भर्खरै :

प्रगतिशील लेखक र जनताका कलाकार बलराज सहानी

बलराज सहानीको जन्म सन् १९१३ मई १ को दिन रावलपिण्डीको एक पञ्जाबी परिवारमा भएको थियो । सन् १९२८ मा १५ वर्षको उमेरमा प्रवेशिका परीक्षामा बढी नम्बर ल्याएर उनी पहिलो श्रेणीमा उत्तीर्ण भए । विज्ञान र संस्कृति उनका ऐच्छिक विषय थिए ।
उनले रावलपिण्डीको सरकारी डी.ए.बी. कलेजमा ऐच्छिक विषय संस्कृत र दर्शनशास्त्र लिएर आई.ए. अध्ययन गरे । कलेजमा उनी पश्चिमी विचार र संस्कृतिबाट परिचित भए । उनमा बेलायती शैलीको पोशाक लगाउने, भाषा बोल्ने, बेलायती चलचित्र हेर्ने, त्यस्तै खालको कपाल राख्ने आदि प्रभाव प¥यो । उनले पढ्ने उपन्याससमेत अङ्ग्रेजी थिए । उनी अङ्ग्रेजी साहित्य, विशेष गरेर रोम्यान्टिक पिरियडबाट प्रभावित भए । उनका सहपाठीहरूलाई बेलायती रुमानी कवि पार्सेवर्सी सेलीको कविता ‘एक चराको गीत’ कण्ठस्त आउँथ्यो ।
सन् १९३० मा १७ वर्षको उमेरमा बी.ए. पढाइको निम्ति उनी लाहोरको सरकारी कलेजमा भर्ना भए । बी.ए. अनर्सको खूब चल्तीको समय थियो । त्यहीअनुसार उनी भारतमा हिन्दी साहित्य र अङ्ग्रेजी साहित्यको अध्ययन गर्थे, साहित्य गोष्ठी र नाटकहरूमा पनि सक्रिय थिए । उनी सन् १९३४ मा अङ्ग्रेजीमा पहिलो श्रेणीमा उत्तीर्ण भए र लाहोरबाट आफ्नो घर फर्किए । त्यसबेला उनी २१ वर्षका सक्रिय युवा थिए ।
कलेजका उनका प्राध्यापकहरू क्याम्ब्रिज र अक्सफोर्ड विश्वविद्यालय पढेका थिए । त्यसबेला भारतीय केटाहरू रावलपिण्डीका अङ्ग्रेज कर्मचारी र सेनाका छोरा–छोरीहरूको नक्कल गर्थे । तर आई.ए. पढ्दा जसवन्त राय भन्ने प्राध्यापकसँग उनी बढी प्रभावित भए । प्राध्यापक राय मध्यम वर्गको प्रतिनिधि प्रतीत हुन्थ्यो । सबै कुरा थाहा पाएर पनि आन्दोलनमा हाम नफाल्ने र सडकमा दायाँबायाँ नगई बीचबाट हिँडेर जहाँ पनि जानसक्ने उनी अन्ध वा कोरा सिद्धान्तवादका विरोधी थिए ।
उमेरअनुसार बलराज भावुक युवा थिए । भगतसिंहलाई फाँसी दिँदा उनले एउटा कविता अङ्ग्रेजीमा लेखेका थिए । उनी हिन्दी र अङ्ग्रेजीका कविताहरू छन्दमा लेख्ने गर्थे  । उनी यात्रा गर्न सा¥है मन पराउने यात्री थिए । उनको आकर्षण गाउँगाउँका लोकगीत र अन्य सङ्गीत एवम् नाटकमा पनि थियो ।
बलराजका बुबा उनलाई व्यापारी बनाउन चाहन्थे भने उनी व्यापारबाट टाढा जान चाहन्थे । बुबा उनलाई अङ्ग्रेजी शैलीमा ढाल्न चाहन्थे । सबै प्रकारका मानिससँगको उठबसबाट उनी भारतीय काङ्ग्रेसका हिमायती एवम् कार्यकर्ताहरू, जसवन्त राय र पछि पी.सी. जोशीसँग पनि लागे । पी.सी. जोशी पछि कम्युनिस्ट नेता भए । प्राध्यापकहरूको कारण कलेजमा उनी शेक्सपियरको ‘हेमलेट’, डिकेन्सको ‘लेगइर्न’ जस्ता कवि र लेखकहरूबाट प्रभावित भए । शेलीको ‘पश्चिमी हावाको गीत’ र यथार्थवादी साहित्यबाट उनी प्रभावित भए । बेलायतका बुद्धिजीवी लेखक एच.जी. वेल्सको उपन्यासबाट पनि उनी प्रभावित थिए ।
भ्रमणप्रिय बलराज काश्मिरको घुमघाममा लागे । त्यसबेला काश्मिरमा राजा हरिसिंहको शासन थियो । त्यसैबेला अङ्ग्रेजहरू र हरिसिंहबीच व्यक्तित्वको सङ्घर्ष भयो । बेलायतीहरू भारतीयहरूलाई प्रजा नै सम्झन्थे ।
२३ वर्षको उमेरमा डिसेम्बर १९३६ मा रावलपिण्डीमा बलराजले शान्ति निकेतनकी एक छात्रा दमयन्तीसँग विवाह गरे । नयाँ रङढङ्गले नव दम्पत्ति हिँड्न थालेपछि आमा–बाबुले अप्ठेरो अनुभव गर्न थाले ।
सन् १९३५ मा २४ वर्षको उमेरमा उनले पहिलो पटक काश्मिर झिलिममा पाठ लिए । त्यसबेला समाजवादीहरू ‘समकालीन भारत’ (Contemporary India) अङ्ग्रेजी भाषाको त्रैमासिक पत्रिका निकाल्दै थिए । बलराज घरबाट निस्के ।
लाहोरमा त्यसबेला राष्ट्रवादीहरू ‘ट्रिव्युन’ र बेलायत समर्थकहरू ‘सिभिल एन्ड मिलिटरी गजेट’ पत्रिका निकाल्थे । बलराजले पुराना साथीहरूसँग मिलेर हरेक सोमबार प्रकाशित हुने साप्ताहिक ‘मन्डे मर्निङ’ निकाले । अनुभवको कमी र आवश्यक तयारी नपुग्दा ‘सोमबारे बिहानी’ तीन अड्ढ प्रकाशनपछि बन्द भयो ।
तर, लाहोरमै कलेजका नाटक मण्डलीसँग भेटेर बलराज नाटक प्रदर्शनीमा लागे । उनले नाटकमा निर्देशक र दमयन्तीले प्रमुख अभिनेत्रीको भूमिका खेलिन् । तर, लाहोरमा टिक्न नसकेर उनी कलकत्तातिर लागे । उनी आफ्नो कलेजका सहपाठीको दाजु हिन्दीका एक उत्साही लेखक सञ्चिदानन्द हीरानन्द वात्स्यायनकहाँ पुगे ।
लेखक र प्राध्यापन पेशामा 
सन् १९३७ मा २४ वर्षको उमेरमा बलराज दम्पत्तिले कलकत्तामा हास्यव्यङ्ग्यको ‘सचित्र भारत’ पत्रिकामा हास्यव्यङ्ग्य लेख र बाल कथाहरू लेखेर जीविका चलाउन थाले । उनीहरू पत्रिकामा एउटा लेखको ४ रूपैयाँ पारिश्रमिक पाउँथे । त्यही क्रममा दमयन्तीले काम खोज्न थालिन् । रवीन्द्रनाथ ठाकुरको शान्ति निकेतन विद्यालय र कलेजमा बलराजले महिनाको ४० रूपैयाँ पाउने गरी हिन्दी अध्यापकको काम पाए ।
शान्ति निकेतनमा गान्धीजी, जवाहरलाल नेहरू र अन्य भारतीय राष्ट्रिय काङ्ग्रेसका नेताहरू आउँथे । अन्य विद्वान, लेखक र साहित्यकारहरू पनि आउँथे, ‘गुरूदेव’ (रवीन्द्रनाथ ठाकुर) सँग छलफल गर्थे । त्यहाँ बलराजले बङ्गाली भाषा, साहित्य र सङ्गीतसँग पनि परिचित हुने अवसर पाए । शान्ति निकेतनमा पनि उनले बर्नार्ड शाको ‘हतियार र मानिस’ (Arms and Man) भन्ने नाटक प्रस्तुत गरे । शान्ति निकेतनबाट ‘विश्व भारती’ प्रकाशित हुन्थ्यो । बलराजले अङ्ग्रेजी र हिन्दीमा लेख–रचनाहरू अनुवाद गर्थे । “मातृभाषाको स्थान अरू कुनै भाषाले लिन सक्दैन” भन्ने ‘गुरूदेव’को भनाइ थियो ।
डा. जाकिर हुसेन शिक्षामा ‘नयाँ तालिम’ को बन्दोबस्त गर्न चाहन्थे । उनको पत्रिकाको सहसम्पादकमा बलराज छानिए । वर्धाको शिक्षा योजना र सेवाग्राम त्यहाँ सा¥है प्रचलित शब्द र ठाउँ थिए । ती ठाउँमा माछा–मासु केही चल्दैनथ्यो । गान्धीजी हरेक बिहान घुमफिरमा आउँदा कुराकानी र छलफल पनि हुन्थ्यो । बलराजले ‘गुरूदेव’ र गान्धीजीको दर्शन र जीवनशैलीबाट पनि परिचित हुने मौका पाए ।
कस्तुरबा भन्ने महिला विदुषी थिइन् । उनलाई त्यहाँ आमासरह मानिन्थ्यो । मौलाना आजाद र पण्डित नेहरू पनि त्यहाँ आउँथे । सन् १९३८ को त्यो समयमा बलराजको उमेर २५ वर्षको थियो र सन् १९३९ मा रावलपिण्डीमा दमयन्तीबाट पहिलो छोरो परीक्षित जन्मिँदा बलराज २६ वर्षको थिए ।
बलराजले सेवाग्राममा काम गर्न थालेको वर्ष दिनपछि एक दिन ब्रिटिश ब्रोडकास्टिङ कर्पाेरेसन (बीबीसी)को प्रतिनिधि गान्धाजीसँग भेट्न आएका थिए । उनले गान्धीजीसँग बीबीसीको भारतीय विभागमा हिन्दुस्तानी समाचारवाचक चाहिएको कुरा सुनाए । गान्धीजीले सो कामको निम्ति बलराजलाई जान स्वीकृति दिए । बलराज बीबीसीमा हिन्दी समाचार वाचकको रूपमा बेलायत जाने निर्णय भयो । सन् १९४० मा बलराज २७ वर्षको उमेरमा ४ वर्षको निम्ति बेलायत गए ।
बेलायतबाट फिर्ती र बम्बई प्रस्थान
सन् १९४४ अर्थात् ३१ वर्षको उमेरमा बलराज परिवारसँगै लन्डनबाट फर्कँदा सानी छोरी शवनम (बत्ती) पनि थिइन् र घरमा छोडेको छोरो परीक्षित ५ वर्षको भइसकेको थियो ।
बेलायतबाट फर्केलगत्तै बलराजको परिवार बम्बई गई मेक्सिम गोर्कीको ‘तल्लो सहर’ मा आधारित फिल्ममा अभिनय गर्न जुटे । त्यसबेला बम्बईमा ‘नज नाट्य सङ्घ’ (इन्डियन पिपुल्स थिएटर एसोसियसन–इप्टा) खुब सक्रिय थियो । त्यसमा चेतन आनन्द–प्रमुख, बलराज निर्देशक, चर्चित लेखक र ब्लिट्ज साप्ताहिकका स्तम्भकार ख्वाजा अहमद अब्वासको ‘जुवैदा’ नाटकको तयारी हुँदै थियो, देवानन्द र चेतन आनन्दको भाइ गोल्दी पनि त्यसमा सक्रिय थिए ।
दोस्रो विश्वयुद्धको समय थियो । जर्मनीको तानाशाह हिटलरले बेलायतको लन्डनमा समेत आक्रमण गरेको थियो । ‘ब्लिट्ज क्रीज’ भन्दै यहुदीहरूको नरसंहार हुँदै थियो । साम्राज्यवादी र उपनिवेशवादीहरूको विरोध, जनतान्त्रिक शक्तिहरूको समर्थन र सामाजिक परिवर्तनमा माक्र्सवादी व्याख्यातिर बलराजको झुकाव बढ्दै थियो ।
कलाकार पनि एक नागरिक भएको हुँदा ऊ एक दर्शकमात्र भएर होइन, बरू उसले आ–आफ्नो व्यक्तिगत भूमिका पनि पूरा गर्नुपर्दछ भन्ने भावनाबाट उनी प्रभावित थिए बेलायतदेखि । कला पनि जनताको भावनामा प्रभाव पार्ने एक सशक्त माध्यम भएको हुँदा दर्शकहरूको माझमा जीवनको यथार्थ प्रस्तुत गर्नुपर्नेमा बलराज, उनका साथीहरू र ‘जननाट्य सङ्घ (इप्टा) प्रस्ट थिए ।
ख्वाजा अहमद अब्बास
बेलायती आम सञ्चार कर्पोरेसन (बीबीसी) त्यसबेला सा¥है नाउँ चलेको प्रचारमाध्यम थियो । यसकारण उनी भारत फिर्ता आउनासाथै ब्रिटिश भारतको दिल्लीको आकाशवाणीले उनलाई सहयोगी बनाउन कोसिस गरेको थियो । तर, उनले बम्बईको झिलिमिलीयुक्त जीवनमा प्रवेश गरेको उनको बुबालाई पटक्कै मन परेको थिएन । उनको विचारमा बेलायती प्रशारण केन्द्र जस्तो प्रतिष्ठित संस्थाको तुलनामा ‘लुचालफङ्गा’ हरूले काम गर्ने फिल्मी कलाकारिता एक बदनाम पेशा थियो । बलराजका पिता छोरोको रोजाइ नबुझेर सा¥है दुःखी थिए ।
ख्वाजा अहमद अब्बास भारतका एक सशक्त र प्रगतिशील लेखक थिए । सन् १९४४ को जाडोमा बलराज ‘धर्तीको छोरो’ फिल्मको मुख्य पात्र बने । त्यस फिल्मले कला र राजनीतिको एक प्रकारले भिन्नता नै समाप्त गरायो । साहित्य र कलाले राजनीतिक विचार र समाजको परिवर्तनमा ठूलो भूमिका खेल्नेबारे प्रगतिशील लेखकहरूमा कुनै दुविधा थिएन ।
अब्बासको ‘म को हुँ’ जस्ता दर्जनौँ नाटकहरू मञ्चन भए । बेलायती उपनिवेशवादीहरूले हिन्दू–मुसलमानबीच लगायत जातबीच जातीय द्वेष फैलाउँदै थिए । त्यसको जवाफमा बम्बईका लेखक, कलाकार, कवि र ‘इन्डियन पिपुल्स थिएटर एसोसियसन’ (इप्टा) ले साम्प्रदायिकताको विरोधमा देशभक्तिपूर्ण र प्रगतिशील नाटक, गीत–सङ्गीतको माध्यमबाट सैद्धान्तिक सङ्घर्षको एक मोर्चा खोलेका थिए । त्यसको एक मुख्य नायक चर्चित र प्रतिष्ठित अभिनेता पृथ्वीराज थिए ।
बलराजकी जहान दमयन्ती पनि एक प्रभावशाली महिला पात्र थिइन् । ‘पर्खाल’ (दीवार) ‘धरती पुत्र’, ‘हलचल’, ‘टाढा जाऔँ’ (दूर चले), ‘पुतली’ (गुडिया) मा उनको भूमिकाले जनतामा गहिरो प्रभाव पा¥यो । बम्बईको नाटक मञ्चन र फिल्म प्रदर्शनसँगै बलराज चर्चित हुँदै गए, उनका बुबा हरिवंशलाल सहानी छोरा–बुहारीको नाटक र फिल्म हेर्न आफै सिनेमा हलमा पुगे । पूर्वाभ्यास अर्थात् रिहर्लसलमा बसेर आफ्नै आँखाले सबै कुरा देखेपछि बाबुले छोरो बलराजलाई अङ्गालो हालेर भने, “यदि तिमी यहाँ काम गर्दछौ भने मेरो कुनै गुनासो छैन ।” दुवै बाबु–छोरा भावविह्वल भए ।
दमयन्तीको निधन
साम्प्रदायिकता र देशविरोधी सङ्घर्षमा जतिजति इप्टा (भारतीय जनताको नाटक सङ्घ) को प्रदर्शनले प्रभाव पार्दै गयो, उतिउति त्यस संस्थाका कलाकार र कार्यकर्ताहरू गाउँ–गाउँमा नाटक प्रदर्शनी र सुटिङमा जानुपर्ने भयो । २९ अप्रिल सन् १९४७ मा ‘धरती पुत्र’ को सुटिङको क्रममा गाउँको पोखरीको पानी खाँदा दमयन्ती बिरामी भइन् । डाक्टरको गलत उपचारबाट उनी बितिन् । त्यसबेला उनी २८ वर्षकी मात्र थिइन् भने बलराजको उमेर ३४ थियो ।

दमयन्तीसँग बलराज


दमयन्तीको निधनले बलराजलाई ठूलो पीडा भयो । छाङ्गाबाट खसेको अनुभव गरायो । तर, उनले शोकलाई शक्तिमा बदलेरै उनले कला क्षेत्रमा आफूलाई समर्पित गरिरहे ।
अगष्ट १९४७
बेलायती उपनिवेशवादीहरूले हिन्दुस्तानलाई ‘स्वतन्त्रता’ दिएको नाममा भारत र पाकिस्तान दुई टुक्रामा विभाजित गरी ७५ वर्षसम्म धर्मको नाममा हिन्दू र मुसलमानलाई भिडाइरहे, पूर्व र पश्चिम पाकिस्तान र काश्मिरको विलय, सिक्किमको विलयको बिउ रोपेर गए । त्यतिमात्रै होइन, छिमेकीहरूसँग आपसमा भिडाउन बेलायतीहरूले जाली नक्सा बनाएर भिडाइरहे । यसकारण उपनिवेशवादीहरूले कुनै देशलाई सहयोग देखाउनु भनेको उसलाई खाल्डोमा पार्नु हो । चीनको (तिब्बत) भागलाई भारतको हो भन्ने जाली नक्सा बनाएर दुई ठूला पूर्व उपनिवेशलाई भिडाउने काम बेलायत र अमेरिकी साम्राज्यवादले गरे । जात, भाषा, रङ र संस्कृतिको भिन्नतालाई लडाइँको रूप दिने जालसाजी गर्न सक्नुको मुख्य कारण शासक वर्ग र माथिल्लो पदमा बस्नेहरूको बडाराष्ट्र अहङ्कारवाद र भ्रष्टाचार हो भन्दा फरक पर्दैन । एउटै देश भारत र पाकिस्तान टुक्र्याउँदा बलराजकै ठाउँ रावलपिण्डीका मात्रै दुई सय गाउँमा आगो लगाइयो र सम्पूर्ण भारतमा २ वर्षमा ५ लाख मानिस मारिए, १५ लाख घाइते भए, कति मानिस हराए र परिवारहरू भताभुङ्ग भए ।
बलराज साहनी एक प्रगतिशील अभिनेता
नाटक मञ्च (इप्टा) सँग बलराजको निरन्तर सम्बन्ध रह्यो । भारतीय कम्युनिस्ट पार्टीले देशको स्थितिको पुनः मूल्याड्ढन ग¥यो र पार्टीको नीतिमा आमूल परिवर्तन ग¥यो । रणद्विवेको नेतृत्वमा पार्टी गयो र सशस्त्र सङ्घर्षको नीति लियो । इप्टा कम्युनिस्ट संस्था नभए पनि संस्थाका धेरै सहभागी लेखक, कवि र कलाकारहरू प्रगतिशील विचार र वामपन्थी झुकावका थिए । यसकारण इप्टाको गतिविधिमा पार्टीको प्रत्यक्ष प्रभाव देखिन्थ्यो । बलराजमा भित्रभित्र माक्र्सवादको प्रभाव थियो र उनी भन्थे, “अभिनय कलामात्रै होइन, विज्ञान पनि हो । हरेक व्यक्ति वैज्ञानिक ढङ्गबाट अध्ययन तथा अभ्यासले कुशल अभिनेता वा कलाकार बन्न सक्नेछ ।”
अभिनयको क्षेत्रमा माक्र्सवाद सा¥है मूल्यवान सावित हुन्छ । सद्भावना र तादात्म्यताबाहेक सामाजिक दृष्टिकोण पनि आवश्यक हुन्छ । अभिनेताले निश्चित चरित्रको व्यापक सामाजिक सन्दर्भलाई प्रस्तुत गर्नसक्छ । यसप्रकार उनी गम्भीररूपले प्रगतिशील अभिनयको बाटोमा लागे ।

चलचित्रमा बलराज


सन् १९४९ मा बेलायतदेखि चिनजान भएकी र सामाजिक कारणले पहिलो विवाह हुन नसकेकी सन्तोषसँग बलराजको दोस्रो विवाह भयो । त्यसबेला उनको उमेर ३६ वर्षको थियो । पहिलो श्रीमती दमयन्तीको १० वर्षको छोरो परीक्षित (परीक्षितको शाब्दिक अर्थ–जाँचिएको अभिमन्यूको छोरो र अर्जुनको नाति, फारसी भाषा) र छोरी शवनम (शवनमको शाब्दिक अर्थ बत्ती) ६ वर्षकी थिइन् ।
दोस्रो विवाहको झन्डै १० दिनपछि बलराज एक राजनीतिक प्रदर्शनमा भाग लिँदा उनी पक्राउ परे । केही महिनापछि उनी एक राजनीतिक बन्दीको रूपमा जेलबाट रिहा भए ।
सिनेमा संसारमा सङ्घर्ष
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले बलराजका साथी चेतन आनन्दको फिल्म बन्द भयो र आफूले बेलायतबाट जोगाएर ल्याएको पैसा पनि सकिंदै गयो । तैपनि उनले एकाध रेडियो कार्यक्रम र अनुवाद कार्यबाट केही खर्च चलाउँथे । बलराजको उमेर ३०–३५ नाघिसकेको र आफ्नै सिनेमा नहुँदा अरू निर्माता र निर्देशकले राम्रो भूमिका दिन कञ्जुस्याइँ गर्थे । दिलिपकुमार र नरगीसजस्ता कलाकारहरू लाममा हुन्थे । तैपनि, बीबीसीमा काम गर्दाको अनुभव र भाषामा दख्खल भएको हुँदा ‘न्याय’ र ‘टाढा जाऔँ’ जस्ता फिल्ममा केही भूमिका पाए । त्यसैबेला आफूलाई आर्थिक सहयोग गर्ने कलेजका सहपाठीको पनि सरूवा भयो । यसरी उनको आर्थिक अवस्था कष्टमय हुँदै गयो । त्यसमाथि चार जनाको परिवार चलाउनु थियो । तर पनि इब्सनका नाटक ‘हामीहरू’, ‘पुतलीको घर’ (डोल्स हाउस), ‘धरती पुत्र’ जस्ता फिल्मको अनुभवले प्रेमचन्दका छोरा विमल राय र सत्यजित रे जस्ता साहित्यिक र सिनेमा कला क्षेत्रका घागडान व्यक्तिहरूसँग काम गर्दा उनलाई स्वाद लागेको थियो ।
आफ्नै पैसाले सिनेमा बनाउनु, अभिनेताको भूमिका पाउनु, अरूको फिल्ममा भूमिका पाउनु र आर्थिकरूपले आफ्नो खुट्टामा उभिनु धेरै फरक भएको उनले बुझे । हात–मुख जोड्न उनले अनेक नाटकमा अभिनय गरे । उनले एक–दुई पटक साथीहरूमाझ आफू फिल्मबाट निराश भएको बताए किनभने उनी पनि मानिस थिए । इप्टा अर्थात् नाटक सङ्घ पनि कम्युनिस्ट पार्टीमा सुधारवाद र संशोधनवादको कारण छिन्नभिन्न भयो ।
त्यस्तो बेला २०–२२ वर्षका नागरत भन्ने एक सहयोगी (कम्युनिस्ट) ले उनलाई तीखो आलोचना गरे, “तिमी आफूलाई कम्युनिस्ट भन्छौ, तर पुँजीवादी निर्माता र निर्देशकहरूको पछि लाग्छौ । पुँजीपति वर्गबाट आर्थिक सहयोगको आशा गर्छौ, यो एकदम गलत छ । पुँजीवादको हरेक वस्तु र व्यवस्थाको विरोध गर र घृणा गर । आफ्नै खुट्टामा उभिने आत्मविश्वासले काम गर, सफलता नजिक छ । आँखा पैसामा होइन, कलामा केन्द्रित गर ।”
त्यस्तो आलोचनाले बलराजमा ठूलो आत्मविश्वास जाग्यो र ‘बदनाम’, ‘सो¥ह आना’, ‘दुई बिघा जमिन’, ‘सन्तान’ (औलाद), ‘आकाश’, ‘बटुवा’ (राही) सिनेमामा अभिनय गर्ने सम्झौता भयो र उनको अभिनय जोशिलो हुँदै गयो । यसरी उनले सन् १९४५ देखि १९५४ को १० वर्षमा दस वटा फिल्ममा अभिनय गरे भने १९ वर्षमा बलराजले १२० सिनेमामा अभिनय गरे ।
त्यसको निम्ति उनले आफ्नो अध्ययनलाई पनि चालु राखे । स्तालिस्ताबस्कीको चर्चित पुस्तक ‘अभिनेताको तयारी’ र ‘आधुनिक अभिनय कला’ तथा चार्ली चाप्लिनको आत्मकथाबाट उनले आफ्नो महत्व बुझे । शेक्सपियरको ‘किङ्ग लियर’ बाट पनि उनी उत्साहित भए ।
बिस्तारै उनले पसलमा काम गर्ने व्यक्ति, रेलका कर्मचारी, कार्यालयको कारिन्दा, शिक्षक, किसान, घरको नोकर, मुसलमान, व्यापारी, रिक्सावाल आदि विभिन्न वर्ग र पेशाका जनताको जीवनलाई नजिकबाट अध्ययन गरे र त्यसलाई आत्मसात गर्दा आफ्नो अभिनयमा सजीवता ल्याए ।
अध्ययनबाट उनले निष्कर्ष निकाले, “माक्र्सवाद नपढ्ने मानिसहरूले राजनीतिलाई सैद्धान्तिक भिन्नताको रूपमा मात्र बुझ्छन्, माक्र्सवादले वास्तवमा प्रकृति र जीवनका हरेक विषयबारे वैज्ञानिक दृष्टिकोणले व्याख्या गर्छ । समाजशास्त्री र राजनीतिज्ञलाई जसरी माक्र्सवादको अध्ययन आवश्यक छ, त्यस्तै कलाकारको निम्ति पनि माक्र्सवादको अध्ययन आवश्यक छ ।”
‘सिनेमाको पर्दामा जो छायाहरू खेल्छन् – ती सिनेमाका कलाकारहरूको यथार्थ जीवनको प्रतिबिम्ब पनि हो’,बलराज सहानी भन्छन् । साँचो अर्थमा गरिबीको कारण उनी धेरै पटक एक्लै रोएका थिए ।
प्रतिष्ठित अभिनेताको रूपमा
भनिन्छ, त्यसबेला भारतीय सिनेमाका कलाकारहरूमा बलराज सहानीजस्ता सुशिक्षित र निश्चित उद्देश्य भएका अभिनेता अरू थिएनन् । उनी सभा–समारोह, निर्वाचन प्रचारमा कम्युनिस्ट पार्टीको तर्फबाट मोटरमा माइकले बोल्थे, प्राकृतिक प्रकोपमा पीडितहरूको मद्दत गर्न उनी चन्दा उठाउँथे । सहयोगी भावनाको कारण उनी त्यस्ता पीडित क्षेत्रमा नेपाली मन्त्रीहरूजस्तै हेलिकप्टरमा जाने, ‘टुरिष्ट’ जस्तो तुरून्तै फर्कने होइन केही दिन त्यहाँ बसेर जनतासँग कामसमेत गर्थे ।
एकजना प्रगतिशील कलाकार र कम्युनिस्ट सदस्यको नाताले उनी भारतीय प्रगतिशील जगतमा चर्चित हुँदै गए । यसकारण सन् १९५५ जुलाई महिनामा पोल्यान्डको राजधानी वार्सामा विश्व युवा महोत्सवमा भारतीय प्रतिनिधिमण्डलमा बलराज सहानी पनि सदस्य थिए । त्यो टोलीको नेतृत्व भारतीय चर्चित सिनेकलाकार पृथ्वीराज कपुरले गरेका थिए । त्यहाँबाट फर्केर सो शिष्टमण्डल चीन गएको थियो । त्यस प्रतिनिधिमण्डलमा ख्वाजा अहमद अब्बास, चेतन आनन्द पनि थिए ।
भारतका अन्य क्षेत्रसँग सांस्कृतिक जीवनलाई तुलना गर्दा बलराजको दृष्टिकोण यस्तो थियो, “बङ्गाल एक सुगठित, सुसङ्गत, सांस्कृतिक एकाइ हो । त्यहाँका फिल्म निर्माताहरू जनताबाट उठेका थिए, त्यहाँ भाषा र संस्कृतिको एकाकार छ, त्यहाँ लेखक र फिल्म निर्माताहरू माझमा नजिकको सम्बन्ध छ । त्यस्तो सांस्कृतिक सामञ्जस्यता हिन्दी फिल्महरूमा पाइन्न ।”
भनसुनमा होइन योग्यतामा विश्वास
बलराजका भाइ भीष्म सहानीले आफूलाई बम्बईका केही चर्चित व्यक्तिहरूसामु सिफारिस गर्न आग्रह गर्दा उनले २२ जून १९५४ मा भाइलाई पठाएको पत्रमा लेखेका थिए, “अहिलेसम्म मैले एकदम इमानदारी र आत्मसम्मानपूर्वक काम गर्दै छु । मसँग यी दुई कुरा नभएको भए म कहीँको पनि हुने थिइनँ । मैले आफ्नो निम्ति कहिले पनि कसैलाई भन्न लगाएको छैन र अहिले म के विचार गर्दै छु भने तिम्रो निम्ति कसैको सिफारिस गर्नु तिम्रो निम्ति अन्याय गर्नुहुनेछ । … रूखबाट आफूले फल टिप्नुमा आफ्नै किसिमको आनन्दको अनुभव हुन्छ । …तिमी त्यस सुखबाट वञ्चित नहोस् भन्ने म चाहन्छु ।”(११ जुलाई सन् १९६५ को पत्रबाट)
भीष्म सहानी आफ्नो दाजुको यात्रामा पनि गम्भीर साहित्य पढ्ने बानीबारे लेख्छन्, “उनी यात्राको बेलामा पनि एँगेल्सको ‘ड्युरिङ मत खण्डन’ जस्ता गम्भीर साहित्य पढ्ने गर्थे ।”
सरलता, साहित्य र कला
एकचोटि बलराजको टाइपराइटर चोरी भयो । केही दिनपछि उनले त्यसको माया मारिसकेका थिए । तर, उनका साथी भेटियाले एउटा पसलमा टाइपराइटर भेट्टाए । पसलेसँग सोध्दा थाहा भयो, आफ्नै एक जना साथीले चोरेर त्यहाँ बेच्न छोडेको रहेछ । बलराजले केही रूपैयाँ पसलेलाई दिँदै भने, “सायद, केटालाई पैसाको खाँचो परेको होला, नत्र त्यसो गर्दैनथ्यो । यसबाट उसको खाँचो टर्न सक्छ ।”
उनी विद्यार्थी छँदै कविता लेख्ने गर्थे–
‘हातमा कलम होस्
त्यसको तल सेतो कञ्चन कागज
तब आकाशबाट सरस्वती आउनेछिन् ।’
यहाँ ‘सरस्वती’ वा ‘देवता’ को अर्थ ‘कल्पना’ फुर्ने हो ।
बलराजले एचजी वेल्सजस्ता पुँजीवादी लेखक र विद्वानहरूका साहित्य पनि पढ्थे । सन् १९१७ को समाजवादी क्रान्तिपछि रूसमा लेनिनसँग वेल्सले भेट्दा युरोपमा सबभन्दा पिछडिएको रूसमा कसरी समाजवाद सम्भव छ भनी जिज्ञासा राख्दा लेनिनले भन्नुभएको थियो, “विद्युतीकरण बराबर समाजवाद !” विद्युतीकरणले कम श्रमशक्तिले अत्यन्त कम लागतमा उत्पादन हुन्थ्यो र आवश्यकताअनुसारको वितरण सम्भव हुन्थ्यो । तर, एचजी वेल्सले त्यसबारे अनुमानै गर्न सकेनन् र आफ्नो प्रतिक्रियामा भने, “लेनिन क्रेमलिनका स्वप्नद्रष्टा हुन् ।” तर, केही वर्षपछि संसारको सबभन्दा अगाडि बढेको देश बन्यो रूस – विज्ञान–प्रविधि, अन्तरिक्ष विज्ञान, शिक्षा र संस्कृतिको प्रगतिमा ।
बलराजले खेलेका केही सिनेमा
न्याय, टाढा जाऔँ (दूर चलो), हामीहरू (हमलोग), धरती पुत्र (धरतीका लाल), दुई बिघा जमिन (दो बिघा जमिन), हलचल, दीदार, बदनाम, सन्तान (औलाद), टक्साल, आकाश, ‘राही’, सीमा, परदेशी (१९५७), लाजवती (१९५८), चाँद (१९५९), सट्टाबजार (१९५९), भाभीको जुडियाँ (१९६१), भाभी (१९५७), बाजूबन्द (१९५४), हीरामोती (१९५९), घर संसार (१९५८), सोने कि चिडिया (१९५८), दो रोटी (१९५७), माइ बाप (१९५७), एक फूल दो माली (१९६९) आदिमा उनले सिनेमा खेलेका थिए ।
जेएनयूको १९७२ नोभेम्बरको दीक्षान्त समारोहमा बलराजको भनाइ
“जता हेरे पनि म के देख्छु भन्ने स्वतन्त्रताको २५ वर्षपछि पनि हाम्रो स्थिति त्यसपछिको जस्तो छ जसलाई धेरै दिनसम्म पिँजडामा थुनेपछि छोड्दाको स्थितिसँग मेल खान्छ । उसलाई आफ्नो स्वतन्त्रताले के गर्ने हो, थाहा छैन । उससँग पखेटा छ तर उसलाई खुला हावामा उड्न डर लाग्छ । ऊ निश्चित घेराको पिँजडा भित्रै बस्न चाहन्छ ।
स्वतन्त्र व्यक्ति त्यो हो जोसँग सोच्ने क्षमता हुन्छ, आफ्नो बारेमा आफै निर्णय गर्ने र त्यसलाई लागू गर्ने शक्ति राख्छ । तर, एक दासमा त्यो क्षमता हराइसकेको हुन्छ । दासले आफ्नो सारा सोच अरूसँग पैँचो लिएको हुन्छ, निर्णय गर्ने समयमा ऊ दोधारमा हुन्छ र धेरैजसो पुरानै ढङ्ग–रङ्गमा बढ्ने गर्छन् ।
हरेक क्षेत्रमा हामी पश्चिमी देशहरूले बाटो देखाउँछन् भन्ने मनमा राख्छौँ । जीवनको अरू क्षेत्रमा भन्दा सांस्कृतिक क्षेत्रमा यो झन् स्पष्ट हुन्छ । हाम्रा सिनेमा पश्चिमी सिनेमाको नक्कल हुने गरेका छन् । हाम्रा उपन्यासकार, कथाकार, कवि आदि सा¥है सजिलैसित यूरोपमा चलेको फेसनको पछि लाग्छन् । नक्कल गरिएको र बढाइ–चढाइ गरी प्रस्तुत गरिएको सोच कुनै न कुनै रूपमा भएकै हुन्छ । हाम्रै आफ्नो वस्तुलाई विदेशीले प्रशंसा गरेपछि मात्रै हामी आफ्नो वस्तुमा गौरव अनुभव गर्छौँ ।
स्वीडेनबाट नोबेल पुरस्कार पाएपछि मात्रै रवीन्द्रनाथ ठाकुरलाई सारा भारतमा ‘गुरूदेव’को नामबाट सबैले मान्न थाले । सितार हाम्रो मौसमी बाजा तब उत्कृष्ट बाजा मानिन थालियो जब अमेरिकीहरूले रविशड्ढरलाई ठूलो प्रशंसा गरेका थिए । म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, आफ्नो मातृभूमिमा योगविद्या पनि तबमात्र मानिसहरूमा प्रभाव पार्न सकिने छ जब त्यसले युरोपमा प्रमाणपत्र पाउनेछ ।”
विनम्रता, ग्रहणशीलता र अरूको प्रतिभालाई उच्च मूल्याड्ढन गर्ने दृष्टिकोण एवम् सन्तुलित हेराइ
“धर्मलाई भाषासँग जोड्ने घृणित साम्राज्यवादी षड्यन्त्रमाथि पूर्वी पाकिस्तानका बङ्गालीहरूले ठूलो प्रहार गरे । बङ्गाली मुसलमानहरूले उर्दूलाई इस्लामी भाषा भनेर रद्दीको टोकरीमा फाले । यस्तै तामिलनाडुका हिन्दूहरूले हिन्दीलाई सबै हिन्दूहरूको भाषा नमानेर पुरानो अवधारणालाई चर्को थप्पड मारे ।”
“भारत धेरै जात–जाति र भाषाभाषीहरूको एक साझा परिवार हो । त्यसकारण हरेक भाषाले समान अधिकार पाउनुपर्दछ । केही विचारै नगरी ज–जसले ‘एक देश–एक भाषा’ को नारा दिन्छन् तिनीहरूले पाकिस्तानबाट शिक्षा लिनुपर्छ । यो एकताको बाटो होइन, त्यो तल झर्ने र पछाडितिर लैजाने बाटो हो ।”
“इस्लाम प्रादुर्भाव हुनुभन्दा पहिले भारतमा आक्रमण गर्ने जातिहरू उही वर्ण (नश्ल) का थिए । जुन वर्णका हामी छौँ, त्यसबेला तिनीहरूले इस्लामलाई स्वीकार गरिसकेका थिए, तर तिनीहरूको नसा–नसामा त्यही रगत बगेको हुन्थ्यो, तिनीहरूका भाषा पनि संस्कृतकै उपज थिए ।” (बलराज मेरो दाइ – १२५–१२६)
बलराजका रचनाहरू ः
१) दुई यात्रा विवरण ः क) मेरो पाकिस्तानको यात्रा (१९६०) (ख) मेरो रूसी यात्रा (१९६९)
२) दुई संस्मरणात्मक निबन्धसङ्ग्रह
३) एक लामो नाटक
४) केही कविता
५) दुई पुस्तिका पम्प्लेट (जेएनयूको दीक्षान्त समारोहको भाषण )
६) लेख, निबन्ध (ठूलो सङ्ख्यामा), हास्यव्यङ्ग्य निबन्ध
७) कथासङ्ग्रह – ‘वसन्त के भन्छ ?’, ‘ढपोट रोस’ बालउपयोगी पुस्तक
८) अङ्ग्रेजीमा केही कविता
९) केही अङ्ग्रेजी कविताको अनुवाद
१०) एक रेडियो नाटक – ‘त्यो मानिस जसको टाउकोमाथि घडी थियो’ (बीबीसीमा रहँदा)
‘कुर्सी’ नाटक इष्टामा काम गर्दा लेखिएको थियो र ‘बाजी’ नामक सिनेमाको पटकथामा काम लिइयो ।
आफ्नो फिल्मी संस्मरणमा उनले लेखे –
‘माक्र्सवादले मलाई भाषाको समस्यालाई वैज्ञानिक दृष्टिबाट हेर्ने शिक्षा दियो । टैगोर र गान्धीजस्ता विभूतिहरूको विचारबाट प्रभावित भएर मेरो आफ्नो विचार कस्तो दिशामा मोडियो भने हरेक कलाकार र लेखको निम्ति उसको मातृभाषा आत्माभिव्यक्ति सबभन्दा सक्षम माध्यम हुन्छ । माक्र्सवादको अध्ययनबाट नै मेरो विश्वास त्यतातिर बलियो भएको थियो । (मेरो फिल्मी आत्मकथा – पृष्ठ – १०८)
बलराजले केही महत्वपूर्ण नाटकहरूमा पनि खेलेका थिए –
१) गोगोल – इस्पेक्टर जनरलको रूपमा
२) बनार्ड शा – पित्रमेलियन (अजरका ख्वाव) को रूपमा
३) गालिवको जीवनीमा संवाद – लेखकःकोफी आजमी
त्यसका निर्देशक सध्यू थिए र बलराजले त्यसमा गालिबको भूमिका खेलेका थिए ।
बलराजले खेलेका ‘परदेशी’ शीर्षकको फिल्ममा भारतको दर्शन थियो । चौधौँ शताब्दीमा एक रूसी व्यापारी अफानासी निकितिनको जीवन र यात्रामा आधारित त्यस फिल्ममा उनले अफानासीको सहयोगी वा मित्रको भूमिका खेलेका थिए ।
त्यसमा नरगीसको पनि भूमिका थियो ।
‘परदेशी’ फिल्मपछि बलराज विदेशमा पनि चर्चित भए र भारतीय सिनेमाका प्रतिनिधि मण्डलका उनी सदस्य भए । पछि पछि पनि उनले सोभियत सङ्घको भ्रमण गरे तथा त्यहाँ उनले ‘नेहरू पुरस्कार’ पनि पाए । उनले भारतीय सिने कलाकारहरूको प्रतिनिधिमण्डलको नेतृत्व पनि गरे ।

सोभियत संघमा भारतीय कलाकारसँग बलराज


सन् १९७१ मा पञ्जाव सरकारको भाषा विभागले उनलाई ‘लेखक शिरोमणि’ पुरस्कारबाट सम्मानित ग¥यो ।
बम्बईमा बस्दा बलराजले त्यहाँको पञ्जावी पत्रिका ‘रणजीत’ मा नियमितरूपले पुस्तक समीक्षा लेख्थे । साथै पञ्जावमा ‘प्रीत लडी’ र दिल्लीको ‘आरसी’ पत्रिकालाई कविता, लेख पठाउने गर्थे । सन् १९६० मा ‘मेरो पाकिस्तान यात्रा’ बलराजको पहिले पञ्जावी रचना थियो । पञ्जावी महाकाव्य ‘हीर–राझा’ का नायिकाको चिहान हेर्न गएका थिए – बलराज रावलपिण्डीमा ।
सन् १९६९ मा भारत सरकारले उनलाई ‘पद्मश्री’ को उपाधिबाट सम्मानित गरेको थियो ।
सार्वजनिक जीवनप्रति उनको भावनालाई देखेर–बुझेर उनलाई राज्यसभाको सदस्य मनोनीत गर्ने प्रस्ताव भएको थियो, जसलाई उनले स्वीकार गरेनन् ।
जीवनको अन्तिम समयमा अस्पतालका डाक्टरलाई बोलाएर निम्न टिप्पणी लेख्न भनेका थिए –
“मलाई कुनै कुराको पश्चाताप छैन
मैले पूर्ण र सुखी जीवन बिताएँ ।”
१३ अप्रिल सन् १९७३ को दिन पञ्जावीहरूको ठूलो शुभ दिन वैशाखमा उनी बिते । त्यसबेला उनी ६० वर्षका थिए ।
उनको मृत्युको खबर सुनेर आफ्ना नातागोता र बुद्धिजीवीहरूबाहेक जुन वर्ग र पेशाका कामदारहरूको हितमा बोलेका र सहयोग गरेका ती क्षेत्रमा, माछा मार्ने, होटल र रेष्टुराँमा काम गर्ने र अन्य गरिबहरू गाउँ–गाउँ र टोलहरूबाट श्रद्धाञ्जली दिन पुगेका थिए ।
बलराजको व्यक्तित्वको बारेमा धेरै जानकारहरूले लेखेका छन् – उनी अत्यन्त मेहनती र नम्र थिए, उनको कलाको उचाइ र उपलब्धि सारमा उनकै कष्टसाध्य परिश्रम थियो । ‘समाजवादी भारत’ (सोसलिस्ट इन्डिया) का पूर्वसम्पादक इकवाल सिंहले उनको व्यक्तित्वबारे यसरी प्रस्तुत गरे –
“बलराज उदार हृदय भएका स्नेही व्यक्ति थिए, उनको व्यक्तित्वबारे देशभन्दा बाहिरसम्म पुगेको छ, उनको उद्देश्यप्रति सदा निष्ठावान थिए, भारत र भारतीय जनताको हित नै उनको उद्देश्य थियो । यसकारण उनलाई चिन्ने कसैले पनि उनलाई बिर्सन सक्ने छैनन् ।”
उनको सामान्य रूचि साहित्य, राजनीति, समाजशास्त्र र इतिहासमा थियो । उनी माक्र्सवादी दृष्टिकोणबाट भारतको यथार्थलाई कलामा प्रदर्शित गर्न चाहन्थे– जसमा उनी पूर्ण सफल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *