भर्खरै :

सातौँ नेपालभाषा मुंज्या सम्पन्न

कीर्तिपुर, १५ पुस । जनसाहित्य गोष्ठी कीर्तिपुरको आयोजनामा बुधबार सातौँ नेपालभाषा साहित्य मुंज्या भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसारका राम्रा साहित्य नेपालका विभिन्न भाषामा अनुवाद गर्नुपर्ने बताउनुभयो ।
“राम्रा साहित्यको अनुवादले अन्य भाषमा साहित्यमा भएका राम्रा कुरा हामी सिक्न सक्नेछौँ, हामीसँग भएका राम्रा कुरा पनि अरू भाषाभाषी जनताले पनि सिक्न सक्नेछन्”, उहाँले भन्नुभयो ।
उहाँले वर्षमा एक पल्टमात्र साहित्य सम्मेलन नगरी बेलाबेलामा साहित्यिक गतिविधि गरी साहित्यिक पत्रिका प्रकाशनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
बिजुक्छेँले साहित्यिक गतिविधिमा नयाँ पुस्तालाई संलग्न हुन उत्साहित गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले समसामयिक राजनीतिक विषयमा चर्चा गर्दै नेमकिपाले प्रधानमन्त्रीबाट संसद् भङ्ग हुनुलाई स्वागत र समर्थन नगरेको बरु संसदीय व्यवस्थामा यस्ता राजनीतिक अभ्यास स्वाभाविक भएको बताउनुभयो ।
“पुँजीवादी व्यवस्थामा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीलाई संसद् भङ्ग गर्ने अधिकार हुन्छ । अहिले प्रधानमन्त्रीबाट त्यसको प्रयोग मात्र भएको हो । त्यसलाई नेमकिपाले स्वाभाविक रूपमा मात्र लिएको हो”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले आफ्नै दलका नेताहरूबाट काम गर्न नदिएको भन्दै आएको र त्यस्तो अवस्थामा आफूसँग भएको राजनीतिक अधिकार प्रयोग भएकोले प्रधानमन्त्रीको कदम औचित्यपूर्ण भएको सुवालको भनाइ थियो ।
नेकपाकै दाहाल र नेपाल पक्ष सडक आउनु पर्नाको मूल कारक उनीहरू आफै भएको भन्दै उहाँले प्रधानमन्त्री अनुपयुक्त भएको भए समयमै अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले राज्यको बेवास्ताको कारण देशका धेरै भाषा र संस्कृति नष्ट हुँदै गएको बताउनुभयो । उहाँले जनतालाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका दुष्चरित्रबारे सचेत बनाउन नियमित रचनात्मक गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको सार्वभौमिकता र सीमा रक्षाको लागि साहित्यिक तथा राजनीतिक आन्दोलनलाई जारी राख्नुपर्ने भन्दै थापामगरले कोभिड–१९ महामारीको कहरबीच जनता रोगले भन्दा भोकले मर्ने पिरमा परेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सांसद सिर्जना सैंजूले विश्व सर्वहारा वर्गमा गुरु तथा चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङको स्मरण गर्दै उहाँले नेतृत्व गर्नुभएको चिनियाँ नयाँ जनवादी क्रान्तिकै जगमा आजको चीनको समृद्धि र भव्यता सम्भव भएको बताउनुभयो ।
चिनियाँ क्रान्तिपछि चिनियाँ नेतृत्वले हरेक नयाँ पुस्तालाई माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराबाट शिक्षित बनाउने अभिभारा पूरा गरेको धारणा राख्नुभयो ।
वरिष्ठ ई. राजदास श्रेष्ठले नेपालको विकास गर्न केही गा¥हो नभएको तर सरकारमा पुगेका पार्टीहरूको गलत सोचाइले गर्दा देश बर्बाद भएको बताउनुभयो । उहाँले कृषि खनिजको विकासमा सरकारले ठूलो मद्दत गर्नुपर्ने बताउँदै देशको विकासको लागि यथोचित बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी उहाँले २०४६ सालको जनआन्दोलनको स्मरण गर्दै भक्तपुरमा पञ्चायती गोलीबाट ६ जनाको हत्या गर्दा पनि काठमाडौँ र ललितपुर नउठेकोमा चिन्ता व्यक्त गर्दै जनकवि दुर्गालाल श्रेष्ठले ‘भक्तपुरमा गोली चल्दा पनि काठमाडौँवासी किन उठेन’ भनेर कविता लेखेर जनतालाई सचेत गराएको अवगत गराउनुभयो ।
प्राध्यापक डा. धर्मराज डंगोलले समाजको विकास गर्न सामुहिक सहयोगको आवश्यकता रहेको बताउँदै आत्मनिर्भर हुनको निम्ति कौशी खेतीलगायत कृषिमा विविध खेती गर्ने प्रविधि सिक्नुपर्ने बताउनुभयो ।
उहाँले साहित्य सम्मेलनमा नयाँ प्रतिभाहरूको विकासको निमित्त साहित्य लेखनको तालिम दिनुपर्ने बताउनुभयो ।
सडक पीडित सङ्घर्ष समिति ललितपुरका संयोजक अशोक महर्जनले सडक पीडितहरूको समस्या प्रस्तुत गर्दै बाटो विस्तारमात्र विकास होइन भन्दै सन्तुलित विकासको निम्ति उपत्यका बाहिर भौतिक विकास गर्नुपर्ने बताउनुभयो ।
जनसाहित्य गोष्ठीका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा मदन श्रेष्ठ, रमेश डंगोल, शैलेष डंगोल, रमेशमान महर्जन, सुवर्ण महर्जन, कान्छाबाबु महर्जन, मेरिना महर्जन, बासुदेव डंगोल, रामचन्द्र महर्जन, नरमान महर्जनले कविता वाचन गर्नुभएको थियो भने मनहेरा श्रेष्ठ, मनिता श्रेष्ठ, ललितपुर, यशुमति महर्जन, कीर्तिपुर र श्रमिक कला सदन भक्तपुरले गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन नारायण महर्जनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *