भर्खरै :

नेकपाको झगडा नेताहरूबीच व्यक्तिगत झगडातिर

काठमाडौं, १८ पुस । नेकपाको झगडाले नेताहरूबीचको व्यक्तिगत झगडाको रूप लिँंदै छ । सरकारले प्रतिनिधिसभा भङ्ग गरी वैशाख महिनामा चुनाव गर्ने निर्णय गरेपछि विभाजित नेकपाका नेताहरू आपसमा बाझाबाझ गर्न थालेका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ओली नेतृत्वको नेकपाका कार्यकर्ताहरूको भेलामा प्रधानमन्त्रीसहित अधिकांश वक्ताहरूले अर्को खेमाका नेताहरूको भित्तो पुग्ने गरी विरोध गरेका थिए । उखान टुक्का प्रयोगमा सिपालु मानिएका प्रधानमन्त्रीले अर्को खेमाका नेताहरू विशेषतः पुष्पकमल दाहाल र माधव नेपालको विरोधमा बोलिरहँदा त्यहाँ भेला भएका कार्यकर्ताहरू पेट मिची मिची हाँस्दै थिए । ओलीले आफ्नो सरकारको जमेर प्रतिरक्षा गर्दै आगामी निर्वाचनमा दाहाल–नेपाल नेतृत्वको नेकपालाई दुई अङ्कमा स्थान जितेर देखाउन चेतावनी दिए । उनले दाहाल र नेपाललाई ‘खिइएका दुई नटबोल्ट’ को संज्ञा दिए । उनले विभिन्न उपमा प्रयोग गरी दाहालको चरित्र र स्वभावलाई व्यङ्ग्य गरे । यसअघि एक अर्को कार्यक्रममा ओलीले माधव नेपालको अभिनय नै गरेर उनको स्वभाव उजागर गरेका थिए । दाहाल र नेपालले ‘नगदानगदी पद मागेर’ सरकारलाई काम गर्न नदिएको उनको भनाइ थियो । ओली पक्षले नै शनिबार आयोजना गरेको अन्य भेलाहरूमा पनि वक्ताहरूले अर्को खेमाका नेताहरूलाई यसरी नै व्यक्तिगत आक्रमण गरे । ओली पक्ष राष्ट्रपतिविरूद्ध सडकमा लागेको नारालाई लिएर अर्को पक्षप्रति थप आक्रामक देखिए ।
राजधानीमा यसै साता आयोजित जनसभामा दाहाल–नेपाल नेतृत्वको खेमाले पनि ओलीमाथि यसरी नै विरोध गरेका थिए । उनीहरूले ओली सरकारको असफलताबारे भित्तो पुग्ने गरी खेदो खने । ओलीलाई उनीहरूले निरङ्कुश र अधिनायकवादीको संज्ञा दिँदै ‘ओली हठ’ सफल नहुने बताए । जनसभाको क्रममा आयोजित जनप्रदर्शनमा सहभागीहरूले राष्ट्रपति र प्रधानमन्त्रीविरूद्ध अमर्यादित र अराजनीतिक नाराबाजी लगाए । नेकपा नेताहरूका व्यक्तिगत लाञ्छना र आरोप प्रत्यारोपका भाषणबाजीले उनीहरूबीच कुनै सिद्धान्तको लागि विभाजन भएको होइन भन्ने वास्तविकता जनतासामु छर्लङ्ग भएको छ । यो पद र पैसाकै लागि भएको झगडा हो, नेताहरूको जुङ्गाको लडाइँ हो भन्ने कुरा उनीहरूका भाषणले देखाएको छ ।
पुँजीवादी दलको ‘मल्ल युद्ध’
पुँजीवादी दलहरू नाफा नोक्सान र लाभहानिको हिसाब किताब गर्न राजनीति गर्छन् । नाफा हुँदासम्म मिलन, नमिलेको बिन्दुबाट ‘मल्ल युद्ध’ । पुँजीवादी दलहरूले संसारभर भोग्ने नियति यही हो । नेकपा पनि पुँजीवादी दल भएको हुनाले नेताहरूबीचको झगडा नाफा नोक्सान र लेनदेनकै विषयमा भइरहेको छ । यो झगडामा व्यापक नेपाली जनताको हितसँग कुनै लिनु दिनु छैन । ओलीले शनिबार प्रज्ञा प्रतिष्ठानको भेलाबाट आफ्नो उही पुरानो विकास र समृद्धिको सस्तो भाषणबाजीलाई निरन्तरता दिएका थिए । अघिल्लो निर्वाचनमा विकास र समृद्धिको नाराले चुनावी नतिजा हात पारेको अनुभवको आधारमा यो पटक पनि त्यही नीतिलाई निरन्तरता दिने उनको सोच शनिबारको भाषणमा पनि प्रस्ट देखिन्छ । तर, यसपालि उनको पुरानो सिक्काले नेपाली जनताबीच काम गर्ने छाँट देखिँ दैन । नेकपा नेताहरूको आरोप प्रत्यारोप र पोलापोलले उनीहरूको वास्तविकता जनतासामु उजागर भएको छ । उनीहरूको यस्तो वास्तविकताको उद्घाटनले नेपाली जनतालाई को–कस्तो र के हो भन्ने कुरा प्रस्ट बन्दै जानेछ । यसबाट नेपाली जनताको राजनीतिक चेतनास्तर उकासिनेछ । नेपाली जनताको मत प्राप्त नेताहरूले आफूले दिएको वाचाअनुसार काम नगरेको कुरालाई जनताले हेक्का राख्न भने जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *