भर्खरै :

विश्वको शिरमा “टाइम बम”

हिजोआज क्यालिफोर्निया, ओरेगन र वाशिङ्टनमा फैलिरहेको डढेलो अथवा तटीय क्षेत्रमा आँधीबेहरीले मच्चाएको क्षतिभन्दा पर जलवायु परिवर्तनको विनाशकारी असर कल्पना गर्न गार्हो छ । भारत, पाकिस्तान र युरोपमा गर्मी अचाक्ली बढेको छ भने दक्षिणपूर्वी एसियामा विध्वंसकारी बाढी आएको छ । तर, सबभन्दा खराब सङ्कट आगामी दिनमा आउन सक्छ । त्यो एउटै खतरा पनि सम्पूर्ण मानव जातिको लागि ठूलो चुनौती हुनसक्छ । त्यो खतरा हो–पृथ्वीका ध्रुवमा जमेको हिउँ तीव्रगतिमा पग्लिँदै जानु ।
अल्फ्रेड हिट्चकले सन् १९३६ मा बनाएको चलचित्र ‘साबोटेज’ स्मरण गर्दा यो जलवायु ‘बम’ले एउटा निश्चित बिन्दुमा विश्वव्यापी तापमान वृद्धिको दरलाई दोब्बरभन्दा बढी पु¥याउन सक्छ । आज संसार बढ्दो चिन्तासँगै त्यो वमको टाइमरलाई हेरिरहेको छ । हरेक सेप्टेम्बरमा आर्टिक समुद्रको हिउँ सबभन्दा न्यूनतम तहमा पुग्ने गर्छ । रात लामो र तापक्रम घटेसँगै हिउँको परिमाण बढ्ने गर्छ । वैज्ञानिकहरूले अघिल्ला वर्षको तुलनामा हरेक वर्षको हिउँको परिमाण नापिरहेका छन् ।
यो मापनको परिणामले हामी सबैलाई चिन्तित बनाउनुपर्छ । कोलोराडोको बौल्डरको द नेसनल स्नो एन्ड आइस डाटा सेन्टरले यो वर्ष गरेको मापनले आर्कटिकको बीचमा अहिलेसम्मकै सबभन्दा न्यून हिउँ जम्मा भएको देखियो । हालै प्रकाशित एक अध्ययन पत्रले आर्कटिकको बेरिङ सागरमा सन् २०१८ र २०१९ मा बितेका ५ हजार ५ सय वर्षकै सबभन्दा कममात्र हिउँ जमेको थियो ।
सम्पूर्ण आर्कटिक समुद्रभरि गएको सेप्टेम्बर १५ मा समुद्रमा दोस्रो पटक सबभन्दा न्यून परिमाणमा हिउँ जमेको थियो । हरेक वर्ष हिउँको परिमाण भिन्नभिन्न भए पनि समग्ररूपमा हिउँको परिमाण घट्दो दिशामा छन् । सेप्टेम्बर महिनामा बितेका चौध वर्षमा सबभन्दा कम हिउँ जमेको थियो ।
समुद्र हिउँले ओगटेको क्षेत्रमा खुम्चिएको होइन, हिउँको मोटाइ पनि पातलिंदै गएको छ । सबभन्दा पुरानो समुद्री हिउँ (चार वर्षभन्दा बढी जमेको) पग्लिन समय लाग्छ । तर, अहिले सम्पूर्ण समुद्री क्षेत्रमा त्यस्तो हिउँको परिमाण एक प्रतिशतमात्र छ । आजभोलि जमेको एक वर्ष भएको हिउँकै नै बढी छ । जसले समुद्रलाई कमजोर चाँडै पग्लिने बनाएको छ । वैज्ञानिकहरूले आगामी एक वा दुई दसकमा आर्कटिक समुद्रमा आर्कटिक समुद्रमा कहीँ पनि हिउँ नदेखिने पूर्वानुमान गर्छन् ।
त्यसको परिणाम भने भयानक हुनेछ । आगामी केही दसकमै निम्तिने यस्तो चरण अवस्थामा गर्मी महिनामा हिउँ पग्लिँदा उत्पादन हुने विकिरणात्मक तापले वायुमण्डलमा एक ट्रिलियन टन बराबरको कार्बन डायोअक्साइड उत्पादन हुनेछ । आजभन्दा २७० वर्षअघि औद्योगिक क्रान्ति सुरु भए यता वायुमण्डलमा २.४ ट्रिलियन टन बराबरको कार्बन डायोअक्साइड जम्मा भइसकेको छ । सन् १९७९ देखि २०१६ को बीचमा पग्लिएको हिउँको कारण आर्कटिकमा झन्डै ३० प्रतिशत तापमान वृद्धि भएको छ । बाँकी हिउँ पग्लिँदा तापमान वृद्धिको दर अझ बढ्नेछ ।
यी दुई अवस्थाले जलवायु परिवर्तनलाई २५ वर्षले अघि तान्नेछ । अब जलवायु परिवर्तन धेरै टाढाको विषय होइन । गत महिनामात्र म्यानहटन सहरभन्दा दोब्बर आकारको एउटा हिउँको ढिक्का उत्तरपूर्वी ग्रिनल्यान्डमा आर्कटिकको मूल हिमखण्डबाट टुक्रिएको छ । गर्मी महिनामा बढेको तापमानको कारण यस्तो अवस्था निम्तिएको हो ।
अर्कोतिर भूमिमा जमेको ग्रिनल्यान्ड हिम पत्र पनि अहिले सङ्कटमा छ । औसत विश्वव्यापी तापमान वृद्धिको तुलनामा आर्कटिकको तापमान कम्तीमा दोब्बरले बढिरहेको छ । ग्रिनल्यान्डको हिउँ पग्लिने दर कम्तीमा पछिल्ला दुई दसकमा तेब्बर गुणाले बढेको छ । यो क्रम दसक वा त्योभन्दा कम अवधिमा उल्ट्याइन सम्भव नभएको विश्वास गरिएको छ । परिणामतः समुद्रको सतह कम्तीमा सात मिटर अर्थात् २३ फिटले बढ्नेछ । यसले तटीय सहरहरू डुबानमा पार्नेछ । तर, यो उत्कर्ष पुग्न सयौँ वर्ष लाग्ने देखिन्छ ।
आर्कटिक क्षेत्रमा तापमान वृद्धि बढ्ने समस्या बढ्दै जाँदा हिमाली र पहाडी क्षेत्रमा भूसतहभित्र जमेर बसेको तह (पर्माफ्रस्ट) टुक्रिने जोखिम बढ्छ । वायुमण्डलमा अहिले रहेको कार्बनभन्दा दोब्बर बढी कार्बन पर्माफ्रस्टहरूमा थिग्रिएको हुन्छ । यसरी थिग्रिबसेको कार्बन वायुमण्डलमा आउँदा त्यसको परिणाम घातक हुनसक्छ । पर्माफ्रोस्ट टुक्रिंदा नाइट्रस अक्साइड र मिथेनजस्ता हरित गृह ग्यास अझ बढी उत्सर्जन हुनसक्छ । पूर्वी साइबेरियाली आर्कटिक समुद्रमुनि जम्मा भएको मिथेन ग्यास बाहिर उत्सर्जित हुँदा अझ बढी विश्वव्यापी तापमान वृद्धि हुने सम्भावना बढी हुन्छ ।
प्रष्टतः यस्ता भयानक र अझ अस्तित्वसँग गाँसिएका जोखिम कम गर्न तत्काल कदम चाल्न हतार भइसकेको छ । कार्बन डाओअक्साइड (सीओटु) घटाउने प्रयासको थालनीलाई तीव्रता दिनुपर्छ । तर, त्यत्तिले मात्र यो सङ्कट टार्न सम्भव हुने देखिंदैन । अध्ययनले कार्बन डाओअक्साइडको तीव्र कटौतीले आगामी सन् २०५० सम्ममा संसारमा कार्बन डाओअक्साइटको परिमाण झन्डै ०.१–०.३ डिग्री सेल्सियससम्म मात्र घटाउने देखिन्छ ।
त्यसकारण लघु जलवायु प्रदूषक जस्तै मिथेन, ब्ल्याक कार्बन, हाइड्रोफ्लुरोकार्बन (एचएफसी) र त्रोपोस्पेरिक ओजनको उत्सर्जनमा कटौती गर्नुपर्छ । यस्ता प्रदूषक घटाउन सके आगामी सन् २०५० भित्र कार्बनको कटौतीले भन्दा छ गुणाले बढी कार्बन डाओअक्साइडमा कटौती सम्भव हुनेछ । यस्ता प्रदूषकहरूको पूर्ण उन्मूलनले समग्र विश्वव्यापी तापमान वृद्धिको दरलाई आधाले घटाउनेछ । आर्कटिकको अहिले अनुमान गरिएको तापमान वृद्धि दुईतिहाइले घटाउनेछ ।
केही सुधार अवश्य भएका छन् । चार वर्षअघि रुवान्डाको किगलीमा झन्डै चार वर्षअघि अति प्रदूषक हाइड्रो फ्लुरो कार्बन
(एचएफसी) विस्थापित गर्न मोन्टेरियल निर्देशिकामा संशोधन गरी १९७ देशले कार्यान्यवयनको प्रतिबद्धता जनाएका छन् ।
(विश्वव्यापी तापमान वृद्धि गराउने र ओजन तहमा खतरा पु¥याउने झन्डै एक सय थरी रसायन विस्थापित गर्न मोन्टेरियल निर्देशिकाले मार्गप्रशस्त गरेको छ ।)
संरा अमेरिकाको सिनेटमा गत महिना दुई दलबीच आगामी सन् २०३६ भित्र एचएफसी ८५ प्रतिशतले उत्पादन र निर्यातमा कटौती सहमति भएको छ । क्यालिर्फोनियाले आफ्नो भागको ब्ल्याक कार्बन उत्सर्जन सन् १९६० दसकयता ९० प्रतिशतले कटौती गरेको छ । बाँकी पनि आगामी सन् २०३० सम्ममा हटाउने योजना बनाएको छ । संरा अमेरिकाका २५ राज्यका गभर्नरहरू सम्मिलित दुवै पार्टीको संयुक्त संरा अमेरिकी जलवायु मोर्चाले सन् २०३० भित्र ४०–५० प्रतिशतसम्म मिथेन ग्यास उत्सर्जन कटौती गर्ने लक्ष्य निर्धारण गरेको छ ।
यी लक्ष्यहरू प्रशंसनीय लक्ष्यहरू हुन् । तर, विश्वव्यापी तापमान वृद्धि नियन्त्रण गर्न त निकै परको कुरा ती लक्ष्य हासिल गर्न निकै धेरै चुनौती छन् । सबभन्दा पहिलो चुनौती त संरा अमेरिकी ट्रम्प सरकार नै हो जसले सधैँ उत्सर्जन कटौती लक्ष्यको विरोध गर्ने गरेको छ ।
आगामी निर्वाचनमा ट्रम्पले पराजय नै भोगे पनि आर्कटिक र समग्र पृथ्वीले ठूलठूला समस्या भोग्नुपर्नेछ जबसम्म कार्बन डाओ अक्साइड र अन्य जलवायु प्रदूषक दुवैको कटौती गर्ने आमूल परिवर्तनकारी कदम चाल्ने नयाँ सरकार बन्दैन । डढेलो, बाढी पहिरो, आँधीहुरी र अन्य सङ्कटका कारण संसारभर मानिसहरूले आफ्नो घर र जीवनवृत्ति गुमाइरहेका छन् । आगामी दिनमा अवस्था अझ खराब हुनसक्छ ।
मारियो मालिना सन् १९९५ मा रसायनशास्त्रतर्फ नोबेल पुरस्कार विजेता हुन् । उनी क्यालिफोर्निया विश्वविद्यालय र मेक्सिकोको नेसनल अटोनोमस युनिभर्सिटीका प्राध्यापक हुन् । डुरउड जैल्की क्यालिफोर्निया विश्वविद्यालयको दिगो विकासका प्राध्यापक हुन् ।
स्रोत ः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *