भर्खरै :

कोभिड–१९ : भ्रमको महामारीविरुद्ध लडाइँ

कोभिड –१९ सङ्क्रमण रोक्ने नाममा भारतमा आयोजित गौमूत्र खाने समारोहमा सहभागी
गुर्जो कति गुणकारी ?
कलेजो रोग विशेषज्ञ (हेपाटोलोजिस्ट) डा. अनन्त श्रेष्ठले केही दिनअगाडि आफ्नो फेसबुक स्टेटसमा लेखेका छन् – ‘गुर्जोको सेवन गरेर लिभर इन्जरी भएका बिरामी हिजोआज धेरै देखिन थालेका छन् । हावाको पछाडि नलागौँ !’ उनको भनाइप्रति विभिन्न प्रतिक्रिया आए । स्टेटसको प्रतिक्रियामा आयुर्वेदका जानकार उनका साथीहरू आक्रामक भएको भन्दै उनले एक अर्को स्टेटस उही सामाजिक सञ्जालमा राखेका छन् । उनको भनाइ थियो, “ड्रग इन्डुस्ड लिभर इन्जरी (डिली) भनेको कुनै प्रकारको औषधिको प्रयोगबाट कलेजोमा पर्ने असर हो । यो एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक सबै औषधिका कारणले हुनसक्छ । पेनकिलर, एन्टिबायोटिक, इम्युनोमोड्युलेटर सबैले ‘डिली’ गर्न सक्छन् ।” कुनै खास वनस्पतिको सही उपयोग नहुँदा यस्ता नकारात्मक परिणाम आउनसक्ने डाक्टर श्रेष्ठको आशय छ ।
हिजोआज गुर्जो खाने लहर नै चलेको छ । तर, कुनै पनि औषधिको मात्रा व्यक्तिअनुसार फरकफरक हुनसक्छ । मात्रा मिलेन भने औषधि पनि विष हुनसक्छ । आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइरालाले बीबीसीसँगको कुराकानीमा धुलो पारिएको गुर्जो खाने भए पाँच ग्राम पाउडर दुई गिलास पानीमा हालेर उमालेर एकचौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खानसकिने भनेका छन् । उनका अनुसार गुर्जोको डाँठ छ भने बुढीऔँला जत्तिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको टुक्रालाई थिचेर पानीमा उमालेर आधा घटाई दिनको एक कप खान सकिन्छ । डा. कोइरालाले गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ । डा. कोइरालाको यही सुझावमा पनि कसलाई कति मात्रा दिने प्रश्न गर्नसकिन्छ ? उनले भनाइ अनुसारको तरिका कतिले अपनाए होलान् ? गुर्जोलाई रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने औषधिको रूपमा व्यापक प्रचार गरिएको छ । तर, आधुनिक विज्ञानको कसीमा घोटेर प्रमाणित नभएसम्म त्यसको उपयोगिताबारे ठ्याक्कै कसरी भन्ने ? यसको विवाद जारी नै छ । यसबाट सर्वसाधारण अन्योलमा छन् । जडीबुटीको उपयोग सम्बन्धमा यो एउटा उदाहरणमात्र हो ।

गुर्जो


नक्कली विज्ञानबाट आक्रान्त विश्व
कोभिड–१९ महामारी फैलिँदै गर्दा गलत सूचनाको बाढी नै आएको छ । मानिस नक्कली विज्ञान (स्युडोसाइन्स) को शिकार भएका छन् । वैज्ञानिकरूपमा पुष्टि नभइकन विज्ञानसम्मत छ भन्ने विश्वास गर्नु वा सोहीअनुसार अभ्यास गर्नुलाई नक्कली विज्ञानको रूपमा लिइएको छ । कोरोना भाइरसविरुद्ध लड्न उपयोगी मानिएको बेसार, अदुवा, लसुन आदिमा जीवाणु निरोधक क्षमता भए पनि त्यसले कुन हदसम्म काम गर्छ भन्ने कुरामा अझै टुङ्गो लागेको छैन । तर, नेपालका प्रधानमन्त्रीले समेत यसैबाट कोभिड–१९ ठीक हुन्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिँदा नागरिकले नक्कली आश्वासन त पाए तर परिणाम चित्तबुझ्दो आएको छैन । मानिसहरू आफू सुरक्षित भएको भ्रम पालेर बसेका छन् । परिणाम घातक निस्केका थुप्रै उदाहरण छन् ।
भारतका ‘प्रसिद्ध योगगुरु’ रामदेवले नाकमा तोरीको तेल लगाए कोभिड–१९ निको हुन्छ भनेर भ्रम फैलाए । भारतीय जनता पार्टीका नेताहरूले गौमूत्रको खुबै प्रचार गरे । त्यहाँ गौमूत्र खाने समारोह नै आयोजना गरियो । भारतमै सामाजिक सञ्जालमार्फत कोरोना भाइरसजस्तो धतुरो खाएमा कोभिड–१९ रोग लाग्दैन भन्ने प्रचार भयो, दुर्भाग्यवश धतुरो खाने १२ जनाको ज्यान गयो । यद्यपि, धतुरोमा केही खास औषधीय गुण हुनसक्छ । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हाइड्रक्सिक्लोरोक्वीनले कोरोना भाइरस रोकथाम गर्छ भनेर प्रचार गरे । यो कुरा पनि चिकित्सकीयरूपमा प्रमाणित हुन सकेन । उनले कोभिड–१९ का बिरामीलाई कीटाणुनाशक रसायनको इन्जेक्सन दिनुपर्छ समेत भने । यो कुरा झनै हास्यास्पद भयो । बेलारुसका राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोले कोभिड–१९ बाट कोही नमर्ने भ्रम फैलाए । उनले सङ्क्रमणबाट बच्न भोड्का खान, सउना जान र ट्रयाक्टर चलाउन सुझाव दिए । ब्राजिलका राष्ट्रपति बोल्सोनारोले महामारी भन्ने कुरा नै अस्वीकार गरेर लकडाउनको पूर्णतः बेवास्ता गरे । महामारी नाटकमात्रै हो र लकडाउन गरी पवित्र मन्दिरमा प्रवेश गर्न रोक्ने पश्चिमी देशहरूको षड्यन्त्रमात्र भएको प्रचार पनि गरियो । परिणामस्वरूप संरा अमेरिका र ब्राजिल सबभन्दा बढी सङ्क्रमणमा परेका छन् । कोभिड–१९ साधारण रोग हो, यसलाई सजिलै उपचार गर्न सकिन्छ र यो मुसलमानहरूलाई पश्चिमा औषधि र खोप लिन बानी पार्ने षड्यन्त्र हो भन्ने कुरा पनि प्रचार गरियो । विश्व स्वास्थ्य सङ्गठनले यस्ता कुरालाई ‘सूचनाको रोग’ अथवा ‘इन्फोडेमिक’ भनेको छ । जिम्मेवार मानिसकै मुखबाट निस्किने वैज्ञानिक तथ्यविपरीतका यस्ता कुराले मानिसलाई झनै सताएको जानकारहरूले निष्कर्ष निकालेका छन् ।
करिब डेढ महिनाअगाडि प्रकाशित संरा अमेरिकी संस्थाको एउटा अनुसन्धान प्रतिवेदनमा विश्वका ८७ वटा देशमा २५ वटा भाषामा कोभिड–१९ सम्बन्धी २३ सयवटा भ्रमात्मक प्रचार गरिएको उल्लेख छ । ती गलत सूचना कुनै अर्थमा कामलाग्दा नभएको बरु ती धेरैजसो हानिकारक सूचना प्रमाणित भए । त्यही भ्रमको पछि लागेर अनाहकमा हजारौँ मानिसको ज्यान गयो । जस्तो, अत्यन्त कडा रक्सी खाएमा शरीरको भाइरस मार्नसकिन्छ भन्ने हल्ला विश्वका विभिन्न भागमा फैलियो । यो भ्रमको कारण मिथानल (एक प्रकारको खान नमिल्ने रक्सी) खाएका करिब ८ सय मानिसको मृत्यु भयो । सोही क्रममा ५९ सय मानिस अस्पताल भर्ना भए भने तीमध्ये ६० जनाले दृष्टि गुमाए । इरान यो घटनाको केन्द्रजस्तो बन्यो । यस्तै घटना टर्की, कतार, भारतल गायतका देशमा भए । दक्षिण कोरियामा चर्चमा आउने व्यक्तिहरूको मुखमा नुनपानीको स्प्रे गरियो, सोही क्रममा एक सयजना कोरोना भाइरस सङ्क्रमित भए ।
नेपालीको दिग्भ्रम
नेपालमा कोभिड–१९ सामान्य रुघाखोकी हो भन्ने प्रचार गराउन ठूला र चर्चित मानिएका टेलिभिजनका प्रस्तोताहरू प्रयोग भए । लकडाउन हटाउन र महामारीको धमिलो पानीमा माछा मार्ने व्यापारीको स्वार्थका लागि कोरोना भाइरस केही होइन भन्ने सन्देश व्यापक प्रचार गरियो । यस्तो प्रचार फैलिएको केही सातामै काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमणको ‘हटस्पट’ बनेको हो । बन्दाबन्दी हुँदा मानिसमा कोरोना भाइरसको डर थियो, बन्दाबन्दी हटेपछि मानिस बेपर्वाह भए । जब मानिसले लापरबाही गर्न थाले सङ्क्रमण व्यापक हुन थाल्यो । दिनकै ३–४ हजार मानिस सङ्क्रमित भएको र त्यसमा पनि आधाभन्दा बढी काठमाडौँ उपत्यकामै देखिने स्थिति आउनुमा मानिसमा फैलाइएको भ्रमले पनि धेरै भूमिका खेलेको छ ।
कोरोना भाइरस सङ्क्रमण हुँदा धेरै मानिसमा लक्षण देखिन्न, केही व्यक्तिमा सामान्य लक्षण देखिन्छ र धेरैथोरै सङ्क्रमितमा गम्भीर स्वास्थ्य समस्या देखिई ज्यानै जाने स्थिति आउन सक्छ भनेर विश्व स्वास्थ्य सङ्गठनले स्पष्ट पारेको छ । कोरोना भाइरसको सङ्क्रमण एउटै व्यक्तिबाट कैयौँ व्यक्तिमा फैलिन सक्छ । यो रोगको लक्षण सङ्क्रमण भएको ५ देखि ७ दिनमा देखिन्छ । यही बीचमा भाइरस फैलिने सम्भावना हुन्छ । रोगको लक्षण नदेखिँदा मानिस आफू स्वस्थ रहेको भ्रम पालेर बस्छन् । यस अर्थमा यो भाइरसको फैलिने दर उच्च हुन जान्छ । मानौँ एकजना सङ्क्रमितले ३ जनालाई रोग फैलाउन सक्छ भने प्रत्येक ५–७ दिनमा ३–३ गुणाको दरमा सङ्क्रमतिको सङ्ख्या बढ्न जान्छ ।
नेपालमा मृत्युदर नै कम भएको कारण कोभिड–१९ लाई महामारी भन्न नमिल्ने तर्क गरिएको पनि सुनिन्छ । चिकित्सा विज्ञानका सफलता, रोकथामका उपायहरूको अनुसरण गर्ने नयाँ संस्कार र सचेतनाको कारण पनि सङ्क्रमण दर अझै नियन्त्रित हुन्छ । यदि त्यसो नहुँदो हो त स्थिति अझै कति विकराल हुन्थ्यो होला, अनुमान पनि गर्न सकिन्न । मान्छेको मृत्यु नै महामारी नभए पनि विश्वका करोडौँ मानिस सङ्क्रमित हुनु र लाखौँ मानिस मर्नु भनेको महामारी नै हो ।
सम्भाव्य निकास
कोरोना भाइरस हावाको माध्यमबाट सर्ने (एअर बर्न) भएकोले सङ्क्रमणको खतरा बढी भएको हो । सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्यÒँगर्दा वा कुराकानी गर्दा, लामो श्वास लिँदा निस्किने थुक वा नाङ्गो आँखाले पनि नदेख्ने थुकका कणहरू (एरोसोल्स) हावामा फैलिएर अरू व्यक्तिको श्वासनलीमा पुग्दछ अथवा सङ्क्रमित व्यक्तिको खकार, थुक वा सिँगानको कुनै अंशमात्र कुनै सतहमा परेको छ र अर्को व्यक्तिको हात त्यस्तो ठाउँमा परेर नाकमुख छुँदा भाइरस सर्ने सम्भावना हुन्छ । त्यसैले सबभन्दा सुरक्षित रहन मास्क लगाउने, नियमितरूपमा साबुनपानीले हात धुने, कुनै पनि व्यक्तिसँग कम्तीमा दुई मिटरको दुरीमा बस्ने उपाय नै सबभन्दा वैज्ञानिक हुन्छ । यसबारे जनताले बुझ्ने भाषामा प्रचारप्रसार आक्रामकरूपमा गर्नु आवश्यक छ । सङ्क्रमित व्यक्तिलाई अलग राख्ने र आवश्यक उपचार गर्ने जिम्मेवारी राज्यकै हो । यो जिम्मेवारीबाट सरकार किन भागिरहेको छ ?
अनुसन्धानविना सही ज्ञान उत्पादन हुनैसक्दैन । कोभिड–१९ को गम्भीर अध्ययन तथा अनुसन्धानलाई अझ व्यापक र तीव्र बनाउनु आवश्यक छ । स्वास्थ्य अनुसन्धान परिषद्को हालसम्मको काम अपर्याप्त भएको भनी विषयविद्हरूले आलोचना गरिरहेका छन् । अब आउनसक्ने भयावह स्थितिको कसरी सामना गर्न सकिन्छ, के के उपाय अपनाउन सकिन्छ भन्नेबारे व्यापक अनुसन्धान हुनुपर्छ । दिनरात काम गर्नसक्ने विज्ञको पहिचान गरी काममा लगाउनु आवश्यक छ । युद्धस्तरको सचेतना कार्यक्रम अगाडि बढाउन ढिलो भइसक्यो । भ्रमपूर्ण प्रचार गर्ने सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवश्यक कारबाही गर्नुपर्दछ । यसको निम्ति स्वास्थ्य क्षेत्रका विज्ञहरूको सहायता अपरिहार्य छ । वैज्ञानिक अनुसन्धानविनाका मनगढन्ते कुरा गर्न कसैलाई छुट दिनु हुन्न ।
सङ्क्रमित व्यक्तिलाई नै डर र त्रास दिने सरकारी शैली पूर्णतः बन्द हुनुपर्छ । स्वास्थ्य विभागहरूलाई जवाफदेही बनाउन तत्काल कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ । पीसीआर रिपोर्ट ढिलो आउनु सङ्क्रमण ह्वात्तै बढ्नुको कारण हो भन्ने तथ्य विश्लेषणबाट पनि थाहा हुन्छ, यसको समाधान तत्काल निकाल्नु जरुरी छ । मुख्यतः राजनीतिक नेतृत्व जनउत्तरदायी र जिम्मेवार हुनु आवश्यक छ ।
महामारीबाट सामान्य मानिस सबभन्दा बढी पीडित छन् । बन्दाबन्दी आदिबाट तिनको रोजगारी छिनिएको छ । यसको जिम्मेवारी पनि राज्यले नै लिनुपर्छ । सङ्कटको बेला तल्लोवर्गका जनताको समस्यालाई पहिलो प्राथमिकता दिएर काम गर्ने दायित्व राज्यकै हो । अन्यथा ‘समाजवादी राज्य’ को उपादेयता मात्र कागजको खोस्टा हुन्छ !
आधारभूत स्वास्थ्य नागरिकको संविधानप्रदत्त अधिकार हो । तर, सरकारले अब कोभिड–१९ का बिरामीको उपचार गर्न नसकिने भनेर कर्तव्यबाट विमुख हुन खोज्दै छ । नागरिकको जीवन राज्यको पहिलो दायित्व हो । सरकार जिम्मेवारीबाट भाग्न पाउँदैन । अहिलेसम्म जनताले सरकारका जस्तासुकै कुकृत्यलाई आँखा चिम्लेरै भए पनि कोरोना भाइरस नियन्त्रणमा साथ दिएका छन् । राज्यप्रतिको सम्पूर्ण भरोसा मरिसक्यो भनेर सरकारलाई आत्मसर्पण गराउनु पनि उचित हुन्न । महामारीसँग लड्न तत्काल जनतासँग अर्को वैकल्पिक प्रणाली पनि छैन । राज्य वा सरकारका तमाम कुकर्महरू उदाङ्ग्याउँदै सही बाटोमा ल्याउनु जनताको पनि जिम्मेवारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *