भर्खरै :

यःमरी पुन्हिबारे सङ्क्षिप्त चर्चा

नेवाः समुदायमा विभिन्न जात्रा र चाडपर्व छन् । नेवाः समुदायका विभिन्न चाडहरूमध्ये एक विशेष चाड हो–यःमरी पुन्हि । यो पुन्हि हेमन्त ऋतु, नेपाल संवत्को दोस्रो महिना थिंला थ्वको पूर्णिमा अर्थात् मार्ग शुक्ल पूर्णिमाको दिन पर्छ । यस वर्ष यःमरी पूर्णिमा अर्थात् धान्य पूर्णिमाकै दिन किराँतहरूको मुख्य पर्व उधौली पर्व र तमु ल्होसार पनि परेका छन् ।
यःमरी पूर्णिमाको दिन नेवाः समुदायमा विशेष परिकारको ‘यःमरी’ बनाइन्छ । यसकारण यस पूर्णिमालाई यःमरी पूर्णिमा भनिन्छ । आजभोलि यःमरी भनेर थाहा नहुने प्रायः कमै होलान् । यःमरी स्वदेशमा मात्र नभई विदेशमा पनि परिचित र लोकप्रिय भइसकेको छ । यही परिकार बनाएर बेलायतमा आयोजित मास्टर सेफ प्रतियोगितामा सन्तोष साह फाइनलसम्म पुग्न सफल भए ।

एकदिन धनका देवता कुबेरलाई सुचन्द्र महाजन दम्पत्ति कत्तिको दानी र दानधर्ममा विश्वास राख्दारहेछन् भनी बुझ्न मन लागेछ । एकजना दरिद्र मानिसको रूप धारण गरी कुबेर महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पत्तिले माग्नेलाई स्वागत सत्कार गरी आफूलाई पकाएको मीठो खानेकुरा खुवाउनुको साथै सेवाभाव देखाएको हुनाले कुबेर खुसी भए । त्यसपछि कुबेरले आफ्नो सक्कली रूपको दर्शन दिई आर्शीवाद दिई अन्तध्र्यान भए । कुबेरले प्रदान गरेको सद्बुद्धि र अर्तीअनुसार ती महाजनले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी (यःमरी) बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर पूजा गरेछन् । महाजन दम्पत्तिले अन्न, धान र यःमरी दान पनि गरेछन् ।

यःमरीबारे एउटा पुरानो लोककथा छ । त्यो लोककथा समाजमा हजुरबा र हजुरआमाले आफ्ना नातिनातिनालाई सुनाउने गर्नुहुन्छ । रत्नाबदान बुद्ध वचन पुस्तकमा पनि यो कथा उल्लेख छ ।
उक्त लोककथाअनुसार पाञ्चाल देश (हालको पनौती)मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पत्ति बस्दथे । उनीहरूको दयालु स्वभाव सर्वत्र फैलिएको थियो ।
एकदिन धनका देवता कुबेरलाई सुचन्द्र महाजन दम्पत्ति कत्तिको दानी र दानधर्ममा विश्वास राख्दारहेछन् भनी बुझ्न मन लागेछ । एकजना दरिद्र मानिसको रूप धारण गरी कुबेर महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पत्तिले माग्नेलाई स्वागत सत्कार गरी आफूलाई पकाएको मीठो खानेकुरा खुवाउनुको साथै सेवाभाव देखाएको हुनाले कुबेर खुसी भए । त्यसपछि कुबेरले आफ्नो सक्कली रूपको दर्शन दिई आर्शीवाद दिई अन्तध्र्यान भए । कुबेरले प्रदान गरेको सद्बुद्धि र अर्तीअनुसार ती महाजनले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी (यःमरी) बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर पूजा गरेछन् । महाजन दम्पत्तिले अन्न, धान र यःमरी दान पनि गरेछन् । भकारीमा चढाएको चार दिनपछि विवाहिता छोरीचेलीलाई माइतमा बोलाई स–परिवार बसेर यःमरी प्रसादको रूपमा बाँडेर खाने–ख्वाउने गरेछन् । यमरी खाएकाले शरीरसमेत हृष्टपुष्ट हुनथालेछ, धनसम्पत्तिको वृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ ।
यो कुरा जताततै फैलिएपछि त्यही समयदेखि नेवाः समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको संस्कृतिविद्हरू बताउँछन् । यसरी कुबेरले भनेअनुसार धनधान्य भएको हुनाले त्यही बेलादेखि मङ्सिर पूर्णिमाको दिन भर्खरै भित्र्याएको धानबाट यःमरी बनाएर खाने र पर्व मनाउने चलन चलिआएको मानिन्छ ।
त्यस्तै शिव पुराणमा वर्णन भएअनुसार भगवान शङ्करले माता पार्वतीको धान्य पूर्णिमाको रूपलाई विशेष पूजा आराधना गरेको उल्लेख छ । शङ्कर भगवानले माता अन्नपूर्णासँग स्वयम् भिक्षा मागेको प्रसङ्ग उल्लेख छ । यदि कसैले आजको दिन विधिवत् माता लक्ष्मीको आराधना गरेमा विशेष प्रकारको लाभ तथा माताको विशेष कृपा प्राप्त हुने उल्लेख छ ।
यःमरीभित्र किन तिल, चाकु वा खुवा नै राखिन्छ ?
नेवाः समुदायमा विशेष किसिमले चामलको पिठोमा तिल, चाकु वा खुवा राखेर यःमरी बनाउने चलन छ । यःमरीलाई त्रिगुण (सत्व, रज र तम) तत्वको रूपमा मानिन्छ । जहाँ सत्व गुणको प्रतीकस्वरूप चामलको पिठो, रज गुणको प्रतीकस्वरूप चाकु र तम गुणको प्रतीकस्वरूप तिललाई लिइन्छ । यसकारण यःमरीभित्र तिल, चाकु वा खुवा हालेर बनाइन्छ । यसरी यी त्रिगुण (सत्व, रज र तम)युक्त यःमरीले जीवनमा वैभव, सुख र समृद्धि ल्याउँछ भन्ने मान्यता छ । देवीदेवताको पूजाका निम्ति बनाइएका यःमरीभित्र भने चाकु र तिलको मिश्रण नभई पाँच दाना चामल रहेको हुन्छ । जुन बौद्ध धर्मअनुसार पञ्चबुद्धको प्रतीकको रूपमा र हिन्दू धर्मअनुसार पञ्चतत्वको रूपमा रहेको हुन्छ ।
तर, आजभोलि स्वादका पारखीहरूले यःमरीभित्र चाकु र तिलको सट्टा मासु राखेर पनि बनाउन थालेका छन् । तर, यसलाई विकृति मान्नुपर्छ । यःमरी भनेको वैष्णव धर्मअनुसार विष्णुको प्रतीक हो र बौद्ध धर्मअनुसार चैत्यको प्रतीक हो । यसरी यःमरीभित्र मासु राख्नु हुँदैन भनी पुरातत्व विभागका पूर्वप्रमुख अधिकृत श्यामसुन्दर राजवंशी बताउनुहुन्छ ।
के–के गरिन्छ त यस दिन ?
धान्यपूर्णिमाको दिन बुद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासका कारण यस दिन यःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ । यस दिन योगीजनहरूले दत्तात्रय जन्मेको दिन भएर ज्ञानकुण्डको लागि दत्तात्रय जयन्ती भनेर मनाउने गर्दछन् भने गृहस्थीहरूले धनधान्य होस् भनेर धनेश्वर÷धान्यलक्ष्मीको पूजा गर्ने गर्दछन् ।
यस दिन भित्र्याइएको नयाँ धानको चामलको पिठोबाट विभिन्न आकृति बनाइन्छ । गणेश, कुबेर, नाङलो र कुचो समाएकी लक्ष्मी, कछुवा र धनको रक्षा गर्ने ख्याक आदिको मूर्तिसहित यःमरी बनाएर भकारीमा चढाउने गरिन्छ । योमरीलाई भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ बढ्ने जनविश्वास छ । यसरी चढाएको यःमरी चार दिनपश्चात् विवाहिता चेलीबेटीलाई बोलाएर प्रसादको रूपमा खुवाउने चलन छ ।
यःमरी शुभकार्यमा राखिने रोटी हो । यस दिन नयाँ धानलाई भकारीमा राखेर यःमरीसहित पूजा गरेको चार दिनपश्चात् उक्त धान बेच्न मिल्छ भन्ने जनविश्वास छ ।
पुरातत्व विभागका पूर्वप्रमुख अधिकृत श्यामसुन्दर राजवंशी भन्नुहुन्छ, “नेवाःसमुदायमा बढी मात्रामा तान्त्रिक प्रभाव पाइन्छ । सोहीअनुरूप यःमरीको चुच्चो जति लामो बनाइयो रात त्यति नै लामो हुन्छ भन्ने मान्यता छ । यस दिन निन्द्रा नपुग्ने मानिसलाई कहिल्यै निन्द्रा पुग्दैन भन्ने भनाइ छ ।”
गर्भवती महिला र उसको पेटभित्र हुर्किरहेको सन्तान स्वस्थ होस् भनी दहीचिउरा खुवाउन जाने समयमा यःमरी पनि लग्ने गरिन्छ । गर्भावस्थामा रहेको आफ्नी छोरीलाई दही चिउरा खुवाउन जाने समयमा पनि माइतीबाट १ सय ८ वटा यःमरी लैजानुपर्ने चलन कुनै–कुनै समुदायमा छ । त्यस्तै बच्चाहरूको जन्म दिन मनाउँदा पनि २ वर्षदेखि १२ वर्षसम्म यःमरीको माला लगाइदिएर पूजा गर्ने चलन छ । साथै नयाँ घर बनाउँदा होस् या देवीदेवताको वर्षवन्धन होस् धुरीबाट यःमरी खसाल्ने चलन छ ।
तिहारको समयमा जसरी देउसीभैलो खेल्दै सेलरोटी माग्ने चलन छ, त्यस्तै नेवाः समुदायमा पनि योमरि पूर्णिमाको दिन केटाकेटीहरू घर–घर गएर यःमरी माग्ने चलन छ । अब यो चलन नयाँ पुस्तालाई कमैमात्र थाहा होला । यसरी यःमरी माग्न जाँदा ‘त्यः छिं त्यः, बकसीं त्यः, थापले यागु यःमरी छग तियः’ भनेर गीत गाउने चलन छ । यदि कसैको घरमा आशौच (एक वर्षसम्म चाड मान्न नहुने) परेको छ, उनीहरूलाई पनि त्यः छिं त्यः खेली जम्मा भएका यःमरी दिने गरिन्छ । तर, हाल यो चलन त्यति देख्न पाइँदैन ।
यःमरी पुन्हिको भोलि पल्ट थिंलाथ्व पारुको दिनलाई मतिना पारुको रूपमा पनि मनाइने चलन छ । यसलाई नेवाः समुदायमा प्रेम दिवसको रूपमा पनि चर्चा गरिन्छ ।
यस दिन किराँत समुदायको उधौली पर्व सुरु हुन्छ । यो पर्व करिब १५ दिनसम्म सामूहिक रूपमा मनाइन्छ । आफ्नो मौलिक भेषभुषा लगाई, दुःख–सुख साट्दै, यो नाचगान गरेर मनाइन्छ ।

सपना श्रेष्ठ


(लेखक त्रिवि इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभागका स्नातकोत्तरका विद्यार्थी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *