भर्खरै :

आ-आफ्नै डम्फू

(काभ्रेको धुलिखेलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा कामका लागि पुगेका मजदुर, किसान र प्राध्यापकको भेट हुन्छ । प्रमुख जिल्ला अधिकारी अर्कै काममा व्यस्त भएकाले उनीहरूबीच परिचयपछि एकछिन भलाकुसारी हुन्छ ।)
मजदुर:युवाले स्वदेशमा रोजगारी पाएका छैनन् । कोभिड-१९ सङ्क्रमणमा पनि भारत रोजगारीमा लाग्ने नेपालीको ताँती खुला सीमामा देख्न सकिन्छ । देश कहिले उँभो लाग्ने होला ?
किसान: रोपाइँको बेला पनि मल हाहाकार भयो । अहिले गहुँ बाली लगाउन पनि मल अभाव छ । तरकारीलगायत अन्य बाली लगाउने किसान पनि मल नपाएर चिन्तित छन् ।
प्राध्यापक: हामीले पढाएकाहरू नै अहिले मन्त्री, सचिव र सरकारी अधिकारीहरू छन् । देशको यो स्थिति देख्दा आफूलाई प्राध्यापक भन्न पनि लाज लाग्छ ।
मजदुर: कमिसन खान र भ्रष्टाचार गर्न नै यिनीहरू सरकारमा गएका र सरकारी निकायमा अधिकारी नियुक्ती भएका हुन् र ?
किसान: कृषिमन्त्री भुसाल संसद्मा दर्शन पनि छाँट्थे । कति झूटा रहेछन् उनी, अहिले साबित भयो । बङ्गलादेशबाट पैँचोमा मल ल्याउने रे ! निर्लजहरू नेका, एमाले, माओवादी पार्टी तीस वर्ष भयो सरकारमा गएको, एउटा मल कारखाना स्थापना गरेनन् ।
प्राध्यापक: सरकारमा गएकाहरू भारतीय एकाधिकार पुँजीविरुद्ध चुइँक्क बोल्न नसकेपछि परिणाम यस्तै हुन्छ । सरकारका अधिकारीहरू भारतीय एकाधिकार पुँजीलाई नेपालमा लगानी गराउने र त्यसमा कमिसन खानेमा सिमित छन् ।
मजदुर: नेकपाको सचिवालयका नेताहरू कस्ता छन् ? पार्टी फुट्दैन भन्छन् तर गुटको बैठक गर्छन् । पार्टीको नाम नेकपा !
किसान: सरकारमा गएर पुँजीपति र जमिनदारको सेवा गर्नेलाई दुईतिहाइ मत कसरी पर्‍यो ? यो त आठौँ अचम्म भयो नि ?
प्राध्यापक: हामीले त एमाले र माओवादीको एकतापछि नेकपामा दुई जना अध्यक्षको व्यवस्था नै बेठिक बताएका थियौँ । त्यतिबेला नेकपाका पहिलो अध्यक्ष एवम् प्रम ओलीले यसका दोस्रो अध्यक्ष पुष्पकमल दाहाललाई संविधानमा मात्र व्यवस्था भएको भए दुवै अध्यक्ष प्रधानमन्त्री हुने थियौँ भनी फुर्‍याएका थिए । त्यसबेला दाहाल मख्ख थिए ।
मजदुर: दाहाल पनि कस्ता ? ॅकार्यकारी अध्यक्ष’ को कल्गी पाएपछि हो ठान्ने । दावी गर्नलाई मत पुग्नुपर्‍यो नि ! पार्टीमा ६० प्रतिशत मत भएको प्रम ओली कसरी दोस्रो अध्यक्ष हुन सक्लान् ? दाहालले नेपालीभन्दा भारतीय शासकवर्गकै बलमा सशस्त्र द्वन्द्व गरेको यसले पनि पुष्टि गर्छ ।
किसान : ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराएर दाहाल, माधव, खनाल, वामदेव जो प्रधानमन्त्री भएपनि देश र जनताको समस्या समाधान हुँदैन । अहिले ओलीको असफलता पूरै नेकपाका नेता र कार्यकर्ताको असफलता हो, भाग्न पाउँदैनन् ।
प्राध्यापक: त्यसैले प्रम ओलीले यसअगाडि वामदेवलाई प्रम बनाउने प्रस्ताव गरे भने यसपटक ६० वर्ष हाराहारीका नयाँ पुस्तालाई सरकारको नेतृत्व गराउने प्रस्ताव गर्दै छन् ।
मजदुर : पञ्चायतको तीस वर्ष सरकारको विरोध गरी जेलनेल भोगेका नेका, एमाले, माओवादीका नेताहरू पटकपटक सरकारमा गए । यिनीहरूले जनताको समस्या उठेपछि त्यसलाई सामसुम पार्न एउटा छानबिन वा अध्ययन समिति गठन गरी टार्दै आएका छन् । यिनीहरू सच्चा जनसेवक होइनन् ।
किसान: कार्यकारी अध्यक्ष दावी गरेका दाहालसहितले प्रम ओलीलाई सचिवालय बैठक राख्न दुई पृष्ठको पत्रसहित अनुरोध गरेपछि कार्यकारी अध्यक्ष प्रम ओलीलाई नै मानेको भएन र ?
प्राध्यापक: दाहालले सशस्त्र द्वन्द्वको अपराधबाट मुक्त हुनको निम्तिमात्र एमालेसँग पार्टी एकता गरेका हुन् । यसअघि ओलीलाई आधा – आधा समय सरकारको नेतृत्व गर्ने सहमति गराएका दाहालले पछि त्यो दावी पनि छाडेका थिए । अहिले दाहाल कुन मुखले प्रम ओलीको राजीनामा माग्दै छन् ?
मजदुर : प्रम ओलीले त दाहाललाई सधैँ कुरा घसार्ने, पसार्ने र झूटा कुरा लगाउने जस्ता काम गरिरहने भनी स्पष्टसँग आरोप लगाएका छन् नि ?
किसान : यसको जवाफ नभएर त दाहाल छटपटिरहेका हुन् । एमालेका केही नेताले माओवादीसँग चुनावी एकता मात्र गर्नुपर्ने, पार्टी एकता गरेको गल्ती नै भएको बताए नि !
प्राध्यापक: एमाले र माओवादीको संयुक्त चुनावी मोर्चा, संयुक्त सरकार गठन, पार्टी एकता दुवै अध्यक्षबीच आधा – आधा समय सरकारको नेतृत्व आदि सबै सिद्धान्तहीन विषयहरू हुन् । यसैको परिणाम अहिले देश र जनताले दुःख पाएका हुन् ।
मजदुर : के एमाले र माओवादीको संयुक्त चुनावी मोर्चा जनतालाई धोका साबित भएको हो त ?
किसान: परिणामले त्यही देखायो !
प्राध्यापक: प्रमुख जिल्ला अधिकारीले बोलाउनुभयो । अब आजलाई छुटौँ !
(पर्दा खस्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *