामी जनताले चीन र चिनियाँ जनतालाई बधाई तथा शुभकामना दिँदै छन् । चीनसँगै जोडिएको देश नेपाल र चीनको न्यानो सहयोग, आत्मीय सम्बन्ध तथा साथ पाएका नेपाली जनताले पनि यो सुखद उपलक्ष्यमा चीन र चिनियाँ जनतालाई शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गर्नु असल मित्रताको परिचय पनि हो । एक असल छिमेकीको नाताले युगान्तकारी परिवर्तन अमर रहोस् भन्ने कामना गर्नु निश्चय पनि गौरवको विषय हो ।
चिनियाँ जनतामा शुभकामना
नेपाल र चीनबीच इतिहासजतिकै पुरानो सम्बन्ध रहँदै आएको छ । बुद्ध दर्शनले नेपाली र चिनियाँ जनताबीचको सम्बन्धलाई थप नजिक ल्यायो । विश्वको सबैभन्दो अग्लो हिमालले जोडिएका संसारकै दुईमात्र देश हुन्, नेपाल र चीन । एक असल छिमेकी, भरपर्दो मित्र र सङ्कटको सहयोगी देशको स्वतन्त्रता तथा मुक्तिको दिन नेपाली जनता स्वयम्का निम्ति पनि खुसी एवम् गौरवको दिन हुनु अस्वाभाविक होइन । तसर्थ, समाजवादी झन्डा फर्फराउने चीन, कामदार जनताको शासनसत्ता स्थापना गर्ने चिनियाँ जनता र त्यसको सफलतापूर्वक नेतृत्व गर्ने चिनियाँ कम्युनिस्ट पार्टीलाई नेपाली प्रगतिशील, स्वतन्त्रताप्रेमी, वामपन्थी तथा समाजवादका सच्चा पक्षधरहरूको तर्फबाट बधाई एवम् शुभकामना !
सात दशकमा चीनले हासिल गरेका सफलता तथा उपलब्धि विश्वकै निम्ति प्रेरणादायी तथा उदाहरणीय रह्यो । आगामी दिनमा अझै दु्रत गतिमा प्रगति होस् ! समतामूलक समाज निर्माण गर्ने महान् मानवीय कार्यमा सफलता मिलोस् ! साम्राज्यवादीहरूका हरेक हमलालाई परास्त गर्दै समाजवादको अन्तिम विजय हासिल गर्न सकोस्, यो शुभ घडीमा नेपाली कामदार वर्गको तर्फबाट हार्दिक शुभकामना !
अध्यक्ष माओ त्से तुङको बेजोड योगदान
चिनियाँ जनतालाई रुसी अक्टोबर समाजवादी क्रान्तिले बिउँझायो । सामन्तवादको अँध्यारोमा हराइरहेको चीनले माक्र्सवादजस्तो आधुनिक वैज्ञानिक विचार प्राप्त गर्‍यो । असाध्यै पिछडिएको समाज मौलिकरूपमै परिवर्तन गर्न माक्र्सवाद शक्तिशाली हतियार साबित भयो । चिनियाँ धर्तीमा माक्र्सवादलाई व्यावहारिक ढङ्गमा लागु गर्दै क्रान्ति हुर्काउने र नेतृत्व गर्ने ऐतिहासिक अभिभारा चिनियाँ जनताका महान् नेता तथा विश्व सर्वहारावर्गका एक गुरु का. माओ त्से तुङले सफलतापूर्वक वहन गर्नुभयो । पश्चिमा साम्राज्यवादी र जापानी उपनिवेशवादीलाई परास्त गर्न अध्यक्ष का. माओको नेतृत्व कौशल, रणकौशल, दूरदर्शीता तथा सैद्धान्तिक परिपक्वताले अहम् भूमिका निर्वाह गरेको निर्विवाद छ । प्रतिक्रियावादी शक्तिमात्र होइन प्रतिक्रान्तिकारी तथा चीनविरोधी विदेशी शक्तिविरुद्धको लडाइँ अध्यक्ष माओको अद्भूत नेतृत्व क्षमता तथा क्रान्तिकारी दृष्टिकोणको अभावमा असम्भवप्रायः थियो भन्नु गलत हुने छैन । उहाँले निर्माण गर्नुभएको फलामे जनएकता र लडाकु सङ्गठन क्रान्तिको सफलताको उल्लेखनीय कारण हो । चिनियाँ समाजको परिस्थितिअनुसार माक्र्सवाद लागु गर्ने अध्यक्ष माओको बुद्धिमत्तापूर्ण निर्णय तथा व्यावहारिक नीति चिनियाँ क्रान्तिका निम्ति गुरुमन्त्र सिद्ध भयो । चिनियाँ जनताले समयमै माओ त्से तुङ विचारधार जस्तो चिनियाँ हावापानी र माटो सुहाउँदो क्रान्तिकारी विचार या वैचारिक हतियार प्राप्त गरे जसको आधारमा मुक्तियुद्धमा जनताले विजय प्राप्त गरे । अध्यक्ष माओको त्यो अभूतपूर्व योगदान इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
अध्यक्ष माओ र सैद्धान्तिक सङ्‍घर्ष
विश्व कम्युनिस्ट आन्दोलनको रक्षाका निम्ति समेत अध्यक्ष माओले ठूला–ठूला वैचारिक सङ्‍घर्षको नेतृत्व गर्नुभयो । संशोधनवादी विचारविरुद्ध उहाँले लिनुभएको अडान कति सही थियो इतिहासले मूल्याङ्कन गरिसकेको छ । विश्वका प्रगतिशील जनता तथा कामदारवर्गले अनुभव गरिसकेको छ । सोभियत कम्युनिस्ट पार्टीले लिएको गलत बाटो र पलायनवादी नीतिविरुद्ध अध्यक्ष माओले निरन्तर सैद्धान्तिक तथा वैचारिक सङघर्ष गर्ने साहस नदेखाउनुभएको भए नब्बेको दशकको क्षति विश्व कम्युनिस्ट आन्दोलनले अझ धेरै अगाडि नै व्यहोर्नुपर्ने थियो । अर्थात नब्बेको दुर्घटना धेरै अगाडि घट्ने थियो । सोभियत संशोधनवादको पतन र त्यसका पिछलग्गूहरूको अन्त्यले यस कुराको पुष्टि गर्दछ । माक्र्सवादप्रति दृढ भएर साम्राज्यवादी तथा संशोधनवादीविरुद्ध दृढतापूर्वक सम्झौताहीन सङ्‍घर्ष गरेकै कारण आजसम्म चिनियाँ धर्तीमा समाजवादको रातो झन्डा फहरिरहेको छ । पूर्वी युरोपको दुर्घटनाबाट केही केही देश भएपनि जोगिए । आत्मसमर्पण, विचलन तथा आत्महत्याको गलत नीतिविरुद्ध वैचारिक सङ्‍घर्ष गरेकै कारण र समाजवादको कठिन बाटोमा सम्झौताहीन ढङ्गमा हिँडेकै कारण चीन आज थप शक्तिसम्पन्न बनेको र माक्र्सवाद– लेनिनवाद तथा माओ त्से तुङ विचारधारालाई थप धारिलो बनाउन सफल भएको समयसँगसँगै प्रमाणित हुँदै छ । चिनियाँ कम्युनिस्ट पार्टी र सोभियत कम्युनिस्ट पार्टीबीचको सैद्धान्तिक सङ्‍घर्ष तथा वैचारिक बहसको पुनः अध्ययन आजपनि आवश्यक देखिन्छ । कम्युनिस्ट आन्दोलन जोगाउने यो एउटा अचूक अस्त्र हुन सक्छ ।
चिनियाँ क्रान्ति, चिनियाँ समाजवाद र चिनियाँ जनताको स्वाभिमान अध्यक्ष का. माओको तेज पाएर अभैm धेरै लामो समयसम्म जाज्वल्यमान् बनिरहनेछ र विश्व कामदार वर्गीय आन्दोलनका निम्ति प्रेरणा–पुञ्ज भई प्रस्तुत भइरहनेछ । चिनियाँ समाजवादले विचारमा निर्विवाद जोड दिने, क्रान्तिकारी विचारसहितको नेतृत्व स्थापित गर्ने, व्यापक जनताबीच क्रान्तिकारी सङ्गठन निर्माण गर्ने र समाजवादी व्यवस्थाप्रति मनैदेखि प्रतिबद्ध शक्तिको विकासमा सत्प्रयास जारी राख्ने जस्ता शिक्षा दिइरहेको छ । जनताको निःस्वार्थ सेवा गर्न, आधुनिकता या आधुनिक आविष्कार र निर्माणलाई जनताको व्यापक हितसँग जोडेर हेर्न चिनियाँ समाजवादले प्रेरणा दिन्छ । यही नै चिनियाँ समाजवादको सुगन्ध हो । यी थप विशिष्टता निर्माण गर्दै विश्व राजनीतिक दबुमा चिनियाँ समाजवाद एउटा बेग्लै उदाहरणका रूपमा प्रस्तुत छ ।
चिनियाँ क्रान्तिको विजय
एसिया महादेशमा चीनमात्र त्यस्तो देश हो जसको इतिहास लडाइँ नै लडाइँले भरिपूर्ण छ । ती लडाइँमा चीनले क्रमशः विजय हासिल गर्दै गयो । अफिम युद्धमा नराम्ररी पराजित भएपश्चात् १४–१५ वटा उपनिवेशवादी देशबाट आक्रान्त चीन, उपनिवेशवादीहरूको लुछाचुँडीमा परेको चीन, जापानी उपनिवेशवादीबाट रगतको सागरमा डुबाइएको चीन चिनियाँ कम्युनिस्ट पार्टीको बलियो नेतृत्वपश्चात् जुर्मुराउन थाल्यो । चीनले जापानी उपनिवेशवादविरुद्ध आठ वर्षपश्चात् सन् १९४५ सेप्टेम्बर ९ मा सफलता प्राप्त गर्‍यो । विजयको सिलसिला जारी नै रह्यो । सन् १९४९ अक्टोबर १ मा नयाँ समाजवादी चीनको घोषणा अध्यक्ष माओले थिआनमन चोकबाट गर्नुभयो । उहाँले चिनियाँ जनता जागिसकेको घोषणा गर्नुहुँदै ‘सुतिरहेको सिंह’ अब लम्कने विश्वलाई सङ्केत गर्नुभयो । चीन नयाँ युगमा प्रवेश गरेको सगौरव घोषणा गर्नुभयो ।
दोस्रो विश्वयुद्धको अन्त्यपश्चात् धेरै देशहरूमा स्वतन्त्रता आन्दोलन उठे र ती देशहरू धमाधम स्वतन्त्र घोषणा पनि भए । कति देशहरूमा समाजवाद स्थापना भयो । चीनले दशकौँ लामो रक्तपातपूर्ण सङ्‍घर्षपश्चात् स्वतन्त्रता र समाजवाद प्राप्त गर्‍यो । त्यसको प्रभाव एसियाका अन्य साना–ठूला देशमा पर्‍यो । चिनियाँ क्रान्तिको विजयले विशेषगरी एसिया, अफ्रिकाका देशहरू र स्वतन्त्रताप्रेमी जनताबीच ठूलो उत्साहको लहर फैलायो । मुक्ति सङ्‍घर्षको मैदानमा उत्रेका जनतालाई ऊर्जा प्रदान गर्‍यो । वर्गसङ्‍घर्षको आँधीबेरी सिर्जना गर्‍यो । माक्र्सवादको उज्यालो विभिन्न देशका कुनाकाप्चासम्म पुर्‍यायो । चिनियाँ क्रान्तिको विजय केवल चीन र चिनियाँ शोषित–पीडित जनताको विजय नभई संसारभरका कामदार जनताको विजय, एसियाका मुक्तिकामी जनताको विजयका रूपमा लिइयो । विश्वको एउटा विशाल देश र जनसङ्ख्याको हिसाबले पहिलो स्थानमा पर्ने देशमा समाजवादको रातो झन्डा फहरिँदा कुन चाहिँ क्रान्तिकारी खुसीले गद्गद् नहोलान् ! आजभन्दा ७१ वर्ष अगाडि चीन विभिन्न देशका शोषित–पीडितका लागि ठूलो आशा र भरोसा बनेर उदायो । त्यो आशा क्रान्तिकारी उत्साहमा परिणत भयो । चिनियाँ समाजवाद निरन्तर विजयउन्मुख छ । सात दशकभन्दा लामोे चीनको इतिहास विजयको इतिहास हो ।
चिनियाँ समाजवादको देन
चीनले आफ्ना करिब डेढ अर्ब जनता अर्थात् विश्वको जनसङख्याको पाँच भागको एक भाग जनताका निम्ति आवश्यक बन्दोवस्त मिलाइरहेको छ । आफ्ना जनतालाई गरिबीबाट मुक्त पार्न योजनाबद्ध ढङ्गमा चीन लम्किरहेको जगजाहेर छ । विगत ४० वर्षमा चीनले ८५ करोड जनतालाई गरिबीको रेखामुनिबाट माथि उकासिसकेको बताइएको छ । विश्वका निम्ति यो ठूलो आश्चर्यको विषय हो । विश्वकै यो अभूतपूर्व घटना या सफलता हो । चीनले विश्वका अन्य मुलुकलाई गरिबीबाट मुक्त गर्न १८० वटा परियोजनामार्फत सहयोग गर्दै छ । विश्व मानव जगतको पहिलो चुनौती भनेकै गरिबी भएको बुझाइका साथ त्यसविरुद्ध चीनले धेरै अगाडि युद्ध सुरु गर्‍यो र चालु राख्दै छ । चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सत्वार्षिकी अर्थात् सन् २०२१ भित्र चीनलाई मध्यमस्तरीय आययुक्त बनाउने लक्ष्य राखेको छ र त्यो पूर्वनिर्धारित समयमै पुरा हुनेमा चीन विश्वस्त छ । सन् २०४९ अर्थात् समाजवादी चीन स्थापनाको सय वर्षको उपलक्ष्यमा आधुनिक, समृद्ध तथा सुसंस्कृत समाजवादी चीन निर्माण गर्ने चीनले दीर्घकालीन लक्ष्य लिएको छ । चिनियाँ नेतृत्व त्यो लक्ष्यमा अर्जुनदृष्टिका साथ लाग्दै छ । अघिल्लो उद्देश्त्र्ैmँ यो पनि निर्धारित समत्र्न्दा अगावै हासिल हुने विश्वास लिन सकिन्छ ।
चीनले विश्व शान्ति, विकास तथा मानव कल्याणको पक्षमा विश्वव्यापी भूमिका निर्वाह गर्दै आइरहेको कसैले नकार्न सक्दैन । ‘क्षेत्र र मार्ग’ विकास प्रस्ताव अघि सारेर चीनले विश्व जगतलाई चलायमान बनाउने, एक आपसमा हातेमालो गर्दै सामूहिक भलाइ तथा साझा भविष्य निर्माणमा जोड दिँदै छ । सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको त्यस विराट विकास परियोजनाअन्तर्गत सहकार्यका अनेक उपायमार्फत सुख, शान्ति तथा समृद्धि हासिल गर्ने दूरदर्शी सोचका साथ कार्य धमाधम अगाडि बढ्दै छ । विश्वका निम्ति यो सुखद र उज्यालो पक्ष हो ।
महामारीमा चीनको सराहनीय भूमिका
विश्वमा देखापर्ने समस्या, चुनौतीमा चीन अलग्ग बसेको कुनै घटना छैन । सन् २०१९ को डिसेम्बरदेखि फैलिएको कोभिड–१९ महामारीबाट विश्वका मानिसलाई जोगाउन विभिन्न देशलाई आवश्यक स्वास्थ्य उपकरण एवम् सामग्री, विशेषज्ञ डाक्टर र चिकित्सा टोली पठाएर आफ्नो जिम्मेवारी पुरा गर्दै छ । विश्व स्वास्थ्य सङ्गठनलाई पाँच करोड डलर आर्थिक सहयोग गरेर विश्वसङ्कटको बखत जिम्मेवार ढङ्गमा प्रस्तुत भयो । त्यस महामारीविरुद्ध लड्दाको अनुभव विश्वसमक्ष राखेर सङ्कटमा चीन विश्वलाई अमूल्य सहयोग गर्दै छ । आफ्नो देशलाई खतरामुक्त बनाउनासाथ चीन चुप लागेर बसेन । बरु, बाँकी विश्वलाई पनि महामारीबाट जोगाउन तुरुन्त सक्रिय बन्यो । हरेक उपाय अपनायो । आर्थिक, प्राविधिक, मानवीय सहयोग तुरुन्त उपलब्ध गरायो । शक्ति र सम्पन्नताको शिखरमा रहेको साम्राज्यवादी देश रनभुल्लमा परेको अवस्थामा चीन सक्रिय बन्यो ।
चीन कति जिम्मेवार छ, कठिन परिस्थितिमा झनै कति संवेदनशील बन्छ भन्ने प्रत्यक्ष अनुभव विभिन्न देशका जनता गर्दै छन् । महामारीले आक्रान्त जनताको भरपर्दो सहयोगी बनेर चीन विश्वका कुनाकाप्चामा पुग्दै छ । साम्राज्यवादी देशहरू आफ्ना देशवासीलाई आतङ्कित पारिरहँदा, गैरजिम्मेवारीको पराकाष्ठामा पुगिरहँदा चीनले मानव जीवन रक्षाका निम्ति ‘जनयुद्ध’ लड्यो र सावधानीपूर्वक लड्दै छ । संरा अमेरिकाले चीनविरुद्ध छेडेको व्यापार युद्ध टुङ्गिन नपाउँदै चीनको उहानमा सुरु भएको कोभिड महामारीसँग लड्न निश्चय पनि सजिलो थिएन तर समयले लिएको अग्नीपरीक्षामा चीन सफल र विजयी बन्दै छ । विश्वका जनता महामारीमा चिनियाँ जनताको अनुशासन, एक मनको एकता, बेजोड कार्यशैली, तदारुकता आदि देखेर चकित भए । महामारीले आधुनिक चीन र चिनियाँ जनतालाई थप प्रस्ट चिनायो भन्नु अतियुक्ति नहोला !
कोभिड–१९ विरुद्धको भ्याक्सिन विश्वका सर्वसाधारण जनताको पहुँचमा पुर्‍याउने प्रतिबद्धता हालै चिनियाँ राष्ट्रपति सी र अन्य चिनियाँ अधिकारीहरूले विभिन्न महत्वपूर्ण मञ्चबाट व्यक्त गर्नुभएको खबरले विश्वभरि नयाँ आशाको सञ्चार भएको छ । कोभिड–१९ को महामारीकालमा मात्र होइन बरु महामारीपश्चात् पनि चीनले महत्वपूर्ण भूमिका निर्वाह गरी मानव जगतलाई उत्साहित बनाउने विश्वास लिने प्रशस्त आधार छन् ।
अन्त्यमा,
यस्तो कठिन परिस्थितिमा चीनविरुद्ध पुँजीवादी तथा साम्राज्यवादीहरूको शीतयुद्ध जारी छ र निर्ममतापूर्वक अगाडि बढाइँदै छ । यद्यपि, चिनियाँ राष्ट्रपति सीले शीतयुद्ध या सैन्ययुद्धको विपक्षमा चीन सदा उभिने घोषणा संयुक्त राष्ट्रसङ्‍घको बैठकमा केही दिन अगाडि गर्नुभयो । विश्व राजनीतिक दबुमा त्यसले बेग्लै तरङ्ग पठायो । चीन संहार, अन्तरध्वंस या विनाश होइन निर्माण, विकास, शान्ति तथा प्रगतिको पक्षमा सदा दृढतापूर्वक प्रस्तुत हुने राष्ट्रपति सीको भनाइ साम्राज्यवादीहरूका निम्ति नैतिक हाँक र एउटा गतिलो झापड साबित भयो ।
माथि चर्चा गरिएका विषयले चीनको समाजवादी व्यवस्था तथा नेतृत्वको वास्तविक कौशल, दृढता, क्षमता, सौन्दर्य उजागर गर्दछ । अक्टोबर १ को मर्म तथा भावना व्यापक जनतासमक्ष प्रस्तुत गर्छ । चिनियाँ क्रान्तिको औचित्य, महत्व एवम् गरिमा दिन प्रतिदिन बढ्दै छ । यस अर्थमा चीन, चिनियाँ नेतृत्व, चिकपा र चिनियाँ जनता बधाईका पात्र हुन् । न्यानो अभिवादन छ, नेपाली कामदारवर्गको तर्फबाट । हार्दिक शुभकामना छ, समाजवादी क्रान्तिको अन्तिम विजयका निम्ति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *