भर्खरै :

ट्रम्पको हारका लागि भेनेजुयला र ह्युगो चाभेज जिम्मेवार !?

काराकस, २३ नोभेम्बर (टेलिसुर) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी सहायता टीमका एक सदस्य सिडनी पवेलले बिहीबार एक पत्रकार सम्मेलन गरी २०२० को अमेरिकी निर्वाचनमा ट्रम्पको हारका लागि २०१३ मै निधन भएका भेनेजुयाली राष्ट्रपति ह्युगो चाभेज र भेनेजुयला जिम्मेवार भएको दाबी गरेकी छिन् ।
पवेलले २०२० को अमेरिकी निर्वाचनमा ठूलो मात्रामा कम्युनिस्ट हस्तक्षेप भएको दाबी गर्दै ट्रम्पको हारका लागि समाजवादी देशहरू भेनेजुयला र क्युवाको पैसा र सम्भवतः चीनको पनि लगानी भएको आरोप लगाइन् ।
पवेलको यस्तो आधारहीन र अनर्गल तर्कपछि कतिपय सञ्चारमाध्यममा र सामाजिक सञ्जालजस्तो राष्ट्रपति उस्तै कानुनी सल्लाहकार भन्दै खिस्सी गरिएका पोस्टले भरिएका छन् ।
पवेलको यस्तो हास्यास्पद दाबीपछि ट्रम्पको कानुनी सहायता टोलीका अरु दुई सदस्यले आफूहरू पवेल र ट्रम्पको निर्वाचन अभियानबाट अलग्ग भएको घोषणा गरेका छन् । न्यायाधिवक्ता रुडी गिउयुलानी र वरिष्ठ कानुनी सल्लाहकार जेन्न इलिसले आफूहरूलाई ट्रम्पको निर्वाचन प्रचार टीमबाट अलग भएको घोषणा गरेका हुन् ।
स्थानीय समयअनुसार बिहीबार दिउँसो भएको पत्रकार सम्मेलनमा ट्रम्पको निर्वाचन प्रचार अभियानका अन्य सदस्यहरूसँगै न्यायाधिवक्ता पवेलले अमेरिकी निर्वाचनमा भेनेजुयला, क्युवालगायत समाजवादी देशहरूले हस्तक्षेप गरेको प्रमाण आफूसित भएको दाबी गरेकी थिइन् ।
पवेलको उक्त दाबीको भिजुअल सार्वजनिक भएलगत्तै केही ट्रम्प पक्षधरले नै त्यसलाई सामाजिक सञ्जालमा भाइरल बनाएका थिए भने पछि सञ्चार जगत र सर्वसाधारणले त्यसलाई हास्यास्पद भनी खिस्सी उडाउन सुरु गरेका थिए । पवेलको दाबीलाई जर्जिया, पेन्सिलभानियालगायत विभिन्न राज्यमा ट्रम्पले दायर गरेको धाँधलीको मुद्दा असफल र खारेजीसँगै हार स्वीकार नगर्न अन्तिम बहानाको रूपमा प्रयोग गरिएको टिप्पणी छ ।
ट्रम्प र उनका उपराष्ट्रपति माइक पेन्सले नोभेम्बरमा भएको निर्वाचनमा पूर्वअमेरिकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले धाँधली गरी निर्वाचन परिणाम अपहरण गरेको आरोप लगाउँदै पेन्सिलभानियालगायत ६ राज्यमा कानुनी लडाइँ थालेका थिए ।
यसैबीच समाजवादी देश क्युवाका राष्ट्रपति मिग्वेल डियाज कानलले अमेरिकी निर्वाचनमा क्युवाली सरकार जनताले कुनै किसिमको हस्तक्षेप गरेको वा चासो नराखेको स्पष्ट पार्दै संरा अमेरिकाले अमानवीय र आपराधिक नाकाबन्दी लगाई क्युवाली जनतालाई भोकभोकै मार्न गरेको षडयन्त्रलाई ढाकछोप गर्न उक्त आधारहीन आरोप लगाएको बताउनुभएको छ ।
त्यस्तै भेनेजुयाली सरकारले पनि अमेरिकी निर्वाचनमा पैसा खर्च गर्ने मूर्खता भेनेजुयलाले नगरेको प्रस्ट पार्दै संरा अमेरिकाले गैरकानुनीरूपमा खोसेका र कब्जा गरेका आफ्नो देशको रकम र सम्पति पूरै फिर्ता गर्न माग गरेको छ । भेनेजुयली राष्ट्रपति निकोलस माडुरो सरकारको विरोध गर्ने बहानामा २०१९ को जनवरीदेखि संरा अमेरिकी सरकारले अमेरिकामा भएका भेनेजुयाली सम्पत्ति र बैङ्कमा भएका रकम कब्जा गरेको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *