भर्खरै :

“जनताको आक्रोश कहिले र कसरी फुट्ने हो भन्न सकिने अवस्था छैन”

(समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग मजदुर दैनिकले लिएको अन्तर्वार्ता प्रस्तुत छ–सम्पादक)
अध्यक्षज्यू, देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनुभएको छ ?
देशको आन्तरिक विषयमा एमाले र एमाओवादी नेताहरूबीचको किचलोले सचेत नेपाली जनताको टाउको निहुरिएको छ । यसको कारण विदेशीको सहयोगमा सत्तामा जाने शासक दलहरूको प्रवृत्ति र साधारण जनतालाई भेँडा–बाख्रा सम्झने सामन्ती सोच हो । नेकपा सरकार, प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस र त्यसका नेताहरूले राजदूत, न्यायाधीश, विश्वविद्यालयलगायत अन्य माथिल्ला पदहरू नियुक्तिमा उचित भूमिका नखेली भागबन्डामा अल्झिँदा जनताको मनमा तिनीहरूप्रति आक्रोश छ । त्यो आक्रोश कहिले र कसरी फुट्ने हो भन्न सकिने स्थिति छैन ।
प्रधानमन्त्री केपी ओली र भारतको गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच बालुवाटारमा भएको भेटसँगै राजनीतिक घटनाक्रममा केही परिवर्तन भइरहेको देखिन्छ । त्यो घटनालाई कसरी विश्लेषण गर्नुभएको छ ?
भारतीय ‘रअ’ प्रमुख गोयल र भारतीय सेनाध्यक्ष नरवणेको नेपालको भ्रमणको बारेमा अनेक भ्रमहरू सुन्नमा आइरहेका छन् । यो एक धुवाँको पर्दा पनि हुनसक्छ । यसबारे सबै नेपाली सजग हुनैपर्छ । राजनीतिक पक्षले इच्छा गर्छ, ‘रअ’ ले बाटो बनाउँछ अर्थात् राजनीतिक दलहरूलाई फुटाउँछ र बजाउँछ, त्यही बाटोमा सेना सवार हुन्छ । सिक्किम, भुटान र बङ्गलादेशको बारेमा अनेक पुस्तकहरू निस्केका छन्, त्यस्ता पुस्तकहरूमध्ये कति ‘रअ’ कै पूर्व अधिकारीहरूकै छन् ।
नेपालबारे विवादास्पद अभिव्यक्ति दिने भारतका प्रधानसेनापति नरवणे नेपालको भ्रमणमा छन् । यसलाई कसरी हेर्नुहुन्छ ?
लिम्पियाधुरा, कालापानी र लिपुलेकको बारेमा अर्थात् लिपुलेकमा भारतले जबरजस्ती सडक बनाएको बारे नेपाली जनताको गुनासो हो, ती भूमि नेपालको हो भन्नेबारे सरकारी कागजपत्र, जनताको बसोबाससँग सम्बन्धित सबै निस्सा–प्रमाण नेपालसँग छ । परापूर्वकालदेखि त्यो क्षेत्र नेपालको हो ।
नेपालले आफ्नो भूमिबारे प्रश्न उठाउँदा भारतीय सेनाध्यक्षले ‘नेपालले कसैको उक्साहटमा विरोध’ गरेको बताए । के नेपाली जनतालाई अब हिन्दू धर्म र नेपाली जनताको मातृभूमिबारे बेलायती साम्राज्यवादले सिकाउनुपर्छ ? नेपाली जनतालाई आफ्नो भाषा, धर्म र भूमिबारे थाहा छ ।
नेपालीलाई चित्त दुख्ने र नेपालको सार्वभौमिक अक्षुण्णतामा आँच पु¥याउने गरी बोल्नु नरवणेको व्यक्तित्वलाई नसुहाउने कुरो हो भनी सारा बुद्धिजीवी समुदायमा चर्चाको विषय बनेको छ । बहुदलीय बन्दोबस्तमा कहिलेकाहीँ सत्ताधारी दलले आगामी निर्वाचनको स्वार्थमा राम्रा–नराम्रा प्रतिज्ञा र आश्वासन दिने गर्छन् । त्यस्तो बेला सेनाले नबोलेसम्म त्यसलाई ‘चुनावको गरमी’ भनी बेवास्ता गर्छन् ।
यसकारण नरवणेजीलाई छिमेकी नेपाल र नेपाली जनताको चित्त दुख्ने विषयमा अचानक बोल्न दिने सल्लाहकारहरूबारे पनि प्रश्न उठ्नु स्वाभाविक हो । दक्षिणपन्थी सत्ताधारी पार्टीले सेनाध्यक्षमार्फत् त्यस्ता विषयमा बोल्न बाध्य पार्नु निश्चय पनि भाजपाको शिष्ट कूटनीति होइन ।
पछिल्लो समय संरा अमेरिकाले दक्षिण एसियाली देशहरूमा आफ्नो गतिविधि बढाइरहेको छ । अमेरिकी विदेश सचिव पम्पेओ र रक्षा सचिव एस्परले भारत भ्रमण गरी नयाँ सैनिक सम्झौता गरे । श्रीलङ्का र माल्दिभ्सको पनि भ्रमण गरे । दक्षिण एसियाली क्षेत्रीय राजनीतिमा केही परिवर्तन हुन लागेको हो ?
ट्रम्प प्रशासन अति दक्षिणपन्थी र फासीवादी दृष्टिकोणले ओतप्रोत छ । उनले भने, “मेरो सिरानमा हिटलरको पुस्तक हुन्छ । म हरेक दिन त्यो पुस्तक पढ्छु ।”
नाजिवादी हिटलर ‘आर्य रगत’ ले संसारलाई शासन गर्ने नैतिक अधिकारका पक्षपाती थिए । जाति र भाषाको नाममा उनी संसारमा नरसंहारको कारक बने । उनले अधिनायकवादी शासन चलाए ।
फासीवादी वा अन्धराष्ट्रवादका प्रणेता मुसोलिनीले क्याथोलिक धर्म र ‘रोमको गौरवलाई फर्काउने’ नाममा अति राष्ट्रवादी बाटो लिएर अफ्रिकी महादेशसम्म आक्रमण गरे ।
त्यस्तै ट्रम्प जातिवादी र धर्मको नाउँमा जनताको दमन गर्ने तानाशाही हुन् । उनका परममित्र मोदीमा पनि ती गुण रहेकोमा भारतीय जनता दुःख र आक्रोश पोख्दै छन् ।
दुई वर्षअगाडि संरा अमेरिकी विदेश सचिवले ल्याटिन अमेरिका र अफ्रिकी देशका सरकार प्रमुख र परराष्ट्रमन्त्रीहरूलाई भेटेर तिनीहरूलाई अमेरिकी नीतिमा लाग्न धम्काए ।
आज पुनः श्रीलङ्का गएर एसियाली देशहरूलाई भिडाएर उनी हतियार बेच्ने जुक्ति खोज्दै छन् र धम्काउँदै छन् । भाजपा सरकार अमेरिकी जालमा नफसून् भनी हरेक एसियाली जनता सचेत हुनु स्वाभाविक छ । नेपाली जनता अमेरिकी साम्राज्यवादको हरेक युद्धकामी गतिविधिको विरोध गर्छन् । दक्षिण एसियाली जनता सचेत हुनु आफ्नो हितमा छ भन्ने नेमकिपा सम्झन्छ ।
पछिल्लो समय नेमकिपाले बेल्ट एन्ड रोड परियोजनाबारे प्रशिक्षण र अन्तरक्रियालाई जोड दिएको देखियो । यसको कुनै विशेष कारण छ कि ?
चीनले मानव सभ्यताको प्राचीन युगमा ‘रेशम मार्ग’ मार्फत् संसारका जनतामा आवतजावत, चिनापर्ची, धर्म र सांस्कृतिक आदान–प्रदान र व्यापारको कष्टसाध्य काम ग¥यो । आज त्यसैको पदचिह्नमा सारा संसारलाई शान्ति, भाइचारा, रोग र गरिबीबाट मुक्त गर्ने मार्गको रूपमा सबैको हितमा आपसी सहमतिमा अगाडि बढ्ने योजना ‘एक क्षेत्र–एक सडक’ कार्यक्रमबारे नेमकिपाले आफ्ना कार्यकर्ता र जनतालाई शिक्षित गर्ने काम गर्दै छ । यसले साँगुरो घेरा र सानो स्वार्थविपरीत संसारका जनताको हितमा चिन्तन गर्ने सोचलाई अगाडि बढाउनेछ ।
अमेरिकी राष्ट्रपति निर्वाचनअन्तर्गत मतदान सम्पन्न भइसकेको छ । कतिपय राज्यको नतिजा पनि सार्वजनिक भइसकेको छ । अमेरिकी निर्वाचनलाई कसरी हेरिरहनुभएको छ ?
अमेरिकी प्रजातन्त्र र निर्वाचनको आफ्नै प्रक्रिया छ । अब सबै अमेरिकी जनता निर्वाचनको परिणाम पर्खँदै छन् । मेरो विचारमा निर्वाचन परिणाम जुनसुकै पार्टी र व्यक्तिले विजय हासिल गरे पनि विजयी पक्षमा विश्व शान्ति, रोग (कोरोना भाइरस) तथा भोकबाट मुक्त हुने काममा संसारका जनतासँग मिलेर काम गर्ने भावना जागेमा संसार सुन्दर बन्ने छ ।
कोभिड–१९ को सङ्क्रमण तीब्ररूपमा बढिरहेको छ । तर, ओली सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको छ नि !
नेमकिपाले प्रतिनिधिसभा र प्रदेशसभामार्फत् समयमै कोभिड–१९ लाई नेपालमा नियन्त्रण गर्न दक्षिणी सीमामा परीक्षणस्थल, क्वारेन्टिन र सङ्क्रमितहरूको उपचारको निम्ति शासक पार्टीहरूलाई आफ्ना अनुभवी कार्यकर्ता एवम् स्वयंसेवकहरूमार्फत् सेवा प्रदान गर्न आग्रह गरेको थियो ।
तर, समयमै गर्नुपर्ने काममा ध्यानै नदिई विश्व स्वास्थ्य सङ्गठनको सल्लाहविपरीत पूजा वा अन्य उपायबाट निको हुन्छ भनी जनतालाई भ्रममा पार्ने काम सरकारले गरिरहेको छ । ओली÷प्रचण्डको सरकार तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाजीहरू जनतालाई स्वास्थ्य सेवा दिने जिम्मेवारीबाट पन्छिनु हुन्न भन्ने नेमकिपाको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *