भर्खरै :

“चिलीमा फासीवादको प्रतिरोध” बारे गोष्ठी

काठमाडौँ, कार्तिक २३ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘चिलीमा फासीवादको प्रतिरोध’ (सन् १९७३ सेप्टेम्बर ११ सत्ता कब्जा) पुस्तकको अनलाइन अध्ययन गोष्ठी आइतबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले चिलीका राष्ट्रपति साल्भाडोर एयेन्डे अमेरिकी फासीवादको प्रतिरोध गर्ने उदाहरणीय व्यक्ति भएको बताउँदै राजनीति देश र जनताको सेवाको लागि हुनुपर्ने बताउनुभयो ।
उहाँले वैज्ञानिक समाजवाद स्थापना गर्न व्यापक जनतालाई क्रान्तिकारी विचारबाट शिक्षित, सचेत र सङ्गठित बनाउनुपर्नेमा जोड दिनुभयो ।
“शत्रुसामु झुक्नुहुन्न, जनतालाई धोका दिन हुँदैन । व्यक्तिगत स्वार्थ छोड्नुपर्छ र देश र जनताको लागि आवश्यक परेका बेला बलिदानको लागि तयार हुनुपर्दछ”, अतिथि सुवालले बताउनुभयो ।
अतिथि सुवालले झापा विद्रोहबाट एमाले र सशस्त्र द्वन्द्वबाट माओवादी मिलेर बनेको नेकपा नामले कम्युनिस्ट तर व्यवहारले पुँजीवादी पार्टी भएको स्पष्ट पार्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले शान्तिपूर्ण सहअस्तित्व र संसदबाट निर्वाचनमा जितेर समाजवाद स्थापना गर्नु संशोधनवादी नीति भएको उल्लेख गर्दै पुराना क्रान्तिबाट जनताले पाठ सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सचिव रमेश प्रजापति, दिनेश खड्की, ईश्वर शाही, हृदय दाहाल, रूपीका श्रेष्ठ, तारा न्यौपाने, गोरख शाही, प्रवीण प्रजापति, श्रीकृष्ण सुकाजु, खेमराज कंडेल, सविता त्वानाबासु, सुस्मा बाटालगायतले पुस्तकबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *