भर्खरै :

दसैँमा ‘बिरालो बाँध्ने’ परम्परा

जसले जसरी मनाए पनि यस वर्षको दसैँ सकियो । धेरैलाई दशा र केहीलाई भाग्य बनेर आउने दसैँका केही परम्पराको कुरा गर्नु असान्दर्भिक नहोला ।
फूलपाती भित्र्याउने
दसैँ कहिलेदेखि मनाउन थालियो पङ्क्तिकार खोजीमा लागेन । लिच्छवी र मल्लकालमा मनाइन्थ्यो । तर, त्यसबेला गोरखा दरबारबाट काठमाडौँको हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने चलन, परम्परा वा विधिविधान पक्कै थिएन । यो चलन गोरखाका राजा पृथ्वीनारायण शाहले हनुमानढोका दरबारलाई आफ्नो निवास बनाएपछि चलेको हुनुपर्छ । पृथ्वीनारायणको कुलघर गोरखा हो, त्यसैले त्यहाँबाट फूलपाती हनुमानढोका दरबारमा ल्याएर आफ्नो कुल परम्परालाई निरन्तरता दिएको हुनुपर्छ । देशमा शाह वंशको शासन विद्यमान रहेसम्म त्यो परम्परा चल्यो, चलायो अस्वाभाविक देखिएन । तर अहिले देशमा शाह वंशको राजतन्त्र छैन तर फूलपाती भित्र्याउने परम्परा कायमै छ । यसले राजतन्त्र समाप्त भइसकेको अर्थ दिन्छ कि कायम रहेको ? कतै ‘नयाँ’ राजाहरूले पुराना राजाहरूको परम्परालाई ‘क्रमभङ्ग’ गर्न नचाहेको हो कि ?
धार्मिक दृष्टिले पनि गोरखा दरबारबाट फूलपाती नभित्र्याई हनुमानढोका दरबारको दसैँ बिलिनो, अपवित्र या अशुद्ध हुने होइन । गोरखा दरबार हनुमानढोका दरबारभन्दा धार्मिक दृष्टिले, कुल परम्परा वा पैत्रिक मान्यताले उच्च स्थान शाह वंशलाई लागे पनि नयाँ शासकहरूलाई लाग्न नपर्ने हो । तर, गणतन्त्रका शासकहरूलाई पनि त्यस्तै लागिरहेको छ । यसले हाम्रो दसैँ धार्मिक, सांस्कृतिक परम्पराको मात्र होइन राजनीतिक चाड पनि देखिएको छ । त्यसैले गणतन्त्रका शासकहरूले ‘बिरालो बाँधेर श्राद्ध गर्ने’ कुबुद्धि कहिले त्याग्ने हुन् ? प्रतिक्षा छ ।
नवदुर्गाको दर्शन
भक्तपुरको नवदुर्गाको दर्शन गर्न पहिलोपटक तत्कालीन राजा वीरेन्द्र २०४५ सालको दसैँमा आएका थिए । पञ्चायती राज्यस्तरबाट त्यस वर्षको भदौमा भक्तपुर काण्डको षड्यन्त्र रचिएको थियो । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न रचिएको त्यस षड्यन्त्रको कारण त्यसबेला भक्तपुर पञ्चायती आतङ्कबाट त्रसित थियो । पञ्चायतको शक्ति र सामथ्र्य प्रदर्शन गर्न राजा स्वयम् भक्तपुर आएका थिए । यसरी राजाको नवदुर्गाको दर्शन केवल धार्मिक थिएन राजनीतिक पनि थियो । पञ्चायती दमन र आतङ्कको प्रतीक थियो ।
त्यसलाई गणतान्त्रिक राष्ट्रपतिहरूले निरन्तरता दिएका थिए । तर, यसपटक कोरोना महामारीको कारण त्यस ‘परम्परा’ मा ‘क्रमभङ्ग’ भएको छ । राष्ट्रपतिले नवदुर्गाको दर्शन गरेर नेमकिपा र भक्तपुरका जनतालाई पञ्चायती दमन र आतङ्कको स्मरण गराएको परम्परालाई कहिले तोड्ने हो, ‘बिरालो बाँधेर सराद्ध गर्न’ छोड्ने हो कि होइन अज्ञात छ ।
कुमारीको दर्शन
काठमाडौँका जनता ‘कुमारी’लाई मान्दछन्, ‘जीवित देवी’ ठान्दछन् । जनताको भावनात्मक पक्षलाई सकारेर शाह वंशका राजाहरूले पनि ‘कुमारीलाई ढोगेर’ विरोधलाई मत्थर पारेका थिए । ‘आक्रमणकारी गोर्खाली’ ले जनमतलाई प्रभावित पारी राजनीतिक फाइदा लिएका थिए, आफ्नो शासनलाई सहज बनाएका थिए ।
गणतन्त्र नेपालका अधिकारविहीन र शासन पक्ष शून्य राष्ट्रपतिहरूले पनि ‘कुमारीको दर्शन’ गरेर शाह वंशीय परम्परालाई निरन्तरता दिएका छन् । शाह वंशको ‘परम्परा’लाई गणतन्त्रका राष्ट्राध्यक्षहरूले निरन्तरता दिनुपर्ने कुनै आवश्यकता र औचित्य देखिँदैन । तर परिवर्तनको कुनै झल्को दिन नसक्दा पुरानोलाई च्यापेर अर्थात बिरालो बाँधेर श्राद्ध गर्नुको विकल्प पनि त छैन, होइन र ?
प्रमको कार्ड
पुरानो परम्परा वा अन्धविश्वासलाई ‘काखी च्याप्दाच्याप्दै प्रम केपी ओलीले आफूले आफैलाई लोपा खुवाउन पुगेका छन् ।
नेपालभाषा साहित्य तःमुंज्याको ४० औँ अनलाइन सम्मेलन सुनिरहँदा संविधानविद् भीमार्जुन आचार्यले प्रम ओलीको दसैँ शुभकामना कार्डको चर्चा गर्नुभयो । पछि इन्टरनेटमा कार्ड हेर्दा स्पष्टै देखियो– निशान छापमा नेपालको पुरानो नक्सा अर्थात् लिम्पियाधुरा नसमेटिएको नक्सा ¤ प्रम ओलीले अवैध नक्सालाई कार्डमा राखेर ‘रअ’ प्रमुखसँगको भेटपछिको परिणाम देखाउन खोजेका हुन् कि केही समयपहिले नयाँ नक्सा जारी गरेर गल्ती भएको स्वीकारेका हुन्, स्पष्ट छैन । तर, देशका कार्यकारी शासकले अपराध गरेको स्पष्ट छ ।
अर्को स्पष्ट चाहिँ प्रम केपीको थर फेरिएको देखिएको छ । शुभकामना कार्ड डाउनलोड गर्दा ‘प्उष्यिा’ (पउयिष) नाममा ‘सेभ’ भयो । राजनीतिक विचार र व्यवहारको कारण एमालेको मात्र होइन नेकपाकै नाम फेर्नुपर्नेमा पार्टी अध्यक्षले थर किन फेरे ? ‘नयाँ’ र ‘परिवर्तन’ पो देखाउन खोजेका हुन् कि ? अथवा पार्टीको नाम फेर्ने सिलसिलाको सुरुआत हो ? त्यसो हो भने ठिक्कै छ ।
टीका ग्रहण
कोरोना महामारीको कारण दसैँको टीका प्रत्यक्ष भेट गरी नलगाउन सरकारले भनेको भन्यै थियो । तर प्रम ओली चाहिँ राष्ट्रपतिबाट टीका लगाउन पुगे । राष्ट्रपतिले प्रमको हरेक काममा आँखा चिम्लेर ‘लालमोहर’ लगाउँछन् भनेर कृतज्ञता जनाउन गएका हुन् कि कथित कम्युनिस्टहरूको व्यवहार यस्तै हुन्छ भनेर प्रदर्शन गर्न ? अनि मन्त्री, संवैधानिक अङ्गका पदाधिकारी … कसैलाई नलगाइदिने प्रमलाई मात्र किन लगाइदिने ? धर्म निरपेक्ष देशको ‘कम्युनिस्ट’ नेतृ धर्मभीरु राष्ट्रपतिको चाला पनि बुझिनसक्नु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *