भर्खरै :

“बढी भागबन्डा खोज्नेलाई अध्यादेशले आत्मसमर्पण गराएको छ”

काठमाडौँ, १ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रधानमन्त्रीले जारी गरेको संवैधानिक परिषद्को कार्यविधि संशोधनसम्बन्धी अध्यादेशले सत्ताको भागबन्डामा बढी भाग खोज्नेहरूलाई ठाउँमा ल्याएको बताउनुभएको छ ।
“जसले प्रधानमन्त्रीलाई दुःख दिने काम गरे, बढी माग राखे र भागबन्डा खोजे उनीहरूले आत्मसमर्पण गरेपछि अध्यादेश फिर्ता गरिएको छ”, उहाँले भन्नुभयो ।
बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्रीले संविधानले आफूलाई प्रदान गरेको ‘विशेष अधिकार’ मात्र प्रयोग गरेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले दुई–चार जना मान्छे कराएकै भरमा आफ्नो अधिकार छोड्ने कमजोर व्यक्तिलाई सरकारमा राख्न नहुने बताउँदै ठीक–बेठीकको टुङ्गो भोलि संसद् र अदालतबाट हुने बताउनुभयो ।
उहाँले अध्यादेश जारी भइसकेपछि लागू गर्नु उपयुक्त हुने र भोलि त्यसको जवाफ संसद्मा दिने तयारी गर्नुपर्ने विचार राख्दै भन्नुभयो, “कमजोर व्यक्तिले शासन चलाउन सक्दैन ।”
नेकपा आफ्नै कारण जनतामा बदनाम भइसकेको चर्चा गर्दैै उहाँले नेपालका अरू शासक दलहरूले नेकपाको दुर्दशाबाट सिक्न सक्नुपर्ने बताउनुभयो ।
वर्तमान राजनीतिक अवस्थाको नेपाली काङ्ग्रेस जिम्मेवार भएको धारणा राख्दै अध्यक्ष बिजुक्छेंँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष बलियो भएको भए शासक दल डराउने थियो ।”
पछिल्लो राजनीतिक घटनाक्रममा बाह्य शक्तिको संलग्नताबारे सोधिएको प्रश्नमा उहाँले नेपालजस्तो खुला सीमा भएको देशमा त्यस्तो संलग्नता हुनसक्ने धारणा राख्नुभयो ।
नेपालका शासक दलका हरेक पाँच जना केन्द्रीय सदस्यमध्ये एक जना भारतीय गुप्तचर विभागसँग सम्बन्धित भएको भन्दै उहाँले सबल नेतृत्व नभएको दल भनेको भीडमात्र हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *