भर्खरै :

कोरियाली मजदुर पार्टीको महाधिवेशन जनवरी महिनामा

प्योङयाङ, ३० डिसेम्बर । जनवरीको सुरूमा हुने तय भएको कोरियाली मजदुर पार्टीको महाधिवेशनको तयारी गर्न प्रजग कोरियाली नेता किम जङ उनले पार्टीको पोलिटव्युरो बैठक आयोजना गरेको त्यहाँको राज्यनियन्त्रित सञ्चारमाध्यम केसीएनएले जनाएको छ । जनवरीमा हुने महाधिवेशनले प्रजग कोरियाको नयाँ आर्थिक र राजनीतिक कार्यक्रम लक्ष्य तय गर्ने बताइएको छ ।
मङ्गलबार बसेको बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विषयवस्तु र विभिन्न प्रस्तावहरूबारे छलफल भएको थियो । कोरियाली मजदुर पार्टीको पछिल्लो महाधिवेशन भएको चार वर्षभन्दा लामो समय व्यतित भइसकेको छ । जनवरी महिनामा हुने भनिएका पनि कुन मितिमा सो महाधिवेशन हुन लागेको हो, सो विषयमा कुनै बताइएको छैन । सन् २०२० मा संसारका सबै देशलाई समस्यामा पारेको कोभिड–१९ महामारी र पटक–पटकको समुद्री आँधीको कारण प्रजग कोरियाको लागि पनि यो वर्ष सुखद् भने भएन । प्रजग कोरियामाथि संरा अमेरिकालगायत पश्चिमा देशहरूले थोपरेको नाकाबन्दीको सकस त जारी नै छ ।
संरा अमेरिकामा ट्रम्पको नेतृत्व परिवर्तनसँगै प्रजग कोरियासँग उसको सम्बन्ध कसरी अगाडि बढ्ला भन्ने कुरा अझै भविष्यको गर्भमै छ । यसअघि प्रजग कोरियाले ट्रम्पसँग दुई चरणको वार्ता गरेको थियो ।
संरा अमेरिकामा डेमोक्रेटिक दलका नेता जो बाइडेन निर्वाचनमा विजयी भएपछि प्रजग कोरियाले अझै कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
गत अक्टोबर महिनामा सर्वोच्च नेता किमले पार्टी महाधिवेशनअघि हरेक आर्थिक क्षेत्रमा तोकिएको लक्ष्य हासिल गर्न ८० दिनको अभियानको घोषणा गर्नुभएको थियो ।
“पार्टी महाधिवेशनका सबै तयारी चुस्तरूपमा भइरहेको छ”, केसीएनएमा उल्लेख छ ।
अघिल्लो महाधिवेशन सन् २०१६ मा भएको थियो । सो महाधिवेशनमा किमले सन् १९८० दसकयताको पहिलो पञ्चवर्षीय आर्थिक योजना घोषणा गर्नुभएको थियो । महाधिवेशनमा उहाँले प्रजग कोरियाको सार्वभौमिकतामा आँच नपर्दासम्म आणविक हतियारको प्रयोग नगर्ने पनि घोषणा गर्नुभएको थियो । सोही महाधिवेशनबाट उहाँ पार्टीको अध्यक्ष पदमा औपचारिकरूपमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *