भर्खरै :

गणेश माविमा प्रअ याकामीको बिदाइ

भक्तपुर, १४ मङ्सिर । भनपा वडा नं. १ स्थित गणेश माविका प्रअ गंगाप्रसाद याकामीलाई बिदाइ र नवनियुक्त प्रअ गणेशराम थुसालाई आइतबार एक समारोहबीच बधाई ज्ञापन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न उक्त बिदाइ कार्यक्रममा अनिवार्य अवकाश प्राप्त प्रअ गंगाप्रसाद याकामीले विद्यालय विकासको निम्ति सामूहिक कार्यमा काम गर्न सके जुनसुकै काम सजिलै गर्नसकिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् सल्लाहकार अम्बिका न्याइच्याईले राज्यले विद्यालय र विद्यार्थीलाई कक्षा शिक्षणको निम्ति इन्टरनेटको व्यवस्थालगायत जोर बिजोर प्रणालीको आधारमा शिक्षण कार्य अगाडि बढाउन सकिने सुझाव दिएको बताउनुभयो ।
विद्यालयका सल्लाहकार लक्ष्मीनारायण राजलवटले शिक्षाबाट वञ्चित स्थानीय बासिन्दाहरूलाई सुलभ शिक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय शिक्षासेवी एवम् समाजसेवीहरूको अगुवाइमा विद्यालय स्थापना गरेको स्मरण गराउनुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयले सामाजिक र सांस्कृतिकरूपमा वडाको विभिन्न क्रियाकलापमा सहयोग गरेको चर्चा गर्नुभयो ।
नवनियुक्त प्रअ गणेशराम थुसाले विद्यालयको शैक्षिक र भौतिक विकासबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *