भर्खरै :

नेकपा नेताहरूको झगडा ‘पधेँराको झगडा’ जस्तो

काठमाडौँ, १५ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाली काङ्ग्रेसजस्तै नेकपा पनि पुँजीवादी पार्टी भएको बताउनुभएको छ । बुधबार एपी वानको ब्राभो डेल्टा कार्यक्रममा पत्रकार भुषण दाहालसँग कुराकानी गर्दै उहाँले सशस्त्र सङ्घर्ष गर्दैमा कुनै पनि दल कम्युनिस्ट हुन नसक्ने बताउनुभयो ।
“नेपाली काङ्ग्रेसले पनि सशस्त्र सङ्घर्ष गरेको थियो । पृथ्वीनारायण शाहले पनि मल्ल राजाहरूविरुद्ध सशस्त्र सङ्घर्ष गरेका थिए । तर, उनीहरू कम्युनिस्ट होइनन् । मुख्य कुरा सशस्त्र सङ्घर्षको उद्देश्य के हो”, उहाँले भन्नुभयो ।
नेकपाका नेताहरूबीचको झगडा ‘पधेँराको झगडा’ जस्तो भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नक्कली औषधिले जसरी रोगको उपचार गर्दैन, त्यस्तै नक्कली कम्युनिस्टहरूले पनि देशलाई अघि बढाउन नसक्ने बताउनुभयो ।
बहुमतले भनेकै आधारमा ठीक र बेठीक कुराको निक्र्योल गर्न नसकिने भन्दै अध्यक्ष बिजुक्छेँले कपर्निकस र ब्रुनोजस्ता वैज्ञानिकहरूले बहुमतविपरीत उठेर पनि विज्ञानलाई अघि बढाएको चर्चा गर्नुभयो ।
शासक पार्टीले विचारधारामा जोड नदिँदा त्यस्तो दलले समाजमा परिवर्तन गर्न नसकेको उहाँको भनाइ थियो ।
एमाले र माओवादी केन्द्रले एकअर्कालाई फुटाएर आफूमा समाहित गर्ने र नेकालाई चुनावमा पराजित गर्ने उद्देश्यले पार्टी एकीकरण गरेको बिजुक्छेँले बताउनुभयो ।
“अहिलेको सत्तारूढ दलको विभाजन पद र पैसाको निम्ति भएको हो, यसमा सिद्धान्तको कुनै कुरा छैन”, उहाँले भन्नुभयो ।
नेकपाको विभाजनमा कम्युनिस्ट सिद्धान्तका कुनै पनि विचार नसुनिएको भन्दै जनतालाई शिक्षित बनाउने जिम्मेवारी नेकपाका नेताहरूले पूरा नगरेको बताउनुभयो । नेता नै पार्टी र पार्टी नै नेता भएको चर्चा गर्दै उहाँले घोडाबिना बग्गी अघि नजाने धारणा राख्नुुभयो ।
“दक्षिणतिरबाट पहिले नेकालाई घोडा बनाइएको थियो । अहिले घोडा फेरेर नेकपालाई उपयोग गरिरहेको छ”, बिजुक्छेँले भन्नुभयो ।
भारतीय विस्तारवादको स्वार्थ पूरा गर्न र नेपालका प्राकृतिक स्रोतमा नियन्त्रण गर्न माओवादी पार्टी स्थापना भएको चर्चा गर्दै सत्तारूढ दलभित्रको झगडा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा न्यायाधीश पदमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा भएको बताउनुभयो ।
संविधानअनुसार अविश्वास प्रस्ताव राख्ने र विश्वासको मत लिने काम किन हुन नसकेको भनी प्रश्न गर्दै उहाँले राष्ट्रपतिमाथि महाभियोग लाग्ने भएपछि संसद् विघटनको कदम चालिएको बताउनुभयो ।
पुँजीवादी राजनीति घिनलाग्दो हुने गरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले पुँजीवादी प्रजातन्त्रमा आफ्नै पार्टी र विपक्षीबाट काम गर्न नदिने अवस्थामा संसद् विघटनको विशेष अधिकार प्रधानमन्त्री र राष्ट्रपतिमा हुने बताउनुभयो ।
पुँजीवादी संसदीय व्यवस्थामा सत्तामा बस्ने शासकलाई आवश्यकताअनुसार सदन विघटनको अधिकार दिइने गरेको बिजुक्छेँले भन्नुभयो ।
प्रजातान्त्रिक व्यवस्थामा जनताको आदेश लिनुपर्ने र पछिल्लो राजनीतिक घटनाक्रमले जनतालाई राजनीतिकरूपमा अझ शिक्षित बनाउने उहाँको भनाइ थियो ।
“सत्तारूढ नेकपाभित्रको भित्री कुरा बाहिर ल्याउन चुनाव आवश्यक छ”, उहाँले भन्नुभयो ।
देशसँग सम्बन्धित शासकहरूको झगडाको कारण थाहा पाउने अधिकार जनताको भएको चर्चा गर्दै चुनावमा उनीहरूबीचको झगडा जनताबीच बाहिरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *