भर्खरै :

“ ‘वामपन्थी’ साम्यवाद – एक बालरोग” फेरि छाम्दा

बुरुकबुरुक नउफ्र,
उठ्नै नसक्ने गरी
बरफझैँ थचक्क नबस,
कामरेड, टाढा जानु छ !
भविष्यमा
छलाङ मार्न सजिलो छ
जङ्घारमा पस्नुपर्दैन
भूतमा
घस्रिन सजिलो छ
टाढा जानुपर्दैन
गाह्रो हिँड्न हुन्छ
वर्तमानमा हिँड्न,
पाइला-पाइला चाल्न,
अनुशासनमा लय मिलाउन,
गिट्टी, बालुवा र चट्टानमा
रगतपच्छे हुने गरी हिँड्न
हिँड्न धौ नमान,
कामरेड, टाढा जानु छ !
हामीले १९१७ तर्‍यौँ
आधा शताब्दीसम्म
साइबेरिया र एल्प्समा
ठिँगुरिएको र जमेको
चिप्लेको र हिँडेको अनुभवले ।
तैपनि रित्तिएका छैनन्
हाम्रा कठिनाइ
उक्लिन बाँकी छ
कयौँ कयौँ युरालहरू
नाप्न बाँकी छ
साइबेरियाको मैदान
खोज्न बाँकी छ
प्रशान्तमा भविष्य ।
रगत र आँसुले
रोदन र हाँसोले
हामीले बुझेका छौँ
यात्रा लामो छ,
कामरेड, टाढा जानु छ !
तिमी आफ्ना हिमाल हिँड
लेक र बेसी चहार
सिक हर नदीमा बाँकटे हान्न
पुग प्रत्येक दैलोमा,
देहात अनि गाउँबेसीमा
त्यहाँत्यहाँ पुग
जहाँजहाँ लडाइँका किल्लाहरू
खोजिरहेछन् तथ्य र तर्कहरू
त्यहाँत्यहाँ पुग
जहाँ भविष्यका झिल्के बत्ती
पर्खी बसेका छन् ।
तिनलाई मशाल बनाऊ
हातेमालो र सङ्घर्षले
आफ्नै अभ्यासले
सामूहिक बुद्धि र भावनाले
अन्धकार छ जहाँतहीँ
कामरेड, टाढा जानु छ !
हो, जीवन छोटो छ
नआत्तिऊ
तिमी समूह हौ
आयु हुँदैन समूहको
तिमी हिजो थियौ,
आज छौ र हुनेछौ भोलि
कम्मर कस कामरेड,
तिम्रो भागको जार
जलाएर मात्र कहाँ पुग्छ र ?
कामरेड, टाढा जानु छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *