भर्खरै :

महामारीमा सिक्न सिक्दै

कोभिड–१९ महामारीले इतिहासमै शिक्षा क्षेत्रमा सबभन्दा ठूलो विग्रह निम्त्याएको छ । शिक्षा क्षेत्रमा पहुँचमा विद्यमान असमानतालाई आजको अवस्थाले अझ फराकिलो बनाएको छ । संयुक्त राष्ट्र सङ्घीय शिक्षा तथा संस्कृति नियोग युनेस्कोको तथ्याङ्कअनुसार कोरोना भाइरस फैलिनबाट रोक्न संसारभर लागू गरिएका विभिन्न निर्णयले झन्डै १ अर्ब ६० करोड विद्यार्थीलाई प्रभावित बनाएको छ । विद्यालय बन्द हुँदा धेरै थरी नकारात्मक प्रभाव परेका छन् ।
शिक्षा क्षेत्रमा दसकौँ लगाएर हासिल गरिएको उपलब्धि यो अवधिमा गुमाउने सम्भावना छ । विद्यार्थीहरू, विशेषतः छात्राहरूमा यसले गम्भीर प्रभाव पारिरहेको छ । विगतका सङ्कटमा विद्यालय बन्द गरिएको अनुभवले घरायसी काममा लाग्नु पर्दा विशेषतः छात्राहरूको शिक्षादीक्षा प्रभावित भएको देखाएको छ । छात्राहरूलाई यो अवधिमा कम उमेरमै विवाह र जबरजस्ती विवाहको जोखिम बढी हुन्छ । त्यस्तै असमयमै गर्भधारणका साथै यौन हिंसा र दुव्र्यवहारको सम्भावना पनि बढ्छ ।
संयुक्त राष्ट्र सङ्घीय दिगो विकास लक्ष्यका सबै क्षेत्रमा प्रगतिको ढोका खोल्ने मुख्य चाबी गुणस्तरीय शिक्षा नै हो । गुणस्तरीय शिक्षाले लैङ्गिक समानता, समावेशी आर्थिक वृद्धि र उत्तम स्वास्थ्यलाई प्रबद्र्धन गर्छ । शिक्षा निःसन्देह रूपान्तरणकारी प्रक्रिया हो । शिक्षाको अभावले व्यक्तिले लेखपढ गर्न नजान्नु बाहेक अरू पनि धेरै खराब प्रभाव पार्ने गर्छ । शिक्षाबिना दिगो विकास लक्ष्य हासिल गर्ने हाम्रो प्रयास सबै खेर जान सक्छ ।
संसारभर नै सरकार, बहुराष्ट्रिय निकाय र नागरिक सङ्गठनहरूले दूरशिक्षाको माध्यमबाट शिक्षाको पहुँच विस्तार गर्ने प्रयास भएका छन् । दुःखको कुरा यस्ता प्राविधिक उपायले सिकाइको अथाह सम्भावना बढाएको छ । तर, त्यस्ता उपाय शरणार्थी र आन्तरिकरूपमा विस्थापित बालबालिकाजस्ता सबभन्दा सिमान्त बालबालिकासम्म पुग्न सकेको छैन । टीभी र रेडियो शिक्षाजस्ता न्यून प्राविधिक उपायसमेत त्यो वर्गका विद्यार्थीको निम्ति सहज छैन ।
संसारभरका अपाङ्गता भएका विद्यार्थीहरूले शिक्षामाथि पहुँचमा अवरोध सामना गरिरहेका छन् । महामारीअघि पनि उनीहरू शैक्षिकरूपमा उपेक्षामा नै परेका थिए । विद्यालय बन्द हुँदा उनीहरूमा असीमित प्रभाव पारेको छ । धेरै दूरशिक्षाका तरिका उनीहरूलाई उपयुक्त हुने गरी बनाइएको छैन । युनेस्कोका अनुसार न्यून प्राविधिक, शून्य प्राविधिक, कथनअनुसारको लेख्य भाषा (क्याप्सन दिने) तथा साङ्केतिक भाषाको प्रयोग नै अपाङ्गता भएका विद्यार्थीहरूलाई दूरशिक्षामा समावेश गर्ने सम्भावित समाधान हो ।
यी सबै कुरामाथि विचार गर्दा हामीले आजको सङ्कटलाई सर्वसुलभ र समावेशी शिक्षा प्रणाली र तरिकाको थप विकासका लागि पुनःविचार र विकास गर्ने उत्तम उपायको रूपमा लिनु उपयुक्त हुन्छ ।
समावेशी र सर्वसुलभ दूरशिक्षा विद्यालय बन्द रहेको अवस्थामा पनि विद्यार्थीलाई शिक्षा प्रणालीसँग जोडेर राख्ने उत्तम तरिका हुनसक्छ । यसले सिकाइमा क्षतिलाई सीमित बनाउँछ । समयान्तरमा सुरक्षित हुने परिस्थितिमा विद्यालय खुला हुँदा शिक्षणलाई पुनः तालमेलमा एकाकार गर्न सकिनेछ । किनभने विद्यालयमा सुरक्षित भएर फर्किनु पनि गम्भीर विषय हो । तथापि, अभौतिक कक्षाकोठा (भर्चुएल क्लासरुम) ले भौतिक कक्षाकोठा (फिजिकल क्लासरुम) लाई विस्थापन गर्नसक्दैन । दीर्घकालमा शिक्षा र सहपाठीको उपस्थितिमा गरिने शिक्षा नै खाँचो पर्नेछ ।
संयुक्त राष्ट्र सङ्घका महासचिवले हालै प्रस्तुत गरेको नयाँ नीतिमा शिक्षामा कोभिड–१९ को दीर्घकालीन प्रभाव न्यून गर्न केही प्रमुख सरसल्लाह दिएका छन् । शैक्षिक संस्थाहरू पुनः सुरु गर्ने एकमात्र सबभन्दा प्रभावकारी उपाय भनेको भाइरसको सङ्क्रमण नियन्त्रण हो । शिक्षासँग सम्बन्धित निकायले शिक्षक, अभिभावक र विद्यार्थीलाई समेत सुन्न अपरिहार्य छ । यसले सबैको लागि समावेशी र सुरक्षित तरिकाबाट विद्यालयमा फर्किन मद्दत गर्नसक्छ । विद्यालयहरू सुरक्षितरूपमा पुनः सुरु गर्न स्वास्थ्य क्षेत्रसँग समन्वय अत्यावश्यक छ ।
संसारभरका नेताहरू भाइरसको अनियन्त्रित सङ्क्रमणबीच सुरक्षितरूपमा कसरी खुला गर्ने भन्ने विषयमा निर्णय गर्न गाह«ो मानिरहेका छन् । शिक्षण संस्थालाई नियन्त्रित र सुरक्षितरूपमा पुनः सुरु गर्ने र दूरशिक्षाको व्यवस्थाजस्ता काम गरेर धेरै देशले शिक्षालाई प्राथमिकतामा राख्नु खुसीको कुरा हो ।
यी चुनौतीपूर्ण समयमा हामीले न्यून आय भएका देशका साथै सङ्कट र द्वन्द्वमा परेका देशलाई विशेष प्राथमिकता दिन जरुरी छ । नर्वेले उच्चस्तरबाट शिक्षा क्षेत्रमा सहयोगलाई जारी राखेको छ । युनेस्को, युनिसेफ, शिक्षाको लागि विश्वव्यापी साझेदारी, एडुकेसन क्यानट वेटजस्ता बहुराष्ट्रिय निकाय र नागरिक सङ्गठन सबै महत्वपूर्ण साझेदारहरू हुन् ।
सबै प्रभावित विद्यार्थीहरूलाई विद्यालयमा सुरक्षित तरिकाले विद्यालयमा फर्काउन आन्तरिक स्रोतबाट नै शिक्षा क्षेत्रमा लगानी हुन आवश्यक छ । राष्ट्रिय बजेट र सरकारी विकास सहायता बढ्दो दबाबपछि आउने विश्वकै रीत भए पनि शिक्षा क्षेत्रमा लगानी जोगाउन जरुरी छ ।
शिक्षा स्वाभाविकरूपमा दीर्घकालीन अभियान हो । शिक्षा क्षेत्रमा लगानीले संसारलाई योग्य स्वास्थ्यकर्मी, सक्षम शिक्षक र योग्य नेता प्रदान गर्नेछ । शिक्षा भनेको प्रगति र विकासको चाबी हो । व्यक्तिगत तथा हाम्रो विश्व समुदायको प्रगतिको लागि शिक्षा अपरिहार्य छ । शिक्षाले गरिबी र शोषण कम गर्छ । शिक्षाले उत्पादकत्व बढाउँछ र आम्दानी पनि बढाउँछ । पढेलेखेकी आमाका नानीहरूले स्वस्थ जीवन बाँच्ने सम्भावना अधिक हुन्छ ।
सबै छात्राहरूसहित केटाकेटी विद्यालयमा फर्किनुपर्छ । अर्थतन्त्र र समाजको पुनःस्थापनाको लागि यो अपरिहार्य छ । साथै केटाकेटीको स्वतन्त्रताको लागि पनि विद्यालयको ढोका खुला हुनुपर्छ ।
स्रोत: अल जजीरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *