भर्खरै :

सङ्घ र प्रदेश सरकारबाट स्थानीय तहमा हस्तक्षेप

  • कार्तिक ५, २०७७
  • सुनिल प्रजापति
  • विचार

 
व्यक्तित्व विकासमा समान अवसर, आर्थिक समानता, सामाजिक न्यायसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार नै मानव अधिकार हो । नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रदान गरेको छ । तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कार्तिक २ गतेदेखि कोभिडको क्षेत्रमा काम गर्ने चिकित्सक र सुरक्षाकर्मीहरूबाहेक अरू सबैको उपचार खर्च सरकारले नव्यहोर्ने मन्त्रालयको निर्णय जानकारी गराउनुभयो । यो संविधानप्रदत्त नागरिकको बाँच्न पाउने अधिकारको हनन हो । यो समाजवादउन्मुख राज्यको अवधारणाविपरीत काम हो । कोरोनाबाट जोगाउन सम्पूर्ण शक्ति एकताबद्ध भएर लाग्नुपर्ने बेला सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्नु गैरजिम्मेवारीपन हो । मन्त्रालयको त्यस निर्णयलाई ‘गरिबमारा निर्णय’ भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।
लक्षण देखिएका गरिब बिरामीहरूले लाखौँ खर्च तिरेर उपचार गराउन सक्दैनन् । तिनीहरू बिनाउपचार मर्नुपर्ने अवस्था आएको छ । सरकारको यो निर्णयले निजी अस्पतालका सञ्चालकहरू पोस्ने काम हुनेछ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य उपचार निःशुल्क प्राप्त हुने हकको सुनिश्चितता गरेको छ तर निजी अस्पतालका सञ्चालकहरूले पीसीआर परीक्षणको नाउँमा गैरकानुनी तवरले हजारौँ रूपैयाँ असुलिरहेका छन् । नेपाल सरकारले तोकेको रकमभन्दा बढी रकम लिएर परीक्षण गर्ने अस्पतालहरूको दर्ता खारेज गर्ने सरकारले निर्देशन दिए पनि निजी अस्पताल सञ्चालकहरूले त्यसको अवज्ञा गर्दै छन् । पछिल्लो समयमा सर्वोच्च अदालतले समेत कोरोना महामारी घोषणा भइसकेको अवस्थामा पीसीआर परीक्षण निःशुल्क गर्नुपर्ने आदेश दियो । त्यसको पनि निजी अस्पताल सञ्चालकहरूले हाकाहाकी उल्लङ्घन गरिरहेका छन् । सरकारको निर्देशन उल्लङ्घन गर्ने कुनै पनि अस्पतालहरूलाई सरकारले कारबाही गर्न सकेको छैन ।
सङ्घ र प्रदेशबाट स्थानीय तहको अधिकारमाथि हस्तक्षेप भइरहेको छ । स्वायत्तताको सिद्धान्तअनुसार नगरभित्रका सबै अस्पताल, सडक, खानेपानी, औद्योगक क्षेत्र र बिजुलीलगायत नगरपालिकाअन्तर्गत हुनुपर्छ । तर, देशका जिम्मेवार पदाधिकारीहरू नै स्थानीय तहको अधिकारबारे गैरजिम्मेवार भएर प्रस्तुत हुने गरेको पाइएको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य उपचार निःशुल्क प्राप्त हुने हकको सुनिश्चितता गरेको छ तर निजी अस्पतालका सञ्चालकहरूले पीसीआर परीक्षणको नाउँमा गैरकानुनी तवरले हजारौँ रूपैयाँ असुलिरहेका छन् । नेपाल सरकारले तोकेको रकमभन्दा बढी रकम लिएर परीक्षण गर्ने अस्पतालहरूको दर्ता खारेज गर्ने सरकारले निर्देशन दिए पनि निजी अस्पताल सञ्चालकहरूले त्यसको अवज्ञा गर्दै छन् ।

कोभिडको महामारीको बेला सबैभन्दा महत्वपूर्ण र अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरू हुन् । सबैतिरबाट स्वास्थ्यकर्मीहरूको मनोबल बढ्ने काम गर्नु अहिलेको आवश्यकता हो तर नेपाल सरकारले घोषणा गरेको प्रोत्साहन भत्तासमेत अहिलेसम्म स्वास्थ्यकर्मीहरूले नपाएका समाचारहरू आइरहेका छन् ।
त्यसैगरी भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब खान नपाएको तीन महिना भयो । अस्पताल व्यवस्थापनमा बसेका नेपाल अर्बुद्ध रोग निवारण संस्थाका पदाधिकारीहरूबाटै आर्थिक अनियमितता भएको गुनासोसहित त्यहाँका स्वास्थ्यकर्मी र कर्मचारीहरूबाट लिखित निवेदन भक्तपुर नगरपालिकामा पेश गरेपछि नगरपालिकाको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भयो । अहिले विवाद अदालतमा विचाराधीन छ भने अस्पतालले संरक्षक नपाएको अवस्था छ । कुनै पनि क्षेत्रमा हुने अनियमितता सार्वजनिक हुनेबित्तिकै मानव अधिकारकर्मीहरू दमकलसरह पुग्ने जनताको अपेक्षा हो । त्यसो नभएको जनताबीच चर्चा भइरहेको छ । समयमा तलब नखुवाउने सञ्चालकहरूलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्नुपर्ने हो । तर, अहिलेसम्म कुनै कारबाही भएन ।
आज बजारमा अखाद्य वस्तुहरू बिक्री भइरहेको छ । व्यापारीहरूले नाफाको निम्ति नागरिकको जीवनमाथि खेलबाड गर्दै छन् । यो मानव अधिकार उल्लङ्घन हो । त्यस्ता व्यापारीहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ ।
कार्तिक २ गतेसम्म नेपालमा १ लाख ३२ हजारभन्दा बढी नागरिकहरूमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । भक्तपुरमा मात्रै ४३०२ जनामा सङ्क्रमण र ४७ जनाको ज्यान गइसकेको छ । सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासले मात्रै कोरोना सङ्क्रमणबाट समाजलाई बचाउन सकिन्छ । भक्तपुर नगरपालिकाले एकीकृत आइसोलेसन केन्द्रको साथै नगरपालिकाको छुट्टै ७५ शय्याको आइसोलेसन केन्द्र सञ्चालन गरी नगरवासीहरूको सेवा गर्दै आएको छ । घर–घरमा आइसोलेसनमा बस्नेहरूको लागि आवश्यक स्वास्थ्य, सरसफाइ र अन्य बन्दोबस्तको लागि निश्चित कर्मचारीहरूको व्यवस्था गरी कुनै पनि बेला सेवा पाउन सक्ने व्यवस्था मिलाउँदै आएका छौँ ।
आइसोलेसनमा बस्नेहरूको लागि चिकित्सक, आयुर्वेदिक चिकित्सक, मनोचिकित्सकमार्फत नियमित स्वास्थ्यसम्बन्धी र अन्य विषयहरूमा अनलाइनमार्फत परामर्श सेवा प्रदान गर्दै आएका छौँ । घरमा र आइसोलेसन केन्द्रहरूमा बस्नुभएका सङ्क्रमित र सम्पूर्ण नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर अनलाइनमार्फत शारीरिक व्यायामको तालिम सुरु गर्दै छौँ ।
नगरपालिकाले टोल–टोलमा साबुन पानीले हात धुनको लागि ट्याङ्की राख्नुका साथै नियमितरूपमा किटनासक औषधि छर्किने कार्य गर्दै आएको छ र जनचेतनाको लागि माइकिङ र विभिन्न सञ्चारमाध्यमहरूमार्फत सूचना प्रवाह गर्दै आएको छ ।
यो दसैँको समय हो । धेरैजना मानिसहरू चाडपर्वमा बाहिर आउन सक्ने अवस्थालाई ध्यानमा राखी सम्बन्धित सरोकारवालाहरूको बैठक राखी दसैँलाई सामान्य औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरिसकेका छौँ । त्यसको लागि जिल्ला प्रशासन, गुठी संस्थान र चाडपर्वसँग सम्बन्धित सबै सरोकारवालाहरूसँग समन्वय गरी अगाडि बढ्दै छौँ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमण नेपालमा पनि भयावह रूप लिंदै छ । दैनिक हजारौँको सङ्ख्यामा वृद्धि हुनु हामी सबैको लागि चुनौती हो । प्रत्येक दिन देखिएका सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा सङ्क्रमितहरू देखिन थालेका छन् । यस्तो सङ्कटको बेला सरकारको परीक्षण हुन्छ । सङ्घ, प्रदेश र स्थानीय तहले के कस्तो काम गर्दै छन् ? त्यो जनताले मूल्याङ्कन गर्नेछन् ।
कोरोना नेपालमा छिर्न नदिन सरकारले खुला सीमा नाकामा कडाइ गर्नुपथ्र्यो । त्यो हुन सकेन । अहिले घना बस्ती भएको काठमाडाँै उपत्यकामा कोरोना व्यापकरूपमा फैलिन थालेको छ । काठमाडौँ उपत्यकामा सङ्क्रमण रोक्नको निमित सुरुका दिनहरूमा उपत्यका छिर्ने नाकाहरूमा कडाइ गर्न उपत्यकाका हामी नगर प्रमुखहरूले पटक–पटक गृहमन्त्री, सङ्घीय मामिला मन्त्रीहरूलाई आग्रह गरेका थियौँ । तर, उहाँहरूले त्यसलाई बेवास्ता गर्नुभयो । उद्योगी व्यवसायीहरूको दबाबमा उद्योगहरू खोल्ने निर्णय गर्नुभयो । त्यसको परिणाम अहिले काठमाडाँै उपत्यका कोरोनाको केन्द्रको रूपमा विकास हुँदै छ । सुरुमै नगर प्रमुखहरूले दिएको सुझावलाई कार्यान्वयन गरेका भए आजको स्थिति आउने थिएन । सरकारले जनस्वास्थ्य प्रथम नीतिलाई कार्यान्वयन गर्न सकेन अर्थतन्त्र चलाउने नाममा केही अर्बपतिलाई खर्बपति बनाउने काम गरेकोमा जनताको विरोध छ ।
(मानव अधिकार एलायन्सको आयोजनामा कोभिड–१९ को ‘सहरकेन्द्रित असर र रोकथाम’ विषयक जुममार्फत कार्तिक ३ गते सम्पन्न अन्तरसंवाद कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *