भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– १

भूमिका
आफ्नैबारेमा बोल्न मलाई असजिलो लाग्छ । मेरो राजनीतिक जीवनका उथलपुथलबारे लेख्नेबारेमा मैले कहिल्यै सोचिनँ न त मैले मेरा सपना र गुनासाबारे नै लेख्ने मनसाय राखें । किनभने हाम्रो कथा भनेको समग्रतामा सामूहिक जिम्मेवारीको कथा हो । म अदमित ‘अहम्’ भावना हाम्रो दीर्घकालीन सङ्घर्षमा कदापि पनि बरोबर सतहमा आएको चाहन्नँ । त्योभन्दा पनि खासमा विगत सम्झना गर्ने मसँग मनग्य समय नै भएन । तीतो वास्तविकताले मेरा कतिपय नजिकका समकक्षीहरूसँगको सहयात्रा गुमाएको हुनसक्छु । कति मिति र सालहरूमा म झुकिने गर्छु । तथापि, हाम्रो सङ्घर्षका दिनमा मलाई उत्साह प्रदान गर्न विस्मयकारी भूमिका खेल्ने मानिसहरूलाई म कदापि भुल्न सक्दिनँ । बितेका ६० वर्षमा म मेरा कमरेडहरूको साथमा उत्तम भारत बनाउन जनतासँग र जनताबीच कडा सङ्घर्ष गरिरहेका छौँ । त्यसकारण मैले मेरो देशवासी र पार्टीका कमरेडहरूका आग्रह टार्न सक्दिनँ र अन्ततः सन् १९७७ सम्मको मेरो राजनीतिक जीवनको नक्सा कोर्ने निर्णयमा पुगेँ । यसको निम्ति मुख्यतः हाम्रो पार्टीको मुखपत्र ‘स्वाधीनता’ र पार्टीको दैनिक अखबार ‘गणशक्ति’ तथा राज्य सभाका कार्यक्रममा म भर परेको छु । हाम्रो पार्टीले प्रकाशन गरेका विभिन्न तथ्याङ्कको सङ्कलन र सम्पादनमा कमरेड दिनेश रोय र अरनव रोयले मद्दत गर्नुभयो । मेरो राजनीतिक गतिविधिको यो समयक्रमलाई आधिकारिक राजनीतिक संस्मरणको रूपमा मात्र लिनु उपयुक्त हुनेछ । यसलाई वास्तविक अर्थमा आत्मसंस्मरणको रूपमा लिनु उपयुक्त नहोला । यो संस्मरण सुरुमा बङ्गाली भाषामा लेखिएको हो । हाम्रो पार्टीको दैनिक अखबार ‘गणशक्ति’ मा धाराबाहिक प्रकाशित गरिएको हो । पछि यसलाई नेसनल बुक एजेन्सीले दुई वटा साना पुस्तकमा सङ्कलन ग¥यो । मेरा जीवनी लेखक सुरवी बेनर्जीले यसलाई अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ ।
जनताको आवाज
६ मार्च सन् १९९५ । कोलकोत्ताको साल्ट लेकस्थित इन्दिरा भवन । रातको दस बजिसकेको छ । चारैतिर चूक घोप्टेजस्तै अँध्यारो छ । चिसो बतास चलिरहेको छ । घरको बाल्कोनीमा बसेर म दिनभरका घटना दिमागमा खेलाइरहेको छु । हाम्रो देश कतातिर जाँदै छ ? यो र यस्तै प्रश्नले मेरो मन अमिलो बनेको छ । भारतको भविष्य कस्तो हुने हो ? अब भारतले कुन बाटो समात्ने हो ? भारतको एकता, गौरव र नैतिकतालाई आज के भइरहेको छ ? रातको चिसो बतासमा यी सबै प्रश्न अनुत्तरित छन् ।
निशाको गहिरो अन्धकारमा अचानक मैले म पढेको प्रेसिडेन्सी कलेजका गुरु प्रफुल्लचन्द्र घोषको तीखो आवाज सुनेँ । मानौँ उनको आवाज निशामा छचलकिरहेको छ । विगतमा जस्तै उनी आफ्नो प्यारो वाक्यावली दोहो¥याइरहे जस्तो अनुभव भयो–‘यो समय विश्रृङ्खलित छ ! यो समय विश्रृङ्खलित छ !’ मैले अनायास उनको भनाइप्रति सहमतिमा टाउको हल्लाएँ । अँ, यो समयमा पक्कै केही गडबड भइरहेको छ । मेरो भारत हिजोजस्तो थियो, आज पक्कै त्यस्तो छैन । म विगततिर फर्कें । केटाकेटी छँदा मेरी आमाले मलाई सुनाउने गर्नुभएको (रवीन्द्रनाथ) टैगोरको सुमधुर भाका काममा गुञ्जियो, ‘एक्लै हिंड रे ! एक्लै हिंड रे !’

अनि ‘अन्तर्राष्ट्रिय गीत’ को उठ्दो भाकाले मेरो स्मृति छपक्क छोपियो– ‘उठ ! जाग ! हे भोका नाङ्गा !’ ओ ! भारत । ओ ! मेरो देश । तिमी कतातिर जाँदै छौँ ? तिमी कहाँ छौ अहिले ? तिम्रो भविष्यको गर्भमा के लुकेको छ ?
अचानक बजेको फोनको घण्टीले मेरो एकाग्रता बिथोलियो । मेरा पुराना मित्र हरिकिशन सुरजीतको फोन रहेछ । उनले मलाई ‘हवाला’ काण्ड (सन् १९९१ मा भारतका सत्तासीन र सत्ता बाहिर रहेका नेताहरू, अपराधी र व्यापारीबीचको सम्बन्ध उजागर गरेको कालो धनसम्बन्धी काण्ड) बारे जानकारी दिए । भारतको राजनीतिक व्यवस्थाको अनुहारमा दाग पोत्ने यो पछिल्लो काण्ड हो । यो खबर सुनेपछि मलाई यस्तो अवस्था पहिले पनि भोगिसकेको अनुभूति भयो । वर्षौंदेखि भारत एकपछि अर्को यस्ता काण्डहरूले कलङ्कित बनेको छ । बोफोर्स काण्ड, शताब्दीकै प्रमुख काण्डमा गनिएको सेन्ट किट्स जालसाजी र त्यसपछि अहिलेको यो ‘हवाला’ काण्डले भारतमाथिको कलङ्कलाई अझ गाढा बनाएको छ ।
“हवाला काण्डले मिडियालाई मज्जाको मसला दिने भयो । त्यसको प्रभाव विस्तारित र लामो समय रहिरहनेछ”, कुनै खराब अवस्थाको कल्पना गर्दै कमरेड सुरजितलाई मैले भनेँ ।
म र मेरो पार्टीलाई दिल्लीको सत्तामा आएको यो प्रतीकात्मक आँधीहुरी स्वागतयोग्य समाचार हो । दिल्ली दरबारमा गएको भूकम्प, त्यसको पतन र बिसर्जनले मेरो पार्टी र व्यक्तिगतरूपमा मेरो विचारलाई प्रमाणित गरेको हुनुपर्छ । हामीले त सुरुदेखि नै भन्दै आएका छौँ, संसारका सबै देशका पुँजीवादी व्यवस्था काण्डै–काण्डै र भ्रष्टाचार नै भ्रष्टाचार सँगसँगै अघि बढेको हुन्छ । तथापि, खसोखास कुरा गर्दा मेरो आफ्नो भूमिमा यी सबै घटना भइरहँदा मलाई न कुनै नैतिक ऊर्जा प्राप्त भएको अनुभव भयो न व्यक्तिगत हर्ष नै भयो । बरु, मलाई हेमलेट
(शेक्सपियरको नाटक) को चर्चित उक्ति ‘डेनमार्कमा केही कुरा कुहिरहेको छ’ भनेजस्तै मलाई त्यस्तै भावनाले छोपिरहेको थियो । मेरो हुर्काइ र मेरो नैतिक मूल्यले मलाई कहिल्यै पनि त्यस्ता ‘अपवित्र व्यवहार’ मा सामेल हुन वा स्वीकार्न अनुमति दिएन । विशेषतः यस्ता घिनलाग्दा भ्रष्टाचार र सत्ताको दुरूपयोगबाट म निकै टाढा नै रहेँ ।
हप्ताहरू बिते । हवाला काण्डबारे थप नयाँ–नयाँ कुरा बाहिर आए । दिल्लीका प्रतिष्ठित नेताहरू सुरुमा आरोपित गरियो, अनि छिःछिः र दुरदुर गरियो, अनि अन्त्यमा ‘उन्मुक्ति’ दिइयो । यो घटनाले हाम्रो राष्ट्रिय जीवनमा नैतिकताको राजनीति स्खलन भएको देखाएको छ अथवा के यो राजनीतिक विपक्षविरुद्ध बुनिएको जाली षड्यन्त्रमात्र हो ? के यो उदाउँदा नेताहरूका राजनीतिक महत्वाकाङ्क्षालाई कोपिलामै सिध्याउने जालसाझीमात्र हो ? मेरो ६० वर्ष लामो राजनीतिक सोचले यस्तो खालको ‘सफाया प्रक्रिया’ लाई कदापि स्वीकार्न सक्दैन । दिल्लीप्रतिको उँचो सम्मान र प्रतिष्ठाको हालत के भयो ? उसले क्रमशः आफ्नो प्रदिप्ति गुमाउँदै गएको देखिन्छ । कोलकोत्तालाई सधैँ फोहोरी र विकृतिको पर्यायको रूपमा प्रचार गर्ने गरिएको छ । अहिले कसको फोहोरी काण्ड बाहिर आइरहेको छ ? म अब प्रश्न गर्न बाध्य छु, विकृत को–दिल्ली कि कोलकोत्ता ?
मलाई अफसोच लाग्छ, दिल्लीका नेताहरू यस्ता विषयमा निर्लज्ज भएर प्रस्तुत हुने गरेका छन् । आम चुनाव हुन केही महिनाअघि नै सबैको आँखा कुर्सीमा केन्द्रित थियो । सबभन्दा पहिले को कुुुर्सीमा बस्छ ? पत्रकारहरूले मलाई दैनिक दोहो¥याइ–तेहे¥याइ प्रश्नहरू सोध्ने गर्छन्, ‘के तपार्इँ देशको नेतृत्व गर्दै हुनुहुन्छ ?’, ‘के आखिर भारतले पहिलो कम्युनिस्ट प्रधानमन्त्री पाउने भयो ?’ ‘के अरू साम्प्रदायिक पार्टीहरूलाई पराजित गर्न तेस्रो मोर्चा बलियो शक्तिको रूपमा उदाउँदै छ ?’ ‘के बहुपक्षीय मन्त्रिमण्डलको नेतृत्व गर्न तपार्इँ सबभन्दा उपयुक्त पात्र हुनुहुन्न ?’
यस्ता जिज्ञासा सुनेर मसँग हाँस्नुको अर्को विकल्प हुँदैन । म पत्रकारहरूलाई भन्छु, अन्तिम परिणामको घोषणा जनताले गर्नेछन् । जे जस्तो भए पनि सबैले आफूलाई लोकतन्त्रप्रतिको आस्थावान राख्नुपर्छ र जनताको निर्णय स्वीकार्नुपर्छ । जनताप्रतिको विश्वास मेरो विश्वास एकक्षणको लागि पनि ढलपल हुनेछैन । उथलपुथलमय पाँच दसकमा मैले जनतासँग नजिकबाट अन्तरक्रिया गरेको छु । अस्थिर र अन्योलको समयमा, अनिकाल र तुलनात्मक सहजताको समयमा मैले जनतासँग अन्तरक्रिया गरेको छु । जनतासँग मात्र आफ्ना नेताहरूको क्षमताबारे सही मूल्याङ्कन गर्नसक्नेमा म अन्तरहृदयदेखि विश्वास गर्छु । देशको भविष्यको सबभन्दा उत्तम लेखाजोखा नै उनीहरूको आवाज हो ।
तर, आज जनताको यो आवाजलाई कसैले सम्मान गर्न सकिरहेको छैन । सबै राजाका आउरेबाउरे र राजा (शासक) जुन कुनै मूल्यमा शक्ति सबै हत्याउने प्रयासमा लागिरहेका छन् । तारिखमा नछुट्ने मुद्दा र आतङ्कवादी तथा विध्वंसात्मक गतिविधि नियन्त्रण ऐन (टाडा) सम्बन्धी मुद्दा यस्ता शक्तिको खेलका अवरोध बनेका छैनन् । यस्ता मुद्दाका अभियुक्तहरू एकाएक चुनावमा उम्मेदवार बनेर सर्वसाधारण जनतासामु ‘इमानदार’ देखिएर आफूमाथिको दाग सबै मेट्ने गर्छन् । के यो घातक चक्रको अब कहिल्यै पनि अन्त्य हुँदैन ? के आजको सत्ताका भोका पुँजीवादी राजनीतिक नेताहरूको झैझगडाबीच जनताको आवाजको कुनै सुनुवाइ होला ?
यो वर्ष भारत आफ्नो स्वतन्त्रताको पचासौँ वर्ष मनाउँदै छ । भारतले अब के कुरालाई प्राथमिकता दिन आवश्यक छ ? कुँजिएको पुँजीवादी व्यवस्था, असीमित विदेशी ऋण, ओइलाउँदो सङ्घीय व्यवस्था र यीमध्ये पनि सबभन्दा माथि केही अनैतिकरूपमा पतीत पुँजीवादी राजनीतिक नेताहरू !
नेपाली अनुवाद: बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *